कलिलो रुचिको कदर हुनुपर्छ

आइतबार, १४ जेठ २०७४, ०४ : ५३ शुक्रवार , Kathmandu
कलिलो रुचिको कदर हुनुपर्छ

डा. योगी विकासानन्द
‘एजुकेसन’ ल्याटिन भाषाको ‘एजुकेयर’ भन्ने मूलबाट आएको शब्द हो । हरेक मानिसभित्र भएको प्रतिभालाई बाहिर निकाल्नुलाई एजुकेयर भनिन्छ । यसबाट के बुझनुपर्यो भने मानिसको निजात्मक क्षमता वा सामथ्र्यलाई बाहिर निकाल्ने विधि नै शिक्षा हो । तर, अहिले हामीकहाँ शिक्षाको नाममा भइरहेका विधि र प्रयोगले भित्रको प्रतिभा निकाल्नेभन्दा पनि खुम्च्याउने काम गरिरहेको छ ।
अमेरिकामा भएको एक अनुसन्धानले सबै बच्चाहरूमा जन्मजातै प्रतिभा (ट्यालेन्ट) रहने कुरालाई सिद्ध गरेको छ । उक्त अनुसन्धानअनुसार प्रि– स्कुलका विद्यार्थीमा ८० देखि सय प्रतिशतसम्म प्रतिभाको सम्भावना रहेको हुन्छ । हाइस्कुल पास गरेका विद्यार्थीमा ५० प्रतिशत मात्र प्रतिभाको सम्भावना बाँकी हुन्छ । कलेज जाँदाजाँदै उसको ८० प्रतिशत प्रतिभा मर्छ र उसले विश्वविद्यालयको पढाइ सकेर जागिर खान थालेपछि सम्पूर्ण प्रतिभा मरेर उसका हातमा सर्टिफिकेट मात्र बाँकी रहन्छ । जसको परिणाम ऊ जीवनभर गुलामीको जिन्दगी बाँच्न बाध्य हुन्छ ।
आफूलाई जुन विषयमा दह्रो चाहना (इन्टरेस्ट) छ, त्यहाँबाट प्रतिभा सुरु हुन्छ । राम्रो गाउन सक्नु प्रतिभाको प्रस्फुटन हो भने गायनप्रतिको चाहना प्रतिभाको बीज हो । सानो बच्चामा प्रतिभाको प्रस्फुटन नभए पनि बीज रूप रहेको हुन्छ । तर, हाल प्रचलनमा रहेको शिक्षण शैलीले बीज रूपमा रहेको प्रतिभालाई प्रस्फुटित हुन नदिएर मर्न बाध्य पारिदिन्छ ।
भारतमा लर्ड म्याकालेले आधुनिक शिक्षाको जग हालेको बताइन्छ । उनले तत्कालीन अवस्थामा कारिन्दाहरूको आवश्यकता पूर्ति गर्नका लागि  आधुनिक शिक्षाको जग बसालेको मानिन्छ । खास गरी, भारतको प्रशासन सञ्चालनका लागि अंग्रेजी भाषा बोल्न, लेख्न र रेकर्ड राख्नका लागि म्याकालेलाई शिक्षित जनशक्ति चाहिएको थियो । यसरी हेर्दा हाल प्रयोगमा रहेको शिक्षाको डिजाइन नै कारिन्दाहरू तयार पार्नका लागि गरिएको हो । जसले आज पनि उही कारिन्दा उत्पादनभन्दा अरू केही गर्न सकिरहेको छैन । यसैले गर्दा होला कम्युनिस्टहरूले यसलाई बुर्जुवा शिक्षा अर्थात् दास उत्पादन गर्ने शिक्षाका रूपमा परिभाषित गरेका छन् ।
