असल नारी घरको शोभा

शनिबार, १८ असार २०७३, ०३ : १७ विदुर नीति , Kathmandu
असल नारी घरको शोभा

श्रीमतीसँग बिछोड हुनु, आफन्तद्वारा अपमानित हुनु, ऋण तिर्न नसक्नु, दुष्ट राजाको सेवा गर्नु, गरिब हुनु, मूर्ख र स्वार्थी व्यक्तिहरूको बाहुल्य भएको आफूलाई प्रतिकूल हुने बैठकमा सहभागी हुनु, यी छवटै कुराले आगोविना नै शरीरलाई डढाउँछ । बारम्बार बाढी आइरहने खोलाको तीरमा रहेको रुख, अर्काको घरमा बस्ने गरेकी कामिनी स्त्री, विना मन्त्रीमण्डलको राजा, यी तीनटै कुरा शीघ्र नष्ट र भ्रष्ट हुन्छन् । कलम, किताब र स्त्री अर्काको हातमा परे भने ती फर्कंदैनन् वा भेटिँदैनन् । दैवसंयोगले भेटिएछन् भने पनि त्यस्तो कलम टुटेफुटेको, पुस्तक च्यातिएको र स्त्री भने मर्दिता अवस्थाका हुन्छन् ।
ब्राह्मणको बल विद्या हो । राजाको बल सेना हो । व्यापारीको बल धन हो भने शूद्रको बल कालिगढी हो । शूद्रहरूको बल सेवा पु¥याउनु पनि हो भन्ने उल्लेख छ । वेश्याले निर्धन पुरुषलाई छाडिदिन्छे । पराजित राजालाई जनताले साथ दिँदैनन् । पक्षीहरूले फल खाइसकेपछि अर्थात् फल सकिएको वृक्षलाई छोडिदिन्छन् । भोजनपश्चात् पाहुनाले पनि भोजनदाताको घरलाई छोडिदिन्छन् । ऋत्विक् ब्राह्मण दक्षिणा लिएपछि यजमानलाई छोड्छन् । शिष्यहरू पढाइ सकिएपछि गुरुकुल छोड्छन् । त्यस्तै, मृग आदि वन्यजन्तुले आगलागी भएको वनजंगल छाड्छन् । खराब आचरण भएको, विना कुनै कारण अर्कालाई हानि पु¥याउन खोज्ने, खराब दृष्टि भएको, नराम्रो ठाउँमा बसोबास गर्ने, दुष्ट व्यक्तिसँग मित्रता गर्ने मानिस शीघ्रातिशीघ्र बिग्रन्छ ।
आफू समानको स्तरमा मित्रता सुहाउँछ । जनताको भलो हुने खालको सेवा गरेपछि राजा सुहाउँछन् । विभिन्न व्यवसायमा संलग्न भई राम्ररी काम गरेमा वाणिज्य या व्यापार राम्रो बन्दै जान्छ । सुन्दर र असल नारी घरकी शोभा हुन् ।

Leave A Comment