‘स्वच्छ भावले युवा राजनीतिमा आउनुपर्छ’

आइतबार, २१ जेठ २०७४, ०१ : १५ रामकुमार डिसी , Kathmandu
‘स्वच्छ भावले युवा राजनीतिमा आउनुपर्छ’

धनराज गुरुङ
नेता, नेपाली कांग्रेस    
मेरो जन्म २०२२ सालमा स्याङ्जामा भयो । मेरो समुदाय नै लाहुरे हो । मेरो परिवार पनि लाहुरे हो । तर, मेरो माइला दाई भने राजनीतिमा हुनुहुन्थ्यो । उहाँकै प्रेरणाले म राजनीतिमा आएको हुँ । उहाँको पछि–पछि लागेर जुलुसमा हिंड्थे । एसएलसीसम्म गाँउमै पढें । डिप्लोमा चाँही पोखराको पृथ्वीनारायण क्याम्सपमा पढें । त्यसपछिको पढाई भने काठमाडौंमा गरे ।
मेरो राजनीतिमा खास संलग्नता २०३६ सालको विद्यार्थी आन्दोलनबाटै हो । २०४० मा म  नेपाल बिद्यार्थी संघको  स्याङ्जा जिल्ला सचिव भएँ । त्यतिखेर हामीले पञ्चायत विरुद्व धेरै लडियो ।  २०४२ सालमा पञ्चायती शासन विरुद्व पार्टीले आह्वान गरेको सत्याग्रहमा जिल्लामा भाग लिएको थिएँ । त्यो बेला प्रहरीले निकै कुटपिट पनि गरेको थियो । आन्दोलनका क्रममा धेरै पटक हिरासतमा लिएर यातना दिने काम पनि पञ्चायत सरकारले गर्यो ।
पृथ्वीनारायण क्याम्पस पढ्न आइसकेपछि नेबिसंघको क्याम्पस इकाई सभापति भएँ । फेरि २०४८ मा पनि सभापति नै भएँ । २०४८ को बुटवल महाधिवेशनबाट नेबिसंघको केन्द्रीय उपाध्यक्ष निर्वाचित भएँ । २०५३ मा नेविसंघको केन्द्रीय अध्यक्ष भएँ । २०५४ मा पुर्नस्थापित नेपाल तरुणदलको महासचिव पनि भएँ । कांग्रेसको १२ औं र १३ औं महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएँ । पहिलो र दोस्रो संविधानसभामा समानुपातिकबाट सभासद् भएको थिए । अहिले सांसदको रूपमा पार्टीका तर्फबाट संसदमा भूमिका खेलिरहेको छु ।
राजनीतिमा युवा आउन एकदमै आवश्यक छ । युवाहरूसँग ऊर्जा हुन्छ, बौद्धिकता हुन्छ । तर्क दिन सक्ने क्षमता पनि हुन्छ । युवा अबस्थामा दिमाग सक्रिय र रचनात्मक हुन्छ । हामी जति बुढो हुँदै जान्छौं त्यति नै शरीरका कोषहरू मर्दै जान्छन् । त्यसक्रममा दिमागका कोष पनि मर्दै जान्छन् । यो बैज्ञानिक, जैबिक कुरा हो । यसले गर्दा बुढेसकालमा सिर्जनात्मक शक्ति पनि हराउँदै जान्छ । युवामा जोश, जाँगर र सिर्जनात्मक क्षमता बढ्ता हुने भएकाले काम गर्दाको परिणाम पनि त्यसरी नै आउँछ ।
अहिलेको विश्व राजनीतिमा पनि युवाको उलेख्य उपस्थिति छ । युवाहरू नै नेतृत्व भएका मुलुक विकासमा तिब्र गतिमा अघि पनि बढेका छन् । नेपालमै पनि त्यत्रो शसस्त्र क्रान्ति गर्ने विपी कोइराला ४५ बर्षको  उमेरमा प्रधानमन्त्री हुनुभयो । उहाँको सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट अहिलेसम्मकै उत्कृष्ट  मानिन्छ । त्यही ढंगको अहिले हामीले पनि राजनीति अगाडी बढाउन सक्यौं भने नेपाल साँच्चै लोक कल्याणकारी राज्य बन्छ । सम्वृद्ध नेपाल बन्न धेरै समय लाग्दैन ।
तर, राजनीतिमा आउँदा युवा स्वच्छ भावले आउनुपर्छ । केही पाउँछु भन्ने आसाले युवा राजनीतिमा आउने होइन । देश, जनताका लागि आफ्नो जीवन सर्मपण गर्छु भनेर राजनीतिमा आउँनुपर्छ । केही पाउँछु कि भनेर लोभ राखेर आउनेले राजनीति गर्न सक्दैन । स्वच्छ भावना लिएर राजनीतिमा आउने हो भने मुलुक बनाउन एउटै नेता काफी हुन्छ ।
लोभी, पापीहरूमा यो मान्छे अगाडि आयो भने मेरो राजनीति सकिन्छ भन्ने दुर्भावना हुनेरहेछ । यसैले  राजनीतिमा रहेका युवालाई अगाडि बढ्न दिएको छैन । यो मुलुकमा लोभी, पापीहरूको अझै पनि राज छ । त्यसलै आसा गरिए अनुसार युवा अगाडि बढ्न सकेका छैनन् ।
