कतार संकटको पाठ

शनिबार, २७ जेठ २०७४, १२ : ०८ शुक्रवार , Kathmandu
कतार संकटको पाठ

खाडी क्षेत्रमा आतंकवादी गतिविधि बढाउन सघाएको आरोपमा विभिन्न मुस्लिम मुलुकले कतारसँगको कुटनीतिक सम्बन्ध तोडेका छन् ।
चरमपन्थी समूहलाई सहयोग गरेको आरोपमा साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, इजिप्ट, लिबिया, यमनका साथै माल्दिभ्सले कुटनीतिक सम्बन्ध तोडेपछि विश्वभर नै तरंग पैदा भएको छ । विश्वमञ्चमा प्रायः साझा धारणाको प्रतिनिधित्व गर्ने अरब मुलुकबीच ठूलै फाटो रहेको यो घटनाले देखाएको छ ।
  साउदी अरबको निर्णयलाई पछ्याउदै यी मुलुकले इरानपछि अरब क्षेत्रमा कतारलाई एक्ल्याउने प्रयास गरेका छन् । सुन्नी मुस्लिम बहुल अरब मुुलुकले सिया बहुल इरानलाई लामो समयदेखि एक्ल्याउँदै आएका छन् । अमेरिकासँगको चिसो सम्बन्धका कारण इरानलाई साउदी अरबसहितका मुलुकले शत्रुको व्यवहार गर्दै आएका छन् ।
सात मुलुकले सम्बन्ध तोडेपछि कतारलाई सुरुमै आर्थिक समस्या पर्ने देखिएको छ । खाद्यान्नको मूल्यवृद्धि हुनुका साथै साउदी अरब र युएईको बाटो हुँदै उडान रोकिदा त्यसको प्रत्यक्ष प्रभाव उसको अर्थतन्त्रमा पर्नेछ । कुटनीतिक सम्बन्ध तोड्ने मुलुकले कतारसँग स्थल, जल र हवाई सबैखाले सम्पर्क बन्द गर्ने निर्णय गरेका छन् । यसलाई कतारमाथिको नाकाबन्दी जस्तै मानिएको छ ।
इन्धन बेचेर धनी बनेको कतारसँगको सम्बन्ध यी मुलुकले तोडेपछि त्यहाँको अर्थतन्त्रमा पर्ने असरको प्रभाव नेपालसम्म फैलिने देखिन्छ । कतार संकटको पहिलो प्रभावका रूपमा नेपालबाट दोहा उड्नै लागेका कामदारको यात्रा रोकिएको छ । नेपालबाट अधिकांश उडान युएई हँुदै कतार पुग्ने गर्थे । युएईले नै कतारसँगको हवाई सम्पर्क बिच्छेद गरेपछि त्यसको प्रभाव नेपाली कामदारमा परेको छ ।
कतार नेपाली कामदारको महत्वपूर्ण गन्तव्य हो । वैदेशिक रोजगार विभागका अनुसार हालसम्म कतार जान १० लाख नेपालीले श्रम स्वीकृती लिएका छन् । त्यसमध्ये करिब चार लाखले त्यही काम गरिरहेका छन् । श्रम स्वीकृती लिनेको तथ्याङ्क भएपनि फर्कनेको नहँुदा यकिन विवरण सरकारी निकायसँग समेत छैन । छिमेकी मुलुकसँगको सम्बन्ध बिग्रदा कतारको अर्थतन्त्रमा पर्ने प्रभावको असर नेपालीमा पर्ने निश्चित छ ।
   हाम्रो अर्थतन्त्र विप्रेषणमा आधारित भएकाले कतारमा ठूलै संकट आइपरे नेपाली कामदारको सङ्ख्या कटौती हुनसक्छ । धेरैले रोजगार गुमाएर नेपाल फर्कनुपर्ने स्थिति आउनसक्छ । कच्चा तेलको मूल्य घट्दा गत वर्ष साउदी अरबमा केही नेपालीले रोजगारी गुमाएका थिए । रोजगारी गुमाएकामध्ये कतिपयलाई सरकारले उद्दार गरेर नेपाल ल्याउनु परेको थियो ।
   अरब क्षेत्रमा देखिएको नयाँ ध्रुविकरणको असरले गत वर्ष साउदीमा अरबमा जस्तै यसपाली नेपालीले कतारमा रोजगारी गुमाउने खतरा बढेर गएको छ । नेपालीले रोजगारी गुमाउनु भनेको कतारबाट आउने विप्रेषण आयमा कमी हुनु मात्र होइन, मुलुकभित्र बेरोजगारको संख्या बढ्नु समेत हो । त्यसले नेपाली अर्थतन्त्रलाई पनि नकारात्मक असर पार्ने देखिन्छ ।
