भारतीय शराबी यता बढ्यो खराबी

मङ्गलबार, १६ जेठ २०७४, १२ : ५६ गोपाल दाहाल , Kathmandu
भारतीय शराबी यता बढ्यो खराबी

भारतको बिहार राज्यमा मदिरा प्रतिबन्धित छ । त्यसको प्रभावस्वरूप नेपालका सीमावर्ती क्षेत्रका बजारमा भारतीय मदिराप्रेमीको ओइरो लाग्ने गरेको छ । झापा, धनुषा, पर्सा, नवलपरासी आदि जिल्लाका सीमानिकट बजारमा भारतीय ‘रक्सी पर्यटक’ बढ्न थालेपछि होहल्ला र झैझगडाजस्ता सामान्य समस्यादेखि यौनधन्दा र हतियार ओसारपसारलगायत आपराधिक गतिविधि पनि बढिरहेका छन् । राजु अधिकारी (झापा) र रितेश त्रिपाठी (वीरगञ्ज) को सहयोगमा गोपाल दाहालले पारिको मदिरा प्रतिबन्धका कारण वारि देखिएका समस्या केलाएका छन् ।   
घटना १
२०७३ असार २५ गते शनिवार मध्याह्न कोशी राजमार्गको भेडेटारनजिक बी. आर.४३ पी ४२२२ नम्बरको भारतीय स्कारपियो गाडी सडकबाट डेढ सय मिटर तल खस्यो । भेडेटारबाट धरानतर्फ आउँदै गरेको गाडी दुर्घटनाग्रस्त हुँदा भारत, बिहार राज्यको मध्यपुरा जिल्लाका ३८ वर्षीय सुरज सिंहको घटनास्थलमै मृत्यु भयो भने अन्य पाँच जना घाइते भए । घाइते हुनेमा मध्यपुराकै राजुकुमार सिंह, रोहित कुमार, प्रभाकर कुमार र दुई जना नेपाली युवती थिए । उनीहरू झापा, गौरादहका सुनीता राई र प्रीति राई थिए ।
घटनालगत्तै घाइते रोहितकुमारले प्रहरीलाई बताएअनुसार बिहारमा ठेक्कापट्टा गर्ने प्रभाकर कुमारले फारबिसगञ्जमा टेन्डर फर्म दर्ता गराएको खुशीयालीमा उनीहरू रमाइलो गर्न नेपाल आएका थिए । प्रहरीका अनुसार बिहारमा मदिरा निषेध भएपछि उनीहरू रमाइलो गर्न भन्दै घटनाको अघिल्लो दिनै नेपाल प्रवेश गरेका थिए । जोगबनी नाकाबाट नेपाल पसेका उनीहरू विराटनगरबाट इटहरी, धरान हुँदै भेडेटार पुगे । नमस्ते झरना र भेडेटार घुमेर एक दिन भेडेटारमै बास बसेका थिए । सो घटना अध्ययन गरेका एक प्रहरी अधिकारी भन्छन्, ‘केटीहरूले लिफ्ट मागेर चढेको भनेर ढाँटे तर ती भारतीय नागरिकले विराटनगरतिरबाटै उनीहरूलाई लिएर आएका थिए । घटनाको बेला चालकलगायत सबैले मदिरा पिएका थिए । गाडी अनियन्त्रित भई भीरबाट झरेको थियो ।’
घटना २
२०७३ साउन ५ गते सुनसरी, इटहरीबाट चार जना युवती र यौनधन्दा सञ्चालन गर्ने सिरहा, लहानकी ३६ वर्षीया पार्वती राजवंशीलाई नगद १ लाख ३६ हजार ५ सय रुपैयाँसहित प्रहरीले पक्राउ ग¥यो । पहिला पनि इटहरीमा यौनधन्दा चलाएको अभियोगमा पटक–पटक पक्राउ परेकी राजवंशी त्यस दिन ती चार महिलालाई लिएर भेडेटारतिर जाँदै गर्दा बाटैमा पक्राउ परेकी थिइन् । प्रहरीको अनुसन्धानबाट उनले भारतीय पर्यटकहरूसँग ‘डिल’ गरेर उनीहरूलाई भेडेटार पु¥याउन हिँडेको पत्ता लाग्यो ।
