स्थानीय चुनाव : ध्यान खिच्ने घटना

बिहिबार, १८ जेठ २०७४, ०१ : ०३ शुक्रवार , Kathmandu
स्थानीय चुनाव : ध्यान खिच्ने घटना

–खिलक बुढाथोकी/हिमाल लम्साल

करिब २० वर्षपछि बैशाख ३१ मा ३४ जिल्लाको २ सय ८३ स्थानीय तहमा निर्वाचन सम्पन्न भएको छ । यतिबेला निर्वाचन भएका स्थानीय तहले जनप्रतिनिधि समेत पाइसकेका छन् । चुनावदेखि नतिजा आउँदासम्म विभिन्न ठाउँमा केही रमाइला घटना देखिए । धेरैको ध्यान तान्न सफल केही रोचक घटना यस्ता छन् :

चुनाव चिन्ह नभेटिएपछि खैलाबैला
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ६ एकपछि अर्काे मतदाताले मतदान गरिरहेका थिए । २३ औं नम्बरका मतदाता जब गोप्य मतदानमा पुग्दा थाहा भयो चुनाव चिन्है छैन । मतपत्रमा नेपाल मजदुर किसान पार्टीको चुनाव चिन्ह ‘मादल’ नभएपछि विवाद चर्कियो । पार्टीले निर्वाचन आयोगमा उजुरी गरेपछि मतदान नै रद्द भयो ।

१ सय १५ वर्षीयाद्वारा मतदान
स्याङ्जाको कालिगण्डकी गाउँपालिका–३ की १ सय १५ वर्षीया दमन्ती थापाले मतदान गरिन् । अमरदीप आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेकी हुन् । आधा घण्टा दुरीमा पर्ने मतदान केन्द्रसम्म पनाति भुवन थापाले बोकेर पु¥याएका थिए । स्थानीय तहको निर्वाचनमा भोट खसाल्ने सम्भवतः उनी नेपालकै जेठी महिला हुन् । उनी १९५९ भदौ १० गते पाल्पाको दमकडामा जन्मिएकी हुन् ।

लाइनमै मतदाताको मृत्यु
मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा मतदान गर्न लाइन बसेका मतदाताको मृत्यु भयो । इन्द्रसरोबर ३ का २२ वर्षका बिरमान पाख्रिनको मतदान लाइनमै मृत्यु भएको हो । लाइनमा ढलेका उनलाई अस्पतल लैजाँदै गर्दा मृत्यु भएको थियो । उनलाई पेट दुख्ने समस्या देखिएको  थियो ।

किरियापुत्रीद्वारा मतदान
काभ्रेको मण्डन देउपुर नगरपालिका वडा ११ जैसिथोकमा किरियापुत्रीले मतदान गरेका छन् । ऋषि प्रसाद तिवारी, कमल प्रसाद तिवारी, नारायण प्रसाद तिवारी तीन दाजुभाईले मतदान गरेका हुन् । जैसिथोकमा रहेको मतदान केन्द्रबाट मतदान गरेका थिए ।

