काठमाडौँ महानगरपालिका उम्मेदवारका एजेन्डा : "म मेयर भएँ भने..."

बिहिबार, २८ बैशाख २०७४, ०३ : १७ शुक्रवार , Kathmandu
काठमाडौँ महानगरपालिका उम्मेदवारका एजेन्डा : "म मेयर भएँ भने..."

राजुराज जोशी, मेयर उम्मेदवार, नेपाली कांग्रेस  
धुलोले अहिले काठमाडौँको जनजीवन अस्तव्यस्त बनाएको  छ । म मेयरमा निर्वाचित भएँ भने शपथ लिएको छ महिनापछि धुलो हटाउँछु । काठमाडौँको अर्को समस्या भनेको ट्राफिक जाम हो । अब सडक चौडा गराएर मात्रै यो समस्या समाधान हुँदैन । यसका लागि अति जाम हुने ठाँउमा ‘फ्लाई ओभर’ बनाउँछु । त्यस्तै, दीर्घकालीन योजनाअन्तर्गत मेट्रो रेलको योजना बनाएको छु । शपथ लिएको पाँच वर्षपछि काठमाडौँमा  मेट्रो रेल कुदाउँछु । यो पूरा गर्ने योजना मसँग छ । राष्ट्रिय योजना आयोगले यसको खाका पनि बनाइसकेको छ । यसका लागि करिब छ सय अर्ब रुपैयाँ लाग्ने रहेछ । त्यसका लागि  पैसाको कमी हुँदैन । हामीकहाँ जनताले सेयरमा लगानी गर्नका लागि हानथाप गरेको सबैले देखेकै छौँ । यसले पैसाको अभाव छैन भन्ने देखाउँछ । मेट्रो रेलमा पनि जनताले सेयर हाल्ने व्यवस्था गर्छु । यसो गर्दा धेरै रकम जनताबाटै जम्मा हुन्छ ।
काठमाडौँ संस्कृतिमा धनी छ । यसले धेरै विदेशी पर्यटक भिञ्याउने सामथ्र्य राख्छ । त्यसको प्रवद्र्धन गर्ने योजना ल्याउँछु । त्यस्तै, भूकम्पले धेरै सांस्कृतिक सम्पदा विनाश गरेको छ । तिनको शीघ्र पुनर्निर्माण आवश्यक छ । त्यसको सुरुवात सबैभन्दा पहिले काष्ठमण्डपबाट सुरु गर्छु । पाँच वर्षभित्रै सबै सांस्कृतिक सम्पदाको पुनर्निर्माण भइसक्छ ।  भूकम्पले काठमाडौँमा धेरै जनताको घर भत्काएको छ । साँघुरो ठाउँमा भएकाले त्यहाँ गाडी जान पनि सकेको छैन । खर्च अभावले जनताले घर पुनर्निर्माण गर्न पाएका छैनन् । घर बनाउँछु भन्दा बैंकले ऋण दिएनन् । अब महानगर वा सरकार आफैँ जमानी बसेर १५/२० वर्षसम्मका लागि ऋण दिने व्यवस्था मिलाउँछु ।
काठमाडौँमा सरकारी स्कुलको हालत खराब छ । यसलाई सुधारेर पाँच वर्षमा निजी स्कुलसरहकै नतिजा ल्याउने वातावरण बनाउँछु । कमजोर, विद्यार्थी कम भएका स्कुलहरूलाई मर्ज गरेर बलियो स्कुल बनाउनुपर्छ । त्यसबाट केही जमिन खाली पनि हुन्छ । अरू सरकारी जमिन पनि खाली छ । त्यो सदुपयोग गरेर सम्भव भएसम्म महानगरको प्रत्येक वडामा पार्क बनाउँछु ।