बेलायतमा केही समयअगाडिबाट ‘डिस्कुलिङ’ अथार्त् ‘अनस्कुलिङ’ अभियान चलिरहेको छ । यो अभियानले बच्चालाई स्कुल नपठाउन भनिरहेको छ । अभियानको तर्क के छ भने स्कुलमा गयो भने बच्चाको प्रतिभा समाप्त हुन्छ । किनकि, स्कुलमा गएर कोर्सबुकमा पढाइएका विषयलाई बच्चाले दोहो¥याउँछन् र परीक्षामा लेख्छन् । लेख्न नसक्नेहरू फेल हुन्छन् । उनीहरू स्वतः असफल देखिने भइगए । तर, पास हुनेहरूको पनि आफ्नो मौलिकता केही हुँदैन । त्यही अरूले सिर्जना गरिदिएको विषयमा केन्द्रित हुन बाध्य पारिन्छ ।
‘डिस्कुलिङ’ वा ‘अनस्कुलिङ’ अभियानले शिक्षाका लागि घरमा इन्टरनेटमार्फत बच्चाहरूलाई अनुसन्धानमा प्रोत्साहित गर्ने र बच्चाले खोजेको विषयलाई आमाबाबुले प्रयोगमा ल्याउन÷गर्न सघाउने अवधारणा अगाडि सारेको छ । यसबाहेक पनि विकसित मुलुकहरूले शिक्षाको परम्परागत शैलीलाई बिस्तारै परिमार्जन गर्न थालेका छन् । म केही समयअगाडि बेलायत जाँदा के देखेँ भने त्यहाँका विद्यार्थीहरूले स्कुल जाँदा टेक्स्टबुक बोकेर जाँदा रहेनछन् । उनीहरूको टेक्स्टबुक अफिसमा राखिँदो रहेछ र होमवर्क पनि दिइँदो रहेनछ । तर, हामीकहाँ कलिला विद्यार्थीहरू किताबकापीको भारीले थिचिएर विद्यालय जान बाध्य छन् । अझ जति धेरै किताब छ, उति राम्रो पढाइ हुन्छ भन्ने मान्यता समेत छ । विद्यार्थीलाई धेरै किताब बोकाउनु शैक्षिक माफियाको षडयन्त्र हो । धेरै किताबको अर्थ विद्यार्थीको धेरै ज्ञान होइन, किताबसँग सम्बन्धित व्यापार मात्र हो । त्यसै गरी, विद्यार्थीलाई राम्रो नम्बर ल्याउनका लागि स्कुलहरूले अति नै दबाब दिन्छन् । विद्यार्थीको राम्रो नम्बरले स्कुलको प्रतिष्ठा आर्जन हुँदै व्यापार फस्टाउँछ । नेपालको शिक्षा विद्यार्थीको सामथ्र्य विकासभन्दा पनि जताबाट पनि घुमाइफिराई व्यापार नै गर्न केन्द्रित छ । शिक्षा मौलिक बन्नका लागि ‘एक्सपेरिमेन्टल’ हुनैपर्छ । किनकि, प्रयोग र अनुभवमा नआईकन शिक्षा मौलिक बन्दैन । अनुभवका लागि अनुसन्धानपरक बन्नैपर्छ ।
हामी खाना शरीरको मासु, हाड र रगत बनाउनका लागि खान्छौँ । बजारमा गएर पैसा तिरेर चामल किनेपछि चामल हाम्रो भएको मानिन्छ । तर, त्यो चामलले हाम्रो शरीरलाई बल र शक्ति दिँदैन । त्यो चामल ल्याएर, पकाएर खाएपछि मात्र त्यसले शरीरलाई शक्ति दिन्छ, जब शक्ति दिन थाल्छ, अनि मात्र चामल वास्तविक रूपमा आफ्नो हुन्छ । अहिले शिक्षामा भइरहेको भनेको चामल किनेको चरण मात्रै हो । शरीरमा ताकत नदिउञ्जेल चामल किनेर मात्र हुँदैन । तर, अहिले चामल किन्नुलाई मात्र शिक्षाको रूपमा स्विकारिएको छ । किन्नेलाई चामलले काम दिँदैन । अनि, उसले अरूलाई बेच्छ । यसरी आफूलाई काम नलागेको चिज बेच्नु नै शिक्षा भइरहेको छ ।
