‘मालिक बन्न खोजे कम्पनी डुब्छ’

आइतबार, ०७ जेठ २०७४, ०१ : ०६ दिलीप पौडेल , Kathmandu
‘मालिक बन्न खोजे कम्पनी डुब्छ’

उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्य सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका अध्यक्ष हुन् । उनी वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसका पनि अध्यक्ष हुन् । वैद्यसँग मुलुकमा लगानीको अवस्था, अर्थतन्त्र, व्यावसायिक यात्रालगायत विषयमा शुक्रवारका लागि दिलीप पौडेलले गरेको कुराकानीः    

यहाँको लगानी कुन–कुन क्षेत्रमा छ ?
हाम्रो परिवारले नै नेपालमा पहिलो पटक टोयोटा गाडी भिœयाएको हो । अटोमोबाइलका अतिरिक्त निर्माण, शिक्षा, चियाबगानलगायत क्षेत्रमा व्यवसाय गरिरहेका छौँ । अब छोरीको नेतृत्वमा पोखरा र लुम्बिनीमा होटलमा लगानी गर्ने योजना बनाएका छौँ ।  
व्यावसायिक सफलताका लागि के गर्नुपर्छ ?
व्यवसायमा सिस्टमको विकास गर्नुपर्छ । हस्तक्षेप गर्नु हुँदैन । कम्पनीमा अनुशासन चाहिन्छ । एउटाले अर्कोलाई शंका गर्नु हुँदैन ।
व्यवसायमा राजनीतिक प्रभाव कस्तो हुन्छ ?
म उद्योग वाणिज्य महासंघमा पनि भएकाले स्वभाविक रूपमा व्यवसायमा प्रभाव पथ्र्यो । प्रशासनिक, राजनीतिक प्रभावमा परेर धेरै छुट माग्ने, लामो समय भुक्तानी नआउने समस्या थियो । ऋतुले नेतृत्व गरेपछि यो समस्या कम छ । अहिले यो समस्याको हल भएको छ । व्यवसायमा अनावश्यक सम्झौता गर्नु हुँदैन भन्ने उनको मान्यता छ ।
कम्पनीलाई सफल बनाउन के गर्नुपर्छ ?
कम्पनीमा काम गर्ने स्टाफबीच पारिवारिक वातावरण हुनुपर्छ । कर्मचारीबीच सहकार्य, आत्मीय सम्बन्ध र विश्वास हुनुपर्छ । दैनिक काममा काममा हस्तक्षेप गर्नु हुँदैन । कामको बाँडफाँड गर्नुपर्छ । सबै मालिक बन्न खोजे कम्पनी डुब्छ ।
कम्पनीमा आर्थिक व्यवस्थापनको नेतृत्व कसले गर्छ ?
मेरो श्रीमती ऋतुले नेतृत्व गरेपछि कम्पनीको आर्थिक व्यवस्थापन झनै राम्रो भएको छ । महिलाको आर्थिक व्यवस्थापन चुस्त हुन्छ ।
कसरी बिहे गर्नुभयो ?
मेरो पहिलो श्रीमतीको अकल्पनीय निधन भएपछि दोस्रो बिहे गरेको हुँ । काठमाडौँको बालमन्दिरमा ‘फन्ड कलेक्सन’का लागि आयोजित गरेको फेसन सोमा ‘मिस इन्डिया एसिया वल्र्ड’ ऋतु सिंह नेपाल आएकी थिइन् । त्यही भेटमा उनीसँग सामीप्यता बढ्यो । पहिलो भेटमै आकर्षित भएँ उनीबाट र दुई वर्षपछि हामीले विवाह गर्यौँ ।
ऋतुको के कुराले आकर्षित गर्यो ?
उनको आकर्षक व्यक्तित्व, व्यवहार, परिपक्व सोच र नम्र स्वभावले मलाई आकर्षित ग¥यो ।
घरको काममा जिम्मेवारी बाँडफाँड हुन्छ कि हुँदैन ?
हुन्छ नि । खाना पकाउने काम मिलेर गर्छौं । बिदाको दिनमा खाना म पकाउँछु । ऋतुले पकाएको टेस्ट पनि मीठो हुन्छ । बगैँचा सजाउने काम मैले गर्छु । घरभित्रको सजावट ऋतुले गर्छिन् ।
परिवारसँग कति समय बिताउनुहुन्छ ?
हप्ताको एक दिन शनिवार सकभर परिवारसँगै बस्छु । बिदाको दिन मिटिङमा जानु हुँदैन भन्ने मेरो मान्यता हो ।
श्रीमान्–श्रीमतीबीच खटपट हुन्छ कि नाइँ ?
श्रीमान्ले श्रीमतीको भावनाको कदर गर्नुपर्छ भन्ने मेरो मान्यता हो । श्रीमान्–श्रीमतीको सम्बन्धमा मनमुटाव हुन नदिन एकअर्काको सम्मान गर्नुपर्छ । एकअर्कामाथि शंका गर्नु हुँदैन ।
सार्क चेम्बरको नेतृत्वमा आएपछि के काम गर्नुभयो ?
हामी नेतृत्वमा आएपछि अन्तर क्षेत्रीय लगानी अभिवृद्धि, युवा उद्यमशीलता बढाउन ध्यान दिएका छौँ । दक्षिण एसियाका आठ मुलुकमा युवालाई आफ्नै मुलुकमा राखेर रोजगारी सिर्जना गर्नुपर्छ भन्ने कुरा प्राथमिकतामा राखेका छौँ । विदेशी लगानी भित्र्याउन पहल गरिरहेका छौँ ।
मुलुकको आर्थिक विकासको लागि के गर्नु आवश्यक छ ?
मुलुकको अर्थतन्त्र बलियो बनाउन उद्योग बढाउनुपर्छ । हामीसँग ट्रेडिङ गर्ने प्रोडक्ट छैन । अहिले लगानी बढाउनुपर्छ । सकभर स्वदेशी लगानी बढाउने । आर्थिक समृद्धिका लागि विदेशी लगानी भिœयाउन आवश्यक छ । हाम्रो मुलुक निकै सम्भावना भएको मुलुक हो । नेपालमा निजी क्षेत्र पनि सक्रिय छ । राजनीतिक स्थिरता भए अझ अघि बढ्न सकिन्छ ।  
नयाँ योजना के छ ?
मान्छेलाई पैसा कमाएर कहिलै पुग्दो रैनछ । पैसाकै लोभ गर्ने हो भने कमाउने कामबाट कहिलै छुट्टी लिने समय आउँदैन । तर, म अब व्यवसायभन्दा पनि सामाजिक कममा सक्रिय हुने योजनामा छु ।

 

Leave A Comment