घटना ३
करिब एक वर्षअघि भेडेटारको एक होटलमा केही युवा र युवती बास बसेका थिए । राति उनीहरूबीच झगडा भयो । होटल सञ्चालकले सोधखोज गर्दा ती युवती धरान–१३ बेसक्याम्पमा सञ्चालित जीके रेस्टुरेन्टबाट भारतीय नागरिकहरूसँग भेडेटार पुगेका रहेछन् । उनीहरूलाई रेस्टुरेन्टका सञ्चालकले भारतीयहरूसँग पैसा लिएर पठाएका रहेछन् ।
उनीहरूले भारतीयहरूसँग झगडा भएको विषयमा फोन गरेपछि जीकेका सञ्चालक धरान–१३, अमरहाटमा रहेको प्रहरी बिटका एक प्रहरीलाई लिएर भेडेटार पुगे । भेडेटारका होटल सञ्चालकले प्रहरीलाई खबर गरेपछि भारतीय नागरिक, नेपाली महिला र उनीहरूलाई पठाउने जीकेका सञ्चालक प्रहरी नियन्त्रणमा राखिए भने उनीहरूलाई लिन गएका अमरहाट बिटका प्रहरी भागे ।

भारतीय राज्य बिहारमा मदिरा प्रतिबन्धित भएपछि नेपालतिर सरेका भारतीय ‘शराबी’ (रक्सीबाज)हरूले नेपाली भूभागमा देखाएका केही ‘खराबी’ का नमुना घटना हुन् यी ।
बिहारका मुख्यमन्त्री नितिशकुमारले सन् २०१५ नोभेम्बर २६ मा अत्यधिक मदिरा सेवनका कारण बिहारमा अपराध, पारिवारिक बेमेल तथा विखण्डनको समस्या बढेको कारण देखाउँदै बिहारलाई मदिरामुक्त बनाउने घोषणा गरेका थिए । त्यही घोषणाअनुसार विधान मण्डलमा बिहार संशोधन विधेयक २०१६ पारित भएपछि सन् २०१६ अप्रिल १ देखि बिहारमा ‘शराबबन्दी’ लागू भएको घोषणा गरियो । बिहारमा मदिरा उत्पादन, बिक्री वा सेवन गरे एक लाख देखि पाँच लाख भारुसम्म जरिवाना र १० वर्ष कैद सजायको व्यवस्था भएको विधेयक कडा रूपमा लागू गरियो । त्यसपछि बिहारका मदिराप्रेमीहरू मदिरा प्यास मेट्न धमाधम नेपाल छिर्न थाले । एक प्रहरी अधिकारी भन्छन्, ‘अहिले सीमावर्ती क्षेत्रका नेपाली युवाहरू भारतीय बजारमा गएर विभिन्न लागुऔषध सेवन गरेर र लिएर फर्कन्छन् भने भारतीयहरू चाहिँ नेपाली बजारमा मदिरा पिएर फर्किन्छन् ।’

बिहारमा नितिशकुमार आएपछि केही वर्षअघि त्यहाँको गुण्डाराजविरुद्ध कडा कदम चालेका थिए । धेरै गुण्डा मारिए, धेरै पक्राउ परे । त्यसलगत्तै थुप्रै गुण्डा भागेर नेपालतिर छिरेका थिए । गुण्डागर्दी नियन्त्रणपछि नितिशले बिहारको सामाजिक सुधारका लागि मदिरा ठूलो बाधकका रूपमा रहेको देखे । त्यसपछि उनले नीति नै परिवर्तन गरेर बिहारमा मदिरा प्रतिबन्ध गरे । त्यसलाई उनले कानुनी दस्तावेजमा मात्र