ढाड दुख्ने समस्या

आइतबार, १९ असार २०७३, ०२ : २२ विवेक घिमिरे ‘विशद’ , Kathmandu
ढाड दुख्ने समस्या

दुख्नु भनेको शरीरका कुनै पनि अंगमा भएको चोटको कारण हुने पीडादायी भोगाइ हो । अंगका जुनजुन भागमा जेजस्ता पीडा, समस्याका घाउचोट छन् तिनका समाधान वा उपचार गर्ने विधि पनि बेग्लाबेग्लै हुन्छन् । बुझेर गरिएको उपचार साधक हुन्छ भने नबुझी गरिएको उपचार बाधक पनि हुन सक्छ ।
धेरैजसो युवा अवस्थाका मानिसका लागि ढाड दुख्ने समस्या अकल्पनीय लाग्छ । विशेष गरी यस्ता समस्या उमेर धेरै भएका व्यक्तिमा देखापर्छ भन्ने मान्यता छ । तर, मानिसका शाारीरिक बनोट उसको परिश्रम वा हलचलले जीवनकोे दोस्रो तथा तेस्रो दशकमा पनि यस्ता समस्या देखापर्न सक्छन् । यस्ता समस्याले काममा अवरोध ल्याउनुका साथै, पीडादायी तथा कम गुणस्तरको जीवन बिताउन बाध्य बनाइदिन्छ । करिब ८० प्रतिशत व्यक्तिले जीवनको कुनै एक समयमा ढाड दुखाइको पीडा भोग्छन् । वयस्क मानिसलाई ढाड दुख्ने कारण विभिन्न थरीका हुन्छन् । वजनदार वस्तु उचाल्दा, धेरै व्यायाम गर्दा, लामो समयसम्म एउटै आसनमा बस्दा, झट्ट ढाडलाई असर पर्ने गरी मर्काउँदा त्यसको असर सोझै ढाडमा पुग्ने गर्छ । यस्ता खाले क्रियाकलापले मेरुदण्डको लिगामेन्ट, मासु आदिमा असर पर्छ र कहिलेकाहीँ लिगामेन्ट र मासु केही मात्रामा च्यातिन पुग्छ । जसले गर्दा अत्यन्तै पीडा महसुस हुन्छ । यस समस्याका व्यक्तिलाई उठ्न तथा हिँड्न गाह्रो हुन्छ । ढाडको भागमा छुँदा दुख्छ तथा सो ठाउँको मासु कडा भएको हुन्छ भने दुखाइ खुट्टासम्म फैलिएको र झमझम गर्ने हुँदैन । यी कारणका ढाड दुखाइ समस्या धेरैजसो आराम, बरफको प्रयोग, तथा हल्का स्ट्रेचिङले तथा व्यायामले निको हुन्छ ।
    त्यसो त ढाड दुखाइका समस्यालाई कतिपयले खानपिनको, हावापानीको, बसाइ, सुताइका कारणलाई पनि दुखाइसित जोड्ने गरेको पाइन्छ ।
    त्यस्तै डिजेनेरिटिभ डिस्क डिजिज अर्को कारण हो । मेरुदण्डको हड्डीहरूको बीचमा डिस्क रहेको हुन्छ । यी डिस्कहरू खस्किदै गएमा अथवा यसमा क्षति पुग्न गएमा दुखाइ बढ्दै जान्छ । यो खाले दुखाइले मेरुदण्डको भागको मासु कडा पारिदिन्छ, । कहिलेकाहीँ खुट्टा झमझमाउने, शरीर भारी हुने, असहज हुनेसम्म हुन्छ । यो समस्याका मानिसलाई हिँड्दा, दौडिदा आराम महसुस हुन्छ भने बस्दा निकै पीडा हुन्छ । त्यस्तै आसन परिवर्तन गर्दा दुखाइ कम हुन्छ । यस समस्याको सामाधान विभिन्न उपचार विधिद्वारा सफलतापूर्वक गर्न सकिन्छ ।
    हर्निएटेड डिस्क अथवा सामान्य भाषामा भन्नु पर्दा नशा च्यापिनु ढाड दुखाइको अर्को प्रमुख कारण हो । मेरुदण्डको बीचमा रहेको डिस्क चिप्लिएर अथवा चोटका कारण मेरुदण्डबाट बाहिर आई स्पाइनल कर्डलाई च्याप्न पुग्दछ । यस्तो दुखाइ ढाडदेखि खुट्टासम्म फैलिएर वेदनायुक्त दुखाइमा पु¥याइदिन्छ । दुखाइ ढाडमा भन्दा बढी खुट्टामा महसुस हुन्छ तथा प्रायः दायाँ वा बायाँ एक भागमा मात्र महसुस हुन्छ । यस्ता समस्यामा दुखाइ लामो समयसम्म उभिँदा वा बस्दा दुख्छ भने हिँड्दा कम हुन्छ । दुखाइको किसिम झमझमाउने खालको हुन्छ । दुखाइसँगै खुट्टा चलाउन गाह्रो हुने, कमजोरी हुने लक्षण पनि देखापर्छ । ढाडको दुखाइको समस्या जटिल हुँदै जाँदा शरीरका अन्य भागमा समेत आघात पारिदिन सक्छ । आजका युवा जमातले ढाड दुख्ने समस्यालाई शक्तिले मिचेर मामुली ठान्ने नगरौँ । यति बेलाकै असर पछि देखिने सक्छ ।
पथपरेज पनि उपचार नै हुन् । ढाड दुखाइका समस्यामा पर्नेहरूले निम्न कुरामा ध्यान दिनसक्दा थप पीडाबाट मुक्त हुन सकिन्छ ।
–शरीरको वजन सन्तुलनमा राख्नु
 –स्वस्थ आहारमा ध्यान दिनु
 –शरीरलाई टेढोमेडो पारेर राख्नु
–नरम आसनको प्रयोग गर्नु
–बाक्लो र लचकदार बिछ्याउनामा नसुत्नु
–वजनदार वस्तु नउचाल्नु
–मेरुदण्डलाई सकभर सीधा राख्नु
–निहुँरेर वस्तु नउचाल्नु

    ढाड दुखाइका कारण विभिन्न भए पनि सामान्यतया भन्नु पर्दा मेरुदण्डको आकार बिग्रिन नदिएमा ढाड दुखाइका समस्या न्यूनीकरण गर्न सकिन्छ । मेरुदण्डलाई बलियो बनाउने कार्य भनेको त्यस वरिपरिका मांशपेशी, लिगामेन्ट आदि हो । यस्ता माशंपेशीहरू कमजोर भएमा ढाड दुखाइमा समस्या झन् बढ्दछ । त्यसैले फिजियोथेरापिस्ट यस्ता माशंपेशी सशक्त, बलियो तथा क्रियाशील राख्न व्यायामको प्रयोग गर्दछन् । तर, कुन व्यायाम कस्ता खाले बिरामीलाई उपयुक्त हुन्छ भन्ने कुरा बिरामीको अवस्था हेरी उचित निदान गरेर मात्र गर्न सकिन्छ । दुखाइको कारण पत्ता नलगाई व्यायाम गर्दा कहिलेकाहीँ असर पनि गर्दछ । कतिपय आसन तथा योगले समस्या झन् बढाउन सक्ने हुनाले उचित परामर्श नलिई व्यायाम गर्नुलाई ठीक मानिँदैन ।

 

Leave A Comment