‘दायित्वसहित राजनीतिमा आउनुपर्छ युवा’

आइतबार, ०७ जेठ २०७४, ०१ : ११ शुक्रवार , Kathmandu
‘दायित्वसहित राजनीतिमा आउनुपर्छ युवा’

मनीष सुमन
महासचिव, राष्ट्रिय जनता पार्टी, नेपाल

मेरो जन्म सप्तरीको राजविराजमा भएको हो । म ९ कक्षामा पढ्दा तत्कालीन सद्भावना नेता ललित कण्ठ, प्रमोद यादव र महेश यादव त्यस  पार्टीको विद्यार्थी संगठनका नेता हुनुहुन्थ्यो । उहाँहरू म पढ्ने स्कुलमा आउनुभयो । स्कुलमा प्रारम्भिक कमिटी बनाउनुभयो । म २०४७ सालमा प्रारम्भिक कमिटीको सचिव भएँ । मेरो राजनीतिक यात्रा त्यहीँबाट सुरु भयो । वक्तृत्व कलामा म जिल्लामै उत्कृष्ट भएको थिएँ । भाषण राम्रो गर्थें ।
मेरो राजनीतिक यात्रा अघि बढ्दै गयो । विद्यार्थी मञ्चको केन्द्रीय सहसंयोजकसम्म भएँ । त्यसपछि विद्यार्थी मञ्च छोडेर २०५४ सालमा पार्टीको युवा संगठन युवा मञ्चमा लागेँ । युवा मञ्चको केन्द्रीय सदस्य भएँ । त्यस पछि महासचिव पनि भएँ । २०६९ मा सप्तरीको राजविराजमा पार्टीको एकीकृत चौथो महाधिवेशन भएको थियो । त्यसबाट पार्टीको केन्द्रीय सदस्यमा अत्यधिक मत ल्याएर निर्वाचित भएँ । २०६३ मा   सहमहामन्त्री भएँ । २०६८ देखि केही समय पहिलेसम्म सद्भावनाको महासचिव भएँ  । विभिन्न मधेशकेन्द्रित पार्टीहरूबीच एकीकरणबाट बनेको राष्ट्रिय जनता पार्टी नेपालको पनि अहिले महासचिव छु ।
सुरुदेखि नै क्रान्तिकारी स्वभावको थिएँ । लोकतान्त्रिक आन्दोलनमा  सहभागी भएँ । दुई पटक गरी तीन महिना जेल बसेँ ।
दक्ष मान्छेहरूले नै समाजलाई परिर्वतन गर्न सक्छन् । समाजलाई सीधा रूपमा परिर्वतन गर्न सक्ने भनेको राजनीतिले मात्रै हो । यद्यपि, अहिले राजनीतिमा केही विकर्षण पनि छ । बलिउडका कलाकारको काठमाडौँमा कार्यक्रम हुँदा थामिनसक्नुको भीड हुन्छ । त्यही ठाँउमा कुनै राजनीतिक पार्टीले कार्यक्रम गर्दा मान्छे जम्मा गर्नै कठिन हुन्छ ।
शिक्षित मान्छेहरू अन्य पेशामा जान्छन् । पढ्न नसकेको मान्छे मात्रै राजनीतिमा आउँछ भन्ने मान्यता बनेको छ । राजनीतिलाई एकदमै हेला गरिएको छ । राजनीतिप्रति आम मान्छेको यस्तो धारणा बन्नुमा हामी राजनीतिकर्मीको पनि गल्ती  छ । केही मान्छे सरकारी कर्मचारीबाट पैसा खान्छन्, भ्रष्टाचार गर्छन्, गुण्डागर्दी गर्छन्, आफ्नापछाडि केही मान्छे लगाएर रवाफ जमाउन खोज्छन् । यस्तै ध्येयले राजनीतिमा लागेकाहरूले गर्दा राजनीति बिग्रिएको छ । तर, हामी त्यसका लागि राजनीतिमा लागेका होइनौँ । यो समाजलाई समतामूलक समाजमा बदल्नुपर्छ, लिंग, भाषा, वेशभूषा, वर्ग, जातका आधारमा कुनै पनि किसिमको भेदभाव हुनु हुँदैन भन्ने उद्देश्यका साथ हामी राजनीतिमा लागेका हौँ ।
क्याम्पसलाई नेता उत्पादन गर्ने थलोका रूपमा लिइन्छ । तर, अहिले निजी कलेजहरूमा संगठन गर्न बन्देज छ । यसले गर्दा नेता उत्पादन गर्ने थलो नै बन्द भएको छ । युवाको राजनीतिमा सोचे जसरी सहभागिता बढ्न सकेको छैन । आमसञ्चारका  माध्यमबाट पनि राजनीतिप्रति नकारात्मक टीकाटिप्पणी हुने गरेका छन् ।
चिकित्सा, इन्जिनियरिङलगायत क्षेत्रमा युवाको आकर्षण छ । तर, राजनीतिमा छैन् । कमजोर र पढ्न नसक्ने मात्रै राजनीतिमा लाग्छन् भन्ने परेको छ  । यो ठूलो चिन्ताको विषय हो ।
राजनीति नराम्रो चिज होइन । इमानदारीपूर्वक राजनीति गरेमा समाजले पुरस्कृत गर्छ । मान, सम्मान पनि दिन्छ । इज्जत, श्रद्धा दिन्छ । बाहिर बसेर राजनीति खराब हो, नेताले देश बिगारे, देश खत्तम भयो भनेर टिप्पणी गर्नु  आफ्नो दायित्वबाट पन्छिनु हो  । युवाहरू भाग्ने होइन, दायित्व बोकेर  राजनीतिमा आउनुपर्छ । केही मात्रामा युवा राजनीतिमा आइरहेका पनि छन् । तर, यो पर्याप्त छैन ।
राजनीति समाज सुधारको माध्यम हो । एउटा कुनै पेशा गर्दा त्यो पेशा मात्रै सुध्रिएला, कुनै व्यापारमा लाग्दा मनग्य पैसा कमाउन सकिएला । तर, समाजलाई त्यसले कुनै खास असर पारेको हुँदैन ।  राजनीति बहुकेन्द्रित, समाजकेन्द्रित हुन्छ  ।  समाजलाई उभो लगाउने भनेको राजनीतिले नै हो ।
राजनीतिमा लाग्न चाहने युवासँग पृथक विचार हुनुपर्छ । मार्टिन लुथर किङले भनेका छन्, ‘नेतृत्व गर्न तपार्इंसँग पृथक विचार हुनुपर्छ ।’ सानो भए पनि तपाईसँग सहमत एउटा जमात हुनुपर्छ । जसले एउटा नयाँ विचार दिएर नेतृत्व गर्छ, ऊ नै नेता हो । संगठन गर्ने कला राजनीतिमा अनिवार्य छ ।
युवालाई राजनीतिमा आउन छेक्ने धेरै कुरा छन् । त्यसमध्ये जातिवाद पनि एक हो, जुन दक्षिण एसियाभर नै छ  । तपाईं कुन जातबाट हुनुहुन्छ ? त्यसले यहाँको राजनीतिमा ठूलो महत्व राख्ने गरेको छ । हामी जातजातमा विभाजित भएर भन्दा पनि समग्र नेपालीको उत्थानका लागि सोच्नुपर्छ । पछाडि परेको, कमजोर समुदायलाई अगाडि ल्याउँदा समग्र नेपालकै हित हुन्छ । अर्को चुनौती परिवारवाद पनि हो । नेताहरूले आफ्ना आसेपासे, पविारलाई मात्रै देख्छन् । लामो समय राजनीतिमा लागेको, क्षमतावान युवालाई देख्दैनन् । को नजिक छ, उसलाई नै रोज्छन् । तर, यही कारणले राजनीतिबाटै निरुत्साहित हुनुपर्छ भन्ने छैन । लगातार संघर्ष गर्नुपर्छ ।
 
