पूर्वेली कलाकारको प्रिय ढाका

आइतबार, २१ जेठ २०७४, ०१ : ०७ गोपाल दाहाल , Kathmandu
पूर्वेली कलाकारको प्रिय ढाका

पूर्वका कलाकार/निर्देशक प्रेम सुब्बा औपचारिक समारोहमा प्रायः ढाकाको कोट लगाएर पुग्ने गर्छन् । तेह्रथुमे ढाका उनको प्रिय पहिरन हो । उनी सुनाउँछन् ‘तानमा हातले बुनेको ढाकाको पहिरन लगाउँदा बेग्लै सन्तुष्टि मिल्छ । हाम्रो संस्कृति र मौलिकता झल्किएको अनुभव हुन्छ ।’
अघिल्लो पुस्ताका कलाकार प्रेम मात्र होईन अहिलेकी नवनायिका रेखा फागोको पनि उत्तिकै प्रिय पहिरन हो ढाका । धेरै कार्यक्रममा ढाका पहिरनमा सजिएर पुग्ने गरेकी रेखालाई चाहिं ढाका पहिरन लगाउँदा आत्मविश्वास बढ्छ रे । तेह्रथुमे ढाकाको मेख्ली, लेहेंगाचोली लगाउने उनी भन्छिन् ‘सानैदेखि परिवार र आफन्तकामा बुनेको देखेर होला ढाका लगाउँदा मनमा आनन्द लाग्छ, आत्मविश्वास बढेर आउँछ ।’
प्रेम र रेखालाई जस्तै धेरै नयाँ पुराना पूर्वेली कलाकारको प्रिय पहिरन बन्दै गएको छ ढाका । परिचित रंगकर्मी सृजना सुब्बा हुन् या गायिका÷नायिका विष्णु चेम्जोङ ढाकामा सजिन मन पराउँछन् । मोडल हेमराज आङश्रङवो, निशा पोमो, गायक रुक्मान लिम्बु, खगेन्द्र यक्सो, कुशल थलङ, कञ्चन थलङ, दिपक लिम्बूलगायतका कलाकार सांस्कृतिक कार्यक्रम लिएर विदेश जाँदा पनि ढाकाकै पहिरनमा सजिएर जान्छन् ।
पहिला परम्पराका रुपमा मात्र घरघरमा रहेको ढाकालाई आधुनिक रुप दिएर विभिन्न डिजाईनमा उतार्न थालिएपछि कलाकारहरूको आकर्षण बढ्यो । ढाकाकै विभिन्न फेशन शोहरू भए । त्यसपछि अहिले अन्य युवायुवती पनि ढाकाका पहिरनमा सजिन मन पराउँछन् । युवतीहरू विशेषगरी ढाकाको गाउन, लेहेंगामा सजिएका हुन्छन् भने युवाहरु ढाकाको कोट, दौरा सुरुवालदेखि जुत्ता सम्म ढाकाकै लगाउँछन् । देश तथा विदेशका कार्यक्रममा ढाकाकै कोट लगाएर पुग्ने गायक रुक्मान लिम्बु भन्छन् ‘ढाकाका पहिरन अन्य फेशन भन्दा कम्ता आकर्षक छैन । ’
पूर्वका तेह्रथुम, पाँचथर, ताप्लेजुङ लगायतका लिम्बु वस्तिका प्रत्येकजसो घरमा ढाका बुन्ने गरिन्छ । केही वर्षयता तेह्रथुमको ढाका धरान, झापा, काठमाडौंहुँदै विदेशतिर निर्यात हुन थालेपछि यसको बजार पनि अन्तर्राष्ट्रिय बन्दै छ । ढाकामा नयाँपुस्ताको पनि आकर्षण देखेपछि व्यवस्थापन पढेकी तेह्रथुम आम्बुङकी निरु आङ्बुहाङ र संखुवासभाकी संगीता लिंखाले तीन वर्षअघि ललितपुरको नखिपोट, मिलनचोकमा ‘तेह्रथुमे ढाका बुटिक’ खोले । उनिहरूले तेह्रथुमका घरघरमा हातैले बुनिने ढाका जम्मा गरेर आकर्षक डिजाईन दिन थाले । अहिले उनिहरूका उत्पादन कलाकार, स्थानीय युवायुवतीसँगै हङकङ, बेलायत, सिंगापुर, ब्रनाईलगायतका ठाउँमा रहेका नेपालीहरूसम्म पुग्ने गरेका छन् । तेह्रथुमे ढाकाकी प्रोपाईटर निरु भन्छिन् ‘गाउँबाट कलेक्सन गरिएको शुद्ध ढाका भएकाले सबैले मन पराउँछन्, नेपाली भएका सबैजसो देशमा हाम्रा पहिरन पुगेका छन् ।’
पहिला नेपालमा पाल्पाली ढाका ब्राण्डका रूपमा बढि चलेको थियो । तर पछिल्लो समय विदेशमा रहेका नेपालीमाझ तेह्रथुमे ढाका ब्रान्ड बनेको छ । हातैले बुनिने, दह्रो र आकर्षक ढिजाईनमा आधुनिक पहिरन बनाईन थालेपछि तेह्रथुमे ढाका अन्तर्राष्ट्रिय बजारसम्म पुगेको हो । परम्परागत रुपमा पूर्वमा लिम्बु समुदायले बुन्ने गरेको ढाकाबाट पछ्यौरा, सारी, पुरुषका लागि टोपी, गलबन्दी जस्ता पहिरन बनाईन्थ्यो । अहिले भने सबै प्रकारका पहिरन बनाईन्छ ।
तेह्रथुममा उज्वलता सुब्बा, ढंग पराजुलीलगायत धेरैले व्यवसायी रुपमा नै ढाका उत्पादन गर्छन् भने कल्पना योङहाङले राजधानीमा ढाका उद्योग खोलेकी छिन् । कल्पना, निरुलगायत धेरैले विदेशमा ढाका पहिरन तयार पारेर बेच्छन् । नयाँपुस्ताका युवायुवती पनि ढाका लगाउन उत्साहित भएपछि कुनै बेला परम्परामा सिमित ढाका बुन्ने काम अहिले गाउँ गाउँमै व्यवसायिक बन्दै छ । ढाका व्यवसायी संगीता लिंखा भन्छिन् ‘कलाकारदेखि युवायुवतीसम्मको आकर्षण बढेपछि विदेशबाट ढाका मगाउँछन् । ढाकाले पनि विदेशी पैसा भित्राईरहेको छ ।’

 

Leave A Comment