‘मेयर हुँदा यो–यो गरेँ मैले’

शनिबार, ३० बैशाख २०७४, १२ : ३५ शुक्रवार , Kathmandu
‘मेयर हुँदा यो–यो गरेँ मैले’

रामकुमार डिसी

केशव स्थापित काठमाडौँ महानगरपालिकाका पूर्वमेयर हुन् । २०५४ सालको स्थानीय निर्वाचनमा उनी काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका स्थापितले ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौँ’भन्ने नारा ल्याएका थिए । अहिलेको निर्वाचनमा एमालेबाट काठमाडौँ महानगरको मेयरमा उठ्ने चर्चा चले पनि त्यसमा उनी सफल भएनन् । उनले पूर्वमेयरका हैसियतले आफूले गरेका काम, काम गर्दाका अनौठा अनुभव, अहिलेका योजना र भावी मेयरलाई शुक्रवारमार्फत सुझावसमेत दिएका छन्ः

मण्डला निर्माण
२०५५/५६ सालअघि अहिले माइतीघर मण्डला भएको ठाउँमा घरमात्रै थिए । त्यहाँ गुजमुज्ज परेका पुराना घर थिए । म मेयरमा निर्वाचित भएपछि ती घर हटाएर मण्डला बनाउने घोषणा गरेँ । धेरैले पत्याएनन् । काठमाडौँमा सार्क शिखर सम्मेलन नजिकिँदै थियो । काममा लागियो । मान्छेहरूको अवरोधका बीच १७ दिनमा २२ वटा घर हटाएर मण्डला बनायौँ । शिखर सम्मेलन एक दिनअघि त्यो हस्तान्तरण भयो । अहिले माइतीघर मण्डलामा पुग्नेबित्तिकै ०५५/०५६ सालतिर काठमाडौँ देखेका हरेक मान्छेले भनिहाल्छन्, ‘यो चाहिँ केशव स्थापितले गरेकै हो, है !’ त्यो मण्डला अहिले राजनीतिक पार्टीका प्रदर्शन र अनशन गर्ने तथा विरोध, देशभक्ति पोख्ने साझा थलो बनेको छ ।

कुरूप रत्नपार्कको रूप फेरेँ
अहिलेको शान्तिवाटिका बन्नुपूर्व त्यहाँ पुराना घर थिए । म आएपछि  मैले ती सब हटाएँ र साँघुरिएर कुरूप भइसकेको रत्नपार्कलाई व्यवस्थित बनाइयो र हरियो आवरण दिन सफल भइयो । मलाई आफूले रत्नपार्कको रूप फेरिदिएँ भन्ने लाग्छ ।
महानगर दरबारमा
पहिले काठमाडौँ महानगर डेरामा थियो । मेरो कार्यकालमा डेरामा बसेको महानगर कार्यालयलाई बागदरबारमा सारेँ ।

बाटो फराकिलो
मेरै सक्रियतामा थानकोटदेखि कलंकी हुँदै त्रिपुरेश्वरसम्म बाटो फराकिलो पार्ने पहिलो चरणको काम भयो । बाटोमा परेका घरहरू भत्काउन नमान्लान् कि भन्ने शंका थियो । तर, मैले  घरधनीहरूलाई यसरी ‘कन्भिन्स्ड’ गरिदिएँ कि मानिसहरूले आफ्नै घरमा ‘केशव स्थापित मेरो घर भत्काऊ’ भन्ने ब्यानर टाँगे । कालिमाटीमा यस्तो ब्यानर देखेर घरधनीको रिसको प्रतिक्रिया के होला भन्ठानेको, भोलिपल्ट तिनै घरधनी महानगर कार्यालय पुगेर घर भत्काउन कहिले आउने भनी सोध्न थाले ।
महानगरको आफ्नै एफएम
मेरो  कार्यकालमा महानगरले आफ्नै पहलमा मेट्रो एफएम सञ्चालन ग¥यो । त्यस्तै, सार्वजनिक सुनुवाइ पनि पहिलो पटक मेरै पालामा सुरु भएको हो ।
मुद्दा फैसला
म मेयर पद सम्हालेर आउँदा मुद्दाको ठूलो चाङ थियो  । त्यहाँ महानगरका कार्यक्षेत्र नभएका मुद्दा पनि दायर भएका थिए । यसो बुझेर ती मुद्दा सम्बन्धित क्षेत्रमै फर्काइदिएँ । त्यसो गर्दा दुई हजार मुद्दा आफैँ साइड लागे । पछि बाँकी मुद्दाको फैसला पनि दु्रत गतिमा भयो ।
त्यस्तै मैले बागमती कोरिडोर, अन्य नदी किनाराका कोरिडोर, तीनकुनेको पार्क योजनालगायत सुरु गरेँ ।

