एक ‘किस सिन’को पछुतो

आइतबार, ०७ जेठ २०७४, १२ : ५९ शुक्रवार , Kathmandu
एक ‘किस सिन’को पछुतो

बलिउड अभिनेत्री माधुरी दीक्षित ५० वर्षकी भइन् । बलिउडकी प्रतिभाशाली र सुन्दर अभिनेत्रीमा गनिइने उनका अहिले पनि लाखौँ प्रशंसक छन् । उनको ‘क्रेज’ कायमै छ ।
लामो करिअरमा उनलाई आफूले गरेका कामप्रति खासै पछुतो छैन । तर, एउटा दृश्यले भने उनलाई चिमोटिरहन्छ । फिल्म ‘दयावान’ दिएको ‘किस सिन’मा उनलाई पछुतो र दुःख छ ।

सन् १९८८ मा बनेको त्यो फिल्ममा उनले अभिनेता विनोद खन्नासँग चुम्बन दृश्य दिएकी थिइन् । त्यतिबेला उनी २१ वर्षकी थिइन् भने खन्ना ४२ वर्षका थिए । यो दृश्यको बडो आलोचना पनि भएको थियो । फिल्म समीक्षकले यसलाई ‘भल्गर’ भनेका थिए । खासमा माधुरी त्यस्तो भद्दा दृश्य दिन चाहँदिनथिन् ।
उनले कैयौँ अन्तर्वार्तामा यस दृश्यबारे बोलेकी छिन् । भनेकी छिन्, ‘त्यो किस सिन दिएकोमा मलाई ठूलो पछुतो छ ।’

सन् १९९३ मा एक मिडियासँग उनले भनेकी थिइन्, ‘दयावान’मा चुम्बन दृश्य दिएकोमा मलाई अफसोच छ । म त्यो दृश्य गर्न चाहन्न थिएँ । तर, नयाँ कलाकारले निर्देशकलाई नाइँ भन्ने हिम्मत गर्न सक्दैन ।’
सन् २०११ मा एक अखबारसँग त्यस दृश्यका बारेमा उनले दिएको बयान यस्तो थियो, ‘फिल्म हेरेपछि मलाई आश्चर्य लाग्यो– मैले त्यो दृश्य किन गरेकी थिएँ ? त्यसपछि मैले आइन्दा त्यस्ता दृश्य नगर्ने कसम खाएँ ।’
‘दयावान’लाई फिरोज खानले निर्देशन गरेका थिए । उनी खन्नाका सबैभन्दा निकट साथी थिए ।

माधुरीको नाम केही अभिनेतासँग जोडियो । अनिल कपुरसँग उनको नाम जोडिएको थियो । यी दुईले ‘तेजाब’, ‘राम लखन’, ‘किशन कन्हैया’, ‘बेटा’ लगायत फिल्ममा काम गरेका थिए । एक अन्तर्वार्तामा कपुरले भनेका थिए, ‘माधुरीसँग मेरो अफेयरको हल्ला फिल्मको प्रचार होस् भन्ने ध्येयले चलाइएको थियो ।’ बलिउडमा उनीहरूको प्रेम प्रसंग हल्ला थिएन भन्नेहरूको संख्या ठूलो थियो ।
 
अभिनेता सञ्जय दत्तसँग भने उनी सम्बन्धमा रहिन् । सन् १९८८ मा रिलिज भएको फिल्म ‘खतरोँ के खिलाडी’ मा उनीहरूले पहिलोचोटि स्क्रिन सेयर गरेका थिए । त्यसको तीन वर्षपछि फिल्म ‘साजन’मा काम गर्ने क्रममा उनीहरू नजिकिए र प्रेममा परे । यो जोडीले सन् १९९३ मा फिल्म ‘खलनायक’मा काम ग¥यो । फिल्म उनको जोडी ज्याकी स्रोफ भए पनि स्क्रिनमा बढी समय माधुरीलाई सञ्जयसँग देखाइयो ।
इन्डस्ट्रीमा उनीहरूको प्रेमकथा चर्चाको विषय बनिसकेको थियो । उनीहरू विवाह गर्ने योजनामा थिए तर माधुरीका बाबुलाई त्यो सम्बन्ध स्वीकार्य भएन । एक छोरीका बाबु सञ्जयसँग छोरीले प्रेम गरेको उनलाई मन परेको थिएन । फिल्म सुटिङकै क्रममा सञ्जय जेल परेपछि माधुरीले उनीसँग दूरी कायम गरिन् र सम्बन्ध पनि त्यहीँ टुंगियो । सञ्जय जेलमा १६ महिना रहँदा माधुरी एकचोटि पनि भेट्न गइनन् । जेलबाट छुटेपछि पनि भेट्न गइनन् । त्यसपछि सञ्जय यति रिसाए कि उनले माधुरीसँग कुनै पनि फिल्म साइन गरेनन् ।

 

Leave A Comment