समय दिन नसक्नेले किन बच्चा जन्माउनु ?

शनिबार, २३ बैशाख २०७४, १२ : २१ शुक्रवार , Kathmandu
समय दिन नसक्नेले किन बच्चा जन्माउनु ?

डा. योगी विकासानन्द
आमाको गर्भ नै मानिसको सबैभन्दा आनन्ददायक स्थल हो । अर्काे भाषामा यसलाई समाधिको अवस्था पनि भन्न सकिन्छ । गर्भमा बच्चा तैरिरहेको अवस्थामा हुन्छ । उसले कतै टेक्नुपर्दैन । खानका लागि कष्ट बेहोर्नुपर्दैन, ‘अम्बिलिकल कर्ड’बाट खाना शरीरमा गइरहेको हुन्छ । तापमान सन्तुलित हुन्छ । यसरी हेर्दा मानिस अस्तित्वमा आएपछिको सबैभन्दा निर्धक्क र आनन्दित ठाउँ आमाको गर्भ नै हो  ।
बच्चा बाहिरी संसारमा योनिमार्गबाट बाहिर निस्कनुपर्छ । योनिमार्गभन्दा बच्चाको टाउको कैयौँ गुना ठूलो हुन्छ । जन्मको क्रममा योनिमार्गबाट बच्चा निस्कँदा कठोर रूपमा चेपिन्छ । चेपिँदा संघर्ष हुनु स्वाभाविक नै हो । प्रसव समयको आमाको दुःख हामी देख्छौँ । तर, बच्चाको दुःखलाई हामीले अनुभूत गर्न सकिरहेका हुँदैनौँ । बच्चा जन्मिनेबित्तिकै दर्दको कारणले रुन्छ । आमा प्रसव दुःखका लागि तयार हुन्छिन्, तर बच्चा हुँदैन । उसलाई त ‘सक’ नै हुन्छ ।
बच्चाले पेटभित्र खासै गन्धको अनुभूत गरेको हुँदैन । जन्मिएपछि उसले अस्पतालको गन्ध चाल पाउँछ । सामान्यतया ठूला मानिसका लागि त अस्पतालको गन्ध असह्य हुन्छ भने बच्चालाई त्यो गन्धले प्रताडित पार्नु स्वाभाविकै हो । विकसित मुलुकहरूमा पछिल्लो समय अस्पताल बच्चा जन्माउनका लागि अनुपयुक्त स्थल हो भन्न थालिएको छ । बरु घरमै सम्पूर्ण स्रोत, साधन र दक्ष जनशक्ति जुटाएर बच्चा जन्माउनुपर्छ भन्ने अवधारणा विकास हुन थालेको छ । अस्पतालमा प्रयोग हुने रसायनले उत्पन्न गराएको गन्धले बच्चालाई असर गर्छ । गन्धजस्तै उसलाई आवाजले पनि ठूलो असर गर्छ । आमाको गर्भमा कुनै आवाज हुँदैन । तर, बाहिर उसले एकैचोटि कोलाहल सुन्छ । त्यसै गरी, भित्रको गर्भको जस्तो सन्तुलित न्यानो वातावरण बाहिर हुँदैन । यसरी बच्चाले पाँचवटै इन्द्रीयहरूमा हमला भएको अनुभूत गर्छ । जसलाई ‘बर्थ ट्रमा’ भनिन्छ । यसरी जन्मनेबित्तिकै झेलिएको दुःख र पीडा कतिपय व्यक्तिमा सम्पूर्ण जिन्दगीभर ‘सक’का रूपमा बसिरहन पनि सक्छ । यसरी गहिरो ‘सक’ बसेको मानिस जन्मजात नै असन्तुष्ट बन्न पुग्छ । हरेक मान्छेप्रति शंकालु बन्न सक्छ । नयाँ ठाउँ र वस्तुस्थिति सामना गर्नेबित्तिकै ऊ शंका गर्न थाल्छ । किनकि, उसको जन्म पनि नयाँ ठाउँमा आगमन हुनु हो । जन्मनेबित्तिकै उसले झेलेको समस्यका कारण जिन्दगीभर नै ऊ नयाँ स्थान, घटना र व्यक्तिहरूप्रति सशंकित बन्न सक्छ ।
