‘तामाङ स्रष्टा घोर अन्यायमा परेका छन्’

आइतबार, १९ असार २०७३, ११ : ४६ राजु स्याङ्तान , Kathmandu
‘तामाङ स्रष्टा घोर अन्यायमा परेका छन्’

तामाङ भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा समर्पित तथा क्रियाशील भाषाविद्÷लेखक÷अनुसन्धाता हुन्, अमृत योन्जन– तामाङ । उनका तामाङ व्याकरण (२०५४), लोकतन्त्रमा तामाङ पहिचानका सन्दर्भहरू (२०६७), तामाङ बृहत् शब्दकोश (२०७०) र ताम्बा दर्शन (२०७२) लगायत करिब चार दर्जन किताब प्रकाशित छन् । भर्खरै उनले समाजमा विशिष्ट योगदान पु¥याउने तामाङ महिलाहरूबारे लेखिएको ‘उज्यालो यात्रामा तामाङ महिला’ प्रकाशन गरेका छन् । योन्जनसँग शुक्रवार साप्ताहिकले गरेको संवादः

 तामाङ साहित्यको वर्तमान अवस्था कस्तो छ ?

तामाङ साहित्य विशेष गरी लोकसाहित्यमा त निकै धनी छ तर लेख्य साहित्य बामे सर्दै छ । तुलनात्मक रूपमा कविता धेरै रचिएका छन् । यसपछि आख्यान विधालाई लिन सकिन्छ । नाटक विधाको पनि केही कृति प्रकाशित छन् । निबन्ध पनि लेखिँदै छन् । समालोचना लेखन प्रारम्भ भएको छ । दुई सयको हाराहारीमा तामाङ साहित्यिक कृति प्रकाशित भएका छन् । प्रति वर्ष एक दर्जनका दरले कृति प्रकाशित हुन थालेका छन् । यसरी हेर्दा तामाङ साहित्य निरन्तर प्रगतिपथमा छ भन्नुपर्छ ।  

तामाङ साहित्यको ऐतिहासिक पक्षचाहिँ कस्तो छ ?
तामाङ भाषामा साहित्य लेखनको प्रारम्भ सन् १९०९ तिरै भएको पाइन्छ । जर्ज ए ग्रियर्सनले ‘लिङ्ग्विस्टिक सर्भे अफ इन्डिया’मा तामाङ भाषाको पनि सर्वेक्षण गरेका छन् । यस कृतिमा दुइटा अनुवाद कथा प्रकाशित छन् । कृति आकारमा सन् १९५६ मा बुद्धिमान मोक्तानको ‘जिक्तेन तामछ्योइ (तामाङ वंशावली ह्रामा)’ बाट भयो । यसपछि सन्तवीर लामाको ‘ताम्बा काएतेन व्हाइ रिमठिम (सन् १९५७)’, ‘स्येबुस्येमु (२०१६)’ आदि प्रकाशित भए । २०४६ सम्म लोकसाहित्यले निरन्तरता पायो । ‘ताम्बा काइतेन व्हाइ रिमठिम’ निकै लोकप्रिय पुस्तक बन्यो ।

तामाङ लेख्य साहित्यको विकासको प्रारम्भ २०४७ पछि भएको हो । यसपछि विभिन्न विधामा साहित्य सिर्जना भयो । धेरै स्रष्टाहरू जन्मिए । साहित्य गोष्ठी हुन थाल्यो । साहित्यमा नयाँनयाँ विचार र आन्दोलन पनि देखा परे । हाल आधा दर्जनजति तामाङ साहित्यिक संस्थाहरू सक्रिय छन् । आमसञ्चारका सबै खाले माध्यममा तामाङ साहित्य प्रवाहित छ ।

तामाङ साहित्य भनेको के हो ? यसलाई कसरी परिभाषित गर्न सकिन्छ ?

