विदेशी सुरक्षाकर्मी बन्न लालायित

मङ्गलबार, ३० जेठ २०७४, ११ : ३१ दिलीप पौडेल , Kathmandu
विदेशी सुरक्षाकर्मी बन्न लालायित

नुवाकोटका प्रियस तामाङ सिंगापुर प्रहरीमा भर्ती हुन आतुर छन् । आकर्षक तलब र विदेशी सुरक्षाकर्मीमा काम गर्दा दामसँगै छुट्टै सान पनि हुने भएकाले उनी त्यसमा आकर्षित भएका हुन् । छनोट प्रक्रिया सहभागि हुन पूर्व तयारीकोलागि तामाङले सल्युट गोरखा टे«निङ सेन्टर, पोखरामा प्रशिक्षण लिइरहेका छन् ।
तामाङ मात्र होइन रोल्पाका लोकेन्द्र पुन पनि सिंगापुर प्रहरीमा भर्ती हुन चार वर्षदेखि निरन्तर प्रयास गरिरहेका छन् । पुन अभ्यास गर्दागर्दै प्रशिक्षण दिन सक्ने भएका छन् । पुनले अहिले युवालाई प्रशिक्षण पनि दिन्छन् । विभिन्न चरणका प्रतिस्पर्धाबाट बाहिरिए पनि पुनले हिम्मत हारेका छैनन् । ‘आकर्षक तलबसहित सानको जागिर भएकाले सिंगापुर प्रहरीमा भर्ती हुने योजना हो,’ २१ वर्ष पुग्न लागेका पुनले भने, ‘विदेशी सुरक्षाकर्मी भै काम गर्न रहर छ ।’
नेपाली युवा विदेशी सुरक्षाकर्मीमा भर्ती हुन लालायित छन् । त्यसको लागि देशभर खुलेका प्रशिक्षण केन्द्रमा तालिम लिइरहेका छन् । सिंगापुर प्रहरी, ब्रिटिस आर्मी, इण्डियन आर्मीमा यहाँका युवालाई विभिन्न चरणको परीक्षाबाट पास गरेपछि छनोट गर्ने भएकाले पूर्व तयारीको रुपमा प्रशिक्षण लिन तल्लिन छन् ।
ब्रिटिस र सिंगापुुरका सुरक्षा निकायमा काम गर्ने युवाको मासिक आम्दानी सुरुआती चरणमै एकलाखदेखि दुईलाख रुपैयाँसम्म हुने भएकाले पनि आकर्षण बढेको हो । त्यसपछि सम्बन्धित देशको नियम अनुसार आवासीय सुविधा, प्रयाप्त पेन्सनको व्यवस्था छ । इण्डियन आर्मीको तलब पनि तह अनुसार आकर्षक छ ।
ब्रिटिसी आर्मीले नेपालको पूर्वी क्षेत्रबाट एक सय ३५, पश्चिम क्षेत्रबाट एक सय ३५ गरी वार्षिक कुल दुई सय ७० जनालाई हरेक वर्ष छनोट गरेर लैजान्छ । त्यसैगरी सिंगापुर प्रहरीले पनि पूर्वबाट ४० र पश्चिमबाट ४० गरी ८० जना भर्ना गरेको छ । ब्रिटिस आर्मी, सिंगापुर प्रहरीमा नपाएका युवा भारतीय आर्मीमा पनि भर्ती हुने गरेका छन् । भारतले पनि नेपालबाट वार्षिक दुई हजार बढी युवालाई इण्डियन आर्मीमा लैजाने गरेको छ । भारतले धरान, भरतपुर, बुटवल, पोखरा, नेपालगञ्जबाट वर्षमा दुई पटक  छनोट गर्ने गरेको छ ।
यसको लागि हजारौं युवाले प्रतिस्पर्धा गर्छन् । कुनै जात, समुदाय विशेष नभएर सबै नेपालीले प्रतिस्पर्धामा सहभागी हुन पाउँछन् । विभिन्न चरण पार गरेर छनोटमा परेका युवालाई सिंगापुर, बेलायत, भारत सरकारले सबै खर्च व्यहोरेर तालिम दिई रोजगारी दिन्छ । आवेदन आह्वान गरेर आ–आफ्ना देशको सुरक्षाकर्मी छनोट मापदण्ड अनुसार प्रतिस्पर्धा गराउँछन् ।
