रंगमञ्च ब्युँझाउने प्रयास

बुधबार, ३१ जेठ २०७४, ०१ : ३३ मनोज घर्तीमगर , Kathmandu
रंगमञ्च ब्युँझाउने प्रयास

पोखरामा लामो इतिहास बोकेको रंगमञ्चलाई पुनः जीवन्तता दिने प्रयास सुरु गरिएको छ । पोखरास्थित क्रियशन थिएटरले अहिलेसम्म उतारचढावकै अवस्थामा रहेको रंगमञ्च ब्युँताउने प्रयास थालेको हो । पोखरामा रंगञ्चसँग जोडिने पाँच सय भन्दा बढी भइसकेका अवस्थामा पनि रंगमञ्चले किन गति लिन सकेन भन्ने कुराको जवाफ खोज्न थिएटर लागि परेको छ ।
रंगमञ्चसँग सम्बन्धित लेख्ने, अभिनय गर्ने, निर्देशन गर्नेहरूलाई लक्षित गरी थिएटरले एक हप्ते कार्यशाला गरेको छ । उसले पोखराको नागढुंगामा पहिलो नाटक घर पनि निर्माण गर्दै छ । कार्यशालापछि पोखराको रंगमञ्चलाई पुनः ब्यूँझाउने विश्वासका साथ केही पूराना र नयाँ कलाकार गागिपरेका छन् । क्रियशन थिएटरले केही समयपछि आफ्नै नाटकघरमा तालिम सुरु गर्ने पनि बताएको छ । ‘युवा पुस्ताको नाट्यकर्मीको जमातले पोखरेली रंगमञ्चलाई फेरि ब्यूँझाउने साहस पलाएको छ’, थिएटरका अध्यक्ष कपिल शर्मा भन्छन्, ‘अब केही समयमै पोखराको पहिलो नाटक घरमा नियमित नाटक मञ्चन हुनेछन् ।’
३० को दशक मै पोखरेली रंगमञ्च लाई काठमाडौंसम्म चिनाउने काम गरेका सरुभक्त नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति छन् । सरुभक्तले पनि पोखरेली रंगमञ्चलाई माथि उठाउन पहल गनुपर्ने अपेक्षा धेरैको रहेको छ । यहि इतिहासलाई जोगाउन नयाँ पुस्ता कस्सिएको दाबी गर्छन् नाट्यकर्मी विभू भुसाल । ‘३० देखि ५० को दशकसम्म पोखरेली रंगमञ्चका लागि स्वर्णीयुग नै बनेको थियो’ विभू भन्छन्, ‘त्यो विरासत हराइसकेको छ । विगत तीन वर्षदेखि त्यहि विरासत थाम्न हामी कस्सिएका छौं ।’  
चार वर्ष अघि पोखरेली नाट्य क्षेत्रमा पूनर्जागरण ल्याउने उद्देश्यले रंगमञ्च  क्षेत्रमा लागेका नाट्यकर्मीहरूको सक्रियतामा रंगकर्मी कृष्ण उदासीको अध्यक्षतामा पोखरेली नाट्य प्रतिष्ठान गठन भएको थियो । त्यसको एक वर्षपछि रंगमञ्चमा रुचि राख्ने यूवाहरु विभू भुषाल, मनोज घर्तीमगर, कपिल शर्मा, रेम विक, सौगात पोखरले लगायतका ब्यक्तिले यूथ क्रियसन गठन गरेपछि पोखरेली रंगमञ्चमा नयाँ तरङ्ग आएको थियो । लगत्तै पञ्चामृत नाट्य समूह जन्मियो । अहिले युथ क्रियशन थिएटर र पञ्चामृत नाट्य समूहबिच कसले धेरै नाटक मञ्चन गर्ने भन्ने अघोषित प्रतिस्पर्धाजस्तै छ । ‘पछिल्लो समय सक्रिय एकाध नाट्य समूहले पोखरामा नाटकको स्वाद चखाइरहेका छन्, उनीहरु पोखरेली नाटकको पुर्नजागरणमा जुटेको देख्दा खुसी लाग्छ’ नाट्यकर्मी घनश्याम लामिछाने भन्छन् ।
पोखरामा यि दुई समूहले अन्तराष्ट्रिय रक्सी भट्टी, अर्को ओरोलो, पुलिस र प्यास, आमाको मुच्र्छना, मान भर्सेज मति, ‘स्मृती’, एक रुपैंया लगायत नाटक मञ्चन गरिसकेका छन् । नाटकमा युवापुस्ताको आकर्षण देखेपछि पुराना नाट्यकर्मी कृष्ण उदासीले नेशनल आर्ट स्कुल खोलेर प्रशिक्षण सुरु गर्दैछन् । गन्तव्य फिल्म प्रोडक्सनद्वारा संचालित यो स्कुलबाट थुप्रै युवा नाट्यकर्मी जन्माएर पोखराको रंगमञ्चलाई ब्यूझाउँने दाबी गर्छन् उदासी । पोखरामै दुई वटा नाटक घर निर्माण हुन लागेकाले यहाँ नियमित नाटक मञ्चन गर्न कलाकार धेरै चाहिने भएकाले स्कुल खोलेको उदासी सुनाउँछन् । ‘पूराना कलाकार पनि सक्रिय भइरहेका छन् । त्यसमा युवापुस्ताको ऊर्जा छँदैछ’ पोखरामै रहेर १०४ वटा नाटक लेखिसकेका र धेरै नाटक मञ्चन गरिसकेका  नाट्यकर्मी उदासी भन्छन्,‘बेलाबेला नयाँ पुस्ताले पोखरेली रंगमञ्चमा केही गर्न खोज्छ । तर निरन्तरता दिन भनेजस्तो सजिलो छैन ।’
 

 

Leave A Comment