वैदेशिक रोजगारीमा उस्तै असुरक्षा

मङ्गलबार, २६ बैशाख २०७४, ०१ : २५ रुद्र खड्का , Kathmandu
वैदेशिक रोजगारीमा उस्तै असुरक्षा

एक लाख रुपैयाँ ऋण लिएर रोजगारीका लागि साउदी पुगेका झापा, शनिश्चरेका मोहन राईको उतै निधन भएपछि यतिखेर पत्नी पार्वतीलाई पीडा थपिएको छ । घरखर्च जुटाउन र छोराछोरीको पढाइको बन्दोबस्त मिलाउने आशाले साउदी पुगेका ३५ वर्षीय मोहनले घरको समस्या समाधान त गर्न सकेनन् नै । उल्टै ऋण बोकाएपछि यतिखेर पत्नीलाई के गरूँ, कसो गरूँ ? भइरहेको छ ।
‘श्रीमान्ले विदेशमा कमाएपछि घर चलाउन केही सहज होला भन्ने लागेको थियो,’ वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले उपलब्ध गराउने राहत लिन राजधानी आएकी पार्वतीले भनिन्, ‘विदेश नगएको भए उनको ज्यान त जोगिन्थ्यो ।’ पार्वतीका अनुसार ग्रिल बनाउने कम्पनीमा काम गर्न साउदी पुगेका मोहनको विदेश गएको छ महिनामै निधन भएको थियो । ‘दिउँसो काम गरेर साँझ कोठामा फर्केपछि सुतेकोसुत्यै हुनु भएको थियो रे !’ सोही कम्पनीका काम गर्ने अरू  साथीले दिएको जवाफ उद्धृत गर्दै उनले भनिन्, ‘दुई वर्षपछि विदेशबाट फर्केर गाउँमै केही काम गर्ने सोच थियो । सबै लथालिंग भयो ।
मोरङ, रंगेलीका अनिल यादवको साउदीमा मुटुसम्बन्धी समस्याका कारण मृत्यु भएको खबर पाउँदा सुरुमा आफन्तजनले पत्याउनै सकेनन् । छ महिनाअघि वैदेशिक रोजगारीमा जाने बेला स्वास्थ्य परीक्षण गर्दा योग्य ठहरिएका यादवको  मुटुुसम्बन्धी समस्याले मृत्यु भएको खबर पाउनेबित्तिकै पीडित परिवारजनले त्यस्तो हुन नसक्ने भन्दै साउदीको कम्पनी र अन्य कामदारसँग सोधीखोजी गरे । ‘घरमा रहँदासम्म कहिल्यै मुटुको समस्या थिएन,’ अनिलका भाइ विनोदले भने, ‘न त काठमाडौँमा स्वास्थ्य परीक्षण गर्दा मुटुसम्बन्धी समस्या नै देखिएको थियो ।’ साउदी गएको छ महिनामै मुटुसम्बन्धी समस्याले ज्यान गयो भन्ने खबरले सारा आफन्त र गाउँले अचम्ममा परेको उनले बताए ।
एक वर्षदेखि कतारमा काम गर्दै आएका सिन्धुलीका रमेश बस्नेतको तीन महिनाअघि मुटुसम्बन्धी समस्याकै कारण मृत्यु भयो । वैदेशिक रोजगारीमा जानुअघि शारीरिक रूपले स्वस्थ रहेका २९ वर्षीय बस्नेत परिवार पनि मृत्युको कारण मुटुसम्बन्धी समस्या भएको सुन्दा आश्चर्यमा छ । ‘घरमा रहँदासम्म कुनै पनि दिन उहाँलाई मुटुसम्बन्धी समस्या थियो भन्ने जानकारी थिएन,’ भतिज शरदले भने, ‘एक्कासि मुटुसम्बन्धी समस्याले मृत्यु भएको खबर सुन्दा कसरी त्यसो भयो होला ? भनेर अलमलमा छौँ ।’ उनका अनुसार भवन निर्माणको काम गर्दै आएका रमेशसँग टेलिफोनमा कुुरा गरेको चार घण्टा बित्न नपाउँदै मृत्यु भएको थियो । शरदले भने, ‘वैदेशिक रोजगारी नेपालमा सोचेजस्तो हुँदो रहेनछ । काम र बसाइँ निकै गाह्रो छ भन्दै हुनुहुन्थ्यो । कुरा गरेको केही बेरमा अंकलको निधन भएछ ।’