सीमित नराखी व्यवहारमै कडा रूपमा लागू गराए । जसका कारण बिहारको समाजले त शान्तिको महसुस गर्न थाल्यो । तर, नेपालका सीमावर्ती बजारमा भने अशान्तिसँगै यौनधन्दा र अपराध बढेको छ । पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका डीआईजी रमेशकुमार भट्टराई भन्छन्, ‘सीमावर्ती नेपाली बजारमा मदिराको बिक्रीसँगै यौन व्यवसाय र हतियार कारोबार बढेकाले सुरक्षा चुनौती थपिएको छ ।’
बिहारमा मदिरा प्रतिबन्धपछि त्यहाँ हुने अधिकांश ‘दारुपार्टी’ नेपाली सीमावर्ती बजारहरूमा हुन थाले । बिहारमा कसैलाई टेन्डर पर्यो वा कुनै मदिरासहितको भोज गर्नुप¥यो भने गाडीका गाडी मान्छे नेपालतर्फका बजारमा आएर पार्टी दिन थाले । होटल व्यवसायीका अनुसार भारतीयहरूको आगमनले बजारको आम्दानी पहिलाको तुलनामा तेब्बरसम्म बढ्यो । तर, रक्सीले आफ्नो करामत देखाउन थाल्यो । एक होटल व्यवसायी भन्छन्, ‘भारतीय शराबीहरूले मातेर हल्ला गर्ने, झैगडा गर्ने क्रम त बढ्यो नै, पछिल्लो समय यौनधन्दा पनि बढ्न थाल्यो । त्यसले नेपाली समाजलाई नकारात्मक बाटोतिर डोर्याउँदैछ ।’
झापाको काँकडभिट्टा, लसुना लगायतका बजार, मोरङका जोगबनी, विराटनगर, सुनसरीका इनरुवा, भीमनगर हुँदै नेपाल प्रवेश गर्ने भारतीयहरू सुरुका दिनमा यिनै बजारमा रक्सी पिएर फर्किन्थे । भारतीयहरू नेपालमा रक्सी खाएर फर्किन थालेको सुइँको पाएको भारतीय प्रहरीले उनीहरूमाथि निगरानी बढायो र कारबाही गर्न थाल्यो । ‘त्यसपछि उनीहरू एक दिन नेपालमै बस्ने गरी अलि टाढाको बजारसम्म पुग्न थाले,’ एक प्रहरी अधिकारीले भने, ‘एक दिन बस्ने गरी जाने भएपछि उनीहरू मदिरासँगै यौन सुखकोे खोजी पनि गर्न थाले ।’
त्यही क्रममा इटहरी, धरान हुँदै भेडेटारमा भारतीय पर्यटकहरूको ओइरो लाग्यो । सीमाक्षेत्रबाट दुई चार घण्टामा पुगिने भेडेटारको मौसममा लोभिएका उनीहरू यौनधन्दामा लागेका युवतीहरू लिएर पहाडतिर चढ्न थाले । ‘झापा, विराटनगर, इटहरी र धरानमा सञ्चालित केही रेस्टुरेन्ट उनीहरूका लागि ‘केटी मिलाइदिने’ एजेन्ट बने,’ एक प्रहरी अधिकृतले भने, ‘अहिले उनीहरू भेडेटारभन्दा माथि राजारानी, हिले, वसन्तपुरसम्म मदिरा र मस्तीका लागि पुग्ने गरेका छन् ।’
भेडेटारका होटल व्यवसायी रोजन राई भन्छन्, ‘विकृति नहोस् भनेर हामी होटलमा आउने भारतीय पाहुनाका गतिविधि नियाल्छौँ । केटी खोज्दै आउनेहरू पनि धेरै हुन्छन्, त्यस्तालाई राख्दैनौँ ।’ अर्का व्यवसायी रमेश श्रेष्ठ भेडेटार होटल एसोसिएसनले नै विकृति बढ्न नदिन यस्तो नीति लिएको बताउँछन् । उनी भन्छन्, ‘सबै खराब हुँदैनन् तर खराब नियतले आउनेहरू पत्ता लागे प्रहरीलाई खबर गर्छौं ।’
