एउटै खोरमा कट्टर दुश्मन

आइतबार, ०७ जेठ २०७४, १२ : ४४ केपी ढुंगाना , Kathmandu
एउटै खोरमा कट्टर दुश्मन

काठमाडौँको अपराध दुनियाँका दुई ठूला गुण्डा नाइके हुन्, दीपक मनाङे र चक्रे मिलन । एकअर्काका कट्टर दुश्मन उनीहरू दर्जनौँ पटक जेल परे, प्रहरी हिरासतमा परे । तर, यी दुईको भेट कहिल्यै भएन । स्थानीय तहको निर्वाचनमा बाधा पुर्याउन प्रयोग हुन सक्ने भन्दै प्रहरीले पक्राउ गरेपछि उनीहरू अहिले एउटै हिरासतकक्षमा छन् । एउटै कोठामा बसे पनि उनीहरूको बोलचाल भने छैन । केपी ढुंगानाले हिरासतकक्षको दृश्यसहित यी दुई गुण्डा नाइकेको दुश्मनीको कथा पस्केका छन् ।

रातो घेरामा ‘कार स्टप’ लेखिएको सेतो टिसर्ट र कालो ट्र्याक । पछाडि बाँधिएको कपाल । चाउरिन सुरु भएको अनुहार । महानगरीय प्रहरी परिसरको हिरासतबाट बाहिर निकालेर तस्बिर खिच्ने क्रममा चक्रे मिलन हल्का मुस्कुराउने प्रयास त गरे तर सफल भएनन् ।
चुनावी मुखमा घरको साटो प्रहरी हिरासतको बास हुँदाको निराशा उनको अनुहारमा प्रस्टै झल्कन्थ्यो । चक्रेसँगै एउटै खाटमा बसेका दीपक मनाङेको मुहार भने उज्यालै थियो । खैरो टिसर्ट र खैरै पाइन्टमा रहेका उनी क्यामराअगाडि हँसिलो देखिए ।
‘मुहार र माहोल फरक भए पनि दुवैको एक व्यवहार भने समान थियो । तस्बिर लिन हिरासतकक्षबाट निकालेर बाहिर ल्याएदेखि भित्र पठाएसम्म दुवैले एकअर्काको अनुहार हेरेनन् र बोलेनन् पनि ।
तस्बिर लिने काम सकिएसँगै काठमाडौँ, टेकुको नेसनल ट्रेडिङ भवनको तल्लो तलाको पूर्वतिर रहेको हिरासतकक्षमा छिरेपछि मनाङे कुनातिरको आफ्नो ओछ्यानमा गएर पल्टिए । चक्रे मनाङेको भन्दा वरै रहेको ओछ्यानमा बसे ।
काठमाडौँमा कट्टर दुश्मनका रूपमा परिचित यी दुईले एउटै कोठा सेयर गरेको एक साता कट्यो । दुवैको सम्बन्ध भने १५ वर्ष अगाडिझैँ छ । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै निर्वाचनमा बाधा पुर्याउन प्रयोग हुन सक्ने भन्दै मनाङेलाई वैशाख २४ गते ठमेलमा पक्राउ गरेर सार्वजनिक अपराधको अभियोग लगायो ।
कुनै आपराधिक गतिविधि गरेको उजुरी नभए पनि आपराधिक पृष्ठभूमिका आधारमा उनी १० दिनदेखि प्रहरी हिरासतमा छन् । मनाङे पक्राउ परेको दुई दिनपछि वैशाख २६ मा चक्रे पनि पक्राउ परे उही अभियोगमा ।
वैशाख २६ गते दिउँसोदेखि दुवै जना एउटै कोठामा छन् । कोठा बाँडे पनि दुवैले मन बाँड्न भने सकेका छैनन् ।
‘दुवै एकै हिरासतमा रहे पनि एकअर्कासँग बोलेका छैनन्,’ महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी छविलाल जोशीले भने, ‘उनीहरू हिरासतमा मौन बस्छन् ।’
