पवित्र र स्वच्छ रजस्वला

शनिबार, १३ जेठ २०७४, ०३ : ०६ शुक्रवार , Kathmandu
पवित्र र स्वच्छ रजस्वला

–डा. सुमनराज ताम्राकार
प्रत्येक दिन विश्वभरिका करिब ८० करोड १५ देखि ४९ वर्ष उमेर समूहका किशोरी तथा महिलालाई रजस्वला भइरहेको हुन्छ । अधिकांश महिलाले आफ्नो जीवनको छ÷सात त रजस्वलामै बिताउँछन् । रजस्वलासम्बन्धी विषयको गहिराइ धेरै छ । एकातिर महिनावारीलाई लिएर विश्वभरि पाँच हजारभन्दा बढी नानाभाँतीका अपशब्द प्रयोग गर्ने गरिएका छन् भने अर्कातिर विश्वका केही भागमा महिनावारीलाई रोगका रूपमा लिइन्छ । महिनावारी भएका बेला पँधेरामा पानी लिन जान नहुने, मन्दिरमा जान नहुने, पूजाआजामा सहभागी नगराइने, भान्छा एवं भण्डारकोठामा पस्न नहुने परम्परा हाम्रै घरछिमेकमा अभैm पनि कायम छ । एक्काइसौँ शताब्दीमा पनि सुदूर तथा मध्य पश्चिममा छाउपडी कुप्रथा कायम छ ।
पछिल्लो समयमा पौष्टिक खानेकुराको उपलब्धताका साथै आधुनिक सञ्चार माध्यमको प्रभावले १०÷११ वर्षकै उमेरमा महिनावारी प्रक्रियाको सुरुवात हुन थालेको छ । तर, सन् २०१४ मा भारतमा गरिएको एक अध्ययनअनुसार करिब ४२ प्रतिशत सहभागीलाई महिनावारी कसरी सुरु हुन्छ र स्यानीटरी प्याड के हो भन्ने थाहै थिएन ।
बोलीचालीको भाषामा महिनावारी भनिए पनि महिनावारी चक्र जहिले पनि प्रत्येक ३०–३० दिनमै हुन्छ भन्ने छैन । सामान्यतः २१ देखि ३५ दिनसम्म हुने महिनावारीलाई सामान्य मान्न सकिन्छ । तर, महिनावारी हुने समय विशेष परिस्थितिअनुसार परिवर्तन भइरहन सक्छ । अत्यधिक मानसिक पीडा, थकान, लामो यात्रा, हावापानी फेरबदलका कारण महिनावारीको समयमा परिवर्तन आउन सक्छ । तर, पनि स्वस्थ महिलाको महिनावारी रोकिने प्रमुख कारण चाहिँ गर्भावस्था हुनसक्छ भन्ने हेक्का राख्नुपर्छ । कतिपय महिलामा अत्यधिक कुपोषण वा रक्तअल्पता भए पनि महिनावारी रोकिन सक्छ । यसका साथै तीनमहिने सुई (डिपोप्रोभेरा), नरप्लान्टजस्ता गर्भनिरोधका साधनका कारण पनि महिनावारी गडबडी हुन सक्छ । सुत्केरी भएपछि बच्चालाई दूध खुवाइरहने महिलालाई पनि लामो समयसम्म महिनावारी नहुन सक्छ ।
महिनावारी हुँदा तथा हुनुअगावै पनि किशोरी तथा महिला विशेषलाई अनेक थरी समस्या आइपर्न सक्छन् । खुट्टा कटकटी खाने, टाउको दुख्ने, ढाड दुख्ने, स्तन भारी हुने जस्तो हुने, डन्डीफोर आउने, तल्लो पेट दुख्ने, वाकवाकी लाग्ने हुनसक्छ । कतिपय महिलालाई भने महिनावारीअगावै रिस उठिरहने, जे कुरामा पनि झर्को लाग्ने, काम गर्न अल्छी लाग्ने हुन्छ । मुख्य कुरा, महिनावारीको बेला रोगसँग लड्न सक्ने क्षमतामा पनि ह्रास आइरहेको हुन्छ । रजस्वलाका बेला यथोचित सररसफाइ गरिएन भने जननेन्द्रियमा नकारात्मक असर पुग्न सक्छ । त्यसैले पनि महिनावारीको बेला सरसफाइमा बढ्ता ध्यान दिनुपर्छ ।
विडम्बनाको कुरा, किशोरीको स्कुल तथा कलेजमा होस् कि महिलाको कार्यस्थलमा महिनावारीको बेला सफा शौचालय, सफा पानी, हात तथा यौनांग धुन साबुन, सफा स्यानिटरी प्याड धरी उपलब्ध हुँदैनन् । विश्वव्यापी तवरमा एकतिहाइ स्कुले किशोरीहरू सुविधाजनक शौचालयको पहुँचमा छैन । अन्यत्र त के अमेरिकाकै कतिपय प्रान्तीय स्कुलमा पनि स्यानिटरी प्याड लगायतका स्वस्थ रजस्वला सामग्री किन्न नसक्दा आफ्नो स्कुल ड्रेसमा मासिक स्रावको दाग लाग्ला कि भनेर स्कुल नआउनेको संख्या उल्लेख्य छ । एक अध्ययनअनुसार विकासोन्मुख राष्ट्रका स्कुले छात्रा यसकै कारण महिनामा सरदर पाँच दिन स्कुल छुटाउँछन् । शौचालयमा साधारण खालको छुट्टै बाल्टिन नभएका कारण प्रयोग गरिएका स्यानिटरी प्याड वरिपरि छरिएर वातावरण नै प्रदूषित हुने तथा यसका कारण किशोरीहरूको बेइज्जती हुने गरेको छ । बंगलादेशमा सञ्चालित विद्यालयस्तरीय स्वस्थ रजस्वला सामग्रीसहितको स्यानिटरी कार्यक्रमले पनि छात्राहरूको स्कुल हाजिरीमा सकारात्मक प्रभाव देखिएको थियो ।
महिनावारीलाई महिलाको अपवित्र अवस्थाको रूपमा लिने चलन धेरै जातिमा छ । त्यसो त किशोरीमा महिनावारी सुरु हुनु भनेको उनीहरूको प्रजनन् क्षमता परिपक्व हुनु तथा उनीहरू गर्भावस्थाका लागि तयार हुनु पनि हो । प्रकृतिको सामान्य नियम नबुझेरै महिनावारी हुँदा कतिपय खानेकुरा खान प्रतिबन्ध लगाउने र तिनलाई बेग्लै राख्ने चलन हामीकहाँ व्याप्त छ ।
कतिपय जातिमा पहिलो पल्ट महिनावारी हुँदा किशोरीलाई अँध्यारो कोठामा राख्ने, पुरुषलाई छुन नहुने, हेर्न नहुने चलन छ । यो अस्वस्थ प्रचलन हो । अभिभावकले आफ्नो सन्तानलाई महिनावारीबारे सही जानकारी दिनुपर्छ । त्यसैले त कतिपय किशोरी पहिलो पल्ट महिनावारी सुरु हुँदा रुने, कराउने र आत्तिने गर्छन् । उनीहरूलाई आफ्नो यौनांगको सरसफाइ कसरी गर्ने, कस्तो प्याड लगाउने वा कपडा प्रयोग गर्ने भन्ने सामान्य जानकारीसम्म पनि हुँदैन । यसैले यस्तो बेला यौनांग कसरी सफा राख्ने भन्ने थाहा नपाउनाले धेरै किशोरीले संक्रमणको पीडाबाट गुज्रिनुपर्ने हुन्छ । महिनावारी हुँदा धेरै रगत बाहिर आएन भने यो रगत मुटुमा जान्छ र त्यहाँ जमेर मुटुको रोग लाग्छ भन्ने खालको अन्धविश्वास पनि छ ।
यी र यस्तै भ्रम चिर्न, अन्धविश्वास हटाउन तथा स्वस्थ महिनावारी व्यवस्थापनबारे जनचेतना जगाउन सन् २०१४ देखि प्रत्येक वर्ष मे २८ को दिन रजस्वला सरसफाइ दिवसका रूपमा मनाउन थालिएको छ । मे महिना पाँचौँ अंग्रेजी महिना भएको र बढीजसो महिलाको मासिक चक्र २८ दिनको हुने कारण पनि मे २८ का दिन प्रतीकात्मक रूपमा यो दिवस मनाउन थालिएको हो ।