पहिला सुनसरीको इटहरी रेस्टुरेन्टको आवरणमा यौनधन्दा सञ्चालनका कारण बदनाम थियो । प्रहरी र समाजको सक्रियताले धेरै कारबाहीमा परे तर त्यहाँका रेस्टुरेन्टबाट विस्थापित भएका यौनकर्मीहरू पछिल्लो समय भारतीय पर्यटकसँग विभिन्न ठाउँमा जाने गरेको पाइएको छ । इटहरीका विभिन्न क्षेत्रमा अहिले पनि यौनधन्दा गर्नेहरू कोठा लिएर बस्ने गरेको स्थानीयहरूको भनाइ छ । यसरी यौनधन्दा सञ्चालन गर्ने समूहहरूलाई प्रहरीले पक्राउ गर्दै कारबाही चलाइरहेको छ । आपराधिक गतिविधि बढ्ने त्रासले झापाको महाभारास्थित सीमावर्ती बजार कुञ्जीबारी र आसपासका क्षेत्रमा भारतीय ‘शराबी’हरूको भीड बढ्न थालेपछि प्रहरीले साँझ साढे ७ बजेपछि मदिरा बेच्न नपाइने नियम लागू गराएको छ ।
बिहारसँग झापादेखि नवलपरासीसम्मका तराईका १३ जिल्लाका सीमा जोडिएका छन् । यी नेपाली सीमावर्ती बजारहरूको अवस्था अहिले उस्तै छ । झापा, धनुषा, वीरगञ्ज र नवलपरासीसम्मका बजारमा भारतबाट मदिरा पिउनेहरूको भीडभाड हुन्छ । नवलपरासीको सुस्ता क्षेत्र, पर्साका ग्रामीण भेगमा भारतीय मदिराप्रेमीहरूको बाक्लो उपस्थितिले होहल्ला, झैझगडाका कारण तनाव हुने गरेको छ । केही समयअघि पर्सा प्रहरीले विकृति बढेको भन्दै सीमा क्षेत्रका ६३ वटा रक्सीपसल बन्द गराएको थियो । सीमा क्षेत्रका जानकी टोला, प्रसौनीमाढा, खेस्राहा, टिहुकी, मिर्जापुर, बुढगाई, आसवारी, अमरवटी, छप्कैया, रविडारी लगायतका बजारमा रक्सीपसल बन्द गरिएका थिए । तराईका सीमावर्ती बजारमा भारतीय पक्षले समेत आग्रह गरेपछि नेपाल प्रहरीले कडाइ गर्न थाल्यो । त्यसपछि पछिल्लो समय सीमावर्ती तराईका जिल्लाबाट नजिकै पर्ने पहाडी क्षेत्रतिर भारतीयहरू उक्लिन थालेका छन् ।

बिहारका मान्छेहरू नेपालका विभिन्न ठाउँमा पुगेर मदिरा पिउन थालेपछि हालै बिहार सरकारी सेवक आचार नियमावली १९७६ संशोधन गरेर बिहार ज्युडिसियल अफिसर्स कन्डक्ट रुल्स २०१७ लागू गरिएको छ । यसले बिहारका सरकारी कर्मचारीले बाहिर गएर पनि मदिरा सेवन गर्न नपाउने भएका छन् । बिहारमा नितिशकुमारले गरेको ‘शराबबन्दी’ले भारतमा पनि ठूलै तहल्का मच्चायो । नेपाल र बिहारसँग सीमा जोडिएका उत्तर प्रदेशले पनि बिहारलाई अनुसरण गर्न थालेको छ । उत्तरप्रदेशमा गोरखपुर मन्दिरका महन्त योगी आदित्यनाथ मुख्यमन्त्री भएपछि उनले हाल हिन्दू र मुस्लिम धार्मिकस्थल वरपर मदिरा निषेध गरेका छन् ।