हामी सबैले विद्यालय तहमा अंकगणित, बीजगणित र ज्यामिति पढ्यौँ । अंकगणितको हामी थोरबहुत उपयोग गर्छाैं । तर, बीजगणित र ज्यामिति सामान्य मानिसको जीवनमा खासै काम लाग्दैन । इन्जिनियरिङ र विज्ञानका विभिन्न विषयका लागि बीजगणित र ज्यामिति आवश्यकता पर्ला । आम मानिसको खासै सरोकार नभएको विषयलाई अनिवार्य बनाउँदा कतिपय विद्यार्थीले तिनै विषयमा अफसल भएर आत्महत्या गरेका छन् । पासै गर्नेहरूले पनि त्यसलाई जिन्दगीमा उपयोग गर्न सकेका छैनन् । यही काम नलाग्ने कुरा निरन्तर चलिरहेको छ ।
आइन्सटाइनले ‘एभ्रिवान इज ए बर्न जिनियस’ भनेका छन् । यसलाई हामीले कसरी बुझ्नुप¥यो भने हरेकसँग फरक–फरक क्षमता र प्रतिभा हुन्छन् । माछा पौडनु जिनियस हो भने चरा उड्नु । तर, माछालाई रूख चढ्ने शिक्षालयमा लगियो भने ऊ कहिल्यै पास हुँदैन । चरालाई स्विमिङ पुलमा लगेर तालिम दिन थालियो भने ऊ कहिल्यै पनि पास हुँदैन । त्यस्तै गाउन जन्मिएको मानिसलाई इन्जिनियरिङ पढ्न लगाइयो भने एक त ऊ पास नहुन सक्छ, पास भए पनि ऊ उत्कृष्ट बन्न सक्दैन ।
एकथरीको तर्क छ– मानिसको जीवनमा इतिहास, विज्ञान, गणित, कला, साहित्य, समाजलगायत सबै विषय आवश्यक पर्ने भएकाले सबै विषय पढाउनुपर्छ । हो, मानिसलाई यी सबै कुराको ज्ञान र जानकारी आनवश्यक पर्छ । तर, यसलाई फरक ढंगले पढाउन पनि सकिन्छ । उदाहरणका लागि पेन्टिङमा रुचि भएको बच्चालाई पेन्टिङ मात्र पढाउन सुरु गर्ने हो । जब उसले पेन्टिङको शिल्पमा निखार ल्याउँदै रस बसाल्न थाल्छ, उसलाई पेन्टिङको इतिहास पढाउन सकिन्छ, पेन्टिङको बजार र व्यापार पढाउन सकिन्छ र यसरी उसले इतिहास र अर्थशास्त्रलाई अभिरुचिपूर्वक पढ्न थाल्छ । यसरी सिकाउँदा छिटो सिकाइ हुन्छ ।
यस्ता विषयबारे हाम्रो समाजमा खासै जानकारी छैन, तर विकसित मुलकमा यसबारे यथेष्ट चर्चा हुन थालेको छ । तैपनि विकसित मुलकले पनि शिक्षाको मोडल परिवर्तन गर्न सकेका छैनन् । यदि शिक्षाको मोडल परिवर्तन भयो भने संसारलाई कारिन्दा बनाएर कमाइरहेकाहरूको साम्राज्य ढल्छ । तसर्थ शिक्षाको यही मोडललाई बचाइराख्न इल्युमिन्याटी (अप्रकाशित लगानीकर्ता) हरूले ठूलो लगानी गरिरहेका छन्  । शिक्षा मात्र होइन, स्वास्थ्य, ऊर्जाजस्ता क्षेत्रहरूको मोडल परिर्वतन नहुनुका पछाडि इल्युमिन्याटीहरूको खर्बाैंको लगानी छ ।
