‘रहरले व्यवसाय चल्दैन’

शनिबार, ३० बैशाख २०७४, १२ : ४९ शुक्रवार , Kathmandu
‘रहरले व्यवसाय चल्दैन’

लन्डनबाट ‘कम्युटर डिप्लोमा’ अध्ययन गरेकी नितिमा कार्की भण्डारी ‘बाजेको मसला उद्योग’की कार्यकारी निर्देशक हुन् । ‘बाजेको सेकुवा’ ब्रान्ड रेस्टुरेन्टकी बोर्ड अफ डाइरेक्टर नितिमाले रेस्टुेरन्टमा काम गर्दागर्दै फरक स्वाद भएको ‘बाजेको मसला’ उत्पादन गर्दै आएकी छन् । भण्डारीसँग मसला र रेस्टुरेन्टका बारेमा शुक्रवारका लागि दिलीप पौडेलले गरेको कुराकानीः

कहिलेदेखि व्यवसायमा आबद्ध हुनभयो ?
मेरो बिहे हुँदा श्रीमान् (चेतन भण्डारी)ले बाजेको सेकुवा चलाउँदै आउनुभएको थियो । बाजेको सेकुवा विस्तार गर्ने क्रममा सेन्ट्रल किचन चाहिने भयो । पकाउनमा रुचि भएकाले मैले त्यहाँ काम गरेँ । किचनमा काम गर्दागर्दै मसला उत्पादन गर्नुपर्छ भन्ने आइडिया आयो । उपभोक्ताले चाडबाडमा बाजेको मसला, रेसिपी माग्न थालेपछि आफ्नै ब्रान्डको मसला बनाउनुपर्छ भनेर मसला उद्योग सुरु गरेकी हुँ ।
मसलामा के–केको सम्मिश्रण छ ?
जिरा, सुकमेल, धनियाँ, जडीबुटी, जिम्मु, टिमुरलगायत जडीबुटी प्रयोग गरेका छौंँ । तर, मुख्य विषय कम्बिनेसन हो । मसलाको आफ्नै सुगन्ध छ । मसलालाई स्वास्थ्यवद्र्धक बनाएका छौँ ।
उपभोक्ताको प्रतिक्रिया कस्तो छ ?
छोटो समयमै धेरैले रुचाएका छन् । काठमाडौँमा बिक्री गर्दै आएका थियौँ । अहिले बाहिरी जिल्ला र विदेशबाट पनि माग आउन थालेको छ । विदेश जानेले कोसेलीका रूपमा हाम्रो मसला लैजान थालेका छन् ।
गुणस्तरमा अरूभन्दा के फरक छ ?
गुणस्तरमा कुनै पनि सम्झौता हुँदैन । नेपाली मसलालाई ब्रान्ड गर्ने योजना हो । टिमुर, मसला, धनियाँ, जिम्मुलगायत स्थानीय विभिन्न भेराइटीलाई प्रयोग गर्छौं । लामो अध्ययन अनुसन्धान गरेर मेरो आफ्नै रेसिपीमा मसला बनाउँदै आएको छु । बाजेको मसला विषादीरहित हुन्छ । हामीले  मसलामा प्रयोग गर्ने सामग्री किन्दा र बेच्दा ल्याब टेस्ट गरेर पठाउछौँ ।
बाजको सेकुवामा कहिलेदेखि आबद्ध हुनुहुन्छ ?
हाम्रो परिवार ४० वर्षयता व्यवसायमा आबद्ध छ । विवाह गरेर आएपछि १० वर्षदेखि काम गरिरहेको छु ।
रेस्टुरेन्टका आउटलेट कहाँ–कहाँ छन् ?
काठमाडौँ एयरपोर्टको चौरबाट सुरु गरेको बाजेको सेकुवा अहिले राजधानीसहित भरतपुर, पोखरालगायत मुख्य शहरमा १३ आउलेट छन् । बुटवलमा निर्माण गर्ने तयारीमा छौँ । फ्रेन्चाजइनमा पनि छ ठाउँमा आउलेट सञ्चालनमा आएका छन् ।
