निर्वाचन अर्थात् बन्दाकोभी

बुधबार, १७ जेठ २०७४, ०२ : ०२ ईश्वर दाहाल , Kathmandu
निर्वाचन अर्थात् बन्दाकोभी

होटलवालाको फोनले उसको तरंग बिथोलियो । फोन पनि उही चुनावी नै थियो । मतदान र मतगणनामा चुनाव सकिए पनि होटलवाला, गाडीवाला, र साहूजीहरूको चौघेरामा चुनाव सकिएको थिएन । अझै दुईचार वर्ष सकिँदैन भन्ने उसले अनुमान गरेको छ । यो डेढ महिना उसको मोबाइलमा चुनाव मात्र बज्यो । चुनाव सकिएपछि पनि चुनावले छोडेको छैन ।
होटवालाले किन फोन ग¥यो ? उसले नबुझ्ने कुरै थिएन । यति जाबो कुरा पनि नबुझ्ने भएको भए उसलाई राष्ट्रिय पार्टीले गाउँपालिका अध्यक्षको उम्मेदवार किन बनाउँथ्यो ? सबै बुझ्ने हुँदाहुँदै पनि उसले चुनाव हारिन्छ भन्ने चाहिँ बुझ्न सकेनछ । यही गाँठी कुरो ठम्याउन नसक्नुको परिणाम भोग्न उ अभिशप्त छ ।
उसलाई होटलवालाको फोन उठाउन पटक्कै मन थिएन । तर, के गर्नु ? राजनीति भन्ने खेल हार्दाहार्दै पनि कहिल्यै हारिन्न । लौ सकियो जस्तो लागे पनि खडेरीले खाएका मकैका बिरुवा एक झर पानीले तन्किएझैँ गरी तन्कन सक्छ । उसले यस्ता धेरै नेतालाई भोगेको छ, जो अस्ताए भन्दाभन्दै उदाए । आफ्नो पनि उदाउने दिन आउँछ भन्ने झिनु आशालाई उसले जिउँदै राखेको छ । होटलवालाको फोन नउठाउँदा इमानदारी ओरालो लाग्छ । इमानजमान ओरालो लाग्यो भने राजनीतिमा उदाउन हम्मे पर्छ । उसले फोन उठायो ।
‘ए हजुर नमस्कार !’ होटलवालाले भन्यो ।
‘नमस्कार दिवाकरजी !’ उसले नमस्कार फर्कायो ।   
‘कता हुनुहुन्छ ?’ होटलवालाले सोध्यो ।
‘घरमै आराम गरिराछु । यो एक महिनाको दौडधूपले अलि सञ्चो पनि भइ‘रा छैन ।’
‘हो, हो,’ होटलवालाले सहमति जनाउँदै भन्यो, ‘के गर्ने दौडधूपको परिणाम रामै्र आ भए त मजै हुन्थ्यो, तर केही छैन राजनीतिमा हारजीत त भइहाल्छ । आजको हारबाट पाठ सिकेर भोलिको झन् ठूलठूला चुनाव जित्नुपर्छ ।’ होटलवालाले सहानुभूति देखायो । उसले होटलवालाको कुरामा सहमति जनायो । विमति जनाउनुपर्ने कारण पनि थिएन ।
एकदुई मिनेट छेउकिनारको कुरा गरेपछि होटलवाला मूलधारमा पौडी खेल्न आइपुग्यो र भन्यो, ‘हुन त आजभोलि नै भन्न मन थेन, तर के गर्ने ? व्यवहारले थिचेपछि नसकिँदो रहेछ । मैले पनि पूरै ऋणैऋणले धान्या छु । हजुरलाई पनि था नै छ । बैंकको ब्याज तिर्न मुश्किल प¥यो । के गर्ने यसो मिलाउन सकिन्थ्यो कि भनेर फोन ग¥या ।’
उसले होटलवालाको कुरा बुझ्यो । भन्यो, ‘कुरो त मैले सबै बुझेको छु । तर, अलिकति समय चैँ लाग्न सक्छ । चुनाव हारेपछि दुईचार दिन त तंग्रिनै लाग्दो रछ । आफूसँग छैन । यसो दायाँबायाँबाट मिलाउन पनि अलिकति समय लाग्ला ।’ उसको स्वर थाकेको थियो । ‘हुन्छ हजुर’ भनेर होटलवालाले फोन राख्यो ।
उसको मन एकतमासको भो । यस्ता अझै तीनचार जना होटलवालाको फोन आउन बाँकी नै छ । गाडी साहूहरूको फोन आउन सुरु नै भएको छैन । एक डेढ महिनापछिबाट त ठूला कारोबारीहरूको पनि फोन आउँछ ? सोच्दासोच्दै उसलाई गर्मी भयो ।
उसले झ्यालबाट मुन्टो निकालेर करेसाबारीमा हे¥यो । करेसाबारीमा बन्दाकोभी, रामतोरिया र गोलभेँडा लटरम्म थिए । उसलाई चुनाव र बन्दाकोभी उस्तै–उस्तै लाग्यो । खास गरी मतगणना गर्दा एउटा ब्यालेटबक्सले सकस दिएपछि अर्काेले आराम दिन्छ कि भनेर ऊ आश राख्थ्यो । तर, अर्काे बुथको बाकसले पनि ऐँठन दिन्थ्यो । मतगणनाका तीन रात उसका लागि बन्दाकोभी छोडाउनुजस्तै भयो । एउटा पत्र उधारेपछि भित्र केही छ भनेर आश राख्यो । तर, त्यो छोडाउँदा पनि जस्ताको तस्तै । अन्तिम ब्यालेटबक्ससम्म बन्दाकोभीकै कथा दोहोरिरह्यो । ‘मतगणना मात्र होइन, सिंगो चुनावै बन्दाकोभी रहेछ,’ उसले मनमनै भन्यो ।
एउटा कार्यकर्ता आउँथ्यो र सुनाउँथ्यो, ‘त्याँका केटाहरूलाई खानपानमा विचार गर्ने हो भने भोट पक्का ।’ अर्काे टोलको तालुकदार आउँथ्यो र कान फुक्थ्यो, ‘विरोधीहरूले रातभर पैसा बाँडेछन् । उनीहरूको भन्दा अलि थपेर हामीले पनि बाँड्नुपर्ने भो । यति गरियो भने त्यो टोलमा लाहाछाप लाग्छ ।’ अनि, अर्काे सुनाउँथ्यो, ‘चुनावको दुई दिनअगाडि भोज गरौँ र आफ्ना कुरा राखौँ ।’  
आखिर चुनाव भोटकै लागि हो । भोट जित्नकै लागि । जसजसले जेजे गर्दा जितिन्छ भने उसले त्यो सबै गर्यो । तर, मतगणनाको परिणाम बन्दाकोभी छोडाएभन्दा फरक भएन ।
सोच्दै गर्दा उसले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता सम्झियो । आचारसंहिताले खर्चको निश्चित सीमा तोकेको थियो । चुनाव लड्दा उसलाई आचारसंहिताको सिलिङ पटक्कै मन परेको थिएन । उसले भनेको पनि थियो, ‘चुनाव पो लड्ने हो, दशैँ मनाउने हो र ? यति जाबो खर्चले त एउटा वडा पनि धान्दैन ।’ तर, अहिले ऊ पराजित गाउँपालिका अध्यक्षको उम्मेदवार भएको छ । उसलाई निर्वाचन आयोगले लोकिदिएको सिलिङ ठीक हो कि हो कि जस्तो लाग्न थालेको छ ।

Leave A Comment