फारम भरेपछि स्थानीय, क्षेत्रीय तहहुँदै केन्द्रीय तहमा आइपुग्नु पर्छ । क्षेत्रमा छनोट भई केन्द्रीय तहमा आउनको लागि शिक्षा, सटेअप, कागजात, मेडिकल, फिजिकल, अन्तरवार्ता पास गर्नुपर्छ । ब्रिटिसको केन्द्रीय तहको छनोट पोखरामा हुने गरेको छ । त्यसमा पनि अन्य पूर्वाभ्यासका अतिरिक्त २५ किलोको क्यारी बोकेर करिब पाँच किलोमिटरको दुरीमा दुगुर्नु पर्छ । मेडिकल चेकअप पनि पास गर्नुपर्छ ।
विदेशी सुरक्षाकर्मीमा भर्ती हुन चाहाने युवालाई लक्षित गरेर विभिन्न ठाउँमा तालिम केन्द्रहरु सञ्चालनमा रहेका छन् । प्रशिक्षण केन्द्रहरुको लागि पनि राम्रो कमाई भएको छ भने युवालाई पनि सिकाईको उपयुक्त थलो बनेको छ ।
तालिम दिने ट्रेनिङ सेन्टरले पनि विभिन्न चरणमा छनोट गर्ने गरेका छन् । युवालाई शिक्षा, शारिरिक व्यायाम, पौडी, अन्तरवार्ताका क्रममा सोध्न सक्ने सम्भावित प्रश्न, व्यक्तित्व विकासलगायतका विषयमा प्रशिक्षण दिने गरेका छन् ।
सिंगापुर प्रहरी, ब्रिटिस र इण्डियन आर्मीमा जान चाहाने युवालाई प्रशिक्षाण दिँदै आएको सल्युट गोरखा टे«निङ सेन्ट मेनेजिङ डाइरेक्टर राहुल पाण्डेले बताए । ‘हामीकहाँ तालिम लिएका धेरै युवा छनोटमा परेका छन्,’ पाण्डेले भने, ‘विदेशी सुरक्षाकर्मीमा भर्ती हुन सबै प्रकारका प्रशिक्षण दिन्छौं ।’ भर्ती हुन चाहाने युवालाई तालिम लिने उपयुक्त मौका भएको बताए । ब्रिटिस, सिंगापुर, भारतीय सुरक्षाकर्मीमा प्रतिस्पर्धामा सहभागी हुने युवालाई लक्षित गरेर सल्युट गोरखाले पुस्तकसमेत प्रकाशन गरेको छ ।
सिंगापुर, ब्रिटिसमा भर्ना हुन चाहानेका लागि करिब छ महिना र इण्डिया आर्मीको लागि तीन महिना तालिम दिने पाण्डे बताउँछन् । सल्युट गोरखामा मात्रै करिब तीन सय बढीले तालिम लिएको पाण्डेले बताए । पाण्डेका अनुसार काठमाडौंसहित बुटवल, दाङमा पनि शाखा खोलेर गरेर तालिम दिन सुरु गरिएको छ ।
प्रतिस्पर्धामा साढे १७ वर्ष देखि २१ वर्षसम्मका युवाहरु सहभागी हुन्छन् । उचाई १ सय ५८ सेन्टिमिटर, वजन ५० किलो, आँखामा चस्मा लगाउन नपाउने, अंगे्रजी भाषा जानेको हुनुपर्ने व्यवस्था रहेको ब्राइट गोरखा ट्रेनिङ सेन्टरका प्रबन्ध निर्देशक अनुप सुनुवारले बताए । ‘तालिम लिएपछि विभिन्न चरणमा परीक्षा लिन्छौं,’ सुनवारले भने, ‘शारीरिक रुपमा तन्दुरुस्त भएरमात्र हुँदै विषयगत ज्ञान पनि हुनुपर्छ ।’ ‘जनजाती, क्षत्रीमात्र होइन ‘नो कास्ट नो रिलिजन’ भन्ने मान्यता छ,’ सुनुवारले भने, ‘सबै नेपाली युवालाई अवसर छ ।’ सिमिति कोटा र आकर्षण धेरै भएका निकै प्रतिस्पर्धा हुन्छ ।
सम्बन्धित देशका प्रतिनिधि आएर यहाँ छनोट प्रक्रिया सहभागी हुन्छन् । ती देशले निर्धारण गरेका कोटाको आधारमा युवा छनोट गर्छन् । विदेशमा भर्ती नभएका अधिकांश युवाले नेपाली सेना र प्रहरीमा भर्ती हुने गरेका छन् ।

 

Leave A Comment