   विश्व बैंक र एसियाली बैंकका पछिल्ला अध्ययनले नेपालको विप्रेषण आयमा कमी आउने प्रक्षेपण गर्दै आएका छन् । भूकम्पपछि नेपालबाट बाहिरिने जनशक्तिमा केही कमी आउनु र अरब मुलुकमा देखिएका विभिन्न खाले उतारचढावलाई उद्धृत गर्दै उनीहरूले नेपालले समयमै विप्रेषणमा आधारित अर्थतन्त्रलाई सुधार गर्नुपर्ने सुझाव दिदैं आएका छन् ।
कतार संकट लम्बिदै गयो र त्यहाको अथतन्त्रमा गम्भिर खालका नकारात्मक असर प¥यो भने त्यसको प्रत्यक्ष मार नेपाली कामदारमा पर्ने निश्चित छ । नेपाली कामदारलाई परेको असरले हाम्रो राष्ट्रिय अर्थतन्त्र नै अफ्ठ्यारोमा पर्नसक्छ ।
नेपालबाट हरेक दिन १५ सयको हाराहारीमा कामका लागि युवा विदेशिने गरेका छन् । उनीहरूको मुख्य गन्तव्य भनेको अरब र मलेसिया हो । नेपाली कामदारको गन्तव्य मुलुकमा पर्ने नकारात्मक प्रभावको असर सिधै हाम्रो अर्थतन्त्रमा देखिन्छ । यसले हामी कति परनिर्भर अर्थतन्त्रमा बाँचिरहेका छौ भन्ने देखाउँछ ।
हरेक परिवर्तनपछि नेताहरूले नेपालमा स्वाधीन अर्थतन्त्रको विकास गर्ने घोषणा गर्ने गरेका छन् । तर, सबैका घोषणा घोषणामै सीमित हुने गरेका छन् । न त नेपालले आन्तरिक स्रोत साधन र पूँजीलाई परिचालन गरेर आत्मनिर्भर अर्थतन्त्रको विकास नै गर्न सकेको छ । हरेक दिन विदेशमा मृत्यु भएका कामदारको शवसँगै भित्रने विप्रेषणमा हामी रमाइरहेका छौ । विप्रेषण आय पनि कतारको जस्तै संकटको प्रभावले कम हुने अवस्था आउँछ ।
कतारप्रति छिमेकी मुलुकले सम्बन्ध तोडेपछिको पहिलो प्रभावस्वरुप कामदार भिसामा कतार जान लागेका नेपाली अलपत्र परेका छन् । कतारसम्म उडान भर्ने कतिपय विमान कम्पनीले उडान रद्द गर्दा उनीहरुलाई समस्या छ । समयमा कतारसम्म पुग्न नसक्दा कतिपय नेपालीले पाएको रोजगारीको अवसर गुमाउन सक्छन् । उनीहरुको समस्यालाई सरकारले तत्काल सम्बोधन गर्नुपर्छ । कतारमा आर्थिक संकट आएर कामदारले रोजगारी गुमाउने अवस्था आएमा उनीहरुलाई उद्दार गर्नका लागि समेत सरकारले आवश्यक व्यवस्था मिलाइराख्नु उचित हुन्छ । गत वर्ष साउदी संकटबाट रोजगारी गुमाएका कतिपय नेपालीले स्वदेश फर्कनलाई नै समस्या भएको थियो । यसपटक त्यस्तै अवस्था आए उनीहरुलाई स्वदेशसम्म ल्याउनका लागि अहिलेदेखि नै पूर्व तयारी जरुरी छ ।
भूमण्डलीकरणको युगमा एक मुलुकको जनशक्ति अर्को मुलुकमा गएर काम गर्नु नौलो नभए पनि मुलुकको अर्थतन्त्रलाई नै विप्रेषण आयमा निर्भर बनाउनु उपयुक्त होइन । आत्मनिर्भर अर्थतन्त्रले नै मुलुकलाई समृद्ध बनाउँछ । मुलुकको अन्तर्राष्ट्रिय छवि उच्च राख्न पनि आत्मनिर्भर र स्वाधीन अर्थतन्त्रको विकास गर्नुपर्छ । गत वर्षको साउदी र यसपालीको कतार संकटबाट सरकारले पाठ सिकेर समयमा नै स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा लाग्नु जरुरी छ ।

Leave A Comment