हिरासतभित्र मनाङे र चक्रेको दैनिकी नियालिरहेका एक प्रहरीका अनुसार हिरासतमा बसेदेखि दुवै जना एकअर्कासँग बोलेका छैनन् । मनाङे प्रायः सुतेरै हिरासतका दिन काटिरहेका छन् । चक्रे भने हिरासतकक्षमा रहेका अन्य अभियुक्तसँग रमाइलो कुराकानी गरेर दिन काटिरहेका छन् ।
हिरासतमा बस्दा दुवैले सरकारी सिदा पाउँछन् । तर, दुवैले सरकारी सिदा खाएका छैनन् । पारिवारिक सदस्यले उनीहरूलाई बिहान र बेलुकाको खाना ल्याइदिन्छन् । हिरासतमा आइपुगेको खाना उनीहरूले त्यहाँ रहेका अन्यलाई खुवाउने गरेका छन् ।
दुवै जनालाई सुत्न आवश्यक सामान परिवारले ल्याइदिएका छन् । उनीहरू त्यही ओछ्याएर बसेका छन् । बेलाबखत केही आफन्त भेट्न आउँछन् । तर, पक्राउको भयले यी दुईका सहयोगीहरूले परिसर टेकेका छैनन् ।
‘दुवै जना निराश नै देखिन्छन्, त्यति खुल्न सकेका छैनन्,’ एक प्रहरीले भने, ‘यसअगाडि पक्राउ पर्दाको भन्दा दुवैको व्यवहार बदलिएको छ ।’
गुण्डा नाइकेका रूपमा ३० वर्षदेखि परिचित चक्रे र मनाङे पक्राउ परेको पहिलो पटक हैन । सामान्यदेखि गम्भीर अपराधमा यी दुवै दर्जनौँ पटक पक्राउ परेका छन् । कहिले प्रहरी हिरासतबाटै मुक्त भए भने कहिले कारागार नै पुगे । तर, यी दुईको भेट कहिल्यै भएन ।
प्रहरी हिरासत होस् या जेल, चक्रे र मनाङे मात्र हैन, उनीहरूको समूहका सदस्यसमेत सँगै बस्दैनन् । लफडा होला भनेर प्रहरीले पनि यी दुवै समूहका सदस्यलाई भिन्नाभिन्नै हिरासत पठाउँदै आएका छन् । जेल प्रशासनले  प्रहरी प्रशासनकै शैली अपनाउँदै आएको थियो ।
प्रहरी रेकर्डअनुसार २०५९ सालबाट पक्राउ यात्रा सुरु भयो मनाङेको । उनी पक्राउ पर्दा अधिकांश समय सोह्रखुट्टे या काठमाडौँ परिसरको हिरासतमा बसे । चक्रे पक्राउ पर्दा प्रायः महाराजगञ्ज वृत्तमा बसे । चक्रेको हत्या प्रयासको अभियोगमा करिब दुई वर्ष जेल बस्दा होस् या काजी शेर्पामाथिको आक्रमण, अभिषेकविक्रम शाहमाथि कुटपिटको अभियोग या सात महिनाअगाडि संगठित अपराधको अभियोगमा होस्, यी सबै घटनामा जेल पर्दा मनाङे सधैँ डिल्लीबजार कारागारमै गए ।
जिल्ला अदालतले उनीसहित उनका समूहका अन्य सदस्यलाई जेल पठाउन प¥यो भने पनि काठमाडौँका हकमा सधैँ डिल्लीबजारमै पठाउँथ्यो ।
२०५८ सालबाट आपराधिक रेकर्ड सुरु भएयता चक्रे पनि दर्जनौँ पटक पक्राउ परे । केही अभियोगमा जेल पनि पुगे । प्रहरी रेकर्डअनुसार २०५८  वैशाख २२ मा उनी राजीवराज शाहीमाथि तरबार प्रहार गरेको घटनामा मुछिएका थिए ।