जन्मिएपछि बच्चालाई कसरी हुर्काइन्छ भन्ने विषय सर्वाधिक महत्वपूर्ण छ । बच्चा हुर्काउने भन्नेबित्तिकै हामीहरू उसको खानपान, शिक्षा र स्वास्थ्यको विषयमा जोड दिन्छौँ । यो आवश्यक पनि हो । तर, बच्चालाई हुर्काउँदा ध्यान पु¥याउने अन्य महत्वपूर्ण विषयतर्फ हाम्रो ध्यान पुग्न सकिरहेको छैन । शिशु वा बच्चा हुर्काइसँग हाम्रो पूर्वीय सभ्यताले मसाजलाई उच्च स्थान दिएको छ । तेल मालिस परम्पराका रूपमा नै समाजमा स्थापित छ । पश्चिमा संस्कृतिमा बच्चालाई मालिस गर्ने परम्परा खासै थिएन । तर, अहिले उनीहरूले पनि मसाजको महŒव आत्मसात् गर्न थालेका छन् । सामान्यतः हामीहरू बच्चालाई मसाज गर्नुलाई शारीरिक तन्दुरुस्तीसँग जोडेर हेर्छाैं । मसाजले बच्चाको शारीरिक विकास त गर्छ नै । तर, त्यो भन्दा पनि मसाज बच्चाले प्रेमपूर्ण सुरक्षित अवस्थाको अनुभूति गर्ने आधार हो । मसाजमा स्पर्श हुन्छ । बच्चालाई स्पर्श गरिरहँदा बच्चाको दिमागबाट अक्सिटोसिन भन्ने हार्माेन रिलिज हुन्छ । अक्सिटोसिन भनेको ‘लभ हार्माेन’ हो । ‘बर्थ ट्रमा’ले पीडित बच्चाको पीडालाई मसाजले हल गर्न सघाउँछ । उसले प्रेमको अनुभूति गर्न पाउँछ । तसर्थ बच्चालाई निरन्तर ‘टच’ गरिरहनुपर्छ । यदि आमा बच्चासँग बस्न भ्याउँदिनन्, उनलाई फुर्सद छैन भन्ने बच्चा जन्माउनु नै हुँदैन । अहिले युरोप अमेरिकातिर सुत्केरी बिदा लम्ब्याउँदै लगिएको छ । किनकि, ‘बर्थ ट्रमा’बाट बच्चालाई ‘हिल’ गर्न पनि आमा बच्चासँगै निरन्तर रहनु जरुरी छ ।
सत्रौँ शताब्दीमा जर्मनीका एक राजाले गरेको प्रयोगबाट बच्चालाई ‘टच’ वा मसाजको महŒव कति छ भन्ने स्पष्ट हुन्छ । उक्त जर्मन राजाले केही बच्चालाई उनीहरूको शरीरलाई आवश्यक सम्पूर्ण पोषणयुक्त खाना खुवाउने तर उनीहरूलाई ‘टच’ नगर्ने गरी राख्यो । सामान्य रूपमा हेर्दा शरीरलाई आवश्यक पोषण पुगेपछि बच्चाहरू स्वस्थ हुनुपर्ने हो । तर, त्यसो भएन, दुई वर्ष भित्रमा सबै बच्चा मरे । उक्त प्रयोगलाई संसारकै सबैभन्दा क्रूर प्रयोग पनि भनिन्छ । यसबाट पनि सिद्ध हुन्छ, बच्चा ‘सर्भाइभ’ हुन ‘टच’ को आवश्यकता पर्छ ।
