मतपत्रसँगै मनको चिर्कटो

शनिबार, १३ जेठ २०७४, ०२ : १० शुक्रवार , Kathmandu
मतपत्रसँगै मनको चिर्कटो

–प्रकाशचन्द्र परियार
अघिल्लो पटकको स्थानीय निर्वाचन हुँदा चारपाँच वर्षीय बालबालिका यस पटकको चुनावमा धेरै ठाउँबाट उम्मेदवारका रूपमा प्रस्तुत भइरहेका छन् । कतिपयले विजयीको माला पहिरिसकेका छन् भने कोही रातोदिन मतगणनामा सामेल भई विजयको व्यग्र प्रतीक्षामा जनताको अभिमत गनिरहेका छन् ।
यो पंक्तिकारले साझा पार्टीका तर्फबाट काठमाडौँ महानगरको मतगणनास्थल राष्ट्रिय सभागृहका गतिविधिलाई एक सातादेखि नजिकबाट नियाल्ने मौका पाएको थियो ।

कडा सुरक्षा, हैरान प्रतिनिधि
एक–एक मतको निर्णायक महत्व हुने मतपत्रको सुरक्षा र पारदर्शिताका साथ गणना चलिरहेको स्थल राष्ट्रिय सभागृह पूर्वमा पद्मोदय मोड र पश्चिममा पुरानो बसपार्क आसपासबाटै सुरक्षा घेरामा छ । दलैपिच्छेका मेयरदेखि वडा सदस्यसम्मका उम्मेदवार हुन् या स्वतन्त्र, तिनका प्रतिनिधि, कर्मचारी र दलका प्रतिनिधिको आवतजावत व्यवस्थापनमा प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीको चरणबद्ध सुरक्षा व्यवस्थापन छ । निर्वाचन कार्यालयले जारी गरेको परिचयपत्रलाई कहिले मान्यता दिने र कहिले नयाँ आदेश भन्दै प्रवेशमा रोकतोक हुन थालेपछि प्रतिनिधिहरूले हैरानी बेहोर्नुपरेको छ ।

विनम्र कर्मचारी, कडा प्रतिनिधि
निकै झन्झटिलो विधि, प्रक्रिया र चलनलाई पार गर्दै दलीय सहमति कायम राखेर मत गन्नुपर्ने परम्परागत चुनौती महानगरको मतगणनामा पनि प्रस्टै देखिन्थ्यो । एक मत बदरदेखि मतपत्रै बदरसम्मका प्रक्रियालाई दस्तावेजीकरण गर्न कर्मचारीलाई निकै धौधौ परेको देखिन्थ्यो । आफ्नो दलको मत बदर हुने अवस्थामा दलीय अडानले हैरान कर्मचारी तुलनात्मक रूपमा विनम्र देखिन्थे । दलीय सहमति र मुचुल्कामा हस्ताक्षरविना मतगणना प्रक्रिया अघि नबढ्ने हुनाले कर्मचारी मतगणना प्रतिनिधिसँग विनयी हुनुको विकल्प पनि देखिन्नथ्यो ।  

अपडेटः हतपतमा लतपत
कसले कति मतले ‘लिड’ गरिरहेको छदेखि कुन बुथमा कसको कति भोट खस्यो अथवा गणना भएको पछिल्लो एकीकृत मत संख्याबारे आफ्ना उम्मेदवारदेखि वरिष्ठ नेतासम्मलाई जानकारी गराउन गणकहरू निकै हतारिने गरेको देखियो । मतगणना स्थलभित्र मोबाइल चलाउन बन्देज गरिए पनि स्मार्टफोनले फोटो खिचेर पठाउनेदेखि एसएमएस होस् या फोनबाट अपडेट गराउन निकै हतारो देखिन्थ्यो । कर्मचारीबाट अन्तिम रुजु नगरी अपडेट गर्दा बाहिर डाटा अपूरो गएको र भ्र्रामक समाचार सोसल मिडियामा छाएको देखियो ।