सोही केसमा उनी २०६३ जेठ ७ मा पक्राउ परेका थिए । २०६० चैत १९  मा उनी सञ्जय श्रेष्ठलाई तरबार हानेको, २०६३ भदौ १६ मा राजु थापालाई गोली हानेको, २०६४ वैशाख २२ मा हेपाली हाइटस्थित यादव डंगोललाई गोली हानेको लगायतका केसमा पक्राउ परे । दुई वर्षअगाडि हिरासतमुक्त हुनुअगाडि अवैध हतियारको अभियोग पुष्टि भएसँगै पाँच वर्ष जेल परे ।
तर, हिरासत र जेलमा उनको र मनाङेको भेट भएन । चक्रे जति पटक जेल पुगे, उनको बसाइ सधैँ केन्द्रीय कारागार भयो । उनका सहयोगीसमेत केन्द्रीय कारागार नै पठाइन्थ्यो । तर, स्थानीय निर्वाचनले भने यी दुवैलाई पहिलो पटक एकै छतभित्रको हिरासत जुरायो ।

दुश्मनी रोप्ने त्यो घटना
२०६१ वैशाख ३१ ।
चक्रे पानीपोखरीमा रहेको चुफाङ रेस्टुरेन्टमा इटहरीबाट आएका आफ्नो समूहका सदस्यसँग गफिएर बसिरहेको बेला हेलमेट लगाएका करिब १५ जनाको समूह रेस्टुरेन्टभित्र प्रवेश गर्यो ।
आफ्नै इलाकामा बसेकाले ढुक्क रहेका चक्रेका केटाहरूले के हुँदैछ भन्ने चाल पाउनुअगाडि नै चक्रे हेलमेटधारी समूहको आक्रमणमा परे । खुकुरी प्रहारबाट उनको देब्रे हात छिन्यो । आक्रमणकारी समूह भाग्यो ।
आक्रमणमा संलग्न समूहलाई लेखट्नुभन्दा पनि छिनेको हातको उपचार गर्न आवश्यक थियो । चक्रे सहयोगीलाई आफ्नो छिनेको हात बोकाएर उपचारका लागि शिक्षण अस्पताल, महाराजगञ्जतिर लागे । चिकित्सकहरूको अथक प्रयासमा उनको हात जोडियो तर साबिकझैँ बलियो भने रहेन ।
घटनामा को संलग्न थिए भन्ने पत्तो पाउन प्रहरी त्यति कसरत गरिरहनुपरेन । उनीमाथि सांघातिक आक्रमण गर्नेहरू उनका प्रतिस्पर्धी मनाङेकै समूहका थिए ।
चक्रेको ज्यान लिने प्रयास गरेको अभियोगमा मनाङे २०६१ चैत १८ मा पक्राउ परे र काठमाडाँै जिल्ला अदालतको आदेशमा २०६२ वैशाख १३ मा पुर्पक्षका लागि कारागार पुगे । उनी कैद सजाय कटाएर २०६३ माघ २८ गते मुक्त भए ।
यो घटनापछि आपराधिक सञ्जाल विस्तारको प्रतिस्पर्धा व्यक्तिगत दुश्मनीमा बदलियो । दुवै एकअर्काको रगतको प्यासी बने ।

३० वर्षमा फैलिएको सञ्जाल
३० वर्षअगाडि मिलन गुरुङ र दीपक गुरुङको परिचय थियो, टोले गुण्डा । मनाङे ठमेलको धोबीचौरमा हल्लिरहेका थिए । पू्र्व गोर्खा सैनिकका छोरा चक्रे गोरखाबाट चक्रपथ झरेर त्यतै रल्लिरहेका थिए । त्यो बेला कहलिएका गुण्डा थिए, दिवाकर घले । जसको उपत्यकामा एकछत्र राज चल्थ्यो ।