सामाजिक, आर्थिक रूपमा नकारात्मक असर देखिएपछि बिहारमा प्रतिबन्ध लगाइएको मदिरा नेपालमा भने खुल्लमखुल्ला र अनियन्त्रित रूपमा विक्री–वितरण भइरहेको छ । यसलाई नियन्त्रण गर्न नेपाल सरकारले ध्यान दिनुपर्ने सीमावर्ती शहरका स्थानीय बासिन्दा बताउँछन् ।

‘सुरक्षा चुनौती बढेको छ’
डीआईजी रमेशकुमार भट्टराई

क्षेत्रीय प्रहरी कार्यालय, विराटनगर
भारतसँग ‘ओपन बोर्डर’ भएका कारण स्वतन्त्र आवतजावत गर्न सजिलो छ । त्यसैले बिहारमा मदिरा निषेध भएपछि नेपालमा बोर्डर साइडका बजारमा भारतीयहरू प्रशस्त आउने गरेका छन् । नेपालमा खुला रूपमै मदिरा विक्री–वितरण हुने हुँदा यहाँका बजारहरूमा भारतीयहरू बढेका छन् । मदिरासँगै यौन गतिविधि, लागुऔषध र हातहतियार ओसारपसारजस्ता अपराध बढेका छन् भने सुरक्षा चुनौती थपिएका छन् ।
भारतमा मदिरा प्रतिबन्धित भएपछि नेपालमा त्यसको प्रभावबारेको हाम्रो मात्र होइन, भारतीय पक्षको पनि उत्तिकै चासो छ । भारतीय अधिकारीहरूसँगको मिटिङमा पनि ‘हाम्रा नागरिक नेपालमा गएर मदिरा पिउँछन्, त्यसलाई रोकिदिनुपर्यो’ भनेर पटक–पटक कुरा उठाउँछन् । मदिराबाटै अन्य अपराध बढ्ने भएकाले मुख्य रूपमा पूर्वका बजारहरूमा मदिरा विक्री–वितरणमा कडाइ गरेका छौँ । ठाउँ हेरेर मदिरा विक्रीका लागि समय तोकिएको छ । भारतीय प्रहरीले पनि नेपालबाट फर्किने भारतीयहरूले मदिरा पिए÷नपिएको जाँच गर्ने गरेका छन् । भारततर्फका औषधि पसलहरूले हाम्रा नेपाली युवालाई खुल्ला रूपमा फेन्सिडिल लगायतका लागुऔषध विक्री गरिरहेका छन् । हामीले भारतीय प्रहरीलाई त्यसमा कडाइ गर्न भनेका छौँ ।
नेपालमा यौन व्यवसाय प्रतिबन्धित छ । त्यसैले यौन व्यवसाय नियन्त्रणमा कडाइ गरेका छौँ । पहिला प्रहरीले समाजसँग मिलेर नियन्त्रण गरेका यौनधन्दा अहिले भारतीय ग्राहकहरू बढेकाले फेरि सलबलाएको देखिएको छ । यौन व्यवसाय सञ्चालन गर्नेहरूले शैली परिवर्तन गरेका छन् । कसैले राजीखुशीसाथ कसैसँग यौन सम्बन्ध राख्छ भने त उसको अधिकार पनि होला, त्यस्ताका पछि लागेर सकिँदैन तर कसैले पैसा कमाउने उद्देश्यले, कसैलाई बाध्य पारेर यौनकर्म गराउँछ भने त्यो अपराध हो । भारतमा मदिरा प्रतिबन्ध भएपछि यस्ता अपराध बढ्न थालेका छन् । त्यसलाई नियन्त्रण गर्न समाजसँग मिलेर काम गरिरहेका छौँ । निर्वाचनपछि अझै सक्रियतासाथ अभियान चलाउँछौँ ।
भारतीयको मदिरा गन्तव्य
