आफ्नै मर्जीमा बाँच्ने पैदल व्यापारी

शनिबार, १३ जेठ २०७४, ०३ : ४१ शुक्रवार , Kathmandu
आफ्नै मर्जीमा बाँच्ने पैदल व्यापारी

–रचना श्रेष्ठ
शिरमा ढाका टोपी । पछाडि कालो ब्याग । देब्रे हातमा नेपालका स–साना झण्डा, किरिङ, नेलकटरको झुप्पा । दाहिनेमा झोलासहित क्यालकुलेटर, काठबाट बनेको नेपालको नक्सा । झ्वाट्ट हेर्दा सामानैसामानमा पुरिएका थिए, ४६ वर्षीय कृष्ण दाहाल । साधारण चप्पलमा काठमाडौँ, सुन्धाराको सडकमा हिँडिरहेका थिए, ठिक्क रफ्तारमा ।
काभ्रे घर भएका कृष्णले यसरी हिँडेर व्यापार गर्न थालेको १० वर्षभन्दा बढी भयो । उनी सधँैजसो हिँडेरै कहिले कता, कहिले कता पैदल व्यापार गर्छन् । कुनै दिन त उनी पैदलै बालाजु, ललितपुरको लगनखेलसम्म पुग्छन् । ‘नहिँडी व्यापारै हुँदैन,’ उनले भने, ‘दिनभरि हिँड्नुपर्छ, हजार÷पन्ध्र सय कमाइ हुन्छ ।’
उनले पढेका छैनन् । ‘नपढ्दैमा बाँच्न नसकिने हो र ?’ उनले भने, ‘काम गरेन भने चाहिँ बाँच्न सकिन्न ।’ उनको परिवार काभ्रे, गोठपानी, कोशीपारिमा बस्छ । परिवारमा बूढी आमा, श्रीमती, दुई छोरा र एक छोरी छन् । कान्छो छोरो ११ मा पढ्दैछन् भने जेठो विदेशमा छन् । ‘रिनपान गरेर उसलाई विदेश पठाइयो,’ उनले भने ।
छोराले ज्यादै हठ गरेपछि विदेश पठाउन बाध्य भए उनी । ‘जहाँ गरे पनि दुःख गर्नु नै छ भने देशमै दुःख गर भनेर छोरालाई सम्झाउन खोजेँ,’ उनले भने, ‘तर, उसले ज्यान गए मानेन । त्यसपछि, लौ त भनेर ऋण खोजेर पठाइदिएँ ।’

Leave A Comment