नाङ्लेपसलमा रमाएकी आमा

आइतबार, ०७ जेठ २०७४, ०१ : ०२ शुक्रवार , Kathmandu
नाङ्लेपसलमा रमाएकी आमा

–रचना श्रेष्ठ
साँझपख फुटपाथमा लुगा, जुत्तादेखि थरी–थरीका सामानको ठूलो बजार लाग्छ, नयाँ बानेश्वर चोकमा । मान्छे र गाडीको चहलपहल भएको चोककै पोलनिर कुचुक्क पलेटी कसेर बसेकी हुन्छिन्, ६७ वर्षीया राधिका पन्त । त्यहाँ उनले नाङ्ले पसल थापेकी छिन् । नाङ्लोमा चुरोट, खैनी, सुपारी, चकलेट, चाउचाउ, सलाई, भुजियाजस्ता खुद्रा सामान राखिएका हुन्छन् ।
त्यसरी कुचुक्क परी बस्दा आफूलाई गाह्रो हुने उनी बताउँछिन् । ‘दिउँसो दुई÷तीन बजेदेखि छ बजेसम्म यहाँ बस्छु । पलेटी कसेर बस्दा ढाड दुख्छ, खुट्टा पसार्न मन लाग्छ । तर, बाटोमा हिँड्ने मान्छेले खुट्टा कुल्चिदेला भन्ने डर लाग्छ,’ उनी भन्छिन् ।
मध्य बानेश्वरमा राधिकाको कोठा छ । घरमा बुढी आमाजू र छोरा भएको उनी बताउँछिन् । ‘बिहान खाना पकाउँछु, कोठा सफा गरी केही बेर आराम गर्छु,’ उनी भन्छिन्, ‘कोठामा पनि खाली बस्दिनँ । समय भएको बेला यसोे बत्ती कात्दै बस्छु । अनि, दिउँसो दुईतीन बजेतिर यहाँ आएर पसल थाप्छु ।’
राधिकाका माइती पाल्पामा बस्छन् । बिहेअघि आफूले गाउँमा परिवार नियोजनका लागि शिक्षा फैँलाउँदै हिँड्ने गरेको उनी बताउँछिन् । ‘प्रोजेक्टमा काम गर्थें । त्यसकै सिलसिलामा गाउँमा परिवार नियोजनसम्बन्धी जानकारी बाँड्दै हिँड्थेँ,’ उनी भन्छिन्, ‘सुखसयलको जीवन थियो त्यतिखेर ।’ कामकै सिलसिलामा भारतको आगरा, दिल्लीलगायत थुप्रै ठाउँमा घुमेको उनी बताउँछिन् । कक्षा पाँच कक्षासम्म पढेकी छिन्, राधिकाले । दुईचार अक्षर चिनेकी छिन् ।
उनका श्रीमान् पोखरामा जागिरे थिए । बिहेपछि ढाकाको कामसमेत गरेको उनी बताउँछिन् । ‘आफू पनि सिकेँ अरूलाई पनि सिकाएँ । लगभग १७ वर्षजति ढाकाको काम गरेँ,’ उनी भन्छिन्, ‘जीवन सधैँ एकनास हुँदैन ।’ श्रीमान्लाई क्यान्सरजस्तो घातक रोगले च्यापेपछि आफूसँग भएको जायजेथा उनकै उपचारमा लगाएको उनी बताउँछिन् । ‘कमाएको पैसाजति उहाँको उपचारमै खर्च भयो,’ उनी भन्छिन्, ‘पोखरामा उपचार नभएपछि डाक्टरले काठमाडौँ लैजान भने । छोरा सानै थियो । बूढा र छोरालाई लिएर काठमाडौँ पसेँ ।’
उपचार गराउँदागराउँदै श्रीमान्को मृत्यु भएपछि उनका संघर्षका दिन सुरु भए । ‘त्यसपछिको दुःख, कष्ट सम्झेर साध्ये छैन,’ उनी भन्छिन्, ‘कहाँबाट कहाँ आइपुगेँ । सडकमा फ्याँकिएँ, सबै फगत भयो । छोराको मुख हेरेर जस्सरी भए पनि बाँच्नुपर्छ भन्ने लाग्यो ।’ त्यसपछि बाटोमा बसेर उनी सामान बेच्न थालिन् । १५ वर्षदेखि नाङ्ले पसलको भरमा जीवन काटिरहेको उनी बताउँछिन् ।
जति दुःख भए पनि उनले छोरालाई पढाइन् । ‘अहिले छोरो १२ मा पढ्ने भइसक्यो,’ उनी भन्छिन् । कोठामा यत्तिकै कुँजिएर बस्न उनलाई मन पर्दैन । बरु, सडकमा कुचुक्क परेर बस्न मन पर्छ । ‘कोठामा खाली बस्नुभन्दा दुई पैसा भए नि आउँछ । सागतरकारी किन्न पुग्छ,’ उनी भन्छिन् ।
बानेश्वर चोकका धेरैले उनलाई चिन्छन्, मन पराउँछन्, आमै’ भनेर सम्बोधन गर्छन् । ‘धेरै वर्षदेखि यही बसेकाले सबैले चिन्न थालेका छन् । माया गर्छन् । आमै भन्छन्,’ उनी भन्छिन् ।

 

Leave A Comment