तामाङ साहित्य भनेको तामाङ भाषामा लेखिएको साहित्य हो । यो पहिलो र अनिवार्य शर्त हो । दोस्रो, तामाङ भाषामा लेखिएका तामाङ केन्द्रित रचनाहरू उत्कृष्ट तामाङ साहित्य हुन् भन्ने ठान्दछु ।

तामाङ साहित्यलाई एउटा जातिको मात्रै साहित्य हो भनिन्छ । यसलाई समग्र नेपाली साहित्य किन मानिँदैन नि ?

नेपाली भाषामा लेखिएको साहित्य नेपाली साहित्य हो भने तामाङ भाषामा लेखिएको साहित्य तामाङ साहित्य हो । यसर्थ तामाङ साहित्य नेपाली साहित्य कसरी हुन्छ ?

तामाङ साहित्य भन्नेबित्तिकै विशिष्ट आदिवासी समुदायद्वारा सिर्जित साहित्य भन्ने बुझाउँछ । जसको आफ्नै भूमि छ, सभ्यता छ । तामाङ साहित्यमा आफ्नो माटो र सभ्यताको सुगन्ध मगमगाएको हुन्छ । त्यस्तो नेपाली साहित्यमा कहाँ पाइन्छ ?  

अर्कोतिर नेपाली शब्द नै प्रस्ट छैन । नेपाल थर भएकाहरू नेपाली भएका हुन् वा हिन्दूहरूको एउटा शाखा दलितको लागि प्रयोग हुने नेपालका नेपाली हुन् । अर्को, नेपाल भनेको भौगोलिक खण्ड पनि हो । त्यस्तै नेपाली भाषा शब्दावली सन् १९२० मा कलकत्ता विश्वविद्यालयका प्राध्यापक जेए एटनद्वारा स्थापित नयाँ शब्द हो । यसै शब्दलाई शासकहरूले हालै आफ्नो भाषाका लागि दाबी गरिरहेका छन् । यसर्थ दाबीको भाषाको साहित्य र पहिचानयुक्त भाषाको साहित्यमा आकाश–जमिनको फरक हुन्छ ।  

त्यसो भए तामाङ साहित्यको छुट्टै सौन्दर्यशास्त्र बन्न सक्छ त ? बन्न सक्छ भने त्यसका आधार के के हुन् ?

सौन्दर्य भनेको मानवीय आकर्षणको विषयवस्तु हो । तामाङहरूलाई जुनजुन विषयवस्तुले आकर्षण गर्छ, ती सबै उनीहरूका सौन्दर्य हुन् र तामाङ सौन्दर्यशास्त्र पनि हो । सौन्दर्यको वैज्ञानिक अध्ययन नै सौन्दर्यशास्त्र हो । तामाङ सभ्यता, संस्कृति र सांस्कृतिक सम्पदा, परम्परा, तामाङ भूगोल र पुख्र्यौली इतिहास, तामाङ पुर्खाद्वारा आर्जित ज्ञानविज्ञान, प्रविधि र दर्शन तामाङ सौन्दर्यशास्त्रका मुख्य स्रोत हुन् ।

भेटघाटमा औपचारिकतापछि तामाङहरू एकआपसमा थातथलो सोध्छन् । यसपछि रुइ (थर) सोध्छन्, नाता–साइनो गाँस्दछन् । थर पद्धति तामाङ सौन्दर्यको केन्द्रबिन्दु हो । थरबाट भाइबन्धु र कुटुम्ब छुटिन्छ ।

तामाङ समुदायमा मामा–फुपूको छोराछोरीबीच वैवाहिक सम्बन्ध स्थापित हुन्छ । रक्सी वा जाँडको सगुनबाट पाहुनाको स्वागत हुन्छ । सुरापानको घुट्कोसँगै वंशावलीको खोजी हुन्छ । ताम्बाले गीत गाउन थाल्छन् । उनीहरू पृथ्वीको उत्पत्तिदेखि अहिलेसम्मको सृष्टि र सिर्जनाको गीत गाउँछन् । तामाङ जातिको थरको उत्पत्ति, विभाजनका साथै पुख्र्यौलीको गीत गाउँछन् । पुर्खाहरूलाई सम्झना गर्छन् । यस क्रममा तामाङ सभ्यता र संस्कृतिको कुरा निस्कन्छ । छोरीचेलीको सांस्कृतिक अधिकारको कुरा निस्कन्छ । मानवीय मूल्यको चर्चा हुन्छ । लामो बसाइपछि सगुनबाट बिदावारी हुन्छ । यी सबै तामाङ जातिको आफ्नो सौन्दर्यशास्त्र हो । तामाङ जाति ताम्बा दर्शनबाट निर्देशित छ । सुन्दरताबारे तामाङ जातिका आफ्नै अवधारणा, दृष्टिकोण र दर्शन छन् ।

