दीपकका प्रिय १० सुर

शनिबार, १३ जेठ २०७४, ०३ : ३६ शुक्रवार , Kathmandu
दीपकका प्रिय १० सुर

लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय छन्, पपगायक दीपक वज्राचार्य । उनका धेरै गीतले नेपाली सांगीतिक क्षेत्रमा चर्चा कमाएका छन् । उनले आफूलाई प्रिय लाग्ने अरूका पाँच र आफ्ना पाँच गीतबारे शुक्रवारलाई बताएका छन्ः

अरूका ५  
१ तिम्रो त्यो कर्के हेराइमा

फिल्म ‘मौन’ को यो गीत मलाई असाध्यै मन पर्छ । सनुप पौडेल, विमला भुषालको स्वर र भुपेन्द्र खड्काको शब्द रहेको गीत मायाले भरिएको छ । एक रात युट्युबमा ‘मौन’ फिल्म हेरिरहेको थिएँ । त्यो गीत बज्यो । सुन्नेबित्तिकै मन प¥यो । फिल्म रोकेर गीत मात्रै लगभग २०÷२५ पटक सुनेँ । अहिले पनि परिवारका मान्छेहरू वाक्कै मान्ने गरेर यो गीत सुन्छु ।
२ मर्न बरु गाह्रो हुन्न  
फत्तेमान दाइको यो गीत मलाई एकदमै मन पर्छ । पहिलादेखि नै सुन्थेँ । गीतको भाव नबुझ्दा त गीत मन पथ्र्यो बुझ्दै गएपछि झनै मन पर्न थाल्यो । गीतको दोस्रो अन्तरामा प्रयोग गरिएका शब्द मन छुने खालका छन् ।

३ हिमालसरी म अग्लिरहेछु
पुरानो फिल्म ‘कान्छी’ को गीत हो, ‘हिमालसरी’ । यो गीत सुनेर हुर्केको हुँ म । गोपाल योञ्जनको शब्द र संगीत भएको यो गीत असाध्यै मन पर्छ । त्यसमा पनि नारायणगोपाल र अरुणा लामाको स्वर सुनिरहुँजस्तो लाग्छ ।

४ गल्ती हजार हुन्छन्
नेपाली सांगीतिक क्षेत्रमा यस्ता गीत कमै मात्र छन् । नारायणगोपालको स्वर रहेको यो गीत भिन्न खालको छ । यो गीतले अप्रत्यक्ष रूपमा थर्काएको, जिस्काएको पाइन्छ । गीतमा मायाको भाव पनि उत्तिकै छ । अहिले त यस्ता गीत बन्नै छाडे ।

५ हर रात सपनीमा
दीप श्रेष्ठको यो गीत पनि खूब मन पर्छ । विप्लप प्रतीकका शब्द मनै छुने खालका छन् । यो गीतको शब्दले नै चित्र कोरेको जस्तो लाग्छ । म आफू शहरमा हुर्केको भए पनि यो गीत सुनेपछि गाउँमै पुगेको आभास हुन्छ । वास्तवमा यो म्युजिक भिडियो बनाउनै नपर्ने गीत हो ।

आफ्ना ५
१ ओ अमिरा

यो गीतको शब्द र संगीत मेरै हो । मलाई एकदमै मन पर्ने गीतमा पर्छ यो । अमिरा मेरी श्रीमतीको नाम हो । त्यो गीत गाउने बेलामा उनी मेरी गर्लफ्रेन्ड थिइन् । मेरो जीवनसँग जोडिएको हुनाले पनि यो गीत मलाई प्यारो लाग्छ । यही गीतबाट मेरो करिअर पनि चम्किएको थियो ।

२ फर्केर आउने छैन
यो गीत एकदमै सरल छ । जो सुकैले पनि तुरुन्तै गाउन सक्छ । छोटो समयमा बनेको थियो । स्रोताले एकदमै मन पराएको गीत हुनाले मलाई पनि असाध्यै मन पर्छ ।

३ प्रिय तिमी आयौ हेर निदाएको बेला
यो सपनाको गीत हो । अरू गीतभन्दा फरक किसिमको छ ।  यसमा जेम्स प्रधानको कम्पोजिसन छ । आँखा चिम्लिएर सुन्दा सपनामा पुगेको भान हुन्छ । यो गीत खासै चलेन । तर, यो गीत सुन्ने छुट्टै वर्ग छ । धेरैले मन पराउनुभएको छ । युट्युबको भ्युअर्सले त्यसको पुष्टि गर्छ ।

४ अल्लारे
यो चुलबुले खाले गीत छ । यसमा हाम्रो ब्यान्ड मेम्बर रिकी शाक्यको शब्द छ । कम्पोजिसन मेरो आफ्नै छ । १५÷१६ वर्षका अल्लारेले गाउने गीत हो यो । अल्लारेपन हटेपछि पनि आफूले अल्लारे बनेर गाउन पाएको हुनाले एकदमै मन पर्छ ।
 
५ मेड्ली

यसमा मेरो मिक्स गीत छन् । ‘ओ अमिरा’, ‘मायाको डोरी’, ‘कालीकाली हिस्सी परेकी’ जस्ता गीत समावेश छन् । एक प्रकारले खिचडीजस्तै छ । तर, आफ्ना हिट गीतका टुक्रामा नेपाली मौलिक बाजाको प्रयोग भएकाले असाध्यै मन पर्छ ।
प्रस्तुतिः सिर्जना

 

Leave A Comment