बाजेको सेकुवाले कसरी उपभोक्ताको मन जित्न सफल भयो ?
जे दिन्छु भन्यो त्यो दिन सक्नुपर्छ । सायद हामीले दिने स्वादले सबैलाई आकर्षित गरेको हुनुपर्छ । नेपाली खानालाई ब्रान्डिङ बनाएर अघि बढेका छौँ ।
नयाँ योजना के छन् ?
अब विदेशमा पनि बाजेको सेकुवाको आउलेट खोल्ने तयारीमा छौँ । पहिलो आउटलेट मलेसियाबाट सुरु गर्ने योजना छ । केही समय पहिला अस्ट्रेलियामा फुड फेस्टिबलमा सहभागी हुँदा निकै राम्रो प्रतिक्रिया आएको छ । नेपाली खानालाई ब्रान्डिङ गरेर अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने सोच छ ।
स्कुले जीवनमा के गर्छु भन्ने थियो ?
पढ्ने मात्र होइन सँगसँगै केही गर्नुपर्छ भन्ने सोच थियो । म १६ वर्षकी हुँदा बुबा बित्नुभयो । त्यसपछि स्कुलबाट आएपछि ट्युसन पढाएर खर्च जुटाउथेँ । रहर लागेर विदेश पढ्न गएपछि स्वदेशमै केही गर्नुपर्छ भनेर फर्किएकी थिएँ । चिनजान भएकैसँग विवाह भयो । फ्याक्ट्री गर्ने सानैदेखि रहर थियो । श्रीमान् व्यवसायी भएकाले रेस्टुरेन्टसँगै मसला उद्योग चलाउने अवसर पाएँ ।
महिलालाई व्यवसाय गर्न कति सजिलो/अप्ठ्यारो ?
म जेन्डरमा विश्वास गर्दिनँ । व्यवसायमा रहर गरेर मात्र हुँदैन । त्यसका लागि ज्ञान र क्षमता पनि चाहिन्छ । रहरले होइन ज्ञान र क्षमताले चल्छ व्यवसाय । कसरी अघि बढ्ने भन्ने कुरा मान्छेको इच्छाशक्तिमा भरपर्छ । घरायसी काममा महिला धेरै खट्नुपर्ने भएकाले समय व्यवस्थापनमा केही कठिनाई चाहिँ हुन्छ ।
घरको काम कसरी बाँडफाँड गर्नुहुन्छ ?
मिलेर गर्छौं । मैले घरव्यवहार मिलाउँछु । काम गर्न गाह्रो छ असजिलो छैन । रेस्टुरेन्ट श्रीमान्ले हेर्नुहुन्छ मसलाको सम्पूर्ण पक्ष मैले हेर्छु । म मिटिङमा जान परे श्रीमान्ले छोरीलाई स्कुल छोड्ने ल्याउने गर्नुहुन्छ ।
फुर्सदको समय कसरी उपयोग गर्नुहुन्छ ?
दुई छोरी हेरचाहमा समय बित्छ । जिम जान्छु । टेनिस खेल्छुु । लङ ड्राइभिङमा निस्किन्छु । समय मिलाएर वर्षमा दुई पटक होलिडे मनाउन विदेश जान्छौँ । जीवनलाई रुटिनमा चलाउनुपर्छ भन्ने मान्यता हो मेरो ।
यहाँको रुचि ?
खाना पकाएर खुवाउन मन पर्छ ।
महिलाको आर्थिक पहुँच बढाउन के गर्नुपर्ला ?
नेपाली महिलाहरू श्रीमान्को बढी निर्भर हुन्छ । जो गलत हो । काम नै नगरी बस्नुहुँदैन । देखासिकीको व्यवसाय नगरी आफूसँग भएको सीपलाई प्रयोग गरेर व्यवसाय गर्नुपर्छ । काम गर्न लजाउनु हुन्न । कुनै पनि काम नलजाई गरे सफलतासँगै आर्थिक पहुँच बढ्छ ।

 

Leave A Comment