राजनीतिमा युवा नेतृत्व र पुरानो पुस्ताबीच काम गर्ने सवालमा ठूलो खाडल छ । पुरानो पुस्ताका नेताहरू अझै पनि पुरातनवादी सोचमा छन् । हाम्रो पुस्ताले ठूलो फड्को मार्न खोजिरहेको छ । हामी इन्टरनेट युगका पर्यौँ । समाजिक सञ्जालमा ‘अपडेटेड’ हुन्छौँ । देश–दुनियाँको जानकारी राख्छौँ, नयाँ–नयाँ ज्ञान लिन्छौँ । पुराना पुस्ताका नेताहरू त्यस्तो सोच राख्दैनन् । अहिले पनि ‘तिमीहरू बच्चा छौ, तिमीहरूसँग अनुभव छैन’ भन्ने कुरा गर्छन् ।
पछिल्लो पटक सत्ता र सरकारमा गएका युवाहरूको काम गराइ निकै भिन्न छ । गोकर्ण विष्ट, जनार्दन शर्माको राम्रो काम देखिएको छ । अहिले सरकारमा रहेर गगन थापाले पनि राम्रै गरिरहनुभएको छ । संसद्को विकास समितिमा रहेर रवीन्द्र अधिकारीले पनि राम्रो काम गर्नुभएको छ । काम गर्ने अवसर पाएका युवा नेताले राम्रो काम गरेका छन् । आउने दिनमा नेपालको राजनीतिमा युवाको भविष्य पनि राम्रै छ ।  
प्रस्तुतिः रामकुमार डिसी

 

Leave A Comment