तामाङहरू आफ्नै सौन्दर्यशास्त्रमा रमाउँछन् र रमाइरहेका पनि छन् । यिनै सौन्दर्यशास्त्रले तामाङ पहिचान स्थापित गरेको छ । तामाङभूमि ताम्सालिङ तामाङ चिन्तनको आधारभूमि हो । यसर्थ हिन्दू वा बौद्ध सौन्दर्यशास्त्रभन्दा तामाङ सौन्दर्यशास्त्र फरक र भिन्न छ ।

सिंगो नेपाली राष्ट्रियता नै संकटमा परेको बेला तपाईंहरूले आफ्नो जातिको पहिचान भनेर जातिवादी साहित्यिक आन्दोलन चलाइरहनुभएको छ भन्ने आरोप छ नि ?  

यो पञ्चायतकालीन दरबारिया आरोप हो । हामीले नेपाल राष्ट्रको पहिचान उठाउने मौलिक सिर्जना गरिरहेका छौँ । हामी हेपिएका, दबाइएका निमुखाहरूको आवाजलाई साहित्यको माध्यमबाट उठाइरहेका छौँ । सत्ताले जहिले पनि बहाना बनाएर निमुखालाई दबाउने गर्दछ । यो कुनै नौलो आरोप होइन ।

संघीय संरचनामा तामाङ भाषा र साहित्यको अवस्था कस्तो होला ?

तामाङ लेख्य परम्परा भएको भाषा हो । यस भाषाको व्याकरण, शब्दकोश आदि प्रकाशित भएका छन् । गैरसाहित्यिक सामग्री पनि प्रकाशित भएका छन् । सांस्कृतिक संस्कारका अतिरिक्त शिक्षा र सञ्चारको क्षेत्रमा यस भाषाको प्रयोग विस्तार भएको छ । संघीयता लागू भयो भने ढिलोचाँडो तामाङ भाषा प्रदेश नं. ३ को सरकारी कामकाजको भाषा हुनेछ ।

अङ्ग्रेजी, हिन्दी वा नेपाली साहित्यले जेजस्तो खुट्किला पार गरे, ती सबै खुट्किला अन्य नयाँ भाषाका साहित्यले पनि टेक्नुपर्छ भन्ने हुँदैन । साहित्यमा समय र समाज प्रतिविम्बित हुन्छ । तामाङ साहित्यमा माओवादी जनयुद्ध प्रतिविम्बित भएको छ भने विश्व बजारमा देखिएको उत्तरआधुनिक साहित्य पनि पाइन्छ । हालको दशकमा पहिचानवादी साहित्य धेरै लेखिएका छन् । तामाङ साहित्यमा माटोको सुगन्ध प्रशस्त पाइन्छ । मेरो विचारमा संघीयता निर्माणको क्रममा पहिचानवादी साहित्यले सर्वाधिक ध्यानाकर्षण गर्ने छन् । यो नेपाली साहित्यभन्दा केही भिन्न हुनेछ ।

नेपालका केही जनजातिले साहित्य सिर्जनामार्फत आफ्नो शक्तिशाली उपस्थिति जनाएको देखिन्छ । तामाङ साहित्यबाट त्यस्तो शक्तिशाली उपस्थिति हुन नसक्नुको कारण के होला ?