विद्या सुन्दर शाक्य, मेयर उम्मेदवार, नेकपा एमाले
मेयरमा निर्वाचित भएपछि के–के गर्छु भनेर ‘१०० दिनमा १०१ काम’ भनेर  प्रतिबद्धता–पत्र सार्वजनिक गरिसकेको छु । यसमा मेयरको शपथ लिएको दिनदेखि तीन महिनामा गरिसक्ने काम समावेश गरेको छु । मन, वचनले लाग्ने हो भने यी प्रतिबद्धता पूरा गर्न अप्ठ्यारो हुन्छ जस्तो मलाई लाग्दैन ।
महानगरलाई अहिले धुलोले सताएको छ । ‘मास्कमुक्त शहर’ बनाउने मेरो योजना छ । काठमाडौँमा धुलो/धुवाँ निर्मुल पार्न चरणबद्ध कार्यक्रम ल्याउने मेरो योजना छ । त्यसको लक्षण पहिलो तीन महिनामा देखिसक्छ । त्यस्तै, राज्यले हाल दिइरहेको मासिक समाजिक सुरक्षा भत्तामा तीन हजार रुपैयाँलाई पाँच हजार पुर्याउने योजना छ । त्यस्तै, साइकल सिटी महानगरको कार्ययोजना प्रारम्भ पनि गर्नेछु । महानगरभित्र भूकम्पप्रतिरोधी भवन निर्माणका लागि निःशुल्क प्रविधि प्रदान गर्ने व्यवस्था मिलाउँछु ।
भ्रष्टाचार अहिलेको अर्को समस्या हो । भ्रष्टाचार निर्मुल पार्न ‘ई–गभर्नेन्स स्टिम’ सुरु गर्ने र महानगरका सम्पूर्ण कार्यालयमा सीसीटीभी जडान गर्ने पनि मेरो योजना छ ।

सर्वोत्तम डंगोल, मेयर उम्मेदवार, माओवादी केन्द्र
माओवादी सरकारले अहिले लोडसेडिङ हटाएर उज्यालो ल्याएको छ । यसले उत्साहा पनि थपेको छ । म काठमाडौँको मेयर निर्वाचित भएँ भने त्यही ऊर्जाका साथ काम गर्छु । शहरी विकासको लागि महानगरको चाँडै भूउपयोग नीति ल्याउँछु । यस नीतिअनुसार काठमाडौँलाई भित्री र बाहिरी शहरका रूपमा विकास गर्ने योजना छ । भित्री शहरलाई पर्यटकीय शहर बनाउने भिजन छ । जसका लागि सांस्कृतिका सम्पदाहरूको संरक्षण गरिनेछ । भित्री शहरमा अब घर निर्माण गर्नेलाई हाम्रा पुराना सांस्कृतिक ढाँचाअनुसार बनाउन उत्प्रेरित गरिनेछ । त्यस्तो घर बनाउनेहरूलाई नक्सापास लगायतमा सहुलियत दिने व्यवस्था गरिनेछ । यसो गर्दा विदेशी यहाँ घुम्न आउँदा साँच्चै नेपाल आएको अनुभव गरून् । उनीहरूकै  जस्ता ठूला–ठूला घर बनाउने हो भने विदेशी किन घुम्न आउने यहाँ ?
काठमाडौँमा अहिले धुलो–धुवाँको समस्या छ । काठमाडौँमा पछिल्लो समय खनिएका सडकका कारण धुलो–धुवाँको समस्या देखिएको हो । यो एकदुई महिनाभित्रै समाधान गर्न सकिने कुरा हो । अहिले बीच सडक पखाल्ने गरिएको छ । तर, त्यो धुलो सडकको दुवै छेउमा गएर बस्छ । यो समस्या समाधान गर्नु आवश्यक छ ।
त्यस्तै, ट्राफिक व्यवस्थापनका लागि चाँडै नै ‘ओभरहेड ब्रिज’ स्थापना गरिनेछ । अनि, हामी अब मास ट्रान्सपोर्टेसन अवधारणामा जानुपर्छ । महानगरले अहिले पनि ठूला–ठूला गाडीहरू थपेको छ । अरू पनि थप्ने र ठूला गाडीलाई प्राथमिकता दिने नीति ल्याउँछु ।
भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनर्निर्माण तीन वर्षभित्र सम्पन्न गरिसक्ने योजना छ । महानगर, सरकार र पुनर्निर्माण प्राधिकरण मिलेर ती सम्पदा  पुनर्निर्माण गरिनेछ ।

प्रस्तुतिः रामकुमार डिसी

 

Leave A Comment