स्वदेशमा रोजगारीको अभाव हुँदा दिन प्रतिदिन जसरी वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दैछ । त्यसरी नै विदेशमा विभिन्न समस्यामा परी ज्यान गुमाउने युवायुवतीको संख्या पनि बर्सेनि बढिरहेको छ । विदेशमा मृत्युका विभिन्न कारणमध्ये पछिल्लो समयमा सबभन्दा डरलाग्दो तरिकाले नेपाली कामदारमा मुटुसम्बन्धी समस्या देखिएको छ । स्वदेशमा रहँदासम्म मुटुसम्बन्धी कुनै समस्या नदेखिएका कामदारमा धमाधम मुटुसम्बन्धी समस्या देखिन थालेपछि यसको कारण खोजी हुनुपर्ने मागसमेत गरिएको छ ।
‘चार÷पाँच महिनाअघि स्वास्थ्य परीक्षण गर्दा योग्य ठहरिएका व्यक्तिलाई समेत विदेशमा मुटुसम्बन्धी समस्या देखिन थालेपछि यसको खोजी गर्नुपर्ने बेला आएको छ,’ एक म्यानपावर व्यवसायीले भने, ‘नत्र नेपाली कामदारलाई मुटुसम्बन्धी समस्या हुन्छ भन्दै विदेशी रोजगारदाताको चासो कम हुन सक्छ । र, जसले नेपालको वैदेशिक रोजगारी व्यवसायमा असर पर्न सक्छ ।’ म्यानपावर व्यवसायी प्रज्ञान न्यौपाने विदेश जानेहरूलाई दिइने अभिमुखीकरण तालिम प्रभावकारी छैन भन्ने उदाहरण विदेशमा नेपाली युवाले ज्यान गुमाउने र अंगभंग हुने घटना पर्याप्त भएको बताउँछन् । उनले भने, ‘विदेशमा कसरी काम गर्ने र कस्तो ठाउँमा बस्ने भन्नेबारे जानकारी नहुँदा धेरैले ज्यान गुमाउने गरेका छन् ।’
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार २०६५ सालयता (गएको असोजसम्म) वैदेशिक रोजगारीको क्रममा रहेका ५ हजार ३ सय ५७ युवायुवतीले विदेशी भूमिमा ज्यान गुमाएका छन् । स्वदेशमा अवसर नहुँदा यतिखेर नेपाली श्रम बजारमा प्रवेश गर्ने अधिकांश युवायुवतीको रोजाइ वैदेशिक रोजगारी हुन पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७२÷७३ मा श्रम स्वीकृति लिएर खाडी मुलुक र मलेसियामा ४ लाख १८ हजार युवायुवती पुगेका थिए । २०६४ सालदेखि अहिलेसम्म करिब ४३ लाख कामदार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गए पनि कति कामदार स्वदेश फर्के र कति कामदार वैदेशिक रोजगारीमै छन् भन्नेबारे तथ्यांक भने सरकारी निकायसँग छैन ।
वैदेशिक रोजगार विभागका प्रवक्ता रमा भट्टराई वैदेशिक रोजगारी असुरक्षित बन्नुमा अदक्ष कामदारको संख्या बढ्नुलाई मुख्य कारण ठान्छिन् । ‘अदक्ष कामदारको संख्या घटाउन नसकिँदा र अभिमुखीकरण दिने संस्थाहरूले रोजगारीमा जाने देशबारे राम्रोसँग जानकारी नदिँदा धेरैको ज्यान जाने गरेको पाइएको छ,’ उनले भनिन् । ज्यान गुमाउनेमध्ये सबभन्दा धेरै मृत्युको कारण मुटुसम्बन्धी समस्या पाइएकोे छ । मुटुसम्बन्धी समस्यासँगै सडक दुर्घटनामा पनि धेरै युवायुवतीले ज्यान गुमाउने गरेका छन् । विभागका अधिकारीका अनुसार रोजगारदाता देशको सडकको अवस्थाबारे थाहा नपाउँदा कामदार दुर्घटनामा पर्ने गरेका हुन्छन् । त्यस्तै, कतिपय कामदारले एसीसमेत चलाउन नजान्नु र अत्यधिक मदिरा सेवन गर्नु पनि मृत्युको कारण बन्ने गरेको पाइएको छ । भट्टराईले भनिन्, ‘विदेशमा सडक कसरी पार गर्नुपर्छ र अत्यधिक गर्मी हुने ठाउँमा एसीलाई न्यूनतम कति चिसोमा झार्नुपर्छ भन्ने बारेमा मात्र बुझाउन सकियो भने धेरै कामदारको ज्यान बचाउन सकिन्छ ।’ २०६५ सालयता वैदेशिक रोजगारीमा रहेकामध्ये करिब  नौ सय युवायुवतीको मात्र प्राकृतिक कारणले मृत्यु भएको छ ।
आर्थिक उन्नतिका लागि वैदेशिक रोजगारीमा गएका युवायुवतीको उतै मृत्यु हुने क्रम बढेपछि त्यसको रोकथामका लागि सचेतना आवश्यक भइसकेको म्यानपावर व्यवसायी बताउँछन् । ‘के कारणले वैदेशिक रोजगारीमा रहेका युवायुवतीलाई मुटुसम्बन्धी समस्या धेरै हुन्छ ?’ यसबारेमा विदेश जानुअघि जानकारी दिनुपर्ने बेला आएको छ,’ ग्रेस ओभरसिजका श्रम प्रतिनिधि दीपेन्द्र गौतमले भने, ‘नत्र, अझं यो संख्या बढ्ने खतरा देखिएको छ ।’ यता वीर अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रकाशराज रेग्मी वैदेशिक रोजगारीमा रहेका युवायुवतीलाई मुटुसम्बन्धी समस्या हुनुको मुख्य कारणमा खाना र बसाइँ नमिलेको अनुमान लगाउँछन् । ‘दिउँसो बाहिर निकै गर्मीमा काम गर्नु र राति चिसोमा बस्नु पर्दा धेरैलाई मुटुसम्बन्धी समस्या हुने गर्छ,’ डाक्टर रेग्मीले भने । वैदेशिक रोजगारीमा रहँदाको काम स्वदेशको भन्दा जटिल र फरक हुने भएकाले युवायुवती तनावमा पर्ने र जसले मुटुसम्बन्धी समस्या बढाउने चिकित्सकको भनाइ छ । विदेशमा धेरै युवायुवतीले अनाहकमा ज्यान गुमाउनुको कारण स्वदेशमा अभिमुखीकरण दिने संस्थाले राम्रोसँग काम नगरेको ठान्नेहरू धेरै छन् । ‘विदेशमा गरिने काम, त्यहाँ तापक्रमदेखि लिएर सडकसम्मको अवस्थाबारे अभिमुखीकरण गर्ने निकायले दिनुपर्ने हो,’ गौतमले भने ।
वैदेशिक रोजगारीमा जाने युवायुवतीलाई तालिम दिन वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले १ सय १६ अभिमुखीकरण संस्थालाई मान्यता दिए पनि धेरैले अभिमुखीकरण तालिम नदिएरै युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने गर्छन् । विभागका प्रवक्ता भट्टराई अभिमुखीकरण गर्ने संस्थाले राम्रोसँग काम नगरेको जानकारी हुँदाहुँदै पनि कर्मचारी अभावले अनुगमन गर्न नसकिएको बताउँछिन् । ‘विभागको मात्र वैदेशिक रोजगारको क्षेत्र सुधार्ने दायित्व होइन भन्ने नबुझेसम्म अहिलेका विकृति हटाउन सकिँदैन,’ उनले भनिन् । अभिमुखीकरण दिने संस्थाका प्रतिनिधि र म्यानपावर खाली कामदारलाई विदेश पठाउने र उनीहरूसँग रकम असुल्ने दाउमा रहने गरेको कर्मचारीको दाबी छ । तर, म्यानपावर र अभिमुखीकरण संस्था सञ्चालक भने आफ्नो बलबुताले भ्याएसम्म कामदारलाई वैदेशिक रोजगारीको बारेमा जानकारी दिने गरेको तर कामदारले अटेरी गर्दा मृत्यु र अंगभंग हुने क्रम बढिरहेको जिकिर गर्छन् ।

