भजनमा मग्न ‘सत्याकृत’

शनिबार, ३० बैशाख २०७४, १२ : २७ सृजना खड्का , Kathmandu
भजनमा मग्न ‘सत्याकृत’

समाजलाई सकारात्मक र नैतिक जागरणतर्फ प्रेरित गर्दै हिँडेको बताउने ‘सत्याकृत रक–भजन ब्यान्ड’ ले मादल, सितार, तबला, गिटार, हार्माेनियम, पियानो, ड्रमसेट, सारंगीलगायत पूर्वीय तथा पश्चिमी बाजा मिसाएर फ्युजन भजन तथा गीतहरू प्रस्तुत गर्छ ।
यो नेपालको पहिलो र एक मात्र धार्मिक सांगीतिक समूह भएको ब्यान्डका व्यवस्थापक विजय गौतमले बताए । यस ब्यान्डले आध्यात्मिक युवाको समूह बनाएर हिँडेको भने चार वर्ष भयो । औपचारिक रूपमा ब्यान्ड सञ्चालन भएको एक वर्ष मात्रै भएको गौतमको भनाइ छ । ‘सत्याकृत’ लाई ब्यान्डले ‘आफूभित्र भएको सत्यलाई आकृति दिनु हो’ भनी परिभाषित गरेको छ ।
ब्यान्डमा नौ जना सदस्य छन् । विजय व्यवस्थापन हेर्छन् भने सुर साधु लिड भोकलिस्ट हुन् । विजय र सुरलाई हेर्दा उस्तै लाग्छ । लामो दाह्री उनीहरू दुवैको विशेषता हो । भजन गाउने भएकाले उनीले आफ्नो लुक पनि त्यतैतिर ढालेका छन् । टिममा कसैको पनि चुरोट र जाँडरक्सीको अम्मल छैन । उनीहरू सबै शाकाहारी हुन् । यो उनीहरूको ब्यान्डको अर्को विशेषता हो ।
प्रजित लामा, विदुर न्यौपाने र सुरज रिजाल पनि ब्यान्डका भोकलिस्ट हुन् । लामा, न्यौपाने र रिजाल क्रमशः सितार, किबोर्ड र साउन्डमा पनि छन् । त्यस्तै कमल भण्डारी भने लिड गिटारिस्ट हुन् । यता तबला र पर्कसन्सको जिम्मेवारी किरण गौतमले पाएका छन् भने  लक्ष्मण बैलकोटी बेस गिटारिस्ट हुन् ।
उनीहरूले पहिलो अडियो एल्बम ‘सत्याकृत’ दुई वर्ष अगाडि नै बजारमा निकालिसके । उक्त एल्बममा लोक, रक, पप, क्लासिकल र सेन्टिमेन्टल गरेर ११ ओटा भजन तथा गीत समावेश छन् । दोस्रो भिडियो एल्बम ‘सत्य श्री’ तयारीको अन्तिम चरणमा भएको ब्यान्डले जानकारी दियो । उनीहरू विशेष गरी गुरु ज्ञानमय भजन, ईश्वर भक्तिमय भजन, देशभक्ति गीत, सन्देशमूलक गीत र धुनलाई प्राथमिकतामा राखेर गाउँछन् । लिड भोकलिस्ट सुर साधुले ललितकला क्याम्पसबाट शास्त्रीय संगीतमा स्नातकोत्तर गरेका छन् ।
विगतका दिनहरू स्मरण गर्दै ब्यान्डका व्यवस्थापक गौतम भन्छन्, ‘चौतारीदेखि ठूलठूला स्टेजसम्म आफ्नो प्रस्तुति दिने मौका पायाँँै ।’ बाजा बोक्दै उनीहरू देशका कुनाकुनामा पुगेका छन् । ‘सुरुवाती दिनहरूमा प्रजित, सुर साधु, किरण र म बजाउँदै/गाउँदै धेरै ठाँउमा हिड्यौँ,’ गौतमले भने । उनीहरूले आफ्नो पहिलो यात्रा जनकपुरबाट सुरु गरेका थिए । भन्छन्, ‘खाने बस्ने पैसा पनि थिएन । सम्पत्तिका नाममा तिनै बाजा थिए ।’ हट्टाकट्टा युवाहरूले भजन गाएर हिँडेको देखेपछि उनीहरूमाथि सबैको ध्यान प¥यो । कसैले साउन्ड सिस्टमको व्यवस्था गरिदिए त कसैले खाने÷बस्नेको । यसरी नै उनीहरू जनकपुर हुँदै जलेश्वर, धरान, इटहरी, धरान, बिर्तामोड र दार्जिलिङमा आफ्नो प्रस्तुति दिदैँ हिँडे । भजनलाई पप स्टाइलले गाउँदा मान्छेहरूले कुन रूपमा लिन्छन् भन्ने उनीहरूको चासो थियो । आफ्ना प्रस्तुतिको प्रत्यक्ष परीक्षण र प्रतिक्रिया बटुल्न ठाउँठाउँमा हिँडेको उनीहरूले बताए । सांगीतिक यात्राको क्रममा आफूहरूले धेरै कुरा सिक्ने अवसर पाएको उनीहरूको अनुभव छ । ‘भजन भनेको बुढेसकालमा मात्रै सुन्नुपर्छ भन्ने भ्रमलाई हामीले बिस्तारै चि¥यौँ,’ सुर साधुले भने, ‘युवाहरूलाई जस्तो रूपमा भजन सुन्दा आनन्द आउँछ, त्यस्तै रूपमा पस्कियौँ ।’
घरपरिवारबाट सुरुमा उनीहरूले प्रेरणा पाएनन् । ‘हामीलाई अभिभावकले ‘गीत गाएर हिट भए हुन्थ्यो, किन भजन गाउँदै हिँडेका ?’ भन्नुहुन्थ्यो,’ गौतमले सम्झिए, ‘बाहिरबाट राम्रो प्रतिक्रिया आउन थालेपछि भने परिवारले पत्याउन थाल्यो । ब्यान्डका कतिपय साथीहरूको त घरमै गएर भजन कार्यक्रम गरेर पनि परिवारलाई सम्झायौँ ।’
उनीहरूले देवीदेवताका स्तुति, गणेश वन्दनाका साथसाथै बुद्ध, यिशु र अल्लाहको कीर्तन गाउने गरेका छन् । ‘‘सत्याकृत’को मूलमन्त्र संगीतको माध्यमबाट मान्छेलाई सभ्य बनाउनु हो,’ गौतमले भने, ‘यसका साथै ‘सत्य जगाऔँ, असत्य भगाऔँ’लाई हामी मूल सिद्धान्त मानेर अगाडि बढिरहेका छौँ ।’

 

Leave A Comment