ठमेल क्षेत्रमा हल्लिने क्रममा दीपक बिस्तारै टोले गुण्डाबाट गुण्डा नाइके बन्दै गए । रात्रीकालीन व्यवसायमा बिस्तारै प्रवेश गर्दै थिए । चक्रपथतिर सुरो स्वभावका मिलन पनि बिस्तारै चर्चामा आइरहेका थिए । सञ्जाल विस्तारसँगै दीपक गुरुङ कहलिएका गुण्डा नाइके दीपक मनाङे भए । तत्कालीन राजपरिवारका आसेपासेसँगको पावरमा फैलन सुरु गरेका मिलन गुरुङ चक्रे मिलनमा रूपान्तरित भए ।
प्रजातन्त्रको उदयसँगै मनाङे, चक्रे, गोर्खालीको आपराधिक प्रभाव विस्तार भएको देखिन्छ । उनीहरू राजनीतिक रूपमा समेत भिन्नभिन्न पार्टीमा आबद्ध थिए । मनाङे राप्रपाको छत्रछायामा थिए । उनलाई पशुपतिशमशेर राणाको आशीर्वाद र संरक्षण प्राप्त थियो । चक्रे एमाले निकट थिए । उनलाई प्रदीप नेपालको संरक्षण थियो । गोर्खाली नेपाली कांग्रेसमा संलग्न भए । चाबहिलका गोर्खालीले कांग्रेसीको साथ र सहयोग पाइरहे ।
प्रभावका आधारमा उनीहरूको क्षेत्रसमेत छुट्टिन थाल्यो काठमाडौँमा । मनाङेले आफू बस्दै आएको ठमेल क्षेत्रलाई आधार इलाका बनाए । विस्तार हुँदै त्यो सामाखुसी र दरबारमार्गसम्म पुग्यो ।
चक्रेको इलाका चक्रपथ थियो । गोंगबु, बूढानीलकण्ठ, चाबहिलसम्म उनको क्षेत्र फैलियो । गोर्खालीले एकल समूह बनाएनन् । चाबहिल क्षेत्रमा बस्ने उनले मूलपानी, जोरपाटीतिर प्रभाव विस्तार गरेर आफूअनुकूल चक्रे र मनाङेसँग सम्बन्ध बनाएर खेलिरहे ।
रात्रीकालीन व्यवसायको विस्तारसँगै मनाङे आर्थिक रूपमा सबल बन्दै गए । आफ्नै डिस्को र रेस्टुरेन्ट खोलेका उनको अनुमतिविना ठमेल क्षेत्रमा कसैले व्यापार सुरु गर्न असम्भवप्रायः थियो । ट्रेकिङ व्यवसायसमेत उनको प्रभावबाट मुक्त भएन ।
बालाजुमा नयाँ बसपार्क बनेपछि उनी त्यतातिर समेत लागे । लाजिम्पाट क्षेत्रमा समेत मनाङेको राज सुरु भयो । रात्रीकालीन व्यवसाय मौलाएको सबैतिर मनाङे हाबी भए ।
रात्रीकालीन व्यवसायको गढ ठमेलमा अन्य गुण्डा नाइकेको प्रवेश सम्भव भएन । उनीहरू दरबारमार्गतिर केन्द्रित हुन खोजे तर मनाङेका लागि यो स्वीकार्य भएन । मनाङेलाई मनाएर गोर्खाली दरबारमार्ग छिर्न सफल भए । तर, कट्टर दुश्मन बनिसकेका चक्रे दरबारमार्ग आउन सकेनन् । उनी मैतीदेवी, कालोपुल, विशालनगर, बालुवाटारहुँदै सुन्धारासम्म आइपुगे । छिटफुट रात्रीकालीन व्यवसायमा हात हाले पनि चक्रेले मुख्य आम्दानीको स्रोत बालुवाखानीलाई बनाए । उनलाई यसमा गोर्खालीले सघाए ।
समूह सदस्यको प्रभावका आधारमा मनाङे केही कमजोर थिए । चक्रेसँग साजन महर्जन, मनराज गुरुङ, भीम गुरुङ, आफ्नै भाइ तेजेन्द्रलगायत थिए । मनाङेतिर भएका कुमार श्रेष्ठ उर्फ घैँटे पनि चक्रेतिर लागेपछि उनी थप कमजोर भए ।