आफ्ना मातृभाषा गुमाएका केहीले नेपाली साहित्यमा आफ्नो उपस्थिति देखाएका हुन् । उनीहरू सशरीर आदिवासी हुन् तर आदिवासी साहित्यकार होइनन् । उनीहरू पारिजातजस्तै नेपाली साहित्यकार हुन् । पारिजातले नेपाली साहित्यलाई एउटा उचाइ त दिइन्, तर तामाङ साहित्यको विकास भने भएन । यस उदाहरणले नेपालीमा लेखेर मातृभाषाको विकास हुँदैन भन्ने प्रस्ट्याउँछ । पारिजातको नाउँमा स्थापित पुरस्कारहरू पनि तामाङ साहित्यका लागि भएनन् नि । ती शक्तिशाली उपस्थिति जनाउनेहरूबाट पनि मातृभाषी लेखकहरू अभिप्रेरित हुँदैनन् । बरु मातृभाषामा लेख्न छाड्छन् र छाड्दै पनि छन् ।

अर्को, सन्तवीर लामाको ‘ताम्बा काइतेन व्हाइ रिमठिम (सन् १९५७)’ रत्न पुस्तक भण्डारबाट मात्रै २१ औँ संस्करण प्रकाशित भइसकेको छ । माग बढ्दो छ । लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ विश्वविद्यालयको पाठ्यक्रममा राखेर पनि त्यति धेरै संस्करण छापिएको छैन होला । यसबाट तामाङ वाङ्मय शक्तिशाली छैन भन्न मिल्दैन । हो, अनुवाद हुन भने सकेका छैनन् ।


तामाङ साहित्यका मुख्य चुनौती के के देख्नुहुन्छ ?

पहिलो, हाल स्रष्टामा गहन अध्ययनको अभाव खट्किँदै छ । आख्यान साहित्य सिर्जनातिर कम ध्यान दिइएको छ । समालोचना सप्रिन सकेको छैन । स्रष्टा बढे पनि महँगीले गर्दा कृति प्रकाशन हुन सकेको छैन ।  अर्को, तामाङ साहित्य प्रज्ञा–प्रतिष्ठानले २०६२ अगाडिका पाँच खण्ड र २०६३ यताका ५ खण्ड गरी विभिन्न विधाका १० खण्ड तामाङ साहित्य सङ्कलन र सम्पादन गरेको छ । यी कृति छाप्न स्रोत खोज्न सकिएको छैन । तेस्रो, राज्यले यस भाषालाई बेवास्ता गरेको छ । पाँचौँ स्थान ओगटेका र साहित्य गतिविधि तीव्र रहेका तामाङजस्तो भाषाको जर्नल प्रकाशित गर्न नेपाल प्रज्ञा–प्रतिष्ठानले कुनै चासो देखाएको छैन । तामाङ साहित्यकारको जन्मजयन्ती मनाउन पनि रुचि देखाउँदैन । जब कि तामाङ भाषाभन्दा साहित्य सिर्जनामा कमजोर देखिएका भाषाहरूमा प्रतिष्ठानको जाँगर उम्लिएको हुन्छ । गोष्ठी गर्छ । जर्नल निकालिदिन्छ । तामाङभाषी स्रष्टाहरूले राज्यबाट सामाजिक न्याय पाउन सकेका छैनन् । उनीहरू घोर अन्यायमा परेका छन् । यसतिर हाम्रो ध्यान आकृष्ट हुन सकेको छैन । हामीले राज्यविरुद्ध बोल्न सकेका छैनौँ ।


तामाङ साहित्यकारहरूले कस्तो साहित्य सिर्जना गरिदिए हुन्थ्यो जस्तो लाग्छ ?

साहित्य मानवीय अनुभूतिको अभिव्यक्ति हो । यो परिवेशीय हुन्छ । स्रष्टा सचेत नागरिक भएको हुनाले उसले आफ्नो समाज र परिवेश राम्रोसँग बुझेको हुन्छ । आफ्नो समाजको सांस्कृतिक र लोकतान्त्रिक मूल्य र मान्यताको विरुद्ध ऊ जान सक्दैन र जानु हुँदैन पनि । समतामूलक समाज निर्माण गर्न र सामाजिक न्यायको पक्षमा तामाङ स्रष्टाहरूको पनि उल्लेख्य योगदान होस् भन्ने चाहन्छु ।
 

Leave A Comment