सारङ्गी रेट्दै जीवन काट्दै

सोमबार, २९ जेठ २०७४, ०१ : ३३ शुक्रवार , Kathmandu
सारङ्गी रेट्दै जीवन काट्दै

–रचना श्रेष्ठ

सारङ्गीको धुनमा आधुनिक गीत गाउँदै थिए– शरण गन्धर्व र कमल गन्धर्व । पूख्र्यौली पेसालाई निरन्तरता दिन ४० वर्षिय शरण र ४२ वर्षिय कमल गीत गाउँदै ठाउँ–ठाउँ डुल्ने गर्छन् । उनीहरुले गीत गाएर हिँडेको १३/१४ वर्ष भइसक्यो ।
शरण भन्छन्,‘ सबै ठाउँतिर घुमफिर गरिन्छ । गन्ती त हुँदैन । तर घुमघाम बढी गरिन्छ ।’ पूर्वाञ्चलतिर लगभग धेरै ठाउँ भ्याइसकेका शरण र कमल काठमाडौंमा पनि घुमफिरका लागि आएको बताउँछन् । उनीहरूको घर झापा हो । कमल धेरैपटक काठमाडौं आइसके ।  तर शरण भने काठमाडौं दोस्रोपटक आएको बताउँछन् । यी दुई साथी कहिले सँगै त कहिले एक्लै हिँड्ने गर्छन् । ‘हाम्रो दश प्रन्ध जनाको टिम पनि छ,’ सरणले भने ।

 १८/१९ वर्षको उमेरदेखि  शरणले आफ्ना बुबाबाट सारङ्गी बजाउने सिप सिके । कमलले पनि ११/१२ वर्षको उमेरमा सारङ्गी बजाउन थाले । बाबुबाजेबाट सिकेको यो सिपलाई उनीहरूले अहिलेसम्म धानिरहेका छन् ।
कमल भन्छन्, ‘पहिले पहिले गाउँ–गाउँ घुमिन्थ्यो । अहिले त सहर बजारतिर घुम्छौं ।’ गाउँ सहर दुवैतिर लोप भइसकेको उनीहरूको भनाइ छ  ।

सारङ्गी बजाएर पेट पाल्न भने मुस्किल हुने दुवैको गुनासो छ । घरमा उनीहरू खेतीपाती पनि सम्हाल्छन् । फुर्सदको समयमा सारङ्गी बजाएर दुईचार पैसा कमाउने उनीहरूको रहर हो कि बाध्यता ? ‘बाध्यता पनि हो रहर पनि हो,’ शरणले हाँस्दै भने । शरणको परिवारमा चारजना छन् भने कमलकोमा छ जना ।

सारङ्गी बजाएको हेर्दा सजिलो लागे पनि गाह्रो रहेको कमल बताउँछन् । उनी भन्छन्, ‘सिक्न नै पाँच वर्ष ठ्याक्कै लाग्यो ।’
यी दुईको जीवन एक अर्कासँग मिल्दोजुल्दो छ । दुवै सारङ्गी बजाउँदै डुल्छन्, र खेतीपातीको सिजनमा गाउँमै गएर मिहेनेत गर्छन् । उनीहरूका परिवार पनि उतै संघर्ष गरेर बसेका छन् ।
शरण र कमललाई समय अनुसारको गीत गाउन मनपर्छ । बजारमा चलेका आधुनिक गीत नेटबाट डाउन्लोड गरी अभ्यास गर्ने गर्छन् । ‘हाम्रो बाबुबाजेको बेलामा घटेका घटनालाई समेटेर गीत गाउँथे रे । अहिले त खालि लोकगीत, आधुनिक गीत मात्र गाइन्छ,’ कमले भने । घटनाका गीत गाउन नआउने शरण थप्छन् ।
दुःख भएपनि उनीहरुको जीवन रमाइलो नै छ । धेरै जिल्ला, ठाउँ ठाउँ घुम्न भ्याइसकेका छन्, उनीहरु । ‘जीवन बुझिन्छ, मान्छेको आनीबानी, गाउँठाउँको संस्कार, संस्कृति बुझिन्छ,’ शरण भन्छन्, ‘यस्तै जीवन प्यारो लाग्छ ।’