‘अभिमुखीकरणलाई प्रभावकारी बनाउनुपर्छ’
रघुराज काफ्ले

कार्यकारी निर्देशक, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड
पछिल्लो समयमा वैदेशिक रोजगारीको क्षेत्रलाई जति सुरक्षित र मर्यादित बनाउनुपर्छ भन्ने बहस भए पनि उपलब्धि देखिएको छैन । कामका लागि विदेश पुगेका युवाशक्तिले अनाहकमा ज्यान गुमाउनु निश्चय पनि दुःख लाग्दो कुरा हो । बोर्डले वैदेशिक रोजगारीको क्रममा सुरक्षित हुने उपायका लागि सक्दो प्रयास गरिरहेको छ । तैपनि सोचेजस्तो उपलब्धि भने देखिएको छैन । वैदेशिक रोजगारीमा रहेका युवायुवतीलाई सुरक्षित राख्न अभिमुखीकरण दिने संस्थाले धेरै भूमिका खेल्छन् जस्तो लाग्छ । विदेशमा जाँदा के गर्न हुन्छ र के गर्न हुँदैन भनेर अभिमुखीकरण दिने संस्थाले सिकाउने हो भने केही हदसम्म जोखिम घटाउँछ जस्तो लाग्छ । विदेशमा सडक पार गर्न नजानेर, एसी खोल्न नजानेर तथा अत्याधिक मदिरा सेवन गर्दा ज्यान गएको पाइएको छ । त्यसैले सामान्य जानकारीले पनि जोखिम घटाउँछ ।
मलेसियामा काममा जानेलाई टिप्स
–मलेसियाको न्यूनतम तापक्रम २० डिग्री र अधिकतम तापक्रम ३२ डिग्री हुन्छ ।
–मलेसियाको प्रमुख उद्योगमा रबर, पेट्रोल, रसायन, धातु र पर्यटन हुन् ।
–मलेसियामा ६१.३ प्रतिशतले इस्लाम, १९.८ प्रतिशतले बौद्ध, ९.२ प्रतिशतले क्रिस्चियन र ६.३ प्रतिशतले हिन्दू धर्म मान्छन् ।
–मलेसियाका मुख्य भाषा मलय, चाइनिज हुन् । अंग्रेजी र हिन्दी भाषाको पनि प्रयोग गरिन्छ ।  
–मलेसियाका सडकमा गाडीको गति अत्यधिक हुने हुनाले सडक पार गर्दा ट्राफिक बत्तीको छेउमा रहेको जेब्राक्रसिङ तथा आकाशे पुलबाट मात्र बाटो काट्नुपर्छ । नेपालमा जस्तै गाडीको स्टेरिङ दायाँतर्फ हुन्छ । ट्याक्सीभन्दा बस चढ्नु सुरक्षित तथा सस्तो हुन्छ ।
–मलेसिया बहुधार्मिक राष्ट्र हो । त्यहाँ धार्मिक पर्वहरूमा बिदा हुन्छ । मुस्लिमहरूको प्रार्थनाको समयमा गैरमुस्लिमहरूले पनि त्यहाँको नियमको सम्मान गर्नुपर्छ ।
–मलेसियामा शुक्रवार, शनिवार र आइतवार सरकारी बिदा हुने गर्छ । कम्पनीमा काम गर्ने कामदारको हकमा भने कम्पनीको नियमअनुसार आलोपालो गरी बिदा पाइन्छ । आफ्नो कामको समय मिलाउन नसकेमा कम्पनीको नियमअनुसार तलब काट्नेदेखि लिएर अन्य कारबाहीसमेत गर्न सक्छ । सातामा ४८ घण्टा काम गर्ने समय हुन्छ भने ओभरटाइम कम्पनीको नियमानुसार मिलाइएको हुन्छ । वर्षमा ११ दिन सार्वजनिक बिदा हुन्छ ।
–कामदारको तलबमा मलेसियन सरकारले लेबी (कर) लगाउँछ ।
–भर्खरै मलेसियन सरकारले कामदारको न्यूनतम मासिक पारिश्रमिक एक सय रिंगिट थप गरी नौ सय रिंगिट  अथात् २२ हजार ५ सय रुपैयाँ (हालको विनियम दरअनुसार) बनाएको छ ।
–मलेसियामा कुनै समस्या परे क्वालालम्पुरस्थित नेपाली राजदूतावासको सम्पर्क नम्बर ६०३२१६४५९३४ हो ।

आर्थिक वर्ष २०७२/७३ मा कुन देशमा कतिले ज्यान गुमाए (शीर्ष ३ देश)
देश           संख्या
मलेसिया     ३५३
साउदी अरब   २४९
कतार          १६५
अन्य          १३८
जम्मा        ९०५
    

वैदेशिक रोजगारीको क्रममा कुन वर्ष कतिले ज्यान गुमाए ?
आर्थिक वर्ष               संख्या
२०७३ साउन–असोज    १३८
२०७२/७३                 ९०५
२०७१/७२                 १,००५
२०७०/७१                 ८८९
२०६९/७०                 ७२७
२०६८/६९                 ६४६
२०६७/६८                ५४९
२०६६/६७                ४१८
२०६५/६६               ९०
जम्मा                   ५,३५७
स्रोतः वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड

 

 

Leave A Comment