‘रिक्सा चलाउँदा ज्वरै फुट्छ’

मङ्गलबार, २६ बैशाख २०७४, ०१ : ३४ शुक्रवार , Kathmandu
‘रिक्सा चलाउँदा ज्वरै फुट्छ’

बा.अ.उ २४१
बेनबहादुर थापा, रिक्साचालक

गुरुजीको घर कता पर्यो ?
घर चाहिँ रामेछाप हो, अहिले ललितपुरको ढोकाटोलमा बस्छु ।
कति वर्ष भयो रिक्सा चलाउन थालेको ?
छ/सात वर्षजति भयो ।
यो लाइनमा कसरी आइयो ?
अब जागिर खाऊँ भने पढाइ छैन । घरतिर बस्न मन लागेन । त्यही भएर यहाँ रिक्सा चलाउन आएको ।
रिक्सा चलाउन सजिलो छ ?
छैन । बलको भर न हो । के सजिलो हुन्थ्यो र ?
रिक्सामा कति जनासम्म बस्न मिल्छ ?
एक जना चढ्दा त राम्रै हुन्छ । पातलो ज्यान भएका दुई जना चढ्दासम्म ठीकै हुन्छ ।
टिप कत्तिको लाग्छ ?
ठेगानै हुँदैन । कहिले लाग्छ, कहिले लाग्दैन ।
कुन–कुन ठाउँसम्म चलाउनुहुन्छ ?
टिप लाग्यो भने पुतलीसडकसम्म चलाइन्छ । नत्र त यतै असन, इन्द्रचोक, ठमेलतिर चलाउँछु ।
प्यासेन्जर को हुन्छन् ? नेपाली कि विदेशी ?
बढीजसो नेपाली हुन्छन् । पर्यटक आएर चढ्ने भनेको भाग्यको कुरा हो । कहिलेकाहीँ मात्रै भेटिन्छ । पर्यटकले पैसा चाहिँ राम्रो दिन्छन् ।
दिनमा कति कमाइ हुन्छ ?
कहिले पाँच सय, कहिले हजार ।
रिक्सा चलाएर जीवन धान्न सकिन्छ ?
बल भए धान्न सकिन्छ । जे होस् बलको कमी हुनु भएन । मोटो मान्छे आए भने त ज्वरो नै फुट्छ ।
आफ्नै रिक्सा हो ?
अब आफ्नै भन्नुपर्ला । सालाले किनेको । उसले मलाई ‘भेना चलाएर खाऊ’ भन्यो ।
रिक्सा चलाउँदा समस्या के छ ?
समस्या धेरै छ नि । कहिले के भाँचिन्छ, कहिले के ? बनाउन खर्च लाग्छ । मान्छे चढेपछि पसिना चुहिने गरी तान्नुपर्छ ।
कति पर्छ एउटा रिक्सालाई ?
नयाँलाई ८० हजारजति पर्छ ।
नयाँ किन्ने विचार छ ?
छैन, चलुन्जेल यही चलाउँछु ।

नेपाल बन्दको दिन त रिक्साले खूब कमाउँछ भन्छन् नि ?
हो, राम्रै कमाइन्छ ।
नेपाल बन्द भइरहे हुन्थ्यो जस्तो लाग्छ कि ?
त्यस्तो लाग्दैन । जनताले दुःख पाउँछन् ।
गीत–संगीत कत्तिको सुन्नुहुन्छ ?
टिप नलागेको बेला रिक्सामै बसेर सुन्छु । गीतले अल्छीपना भगाउँछ ।
फिल्म कत्तिको हेरिन्छ नि ?
कहिलेकाहीँ हल गइन्छ ?
कति बेला धेरै खुशी लाग्छ ?
टिप लागेको बेला, यसो पैसा अलि धेरै कमाएको दिन एकदम खुशी हुन्छु । आनन्द लाग्छ ।  
जिन्दगी कस्तो चलिरहेको छ ?
अहिलेसम्मै ठीकै छ  । काम गरिराखेकै छु । खाइराखेकै छु । पछि भनेको देखाजाला ।
प्रस्तुतिः रचना

 

 

Leave A Comment