रितेश त्रिपाठी, वीरगञ्ज
भारतको बिहारमा मदिरा प्रतिबन्ध लगाइएपछि सीमावर्ती क्षेत्रका भारतीय मदिराप्रेमीहरूको नियमित गन्तव्य बनेको छ, नेपालतर्फको सीमावर्ती बजार । ‘भारततर्फबाट आउने रक्स्याहाहरूको संख्या ह्वातै बढेको छ,’ वीरगञ्ज–१९ स्थित इनर्वाका पृथ्वी यादवले भने, ‘‘रक्सोलबाट आएकाहरू हतारिँदै आउछन्, लरखराउँदै फर्किन्छन् । बाहिरबाट आउनेहरू यतै वीरगञ्जदेखि सिमरा र हेटौँडासम्म बास  बस्छन् ।’
भारततर्फबाट आउने क्रम मध्याह्नबाट सुरु हुन्छ र उनीहरू राति अबेर फर्किन्छन् । शहरी क्षेत्र मात्र होइन, ग्रामीण इलाकामा समेत बिहारबाट रक्सी खान आउनेको जमघट हुन थालेको छ । वीरगञ्ज बजारबाट गाउँतिर कम मूल्य पर्ने मदिराको खपत बढेर दोब्बर भएको व्यवसायीहरू बताउँछन् । वीरगञ्जमा पनि भन्सार क्षेत्रदेखि भित्री बजारसम्मका रक्सीपसलहरूमा भारतीय ग्राहकको संख्या निकै बढेको छ । सीमावर्ती गाउँतिर भारतीय ग्राहकका कारण माहोल नै फेरिएको छ । ‘गाउँमा सडकछेउका रूखमुनिदेखि सिसौघारीमा समेत रक्सीको किनबेच भइरहेको छ । बेच्नेहरूमा वृद्धदेखि बालकसम्म भेंटिन्छन्,’ लँगडी गाउँका लालबाबु बानियाले भने, ‘कार्टुन र बोरामा प्लास्टिकका साना बोतलमा पाइने रक्सी राखेका हुन्छन्, ग्राहक आउँछन्, रक्सी खाएर दक्षिणतिर लाग्छन् ।’
गर्मी याममा दिउँसो सुनसान रहने ठाउँमा अहिले रक्सी किनबेचका कारण भीडभाड देखिन्छ । बिहारमा मदिरामा प्रतिबन्ध लगाइएपछि त्यसको अनेक खाले प्रभाव नेपालमा पर्ने र त्यसको प्रारम्भिक लक्षणका रूपमा अहिले रक्सी खान नेपाल पस्नेको संख्या बढेको वीरगञ्ज, आदर्शनगरका व्यवसायी श्याम तिवारी बताउँछन् । भन्छन्, ‘रक्सी खाने निहुँमा अवैध कारोबार बढ्ने सम्भावना छ । बेलैमा सोच्न सकिएन भने नेपालको सीमावर्ती क्षेत्र अपराधको अखडा बन्ने खतरा छ ।’
बिहारमा मदिरा प्रतिबन्ध भएपछि यसबाट पर्ने प्रभावलाई व्यवस्थित गर्नसके यो एउटा अवसर साबित हुने स्थानीय व्यवसायीहरू बताउँछन् । व्यवसायी विनय यादव भन्छन्, ‘व्यवस्थित गर्दै विक्री–वितरण र सेवनको समय तोकिएर निगरानी गर्न सकियो भने यसबाट नेपालमा सीमावर्ती पर्यटन बढ्छ, सरकारले राजस्व पनि आर्जन गर्छ तर सकिएन भने यौनधन्दा, अनेक अपराध र विकृति बढ्नेछन् ।’

भारतीय मदिराप्रेमीको ओइरो   
 राजु अधिकारी, झापा
प्रहरीले केही समययता झापाका दमक, बिर्तामोडजस्ता शहरका होटलबाट बाक्लै रूपमा जोडीहरू नियन्त्रणमा लिइरहेको छ । प्रहरीले ‘अनैतिक गतिविधिमा संलग्न भएको’ आरोपमा नियन्त्रणमा लिइएका अधिकांश भारतीय नागरिक हुने गरेका छन् ।