आरजुको पावर लगाएँ
माइतीघर मण्डला खाली गर्छु भनेर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाकहाँ गए । तर, उनले यो कुनै पनि हालतमा सम्भव छैन भने । उनले निकै जिद्दी गरेपछि मैले आरजु देउवालाई भेटेँ  । उहाँलाई ‘भाउजू, तपाईंको हिरो त काम नलाग्ने हुनुहुँदो रहेछ’ भनेँ । उहाँले देउवालाई ‘त्यो  चाहिँ हुन्छ भनिदिनुस् न’ भन्नुभयो । त्यसपछि देउवाले सहमति जनाए । अनि, मैलै त्यो काम गरेर देखाएँ ।      

सार्वजनिक नभएको ‘१०१ काम’
मैलै मेयर भएपछि गरेका काममध्ये केही राखेर ‘१०१ काम’  भन्ने पुस्तक निकालेँ । तर, त्यो सार्वजनिक गर्न पाइनँ । मैले त्यो सार्वजनिक गर्दा ठूला नेता पनि मुछिने थिए । आफ्नै पार्टीका नेता पनि फस्ने थिए ।  दबाब यति आइप¥यो कि त्यो किताब सार्वजनिक गर्न सकिएन ।

बुबा बित्दा पनि काम गरेँ
अहिलेको शान्तिवाटिका बनाउन मेले धेरै दुःख झेल्नुप¥यो।  उबेला त्यहाँ पुराना घर थिए । रत्नपार्क कुरूप थियो । तर, त्यहाँका सबै घर हटाइयो । मलाई सुरु गरेको काम जसरी पनि सक्नु थियो ।  त्यही बेला बुबा बित्नुभयो । बुबा बितेको भोलिपल्ट पनि काम गरेँ ।

यस्ता छन् मेरा योजना
समाजिक भत्तामा तीन हजार थप्ने
हाल राज्यले दिएको मासिक समाजिक सुरक्षा भत्तामा तीन हजार रुपैयाँ थप गरी पाँच हजार बनाउने । ८४ वर्ष पुगिसकेकालाई १० हजारमा दुई हजार थप गरी १२ हजार रुपैयाँ बनाउने । थप सुविधा क्रमशः बढाउन अध्यन कार्यदल बनाउने । भत्ता रकम सम्बन्धित व्यक्तिको बैंक खातामार्फत सीधै पठाउने व्यवस्था गर्ने ।

केबल बस सञ्चालन
साढे तीन वर्षमा हनुमन्तेबाट चोरभारसम्म केबल सञ्चालन गर्न सकिन्छ भन्ने लागेको छ । यसले ट्राफिक व्यवस्थापनमा सघाउँछ ।

डक्टाइल पाइप राख्ने
काठमाडौँमा बिजुलीका तार छरपस्ट छन् । यसले गर्दा शहर कुरूप हुनुका साथै सुरक्षा खतरा पनि बढेको छ । एउटा डक्टाइल पाइप हुन्छ । त्यसमा बीचबीचमा प्वाल हुन्छ । त्यो राख्नुपर्छ । त्यसमा कुनैमा तार जान्छ, कुनैमा फाइबर जान्छ । यसका लागि फुटपाथमा एकसरो खन्ने हो । त्यसमा डक्टाइल पाइप लान सकिन्छ । विभिन्न ठाँउमा ढकन लगाउन सकिन्छ । कुनै बेला केही बिग्रियो भने त्यो ढकन निकालेर मर्मत गर्न सकिन्छ । यो संसारले गरिआएको काम हो । हामीलाई यसो गर्न कुनै अप्ठ्यारो छैन ।

धुलो निर्मूल पार्ने  
ठाँउ–ठाँउमा सडक बिगारेका कारण काठमान्डू अहिले धुलोमान्डू भएको छ । धुलो नियन्त्रण मात्रै गर्ने होइन कि यसलाई निर्मूलै पार्नुपर्छ । यसका लागि चार चरणमा काम गर्नुपर्छ । पहिलो चरणमा सडकमा बनाइएका खाल्डाखुल्डी पुर्ने । खाल्डाखुल्डी भएका कारणले धुलो उड्छ । दोस्रो चरणमा मेलम्ची पानीको लागि सडकमा गहिरो खाडल खनिएको छ । यो पुर्ने पनि एउटा प्रविधि छ । त्यो प्रविधि लागू गर्नेबित्तिकै एउटा हलुवा जस्तो बस्तु बन्न जान्छ । त्यसमा रोलर लगाए पछि त्यो ढुंगाजस्तो हुन्छ । भोलि चाहेका बेला त्यो प्वाल पारेर खन्न सकिन्छ । ढुंगाजस्तो भएपछि धुलोमैलो हुने कुरा भएन । काठमाडौँ वरिपरिबाट उपत्यकामा भित्रिने गाडीहरू प्रायःको प्रदूषण मापदण्ड पुगेको हुँदैन । अनि, च्यासिसमा माटो बोकेर आउँछन् । तिनले यहाँ माटो खसाल्छन् । यसलाई रोक्न बाहिरबाटै गाडी सर्भिसिङ गरेर ल्याउनुपर्छ ।
तेस्रो चरण, यहाँका दरबारहरूका पर्खाल भत्काएर तारको जाली लगाउनुपर्छ । पारदर्शी बनाएर दरबारहरू सबैले हेर्न पाउँदा के भयो ? राजदरबार, सिंहदरबार, केशर महलमा पर्खाल किन चाहियो ?  तारको पर्खाल बनाएर त्यहाँ रूख रोप्नुपर्छ । त्यसो गर्दा काठमाडौँमा हरियाली बढ्छ र धुवाँ नियन्त्रण हुन्छ ।
चौथो चरणमा साना गाडी सबै हटाएर उपत्यकामा एक हजार जति ठूला गाडी  लगाउने । यसो गर्दा सार्वजनिक यातायात सुध्रिन्छ । सार्वजनिक यातायता राम्रो भएपछि बाइक, कारको के काम ? मान्छेले सार्वजनिक यातायात नै चढ्छन् । यसो गर्दा गाडीको संख्या घट्छ र धुवाँ नियन्त्रण हुन्छ । हामी मास ट्रान्सपोर्टेसनमा जानुपर्छ ।