बच्चा बामे सर्न थालेपछि ‘टच’ कम गर्दै जानुपर्छ । बच्चा जतिजति बामे सर्न थाल्छ, ‘टच’ उतिउति कम गर्दै जानु पर्छ । बामे सर्न थालेपछि उसको वृद्धि स्पर्शमा होइन, ‘एक्सन’ मार्फत हुन थाल्छ । बामे सर्न थालेपछि पनि उसलाई धेरै बोक्न थालियो भने ऊ कमजोर बन्छ । उसलाई बामे सराउन अर्थात् ‘एक्सन’मा जान अभिप्रेरित गर्नुपर्छ ।
बच्चा छ महिना हुँदासम्म मसाज गर्ने तथा काखमा राखिराख्नुपर्छ । हाम्रो समाजमा बच्चा काखे भयो भन्ने चलन छ । बच्चालाई छ महिनासम्म काखे नै बनाउने हो र छ महिनापछि यसलाई कम गर्दै लैजाने हो । छोटो भाषामा भन्दा छ महिनासम्म बच्चालाई ‘टच’ गर्ने हो भने छ महिनापश्चात् ‘वाच’ गर्ने हो ।
कतिपय बच्चा अग्लो ठाउँबाट खसेर घाइते हुने गरेका छन् । कस्ता बच्चा अग्लो ठाउँबाट खस्छन् भन्ने अनुसन्धान गर्दा के पाइयो भने जसलाई आमाबाबुले अग्लो ठाउँबाट खस्ने ‘एक्सपेरिमेन्ट’को अवसर दिँदैनन्, त्यस्ता बच्चाहरू अन्जानवश अग्लो ठाउँबाट खस्छन् । यदि खाटबाट, कुर्सीबाट बच्चा खस्यो र खस्दा के हुन्छ भन्ने बुझ्यो भने ऊ कौसीबाट वा सिँढीबाट खस्ने सम्भावना निकै कम हुन्छ । ठूलो–ठूलो जोखिमबाट बच्चालाई बचाउन सानो–सानो प्रतिकूल ‘एक्सपेरिमेन्ट’ गर्न दिनुपर्छ । हामीले के बुझ्नुपर्छ भने बच्चाले ‘एक्सपेरिमेन्ट’बाट मात्रै खास शिक्षा पाउँछ ।
हामीहरू बच्चालाई समाजअनुकूल बनाउने नाममा ‘एक्सपेरिमेन्ट’ गर्न दिँदैनौँ । यसो गर्, उसो नगर् भनेर उनीहरूको सिक्ने चाहना र इच्छालाई दमित बनाउँछौँ । हाम्रो आफ्नै कारणले बच्चाहरूले आमाबुबाप्रतिको भरोसा गुमाउन पुग्छन् । मैले पनि छोरी र छोरा हुर्काइसकेको छु । अहिले म जे भनिरहेको छु, आफ्नो अनुभवलाई नजिर राखेर भनिरहेको छु । एक पटक हाम्रो घरमा भोज थियो । भोजमा सासुससुरालगायत परिवारका सदस्यहरू उपस्थित थियौँ । त्यो बेलामा छोरी भर्खर दुई वर्षकी थिइन् । भोज भइरहेको बेलामा छोरी नजिकै आएर ‘पापा पिसाब गर्न मन लाग्यो, प्लेटमा गरिदिऊँ ?’ भनेर सोधिन् । मैले सहमति जनाएर प्लेट थापिदिएँ । त्यसले मेरी छोरीलाई मेरो बाबाले माया गर्नुहुन्छ भन्ने छाप प¥यो । म उनको नजरमा उनको सहयोगी बनेँ । जसजसले गाली गरे, उनीहरू उनको दुश्मन प्रतीत भए । मैले त्यस दिन प्लेट बचाउन खोजेको भए सायद छोरीले मप्रतिको भरोसामा शंका गर्थिन् । हामीले प्लेट बचाउने होइन, आफूप्रति सन्तानको भरोसा जगाउने हो । त्यस्तै