अर्कोतिर युवाहरूमा राजनीतिलाई बुझ्न नचाहाने प्रवृति पनि छ ।  युवाहरूको राजनीतिप्रति एकखाले बिर्कषण पनि देखिएको छ । प्लस टु पछि विदेश पढ्न जाने  र उतै बस्ने प्रवृति पछिल्लो पुस्तामा देखिएको छ । यसले गर्दा नेपालमा प्रतिभा पलायनको खतरा पनि देखिएको छ ।  यो देशका लागि खतरानाक कुरा हो ।
नेपालको राजनीतिमा नैतिकता, स्वच्छता नभएकाले पनि युवाहरूको राजनीतिप्रति बितृष्णा जागेको हुनुपर्छ । राजनीति भनेको राज्यको मूल नीति हो । यसले देशलाई आमुल परिर्वतन गर्ने सामथ्र्य राख्छ भन्ने भाव युवाहरूमा जगाउन सक्नु पर्छ ।  तर, नेपालमा त्यो देखिएन । नेपाली राजनीतिले आमुल परिर्वतन गर्ने सामथ्र्य देखाएको भए युवाहरू पक्कै पनि देशका लागि केही गनुपर्छ भनेर राजनीतिमा आर्कषित हुन्थे होला । मुलुकलाई आवश्यक पर्दा त युवाले रगत बगाएकै छन् । शहीद भएकै छन् ।
राजनीतिमा आएका युवाहरूमा पनि केही समस्या छन् । अवसर मात्रै खोज्ने प्रवृति छ । त्यसको लागि नेताहरूको चाकडी गर्ने प्रवृति पनि छ । त्यस्ता युवा नेताहरूसँग डराउँछन् । आफ्नो बिचार प्रष्टसँग राख्न सक्दैनन् । युवाहरूले नेपालको राजनीतिमा हस्तक्षेप गर्न सक्नुपथ्र्यो । तर,  त्यसरी गर्न सकेका छैनन् । त्यसको मूल कारण भनेको नेताहरूसँगको भय, त्रास नै हो ।
सरकारमा कार्यकारी भूमिका पाएका युवापुस्ताका नेता  र पुराना पुस्ताबीच खासै ठुलो फरक देखिएको छैन । त्यसो गर्न सक्दा युवाहरूले भूमिका पाए केही फरक गर्न सक्छन् है भन्ने ‘प्रेसर’ र प्रेरणा अरूलाई हुन्थ्यो । अलिकति काम गर्दा पनि धेरै प्रचारमुखी हुने समस्या युवाहरूमा छ । थोरै काम गर्दा पनि युवाहरूले बिभिन्न मिडिया, सोसल मिडियालगायतबाट बढ्ता प्रचार गर्छन् । काम कम प्रचार बढी गर्ने प्रवृत्तिले युवा स्वयंलाई नै घाटा पुर्याउँछ । ठोस परिणाम देखिने गरी काम गर्न  आवश्यक छ र त्यो हामीले काम गरेर देखाउनुपर्छ ।
उदाहरणको लागि अहिले लोडसेडिङ् हट्यो भनेर प्रचार गरिएको छ । लोडसेडिङ हट्नु मात्रै सम्बृद्धिको आधार होइन । अहिले करिब ६ सय मेगावाट बिजुली भारतबाट आयात गरेर लोडसेडिङ् हटाएको भनिएको छ । तर, हामी उत्पादनमा गम्भिर छैनौं । अहिले नै धेरै उत्पादन गर्न नसकिएला तर त्यसको ढोका त खोल्नुपर्यो नि । कतिपयले हामीलाई दुई हजार मेगावट बिजुली भए पुग्छ भन्छन् । केवल बत्ति बाल्नुलाई नै उनीहरूले सबथोक ठान्छन् । हामीले बिजुलीको खपतलाई बढाउनुपर्छ । खाना पकाउने ग्यासँको सट्टा बिजुली प्रयोग गर्न उत्तप्रेरित गर्नुपर्छ । यसले गर्दा भारतबाट आयात हुने ग्याँसको मात्रा घट्छ । त्यस्तै पहाडका अप्ठ्यारो भू–भागमा केबलकार, शहरमा ट्रलिबसहरू संचालन गर्नुपर्छ । यसले वायुप्रदुषण घटाउँछ । पेट्रोलियम पदार्थमा भारत माथिको परनिर्भरतालाई घटाउँछ । हामीसँग १० हजार मेगावट बिजुली भएपछि ग्याँस पुरै प्रतिबन्ध गर्दा पनि हुन्छ । जनतालाई ग्याँस छोडेर बिद्युतीय चुलोमा बानी पार्नुपर्छ । यसले धेरै विद्युत् खपत बढाउँछ । उद्योगहरूलाई चौबिसै घण्टा बिजुली दिनुपर्छ । दुई हजार मेगावट बिजुली हुने बित्तिकै हामी हात बाँधेर बस्छौं । लोडसेडिङ् घट्ने बित्तिकै सबै पुरा भयो भन्ने ठान्छौं । यसले हामीलाई प्रगतिबाट रोक्छ । सस्तो लोकप्रियता देखाएर मात्रै हुँदैन ।  
जुनसुकै बिचार, दलमा भए पनि सबै युवाहरू सम्बृद्धिका लागि लाग्नुपर्छ । बिचार फरक फरक भए पनि सम्बृद्धि सबैलाई चाहिने हो । यसका लागि युवाहरूले नियमित अन्तरक्रिया गर्नुपर्छ । राजनीतिमा युवाको भविष्य राम्रो छ । युवा निरास हुनुपर्ने अवस्था छैन ।
 

 

Leave A Comment