वडाकेन्द्रित दलीय विश्लेषण
मतगणना स्थलभित्रै कार्यकर्ताहरू आफ्ना उम्मेदवार या दलले पाएको भोटको प्याटर्नबारे टोल, बस्ती, बुथदेखि वडाकेन्द्रित विश्लेषण गरिरहेका भेटिन्थे । राम्रो पकड भएको ठाउँमा किन उल्लेख्य भोट खसेन भन्नेदेखि कसले भोट काट्यो या दिएन ? सम्मका चर्चा–परिचर्चा चलिरहन्थे । परम्परागत दलहरूले टोल र क्षेत्रमा यस्तै भोटको विश्लेषण गदै एक अर्को खेमादेखि कसको को खास मान्छे भन्ने कुरालाई स्थापित गर्ने चलन छ ।

स्मार्ट दलित महिला उम्मेदवार
हरेक वडामा दुई जना महिला सदस्यमध्ये एक जना दलित समुदायको महिला अनिवार्य हुनुपर्ने व्यवस्थाले सामाजिक र राजनीतिक क्षेत्रमा निकै पछि पारिएका दलित महिलाले कुनै योजना या पूर्वतयारीविनै मजाले उम्मेदवारीको अनुभव लिए । मतगणनास्थलमा भेटिएका अधिकांश उम्मेदवार स्मार्ट थिए । मत परिणामलाई नजिकबाट नियालिरहेका उनीहरूले निकटतम प्रतिस्पर्धीदेखि फरक दलका उम्मेदवारका आनीबानी, शैली र प्रस्तुतिलाई निकै ख्याल गरिरहेको देखिन्थ्यो ।
 
मन कुडाउँदै राजाराम
मतगणनास्थलमा एक दिन पनि नबिराई नजिकबाट अपडेट लिने उम्मेदवारमध्ये एमाले राप्रपा गठबन्धनबाट उपमेयरका उम्मेदवार रहेका राजाराम श्रेष्ठ नै हुन् । एमाले उम्मेदवारको अग्रता हुँदाहुँदै पनि जीतबाट अलि टाढा देखिएका राजाराम चर्को बदर मत देखेर अलि कुँडिएका देखिन्थे । मतगणनास्थलमा जहाँ गयो, त्यहीँ ‘उपमेयर गाई बदर’ भन्ने सुन्नेबित्तिकै उनी झस्किन्थे, निर्वाचन अधिकृतले बदरको रेजा लगाएको देखेपछि मन खिन्न पार्दै बाहिरिन्थे । गठबन्धनअनुसार भोट नखसेको र त्यसमाथि खसेको मत बदर भएपछि उनी बढी पिरोलिए पनि मतगणनास्थलमा सबैभन्दा अटुट उपस्थिति उनकै देखिन्थ्यो ।

उपेक्षित मिडिया
सभागृहमा व्यवस्थित मिडिया सेन्टरको अभावमा सबैभन्दा बढी कष्ट भोग्नेमा पत्रकार छन् । क्षण–क्षणमा ताजा परिणाम सार्वजनिक गर्न कार्यस्थल आइपुगेका पत्रकारले नियमित र व्यवस्थित आधिकारिक सूचना पाइरहेका थिएनन् । वडाभित्रका ‘बुथबाइज’ मतगणनाको पछिल्लो अपडेट खोजिरहेका पत्रकारलाई कहिलेकाहीँ माइकबाट र बेलाबेलामा ‘मनिटर डिस्प्ले’बाट जानकारी गराइए पनि प्राथमिकता र महŒवका साथ सम्बोधन गरिएको पाइएन । फलस्वरूप उनीहरू ‘रफ डाटा’ र स्रोतलाई नै आधार मानेर जोखिमपूर्ण अपडेट गरिरहेका देखिन्थे ।

