चायापोतो यसरी हटाउने

मङ्गलबार, १६ जेठ २०७४, ०१ : ५१ शुक्रवार , Kathmandu
चायापोतो यसरी हटाउने

सृजना कार्की, ब्युटिसियन
अनुहारमा आउने दागधब्बा, चाउरी, फुस्रोपन, मुसा, चायापोतोले धेरैलाई सताएको हुन्छ । चायापोतो हटाउन धेरै औषधिको प्रयोग गर्नेहरू पनि भेटिन्छन् । केमिकलयुक्त औषधिको अत्यधिक प्रयोगले चायापोतो हट्नुको साटो अनुहार नै कुरूप हुन सक्छ । अनुहारमा आउने दाग तथा चायापोतो हटाउन यी केही घरेलु विधि अपनाउन सकिन्छ ।
–अमला तथा कागतीको रसलाई बराबर मात्रामा मिलाएर अनुहार र गर्दनमा मालिस गर्नाले अनुहारको रङ सफा हुन्छ । यो लगाउनाले अनुहारको चायापोतो पनि ठीक हुन्छ ।
–कागतीलाई टुक्रा पारेर काट्नुस् । यसमा एक ग्राम एमोनियम क्लोराइड छर्केर हातले मालिस गर्नुहोस् । कागतीको टुक्राले एक हप्तासम्म अनुहारमा रगड्नाले अनुहारका सबै अनावश्क चिन्हहरू मेटिदै जान्छन् । त्वचामा रातो धब्बा छ र चिलाइरहेको छ भने यो रसले मालिस गर्नाले आराम मिल्छ ।
–तुलसीका पातहरूको रस काँचो नरिवलसँग पिसेर अनुहारमा लेप लगाउनाले चायापोतो हटाउन मद्दत गर्छ ।
–भटमासको पिठोमा टमाटरको रस हालेर अनुहारमा दल्नुहोस् र सुकिसकेपछि अनुहारलाई मनतातो पानीले धुनुहोस् । यसो गर्दा अनुहारको दाग हट्दै जान्छ ।
–अलिकति दहीलाई राम्रोसँग फिट्नुहोस् । ग्लिसरिन या क्रिमरहित साबुनले अनुहार धुनुहोस् र फिटेको दही अनुहारमा लगाउनुहोस् । दस मिनेटपछि टिस्यु पेपरले पुछ्नुहोस् र स्वच्छ पानीले अनुहार धुनुहोस् । त्यसपछि तौलियाले हल्का–हल्का अनुहारमा थपथपाउनुहोस् । यो प्रक्रिया हप्तामा तीन पटक गरे त्वचा बेदाग र आकर्षक बन्छ ।
–चोकरसँग अलिकति दही, बेसार, कागतीको रस र मह उचित मात्रामा लिएर एक कचौरा पानीमा हालेर एक–दुई घण्टा राख्नुहोस् । यसलाई पिसेर मिलाउनुहोस् र अनुहारमा लेप लगाउनुहोस् । सुकिसकेपछि माडेर चिसो पानीले धुनुहोस् । अनुहारको त्वचा गोरो, चमकदार र दागधब्बारहित हुन्छ ।
–मुलालाई पिसेर लेदो बनाउनुहोस् । एक सानो चम्चा लेदोमा चौथाई सानो चम्चा दही र चौथाई चम्चा कागतीको रस हाल्नुहोस् । यसलाई ‘फ्रेकल्स’ मा लगाउनुहोस् । आधा घण्टापछि धुनुहोस् । यसबाट दाग हल्का भएर हट्दै जान्छन् ।  
–त्वचाको रङमा यदि कुनै विकृति छ या छालामा कुनै निशान छ भने त्यसमा केही दिनसम्म लगातार जिरा पिसेर लेप गर्नाले त्वचा समान हुन्छ ।
–बदामको पेस्ट, एक सानो चम्चा गाजरको रस र एक सानो चम्चा काँक्राको रस मिलाएर चायापोतोमा लगाउनाले पनि चायापोतो बिस्तारै कम हुँदै जान्छ ।
–बेसन र बराबर मात्रामा मह तथा कागतीको रस मिश्रित गरेर लगाउनाले अनुहार तथा गर्दनका चाउरी ठीक हुन्छ ।
–रस निकालिसकेको कागतीको टुक्रामा तीनचार थोपा मह मिलाई र अलिकति बेसार छर्केर अनुहार र गर्दनमा रगड्नुहोस् । केही दिनमै अनुहारमा निखार र चमक आउँछ ।
–कागतीको बीउ पिसेर अनुहारमा भएका दागहरूमा लेप गर्नाले दाग हल्का हुन्छ । बिस्तारै अनुहार पनि सफा हुँदै जान्छ ।
–कागती र सुन्तलाका बोक्रालाई सुकाउनुहोस् र दुवैलाई पिसेर चूर्ण बनाउनुहोस् । यस चूर्णमा दही र बेसन मिलाएर अलिकति गुलाबजल हालेर अनुहारमा लेप गर्नाले डन्डीफोर तथा पोतो ठीक हुँदै जान्छ ।


 

Leave A Comment