वनलाई पार्क बनाउने
वरपरका साना पार्कहरू जनप्रतिधिले बनाइहाल्छन् । अहिले नैकापभन्दा माथि गएपछि हजारौँ रोपनी जग्गा छ । केही करोड रुपैयाँ राखेर पार्क बनाउने घोषणा गरिदिने । त्यहाँ पुग्न ठूलो बस राख्ने । त्यहाँ पार्कमा जाने, अक्सिजन लिने ! घुम्नेलाई विद्यार्थी सहुलियत र अरू सहुलियत दिने । त्यसो गरेर त्यहाँ अक्सिजन खान जाऔँ भन्ने वातावरण बनाउन सकिन्छ । अर्को, नार्गाजुन भनेको २६ हजार रोपनी जग्गा हो । त्यहाँ खाने, बस्ने र सुरक्षाको वातावरण बनाउने हो भने मान्छे त्यहाँ पनि जान्छन् । बिदाको दिन हावा खान जाऔँ भन्ने हुन्छ ।

स्मार्ट शौंचालय  
भित्री शहरको हरेक पाँच सय मिटरको दूरीमा शौचालय बनाउने  । शौचालय महिलामैत्री, वृद्धमैत्री, बालमैत्री हुनेछ । अझ महिलाहरूको महिनावारी हुँदा प्याड बदल्न मिल्ने ठाँउसहित व्यवस्था गरिदिने । शौचालयलाई सफा बनाउने । शुल्क कम लिने । शौचालयमै रिचार्ज कार्ड, कफी, आदि बेच्न पाउने र मिल्ने व्यवस्था गर्ने । वाइफाई फ्रि गरिदिने । संगीतको व्यवस्था गर्ने ।

सुविधासहितको मिडिया सेन्टर
मैले पत्रकारका लागि पनि एउटा कुरा उठाएको छु  । त्यो भनेको सुविधासहितको मिडिया सेन्टर बनाउने हो । देशभरिका पत्रकार काठमाडौँ आउँदा कहाँ जाने ? साथी अथवा आफन्तकोमा जानुपर्यो । साथी नहुनेले लजमा बस्नुपर्यो । त्यसको  विकल्पमा मिडिया सेन्टर बनाउने । काठमाडौँमा आउनासाथ बसले पुर्यादिने व्यवस्था गर्ने । त्यो सेन्टरमा विभिन्न सुविधा उपलब्ध गराउने । त्यसबापत केही शुल्क पनि लिने ।

आउने मेयर/उपमेयरलाई टिप्स
–काम गर्यो भने जनताले साथ दिन्छ । तर, इमान चाहिँ हुनुपर्छ । गर्नुपर्ने एउटा काम हुन्छ, हाम्रा जनप्रतिनिधि ढलको पाइप किन्छन् । झ्याल बनाउनुपर्ने हुन्छ, उसले पाइप किन्छ । त्यसो गर्नेबित्तिकै उसलाई २० प्रतिशत कमिसन आउँछ । इमानसाथ काम ग¥यो भने जनताले पुरस्कृत गर्छ, सम्मान गर्छ । राजनीति भनेको सम्मानको पेशा हो । त्योभन्दा अरू केही पनि खोज्नु हुँदैन । त्याग, निष्ठा हुनुपर्ने ठाँउमा करोडौँ लागानी गरेर  आउनुभयो भने त्यो व्यापार हुन्छ । पैसा कमाउनेले यहाँ नआउनुहोस् । पैसा कमाउन त व्यापार गरे भइहाल्यो नि ।

-हप्ताभरि मैले यो–यो काम गरेँ भनेर भन्दा के आपत्ति भयो ? सबै कुरा खुला गरिदिनुपर्छ । हामीकहाँ निर्णय लुकाउने प्रचलन छ । के अपराध गरेको हो र, निर्णय देखाउन नमिल्ने ? काम सबै पारदर्शी बनाउनुपर्छ । जनताले हेर्ने, निगरानी गर्न सक्ने गरी काम गर्नुपर्छ । अब आउने जनप्रतिनिधिले त्यतातिर सोच्दा राम्रो हुन्छ ।
 

 

 

Leave A Comment