यहीबीच त्रिचन्द्रमा खुकुरीकाण्ड भयो । जसमा नाम जोडिएको थियो, काभ्रेका गणेश लामाको । सहयोगीको खोजीमा रहेका मनाङे र संरक्षकको खोजीमा रहेका लामाको जोडी जम्यो । लामासँगै विष्णु लामा, उमेश लामा, रमेश सुनुवार, चन्द्र लामा मनाङे समूहमा भित्रिए ।
२०४९ सालमा पहिलो स्थानीय निकायको निर्वाचनसँगै उपत्यकामा निर्माणका काम सुरु भए । योसँगै गुण्डाको प्रवेश ठेक्कापट्टा, बालुवाखानीमा भयो । आ–आफ्नो प्रभाव क्षेत्रको खानीमा आ–आफ्नो पकड जमाउने होडबाजी सुरु भयो । निर्माणको टेन्डरमा पहिलो तहका मनाङे र चक्रे आफैँ जाँदैनथे । उनीहरूको समूहका गणेश लामा, कुमार घैँटे, दावा लामा, साजन महर्जनलगायत परिचालित हुन्थे ।
आफू निकटका ठेकेदारलाई ठेक्का दिलाउने होडबाजीमा दोस्रो र तेस्रो समूहका सदस्यबीच झडप र भिडन्त सुरु भयो । काठमाडौँको गुण्डागर्दीबारे जानकार प्रहरी अधिकारीका अनुसार मनाङे र चक्रेबीच भिडन्त बढाउने काम गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रमा पकड जमाउने प्रतिस्पर्धाबाट सुरु भएको थियो ।
नयाँ बसपार्कमा मनाङेको बढ्दो प्रभाव चक्रेका लागि स्वीकार्य भएन । उनले सो क्षेत्रमा आफ्नो प्रभाव बढाउन सहयोगी परिचालन गरे । चक्रेले बसपार्क क्षेत्र आफ्नो कब्जामा ल्याएसँगै सुरु भएको प्रतिस्पर्धा बदलामा बदलियो ।
उनीहरू काठमाडौँ उपत्यकाका तीन जिल्लामा मात्र खुम्चिएनन् । उपत्यकाबाहिर समेत उनीहरूको सञ्जाल विस्तार हुन लाग्यो । म्यानपावर व्यवसाय, हाउजिङमा असुलीको प्रतिस्पर्धाले यी दुईबीच कटुता बढाउँदै लग्यो ।
काठमाडौँमा सुरु भयो ग्याङ वार ।
त्यही ग्याङ वारको परिणाम थियो २०६१ वैशाख ३१ को घटना ।
दाइ घाइते भएर अस्पाल भर्ना भए पनि भाइ तेजेन्द्र, प्रतिशोधको प्यासी थिए । उनले एक महिनापछि बदला लिन मनाङेमाथि आक्रमण नगरेका पनि हैनन । तर, त्यो बेला मनाङे जोगिएका थिए ।
दुवैका सहयोगीबाट सुरु भएको दुश्मनी व्यक्तिगत रहिरह्यो ।

आलै देखियो बदलाको घाउ
यी दुईको दुश्मनीले १५ वर्ष नाघिसकेको छ । परिस्थिति बदलिए । दुवै समूहका सदस्य गणेश लामा, काजी शेर्पा, साजन महर्जन, राजु गोर्खालीहरू छिन्नभिन्न बन्दै आ–आफ्नै समूहका नाइके भएका छन् । दिनेश अधिकारी चरी र घैँटे प्रहरी इन्काउन्टरमा मारिए ।
बेबिलोन डिस्कोका मालिक राकेश लिम्बूको हत्या अभियोग लागेपछि लामो समय भूमिगत बसे पनि पक्राउ परेर जेल जीवन कटाएर मुक्त भएका गोर्खाली आफ्नै सञ्जाल फैलाउन सक्रिय छन् ।