सीमावर्ती भारतीय क्षेत्रमा मदिराको बेचबिखनमा रोक लागेपछि नेपाली बजारमा मदिराको मात्रै होइन, देह कारोबार पनि मौलाएको छ । जसमा सबैभन्दा धेरै भारतीय नागरिक नै संलग्न देखिन्छन् । ‘हो, पहिलेभन्दा आठ÷दश महिनायता होटलबाट जोडीहरू समातिने क्रम उच्च छ,’ बिर्तामोड प्रहरी प्रमुख डीएसपी केशव थेबे भन्छन्,  ‘भारतीय बजारमा मदिरामा रोक लागेपछि नेपाल आउने, रमाइलो गर्ने अनि देहसुख खोज्नेहरू बढेका छन् । समातिनेमध्ये आधाभन्दा धेरै भारतीय नै हुने गरेका छन् ।’  
यद्यपि, भारतीय बजारबाट यौन व्यवसायी महिलाहरू भने नआएको प्रहरीको भनाइ छ । ‘भारतबाट यौन तिर्खा मेट्न आउनेहरूको सबै व्यवस्थापन नेपाली व्यवसायीले गर्दै आएका छन्,’ डीएसपी थेबेले भने । कुनै बेला सुनसान रहने सीमावर्ती क्षेत्रका मदिरापसल पछिल्लो समय ‘गुल्जार’ हुने गरेका छन् । प्रहरीले देहसुख खोज्दै नेपाल छिर्ने भारतीयलाई पक्राउ गरिरहे पनि होटल व्यवसायीहरू भने देह कारोबार भएको अस्वीकार गर्छन् । मेचीनगरका होटल व्यवसायी रमेश तामाङ भन्छन्, ‘मदिराप्रेमी पाहुनाको संख्या बढेका छन् । कारोबारमा समेत वृद्घि भएको छ तर देह व्यापार पनि बढ्यो भन्ने आरोप गलत हो ।’
पहिला दैनिक मुश्किलले १०/१२ जना ग्राहक पस्ने मदिराका होटलमा अचेल भीडभाड लाग्ने गरेको छ । सीमापारिबाट हरेक दिन मदिराप्रेमीहरू आफ्नो तिर्सना मेट्न सीमावर्ती नेपाली बजारका होटल र रेस्टुरेन्ट छिर्न थालेपछि ग्राहक पर्खेर बस्ने व्यापारीलाई अहिले भ्याइ–नभ्याइ छ । भारतको किसनगञ्ज गलगलिया, ठाकुरगञ्जलगायत टाढा–टाढासम्मका ग्राहक मदिरा पिउन भद्रपुर, चन्द्रगढी, बनियानी, पृथ्वीनगर, केचना पथरिया लगायतका बजारसँगै काँकडभिट्टा, बिर्तामोड, दमकसम्म  धाउने गरेको व्यवसायी लक्ष्मी मिश्र बताउँछन् । खुला सिमाना भएकै कारण पनि नजिकै रहेको बंगाल र बिहारका मदिरापारखी नेपालका बजार धाउने गरेको मिश्रको भनाइ छ ।
‘हाम्रो बिहारमा रक्सी खायो भने पुलिसले मार्छ,’ केही दिनअघि मेचीनगरको एउटा होटलमा मदिरासँग रमाइरहेका ठाकुरगञ्जका हरिदेव मलहाले भने, ‘यतै नेपालतिर आएका बखत खाइयो भने खाइयो, विहारमा त मदिराको नाम समेत लिन पाइँदैन ।’
मदिराको अधिक कारोबार भएका ठाउँमा झडप तथा झैझगडाका घटना बढ्ने सम्भावना भए पनि अहिलेसम्म मदिराकै कारण कुनै आपराधिक घटना नभएको झापा प्रहरीको भनाइ छ ।

Leave A Comment