उनीहरू एकठाउँमा एकघण्टा जति बसेर गीत गाउने गर्छन् । घण्टामा कतिवटा गीत गाइन्छ गन्ती नहुने कमल बताउँछन् । उनीहरू पनि आफूलाई गायमकभन्दा कम ठान्दैनन् । सरण भन्छन्, ‘गायकले पनि दर्शक खोज्छन्, हामी पनि दर्शक नै चाहन्छौं ।’ ‘हामी सडकछाप गायक हौं,’ कमलले ठट्टा गर्दै भने । तर मान्छेनै त्यति नझुम्मिने कमलको गुनासो छ ।  

सारङ्गी बजाएर उनीहरू ठूलाठूला शहरबजारतिर धाउँदै हिँड्छन् । पूर्वको शहर दमक, बिर्तामोड, इटहरी, धरान, नेपालगञ्ज गरी लगभग ५२ जिल्ला जति भ्याइसकेको कमल सुनाउँछन् । आछाम, दार्जिलिङ, सिक्किमतिर पनि सारङ्गीको साथमा पुगिसकेका सरणको अनुभव सुनाउँछन् । उतातिर धेरैले मनपराउने उनको भनाइ छ । पूर्वतिर पूर्वेली गीत गाउने भएकाले  मान्छेले मनपराउने कमलको अनुभव छ ।

कला प्रस्तुत गरेर गरिखाने पेशालाई अँगालेका शरण र कमलले पुख्र्यौलीको संस्कृतिलाई जोगाउँदै आएका छन् । ‘तर अब केही वर्षमा यसको अन्त्य हुन्छ, ‘कमले निरास हुँदै भने ।
गाउँदै सारङ्गी बजाउने काम गाह्रो नै हुने उनीहरूको भनाइ छ । ‘दिनमा कति ठाउँ डुलिन्छ टुङ्गो नै हुँदैन,’ कमल भन्छन्, ‘बिहादेखि हिँड्यो भने त्यही आठ दश ठाउँ भ्याइन्छ ।’ अब हप्तादिनपछि फेरि झापा फर्कने शरण बताउँछन् । काठमाडौं आउँदा साथीभाइसँग मिलेर कोठामा बस्ने उनीहरूले बताए ।
 
काठमाडौंको सुन्धारामा गाइरहेको अवस्थामा भेटेका शरण र कमल  बसन्तपुर, हनुमानढोका, ठमेल जस्ता मान्छे भेला हुने ठाउँ रोज्ने गर्छन् । कमल भन्छन्, ‘भक्तपुर कमलविनायक, सूर्यविनायक पनि गएको छु । पर्यटकले पनि एकटक भएर सुन्छन्, सहयोग गर्छन् ।’
हप्ता दशदिन जति मात्र गाउन सकिने शरण बताउँछन् । लगातार गाउँदा घाँटी दुख्ने गरेको दुःख पोख्छन्, उनी । सारङ्गी बजाएरै उनीहरूको साधारण कमाइ हुन्छ ।
‘साथीहरूसँगै गीत गाउन सहज लाग्छ,’ शरणले भने । आफैंले धुन दिएर आफैंले गाउन पर्ने उनीहरु बताउँछन् । शरणलाई भने कुनै समयमा गायक बन्ने सोख लागेको थियो । ‘अहिले त उमेर पनि ढल्कियो अब त त्यस्तो रहर छैन,’ उनले भने ।
‘गीत गाउँदा आनन्द लाग्छ तर कुनै बेला त दुःख पनि लाग्छ, ‘कमल भन्छन्,‘दर्शक नै नहुँदा नमाज लाग्छ ।’ ‘कतिले त मागेर खाएको भन्छन्,’ शरणले भने । तर, कमल भन्छन्, ‘काम गरी खानलाई के को लाज ?’ कतिपय ठाउँमा घाममै बसेर गाएको नमीठो अनुभव सुनाउँछन् । अझै स्वरले धानुन्जेलसम्म दश बाह्रवर्ष यही काम गरेर जीवन चलाउने उनीहरूको योजना छ ।

 

Leave A Comment