रनभुल्लमा छु

मङ्गलबार, ३० जेठ २०७४, १२ : ०३ शुक्रवार , Kathmandu
रनभुल्लमा छु

बा. १ ह ४८३४
चालक : कमला लामा

घर कता पर्र्यो ?
काठमाडौं बालाजु ।
कुन रुटमा चलाउनुहुन्छ ?
रत्नपार्क–स्वयम्भू ।
टेम्पो चलाउन थालको कति वर्ष भयो ?
भयो लगभग १६ वर्ष जति ।
यो लाइनमा कसरी आइयो ?
साथीहरूले चलाउँथे । मलाई पनि रहर लाग्यो अनि उनीहरूसँगै २÷३ महिनामा सिकिहालेँ । त्यसपछि  चलाउन थालेँ ।
टेम्पो चलाएर पेट पाल्न सकिन्छ ?
यत्रो बर्ष भइसक्यो । चलिराखेकै छ ।
कतिको कमाइ हुन्छ ?
ठिकै । रोजीरोटी चलेको छ ।
कति समय खट्नुहुन्छ ?
बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म चलाउँछु ।
गाह्रो–साह्रो के छ ?
सजिलो भन्ने कुन काम हुन्छ र ? गाह्रै छ ।  बिहानदेखि रातिसम्म खट्नुपर्छ ।
ट्राफिक नियम कतिको पालन गरिन्छ ?
गर्छु । नगरे त आफैंलाई घाटा हुन्छ ।  
कतिको दुःख छ यो पेशामा ?
दुःख त छ । घरी यहाँ रोक्नु हुँदैन भन्छ घरी उहाँ । फेरि ट्राफिकले नै भनेको ठाउँमा रोक्दा पनि ‘नो पार्किङ’ भनेर कराउँछ । ठेगानै हुँदैन । त्यसमाथि पेसेन्जरले पनि कचकच गर्छन् । उनीहरूले भनेको ठाउँमा रोकेन भने टेम्पोबाट नै हाम फाल्न खोज्छन् । समयमा कहीँ पुग्न पाउँदैन, जामै जामै ।
दिनमा कति ट्रिप पुर्याउँनुहुन्छ ?
८ ट्रिप जति भ्याउँछु ।
झेल्नुपरेको समस्या केही छ ?
समस्या त भइनै रहन्छ । चलाउँदा चलाउँदै बीचैमा गाडी बिग्रिन्छ । त्यो बेला कस्तो दिक्क लाग्छ । साइड लगाएर बनाउने मान्छे बोलाउनुपर्छ ।

गाडी आफ्नो कि साहूको ?
आफ्नो थियो बेचेँ । फेरि अहिले साहूकै चलाउँदै छु ।
किन ?
नराम्रो सँग थला परेँ । चलाउन सक्दिनँ जस्तो लागेर बेचेको ।
टेम्पो हटाउने कुरा छ । तपाईलाई थाह छ ?
खै हटाउने त भनिराखेका छन् । म पनि रनभुल्लमा परिराखेकी छु । २० वर्ष पूरानो गाडी हटाउने कुरा त चलिराखेकै छ ।
० यो पेशामा कस्तो अनुभव बटुल्नुभएको छ ?
अनुभव त राम्रै छ । यतिकै खाली समय बसिरहनुभन्दा काम गर्नु नै ठिक लाग्छ । गरिखाने बाटो बन्छ त्यही हो ।
गीत–संगीत कतिको सुन्नुहुन्छ ?
घरमा हुँदा सुन्छु । तर गाडीमा सुन्दिनँ । डिस्टर्ब हुन्छ । मान्छे, गाडीको होहल्लामा के सुन्नु ?
फुर्सदको समय कत्तिको हुन्छ ?
ड्राइभिङ लाइनमा फुर्सदै हुँदैन । जतिखेर नि व्यस्त भइन्छ ।
जीवन के रैछ ?
जीवन संघर्ष हो । संघर्षले नै भरिएको रहेछ ।
प्रस्तुतिः रचना श्रेष्ठ

Leave A Comment