गोलाप्रथाबाट विजय
सल्यानको ढोरचौर गाउँपालिका वडा नं ४ मा एमाले र कांग्रेसका वडाध्यक्षले बराबरी मत ल्याए । कांग्रेसका उम्मेदवार दिनेश बिएम र एमालेका उम्मेदवार देबेन्द्र रोक्काले ३ सय २१ मत प्राप्त गरेका थिए । बरबरी मत आएपछि दो¥याएर पनि मतगणना भयो । त्यसमा पनि फरक नदेखिएपछि गोलाप्रथाबाट विजेता छानियो । गोलप्रथा गर्दा कांग्रेसका उम्मेदवार बिएम भाग्यामानी ठहरिए । एमालेका उम्मेदवार देवेन्द्र रोक्का भने गोलप्रथाबाट पराजय स्वीर्कान बाध्य भए ।
बागीको जित
मुस्ताङमा दालोमे गाउँपालिकाको अध्यक्षमा स्वतन्त्रका उम्मेदवार राजु बिष्ट बिजयी भएका छन् । कांग्रेसका तेन्जिङ छिरिङ गुरुङलाई पछि पार्दै उनले जित हासिल गरेका हुन् ।
बिष्टले ७ सय ५५ ल्याएका थिए भने गुरुङले २ सय ३ मत प्राप्त गरेका थिए । बिष्ट पनि कांग्रेसकै बागी उम्मेदवार हुन् । कांग्रेसबाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेरदारी दिएका थिए ।
पार्टी त्यागेको सातामै जनप्रतिनिधि
रसुवाको कालिका गाउँपालिकाको अध्यक्षमा सिता पौडेल बिजय भएकी छिन् । उनी नेपाली कांग्रेसबाट अघिल्लो साता मात्रै एमाले प्रवेश गरेकी हुन् । कांग्रेसमा टिकट नपाएपछि एमालेबाट टिकट लिएर पार्टी त्यागेको साताभित्रै उनी गाउँपालिकाकोे जनप्रतिनिधि बनेकी छिन् ।
त्यसैगरी टिकट नपाएपछि आफ्नो पार्टी नेपाली कांग्रेस छोडेका तनहुँ व्यास नगरपालिका–४ का विश्वराज न्यौपाने पार्टी छोडेकै एक सातामा वडाध्यक्ष बन्न सफल भएका छन् ।
उनले कांग्रेसमा टिकट नपाएपछि एमालेबाट वडा अध्यक्षको टिकट लिएका थिए । एक साताअघि एमाले प्रवेश गरेका न्यौपानेले ९ सय ३ मत ल्याएर वडाध्यक्ष बनेका हुन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार बुद्धिकुमार श्रेष्ठले ४ सय ५५ मत प्राप्त गरेका थिए ।
दाईको जित, भाईको हार
दक्षिणकाली नगरपालिका–४ को वडाध्यक्षमा सहोदर भाईलाई हराउँदै दाजुले जित हात पारे । वडाअध्यक्षमा नेपाली कांग्रेसबाट उठेका पुष्कर खड्काले एमालेबाट उम्मेदवार बनेका भाई दिवाकर खड्कालाई ६० मतले हराएका हुन् । पुष्कर र दिवाकर लीलाबहादुर खड्काका जेठा र माइला छोरा हुन् ।
मतपत्रमा औंठाछाप
कास्कीको माछापुच्छे गाउँपालिकाको मतगणना गर्दा चुनाव चिन्हमा औंठाछाप लगाएको भेटिएको थियो । मतदाता शिक्षा अभावका कारण मतपत्रमा स्वस्तिक छापको सट्टा औंठाछाप लगाएको पाइएको हो । मतगणनाको क्रममा ७ वटा मतपत्रमा आंैठाछाप भेटिएको थियो ।
मत पेटिकामा ‘नो भोट’
काठमाडौं महानगरपालिका वडा नम्बर १ को मतगणना गर्दा मार्करले लेखिएको सेतो कागज भेटियो । त्यसमा लेखिएको थियो, ‘राइट टु रिकल एण्ड रिजेक्ट’को व्यवस्था गर्न अनुरोध छ ।’
यो कागज भेटिएपछि निर्वाचन अधिकृतले मतगणनामा बसेका सबै दलका प्रतिनिधि र उम्मेदवारलाई देखाएका थिए । सोदेखेपछि उम्मेदवारहरू पनि मुसुमुसु हाँसेका थिए ।
वडा एमाले, मेयरमा काँग्रेस
म्याग्दीको बेनी नगरपालिकामा १० मध्ये ८ वडामा नेकपा एमालेको प्यानलैले विजय हासिल गरेको छ । एउटा वडामा स्वतन्त्र उम्मेरदारले जितेका छन् भने एउटा १० नंबर वडामा मात्रै कांग्रेसले जितेको छ । रोचक पक्षचाँही नौ वटा वडाको मत गन्दा समेत मेयरमा एमाले अगाडि थियो । वडा नम्बर १० को मतले भने एमालेलाई पछि पार्दै कांग्रेसको जित भयो । नौ वटा वडामा पछि परेका कांग्रेसका उम्मेरदार हरि कुमार श्रेष्ठ १० नम्बर वडाको मतले मेयरमा विजय भएका हुन् । उनले एमालेका प्रमोद श्रेष्ठ भन्दा ३३ मत बढी ल्याएर विजय हाँसिल गरेका हुन् ।