क्यामेरा, सेलरोटी र इस्टकोटमा सबैका कान ठाडा
मतगणनास्थलमा साझा पार्टी र विवेकशी दल आकर्षणको केन्द्रका रूपमा देखिए । सुरुमा अलि नपत्याइएका वैकल्पिक धारका साझा र विवेकशील दलका उमेदवारका लागि परम्परागत दलका मतगणना प्रतिनिधिले आफ्नो कापीमा ठाउँसमेत छुट््याएका थिएनन् । तर, स्वतन्त्र हैसियतका साझा र विवेकशीलका उम्मेदवारले भकाभक भोट ल्याउन थालेपछि मतगणनास्थलमा उनीहरूको चर्चा चुलियो । गणकले चुनाव चिह्न क्यामेरा, सेलरोटी र इस्टकोटको उच्चारण गर्दा सबैका कान ठाडा हुन थाले । बिस्तारै कांग्रेस, एमाले, साझा, विवेकशील क्रमशः राखेर प्रिन्ट गरिएको मतगणना उतार पानाहरू देखिन थाले ।

मतपत्रसँगै मनको चिर्कटो
आफ्ना प्रतिनिधि आफैँले चुन्न पाउने लोकतान्त्रिक अधिकारको उपयोग गर्न पाएका महानगरवासीले परम्परागत दलका विकृति, नेतृत्वका कमजोरी र कतिपयले वर्तमान राजनीतिक जटिलता र नेताहरूको गैरजिम्मेवारीबारे तिखो व्यंग्य पनि पोखेका छन् । मतपत्रसँगै चिर्कटोमा मनका हुटहुटी पोखेका सचेत मतदाताले आफ्नै पार्टीका नेताहरूलाई खबरदारी गरेर लेखेका छन् । वडा नम्वर ४ बालुवाटार, शंखपार्क बुथको मतपेटिका खोल्दा भेटिएको एउटा चिर्कटोमा यस्तो लेखिएको थियो– ‘हामी नेपाली कांग्रेस हौँ, देउवा, कोइराला, पौडेलका दास होइनौँ । उनीहरू सत्तास्वार्थमा लिप्त हुँदै जाने, पार्टीको मूल्य–मान्यता छाडदै जाने र हामीसँग भोटको अपेक्षा गर्ने ? कांग्रेसभित्र आन्दोलनको खाँचो छ ।’
धेरैले ‘मैले किन मेरो पार्टीलाई भोट दिइनँ ?’ भन्ने कारण खुलाएर मनका व्यथा पोखेका छन् । पार्टी तथा तिनका नेतालाई व्यंग्य गरेका चिर्कटा थुप्रै पाइए ।

पट्यारलाग्दो गणना
चुस्त व्यवस्थापनको अभाव, परम्परागत गणना ढर्राका कारण महानगरको मतगणना निकै झन्झटिलो र पट्यारलाग्दो तरिकाले अघि बढिरहेको छ । विधि, प्रक्रिया र शैलीमा निकै समय लाग्ने ठूलो मतपत्र, स्वस्तिक छापको रङ र मतपत्रको रङ उस्तै–उस्तै देखिने सदर, बदर र ट्यालीले समय खाइदिँदा गणना निकै पट्यारलाग्दो भएको छ । कर्मचारी र मतदान प्रतिनिधिको साटफेरले पनि समय तन्किएको भान हुन्छ ।

मत गनिनसक्दै विजय जुलुस
वडा–वडाका छुट्टाछुट्टै मतगणना जारी छ । बुथबाइज गणना चलिरहँदा करिब आधाजसो गणना सकिएपछि मत अग्रतालाई आधार मान्दै सभागृहअगाडि विजय जुलुसको तयारी चलिरहेको देखिन्थ्यो । अन्तिम मत परिणामको नजिकमा पुग्दा नपुग्दै कार्यकर्ता विजय ¥याली अघि बढाइरहेका हुन्थे भने अबिरसहितका उम्मेदवार अन्तिम नतिजासहित विजयी घोषणाका लागि मतगणना स्थलमा कुरिरहेका समेत भेटिएका थिए ।

 

Leave A Comment