हामी सामान्य आमाबाबुले शिक्षाको नाममा भइरहेको दुष्चक्रलाई तोड्न सक्दैनौँ । तर, अहिले भइरहेको शैक्षिक अभ्यासभित्र रहेर पनि आफ्ना नानीहरूलाई ‘शिक्षित’ बनाउन सक्छौँ । हरेक आमाबाबुले आफ्ना बच्चाको इन्टरेस्टलाई पहिचान गर्न र कदर गर्न सक्नुपर्छ । बच्चाको रुचिमा आमाबाबुले लगानी गर्नुपर्छ । यदि बच्चाको रुचिलाई विद्यालयले सम्बोधन गर्न सकेन भने बाहिर तालिमबाट भए पनि पूर्ति गर्नुपर्छ । आमाबाबुका लागि महŒवपूर्ण कुरा सन्तान हो र सन्तानका लागि उसको अभिरुचि हो । यदि हामी आफ्ना सन्तानलाई साँच्चै माया गर्छाैं भने उनीहरूका अभिरुचिलाई सम्मान गर्न सक्नैपर्छ ।
प्रायः आमाबाबु बच्चाको प्रतिभालाई ठम्याउने तरिका जान्दैनन् । प्रतिभा भनेको रूख हो । बीउमा रूख देखिँदैन । तर, बीउभित्र नै रूखको सूक्ष्म रूप हुन्छ । तसर्थ आमाबाबुले आफ्नो सन्तानको प्रतिभालाई बुझ्न उसको अभिरुचिलाई ठम्याउन सक्नुपर्छ । किनकि, अभिरुचिरूपी बीउभित्र नै प्रतिभारूपी विशाल रूख हुन्छ ।
कतिपयलाई लाग्न सक्छ, टेलिभिजन हेर्न रुचि राख्ने बच्चामा कस्तो प्रतिभाको अपेक्षा गर्न सकिन्छ त ? बच्चाले टेलिभिजनमा के हेरिरहेको छ, त्यसैमा उसको इन्टरेस्ट छ भन्ने बुझ्नुपर्यो । उसलाई टेलिभिजन नहेर नभन्ने, एक घण्टा हेर्छाै भने त्यसपछि हेरेको कुरालाई अभ्यास गरेर देखाऊ भन्ने । जस्तोः खेलकुद च्यानल हेरेको छ भने सम्बन्धित खेलकुद खेलेर देखाऊ भन्ने । डान्स हेर्छ भने डान्स गरेर देखाऊ भन्ने । फिल्म हेर्छ भने अभिनय गरेर देखाऊ वा कथा लेखेर देखाउ भन्ने । यसो गर्न सकियो भने टेलिभिजन हेर्ने बच्चाको अभिरुचिलाई प्रतिभाका रूपमा स्थापित गर्न सकिन्छ ।
मेरो छोरो मोबाइल र कम्प्युटरमा अति नै गेम खेल्छन् । मैले उनलाई ‘गेम मात्र खेल्ने हो भने खेल्न नदिने र त्यस्तै गेम बनाउने हो भने मात्रै खे्रल्न दिने’ भनेर उत्प्रेरित गर्ने गरेको छु । उनले फेसबुकमा क्वान्टम सम्बुद्ध भन्ने पेज खोलेर आफूले बनाएका विभिन्न गेम हालेका छन् । पछिल्लो समय उनलाई गेम हेर्नभन्दा पनि बनाउनमा तीव्र रुचि हुन थालेको छ ।
बच्चाका लागि स्कुल कहिल्यै पनि घरबाट टाढाको रोज्नु हुँदैन । किनकि, बच्चाको समय बाटोमा खेर जान्छ । एक त बच्चा स्कुलमा पाँच घण्टा बस्छ, त्यसपछि पनि स्कुल बसमा धेरै समय बिताउनु भनेको उसका लागि यातना हो । बच्चाको अभिरुचिलाई विद्यालयले सम्बोधन गर्न सकेको छैन र तपाईं उसलाई तालिममा पठाउन चाहनुहुन्छ भने उक्त समय व्यवस्थापन घरबाट नजिकको स्कुलमा पढाएपछि मात्र सम्भव हुन्छ । त्यसै गरी, घरमा होमवर्क गर्न बच्चालाई कुनै पनि दबाब नदिनुस् । किनकि, स्कुलमा हैरान भएर आएको बच्चालाई होमवर्कका नाममा घरमा पनि हैरान बनाउँदा उसको स्वस्थ मानसिकता बन्न सक्दैन ।

 

Leave A Comment