के हो रजस्वला ?
किशोरी अवस्थासँगै महिलाको शरीरमा इस्ट्रोजेन र प्रोजेस्टेरोनका कारण महिनावारी (रजस्वला) हुन थाल्छ । यी हार्मोनको संयुक्त प्रयासले डिम्बाशयमा अपरिपक्व रूपमा रहेको डिम्ब (अण्डा) लाई परिपक्व बनाई डिम्बाशयबाट निष्कासन गर्दछ । मासिक स्रावको मध्यतिर यसरी निष्कासित परिपक्व डिम्ब डिम्बवाहिनी नलीमा आइपुग्दा शुक्रकीटको सम्पर्कमा आएमा मिलन भएर गर्भ रहन सक्छ ।
यसका साथै यी हार्मोनले डिम्बवाहिनी नली, पाठेघरको भित्री तह, योनी र स्तनमा आवश्यक परिवर्तन ल्याउँछन् । पाठेघरको भित्री तहमा ल्याउने बाक्लोपनाले गर्भधारण भएको खण्डमा भ्रूण बस्न मद्दत पुग्छ । कथंकदाचित उक्त मासिक चक्रमा निश्चित अवधिसम्म गर्भ रहेन भने शरीरमा ती हार्मोनको मात्रा घट्न थाल्छ । फलस्वरूप पाठेघरको भित्री तह र अस्थायी रक्तनलीहरू भत्किन गई महिनावारीको रूपमा डिम्ब बाहिर निस्कन्छ । पुनः त्यही चक्र दोहोरिन्छ । महिनावारी हुँदा फोहोर रगत जाने होइन ।
महिनावारी चक्र महिलापिच्छे फरक–फरक हुन सक्छ । अधिकांश महिलामा २६ देखि ३४ दिनको भए पनि केही महिलामा २१ देखि ३५ दिन सम्मको महिनावारी हुन सक्छ ।
किशोरीहरू पहिलो पटक आफ्नो जननेन्द्रियबाट रगत बगेको देख्दा अत्तालिन सक्ने हुनाले यसअघि नै उनीहरूलाई घर वा छिमेकका पाका महिलाले रजस्वलाबारे यथेष्ट जानकारी दिनुपर्छ । साथै, मासिक स्राव हुँदा सफा रहने तरिकाहरू पनि सिकाइदिनुपर्छ ।
कोही–कोहीमा महिनावारीको बेला वा हुनुपूर्व मानसिक तनाव हुने एवं तल्लो पेट दुख्ने हुन सक्छ । यसका लागि हल्का व्यायाम, प्रोटिनयुक्त खाना एवं दुखाइ कम हुने औषधि बाट आराम मिल्छ । यदि महिनावारी हुँदा गडबडी छ र अत्यधिक रक्तस्राव हुन्छ भने हार्मोनयुक्त औषधि र आइरन क्याप्सुलको जरुरत पर्ने हुनाले चिकित्सकसँग सल्लाह लिनुपर्छ ।

 

Leave A Comment