बिजय जुलुस एउटाको, जित अर्काको
चितुवानको भरतपुर महानगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा जितियो भनेर बिजय जुलुस तयारीमा थिईन एमाले वडाध्यक्ष  उम्मेरदार गीता श्रेष्ठ । तर १४ मतले कांग्रेस उम्मेदवार विजयपछि दलका नेता कायकर्ता सहित बिजय ¥यालीको खुसीयाली मनाउन पुगेकी गीता निरास बनिन् ।
त्यसैगरी वडा नम्बर ४ मा कांग्रेसका वडाध्यक्षका उम्मेदवारले जिते भनेर प्रचार भयो । वडाका सबै कांग्रेस कायकर्तालाई बिभिन्न सवारी साधनमा बोलाए कांग्रेस उम्मेदवार उपेन्द्र सापकोटाले । पछि परीणाम एमालेका वडाध्यक्ष उम्मेदवार हरि आर्चायको पक्षमा आयो । बाजासहित नाँचगानको तयारी गरेका सापकोटा निराश अनुहारमा घर फर्कन पर्यो ।
मतपत्रमा नोट
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको मतगणना गर्ने क्रममा मतपत्रभित्र नोट भेटियो । उक्त गाउँपालिका–८, र ११ नम्बर वडाको मतगणना गर्ने क्रममा मतपत्रसँगै नोट भेटिएको थियो । वडा नम्बर ७ सम्मको मतगणना सकेर ८ को थालेपछि एकपछि अर्को गर्दै मतपत्रमा नोट फेला परे । यो क्रम ११ नम्बर वडा पुग्दासम्म देखियो । तीन मतपत्रमा ५, १० र २० रुपैयाँका नोट फेला परेका थिए ।

आफ्नै छोरालाई तीन पटक भोट
धादिङ्का एक सय एक वर्षिय सोमनाथ ढुङ्गानाले यस पटक समेत गरी आफ्नै छोरालाई तीन पटक भोट दिए । पूर्व प्रधानपञ्च समेत रहेका ढुंगानाले यसअघि २०४७ र २०५४ को निर्वाचनमा आफ्नै छोरालाई नै भोट हालेका थिए । छोरा भिमप्रसाद ढुङ्गाना गाविस अध्यक्षका उम्मेदवार थिए । उनी यस पटकको चुनावमा नीलकण्ठ नगरपालिकाको मेयर पदमा नेपाली काँङग्रेसको तर्फबाट चुनावी मैदानमा थिए ।
८० वर्षमा वडाध्यक्ष
सिन्धुपाल्चोकमा ८० वर्षका व्यक्ति वडाध्यक्षमा निर्वाचित भएका छन् । त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा  ८० वर्षीय कर्णबहादुर खड्का निर्वाचित भएका हुन् । उनी नेपाली कांग्रेसबाट चुनावी मैदानमा उत्रिएका थिए । आफ्नो नातिको उमेरका माओवादी केन्द्रका उम्मेदवार कुमार खत्रीलाई पराजित गर्दै दुई सय ७३ मत ल्याएर खड्का विजय भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी खत्रीले एक सय ६० मत प्राप्त गरेका थिए ।
मंसिरदेखि ८० वर्ष लागेका कर्णबहादुरका चार छोरा र चार छोरीका गरी नातिनातीना २१ जना छन् । पनातिपनातिना १० जना छन् । उनको नाति नै ३० वर्षका छन् ।
८६ वर्षमा वडा सदस्य
धादिङ्मा ८६ वर्षिय एक महिला वडा सदस्यमा निर्वाचित भएकी छिन् । थाक्रे गाउँपालिका वडा नम्बर ५ बाट दलित महिला सदस्यमा ८६ वर्षिय चन्द्रमाया विश्वकर्मा निर्वाचित भएकी हुन् ।
निकटतम प्रतिद्वन्द्वी माआवादी केन्द्रकी २५ वर्षीय सबिना विश्वकर्मलाई पछि पार्दै दलित महिलातर्फबाट ४ सय ९५ मत ल्याएर चन्द्रमायाले विजयी भइन् भने सबिनाले ४ सय ७३ मत पाएर पराजय बेहोर्न पुगिन् । नेकपा एमालेतर्फबाट दलित महिला आरक्षणमा उम्मेरदार नपाएपछि चन्द्रमाया उम्मेरदार बनेकी थिईन् । ‘म राजनीति गर्छु भनेर उठेको होइन, पार्टीले विश्वास गरेर टिकट दियो, जितियो,’ विजयी भइसकेपछि उनले भनिन्, ‘बुढेसकालमा मैजस्ताका लागि अब केही गरेर देखाउने धोको छ ।’
२१ वर्षमै जनप्रतिनिधि
२१ वर्षकी सिर्जना लामा रसुवाको नौकुण्ड गाउँ पालिकाकाको उपाध्यक्षमा निर्वाचित भइन् । नेकपा एमालेका तर्फबाट १६ सय ९ मत ल्याउँदै उनी विजयी भएकी हुन् । विजयसँगै उनी नेपालकै कान्छी जनप्रतिनिधि बन्ने सौभाग्य पनि प्राप्त गरेकी छन् ।

 

Leave A Comment