आठ वर्षपछि फ्यानसँग रजनीकान्त

सोमबार, ०८ जेठ २०७४, १२ : ४४ शुक्रवार , Kathmandu
आठ वर्षपछि फ्यानसँग रजनीकान्त

आठ वर्षपछि भारतीय सुपरस्टार रजनीकान्तले आफ्ना प्रशंसकलाई भेटेका छन् । उनले सोमवारदेखि लगातार चार दिनसम्म प्रशंसकलाई भेट्नेछन् । चेन्नईस्थित उनको घरमा उनलाई भेट्न बिहानैदेखि फ्यानहरूको लामो लाइन लागेको थियो । रजनीकान्तले आफ्ना प्रशंसकहरूलाई सम्बोधन पनि गरेका थिए ।
‘म निर्देशक तथा निर्माताका कारण सुपरस्टार बनेको हुँ,’ उनले भने, ‘म तपाईंहरूलाई आगामी दिनमा राम्रा फिल्म दिनेछु ।’ आफू कुनै राजनीतिक पार्टीमा आबद्ध नभएको उनले बताए । ‘केही पार्टीले म उनीहरूसँग जोडिएको हल्ला फिँजाएका रहेछन्,’ उनले भने, ‘तर, म कुनै दलमा आबद्ध नभएको स्पष्ट पार्न चाहन्छु ।’
रजनीकान्तका तर्फबाट विभिन्न फ्यान क्लबलाई निम्ता गरिएको थियो । उनीहरूलाई विभिन्न कार्यक्रममा सहभागी गराइनेछ । प्रशंसकहरूले ६६ वर्षीय रजनीकान्तसँग चार दिनसम्म फोटो खिचाउने अवसर पनि पाउनेछन् ।
फिल्म ‘शिवाजी’को सफलतापछि सन् २००९ मा उनले यसै गरी आफ्ना फ्यानहरूलाई भेटेका थिए । उनको जन्मदिनमा भएको भागदौडका कारण उनले फ्यानहरूसँग भेट्न बन्द गरेका थिए । किनभने, उनी आफ्नो कारणले प्रशंसकलाई चोटपटक नलागोस् या कुनै हानि नपुगोस् भन्ने चाहन्थे ।
उनको आगामी फिल्मका कारण पनि उनी चर्चामा छन्, जसमा उनले मुम्बईका डन हाजी मस्तानको चरित्र निर्वाह गर्ने बताइन्छ ।
 

 

Leave A Comment