एक पटक काभ्रेको नमोबुद्धमा पिकनिक थियो । पहाड देखेर छोराले ‘पापा मलाई यहाँ हाम्फाल्न मन लाग्यो’ भन्यो । छोराको कुरालाई मेरी श्रीमतीले नकार्नुभयो । तर, मैले सानो ढिस्कोबाट हाम्फाल्न दिएँ । छोरालाई सामान्य चोटपटक त लाग्यो । तर, उसले ‘एक्सपेरिमेन्ट’ गर्न पायो । मैले त्यसबेला श्रीमतीलाई ठट्टा गर्दै भनेको थिएँ, ‘हेर्नुस्, हड्डी त २ सय ६ वटा छन् र टुटेको हड्डी जोड्न पनि सकिन्छ । तर, दिल एउटा छ, टुट्यो भने जोड्न मुस्किल हुन्छ ।’ अहिले पनि छोरा र छोरीलाई मप्रति पूर्ण भरोसा छ । यदि आमाबाबुप्रति बच्चालाई भरोसा छ भने उसले कहिल्यै पनि बदमासी गर्न सक्दैन ।
अर्काे महŒवपूर्ण कुरा के हो भने हामी बच्चालाई अनुशासित बनाउन खोज्छौँ । अनुशासन भनेको आफूले आफैँलाई शासन गर्नु हो । तर, हामी अनुशासनको नाममा बच्चामाथि शासन गर्न खोज्छौँ । आफूमाथि आफैँले शासन गर्न अनुभवबाट मात्र सम्भव छ । बच्चा अनुशासित नहुनमा आमाबाबु नै दोषी हुन् । जब हामी बच्चालाई आफूअनुकूल बनाउन खोज्छौँ, तब बच्चाले अनुशासन भंग गरेको देखिन्छ । तर, हामी बच्चाअनुकूल आफू भइदियौँ भने उसले अनुशासन भंग गर्न सक्दैन । बच्चालाई हामीले समय दियौँ भने ऊ अनुशासित रहन्छ । बच्चालाई घुमाउन लैजानुस्, ऊसँगै उसका उमेरसुलभ खेलहरू खेल्नुस् वा उसले चाहेका हरेक कुरामा आफू सहभागी बन्नुस् । यस्तो भयो भने उसले अनुशासन भंग गर्दैन । यदि यसरी समय दिन सकिँदैन भने बच्चा जन्माउनुको कुनै अर्थ छैन । समय दिन नसक्ने आमाबाबुले आफूले सन्तान जन्माए पनि त्यो सन्तान आफ्नो बन्दैन, अर्कैको बन्छ । जसको परिणाम, नेपाली समाजमा छोरो जन्मे बुहारीलाई र छोरी जन्मे ज्वाइँलाई भन्ने कहावत प्रचलनमा आएको हो ।
चौबीस घण्टामध्ये हामीले आठ घण्टा सुत्नका लागि छुट्याउनुपर्छ । बाह्र घण्टा कमाउनलाई, दुई घण्टा बिहानको समय आफ्ना लागि र दुई घण्टा बेलुकाको समय सन्तानका लागि दिनुपर्छ ।
बाह्र वर्षसम्म बच्चाको चेतन मन चल्दैन । अवचेतन मन मात्र चल्छ । ‘कन्सस माइन्ड’ नचल्नु भनेको उनीहरूले तर्क गर्न नसक्नु हो । जसले गर्दा उनीहरू जिद्दी गर्छन् । खास गरी सात वर्षसम्म उनीहरूलाई कुनै पनि कुरा सहज रूपमा बुझाउन सकिँदैन ।  यो कुरा आमाबाबुले बुझ्नुपर्छ र सोही अनुरूप बच्चालाई व्यवहार गर्नुपर्छ ।
(ईश्वर दाहालसँगको कुराकानीमा आधारित)

 

Leave A Comment