आयुर्वेदका अनुसार स्वस्थ रहन दिनहुँ यसो गर्नुपर्छ

आइतबार, २४ बैशाख २०७४, ०१ : ११ शुक्रवार , Kathmandu
आयुर्वेदका अनुसार स्वस्थ रहन दिनहुँ यसो गर्नुपर्छ

खाना
आयुर्वेदमा बिहानको खाजा अनिवार्य रूपमा खानुपर्छ भनिएको छ । ‘ब्रेकफास्ट’ नखाई एकैपटक खाना खाँदा यसले पाचनलगायत शरीरका  प्रणालीलाई हानि गर्छ । बिहानको खाजा र साँझको खाना हलुका खालको हुनुपर्छ । दिउँसो चाहिँ खाना टन्न खानुपर्छ । आकाशमा सूर्यको तेजले शरीरको पाचनक्षमता निर्धारण गर्ने भएकाले दिउँसो १÷२ बजे घाम चर्किएको बेलामा ‘हेभी’ भोजन गरेमा पाचन सहज हुन्छ । बिहान र बेलुका सूर्य मधुरो हुने भएकाले त्यतिबेला ‘लाइट’ खाना खानुपर्छ भनी आयुर्वेदमा भनिएको छ ।
पानी
तिर्खा नलागेको बेला पानी खान आयुर्वेदले वर्जित गरेको छ । तिर्खा नलागीकन पानी अथवा यस्तै तरल पदार्थ पिउने बानी बसालेमा शरीरमा अतिरिक्त पानी जम्मा हुन्छ, जसले मोटोपन, छालासम्बन्धी रोग, पाचन प्रणालीमा समस्या, किड्नीमा समस्या आदि निम्त्याउँछ । आयुर्वेदका अनुसार दिनमा आठ ग्लास पानी खानु उपयुक्त हुन्छ ।
चिल्लो     
खास गरी मोटोपनको समस्या भएकाहरूले चिल्लो खानेकुरा कम खानुपर्छ । यद्यपि, मोटो भएँ भन्दैमा चिल्लो खाना पूरै त्याग्नु चाहिँ हानिकारक हुने आयुर्वेदको मत छ । मोटोपनको समस्या भएकाले पनि घिउ समावेश गर्नु लाभदायक हुन्छ । तर, घिउको मात्रा बढी हुनु हुँदैन । घिउ, तोरी र नरिवलको तेललाई आयुर्वेदमा उत्तम भनिएको छ ।
निद्रा
कम सुत्ने र बढी सुत्ने दुवै स्वभाव जीवनविरोधी हुन्छन् भन्ने आयुर्वेदको मत छ । साताभरि मनग्गे सुत्न नपाएको भन्दै छुट्टीको दिन बढी सुत्ने बानी गर्नु हुँदैन । आयुर्वेदका अनुसार राति साढे १० बजेसम्ममा सुतिसक्नुपर्छ र बिहान ६ बजेभन्दा बढी समयसम्म सुत्नु हुँदैन ।
व्यायाम
महिनावारी भएका महिला र बिरामीबाहेक सबैले अनिवार्य रूपले नियमित व्यायाम गर्नुपर्छ । व्यायाम गर्दा शरीरका सबै जोर्नीहरूलाई सक्रिय गराउनुपर्छ । व्यायाम गर्दा श्वासप्रश्वास र रक्तसञ्चार तीव्र बन्नैपर्छ, जसकारण शरीरका सबै भागमा पर्याप्त मात्रामा रगत र अक्सिजन प्रवाहित हुन पुग्छन् । यसले मानिसलाई स्वस्थ राख्छ ।

सेक्सबाट आरोग्य
सेक्समा सक्रिय मानिस तुलनात्मक रूपमा स्वस्थ हुन्छन् । यस्ता मानिस बिरामी पर्ने दर अन्य मानिसमा भन्दा कम पाइएको छ ।
अमेरिकी शहर पेन्सिलभानियास्थित विल्केस युनिभर्सिटीले गरेको एक अध्ययनअनुसार सक्रिय ‘सेक्स लाइफ’ भएका मानिसहरूमा कीटाणु, भाइरस, ब्याक्टेरिया आदिबाट हुने संक्रमणको जोखिम तुलनात्मक रूपमा कम हुन्छ । सातामा एक अथवा दुई पटक सेक्स गर्ने व्यक्तिमा रोगबाट जोगिने क्षमता कम सेक्स गर्नेमा भन्दा बढी हुन्छ । सक्रिय यौन जीवन भएका मानिसको आयु पनि बढी हुन्छ । यस्ता मानिस प्रसन्नचित्त हुन्छन् । उनीहरूको आत्मविश्वास पनि उच्च हुन्छ । यस्तो मनोदशाले शरीरलाई थप स्वस्थ राख्न मद्दत पुर्याउँछ ।
विल्केस युनिभर्सिटीले आफ्ना विद्यार्थीमाथि शोध गरेर स्वास्थ्यसँग यसको सम्बन्ध पत्ता लगाएको थियो । सेक्समा सक्रिय व्यक्तिको शरीरमा टेस्टोस्टेरोन र एस्ट्रोजेनलगायत सेक्स हार्मोन सन्तुलनमा रहन्छन् । यस्तो सन्तुलन बिग्रिएमा ओस्टेपोरोसिसजस्तो हड्डीसँग सम्बन्धित र उच्च रक्तचापलगायत मुटुसम्बन्धी समस्या देखापर्छन् । सक्रिय सेक्स जीवनले यस्ता रोग लाग्ने जोखिम कम गरिदिन्छ ।

 

Leave A Comment