मनाङेले आपराधिक गतिविधिबाट १४ करोड रुपैयाँ कमाएको दाबी गर्दै विशेष अदालतमा दायर भएको मुद्दा खेपिरहेका छन्  । चक्रे पनि उस्तै प्रकृतिको अभियोगमा मुद्दा खेपिरहेका छन् । उनीमाथि आपराधिक गतिविधिबाट सात करोड रुपैयाँ कमाएको आरोप छ ।
मनाङे र चक्रेलाई बुढ्यौलीले छोप्न सुरु गरिसकेको छ । उनीहरू व्यवसायी, राजनीतिकर्मी र समाजसेवीको आवरणमा आफ्नो आपराधिक पृष्ठभूमि छोप्ने असफल संघर्षमा छन् । मनाङे राप्रपाको छत्रछायामा फर्किए । चक्रे निष्क्रिय भएर चक्रपथतिरै हल्लिँदै दिन बिताइरहेका थिए ।
तर, दुवैमाथि प्रहरी प्रशासनको निशाना सोझिन छाडेन । काठमाडौँमा पार्टीका उपमेयर उम्मेदवार राजाराम श्रेष्ठलाई जिताउन खटिएका उनलाई प्रहरीले ठमेलबाटै झ्यानाकुटी पार्दै टेकुमा पुर्याएर खोरमा हुल्यो ।


चुनावबाट टाढै रहेर घरमै बसिरहेका चक्रे पनि जोगिएनन् । चुनावी सुरक्षामा खतरा पु¥याउन सक्ने भन्दै उनी घरमै पक्राउ परे र टेकु पुर्याइए । १० वर्षदेखि अपराधिक गतिविधीबाट टाढै बसेका मिलन श्रेष्ठ उर्फ सेक्सी मिलन पनि पक्राउ परे ।
काभ्रेको नतिजा उलटफेर गर्न खटिएका फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य गणेश लामा प्रहरीको कृपाले सुरक्षित रहे । प्रहरीको कृपाले राजनीतिमा सक्रिय हुन पाउँदा उनले गृह जिल्ला काभ्रेको तिमाल गाउँपालिका वडा नम्बर ३ मा पार्टीलाई जिताए ।
कुनै समय एकअर्काको ज्यानै लिन तम्सिएका चक्रे र मनाङेबीचको दुश्मनीको मात्रा घटेको थियो । मनाङे सहजै चक्रपथ क्षेत्रमा डुल्न सक्थे । चक्रे र उनका समूहका सदस्यका लागि दरबारमार्ग र ठमेल ‘रेड जोन’ थिएनन् ।
यही दृश्यले दुवैको शत्रुता मेटिएको धेरैको आंकलन थियो । तर, हैन रहेछ ।
एक सातादेखि महानगरीय प्रहरी परिसरको एकै हिरासतमा बसेका यी दुईले एकअर्कासँग गरेको व्यवहारले चक्रेको छिनेको हातमा लागेको चोटको खत विलीन भइसके पनि उनको मनमा लागेको बदलाको घाउ भने आलै रहेको देखियो ।
बढ्दो उमेर र भातभुंग समूहका कारण दुवै ग्याङ वारको मुडमा देखिएका छैनन् । पृष्ठभूमिका आधारमा उनीहरू प्रतिस्पर्धी थिए । बदलिँदो शक्ति सन्तुलनले अहिले उनीहरूको स्थान अरूले नै ओगटिसकेका छन् ।
तर, हिरासतको मौनताले चक्रेले १५ वर्ष अगाडिको सांघातिक आक्रमण भुल्न नसकेको र मनाङेले ‘त्यो बेला त्यस्तै भयो’ भन्दै मित्रताको हात बढाउने प्रयास गर्न नसकेको प्रस्टै देखियो ।

 

Leave A Comment