‘मिस नेपाल हुनेबित्तिकै मिस वल्र्डमा पठाइनु ठीक होइन’

शनिबार, २३ बैशाख २०७४, १२ : २८ गोपाल दाहाल , Kathmandu
‘मिस नेपाल हुनेबित्तिकै मिस वल्र्डमा पठाइनु ठीक होइन’

‘मिस नेपाल २०१४’ सुविन लिम्बू अध्ययन र सामाजिक कार्यमा व्यस्त छिन् । उनी बास्केट बल र तेक्वान्दो खेलाडी पनि हुन् । उनीसँग सौन्दर्य प्रतियोगितामा केन्द्रित भएर गरिएको संवादः

खेलाडी मान्छे सौन्दर्य प्रतियोगितामा कसरी आइपुग्नुभयो ?
पहिला तेक्वान्दो खेलाडी थिएँ । धरानमा तेक्वान्दो सिकेर धेरै खेलमा भिडे पनि । अनुभवका लागि सौन्दर्य प्रतियोगितामा भाग लिएँ । प्रतियोगिता जितियो यसैबाट पहिचान बन्यो ।

सौन्दर्य प्रतिस्पर्धामा जान के कुराले आकर्षित गर्यो ?
प्लस टूसम्म धरानमा पढेपछि ब्याचलर पढ्न काठमाडौँ झरेँ । आमाले ‘‘मिस मंगोल’ प्रतियोगितामा भिड धेरै कुरा सिक्न पाइन्छ’ भन्नुभयो । सन् २०१०मा मिस मंगोलमा फस्ट रनरअप भएँ । त्यसपछि ‘मिस नेपाल’मा सहभागी भएर जितेँ ।

आजभोलि विभिन्न नाममा सौन्दर्य प्रतियोगिता भइरहेका छन्, यसलाई कसरी लिनुुहुन्छ ?
मलाई त राम्रै लाग्छ । यसबाट नयाँ पुस्ताले धेरै कुरा सिकिरहेका छन् । यस्ता कार्यक्रमले व्यक्तित्व विकासमा पनि सहयोग पुर्याउँछ जस्तो लाग्छ ।
‘मिस नेपाल’ भएपछि आफ्नो समुदायका लागि के गर्नुभयो ?
‘मिस वल्र्ड’मा सहभागी हुँदा लिम्बू समुदायको पहिरन, गहना विश्वसामु प्रदर्शन गरेँ । लिम्बूको पहिरन देखायो भनेर कतिले कम्प्लेन पनि गरे तर त्यसो भन्नेहरूदेखि माया लाग्यो । अहिले म वान युथ नेपाल भन्ने सामाजिक संस्थामा आबद्ध भएर बालबालिका र शिक्षाको क्षेत्रमा काम गरिरहेकी छु ।

‘मिस वल्र्ड’मा नेपालको प्रतिनिधित्व किन दमदार हुन नसकेको ?
अरू देशमा सानैदेखि तालिम हुन्छ । हामीले पर्याप्त तालिम नै पाएका हुँदैनौँ । मिस नेपालको तालिमको भरमा हामी त्यहाँ पुग्छौँ । मिस नेपाल हुनेबित्तिकै मिस वल्र्डमा पठाइनु ठीक होइन जस्तो लाग्छ । मिस नेपाल भएपछि धेरै कुरा सिकेर मात्र जानुपर्ने हो मिस वल्र्डमा । हामी त सिक्नेबित्तिकै जान्छौँ । त्यसैले राम्रो गर्न सक्दैनौँ ।

 

 

 

Leave A Comment