क्रिकेटको शहरमा क्रिकेट मेला

बिहिबार, २१ बैशाख २०७४, ०२ : ४६ सुजन श्रेष्ठ , Kathmandu
क्रिकेटको शहरमा क्रिकेट मेला

क्रिकेटको शहर, धनगढी । यही अभियानमा जुटेका छन् सुवास शाहीलगायत टिम । सोही टिम सम्मिलित धनगढी क्रिकेट एकेडेमीले केही दिनअघि मात्र सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) सफलतापूर्वक सम्पन्न गरेको छ ।
क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान) आन्तरिक विवादमा छ । विवादकै कारण अन्तर्राष्ट्रिय क्रिकेट संघ (आईसीसी)ले क्यानको सदस्यता निलम्बन गरेको छ । यस्तो अवस्थामा सरकारी निकायबाट क्रिकेट गतिविधि शून्यप्रायः छ । निजी क्षेत्रबाट भने केही छोटो स्वरूपको ट्वान्टी–२० क्रिकेट प्रतियोगिता भइरहेका छन् । यतिबेला यसैले नेपालको क्रिकेट धानेको छ भन्दा पनि फरक पर्दैन । यस्तै, निजी क्षेत्रकै पहल हो, डीपीएल ।
तर, यसले प्रतियोगिताहरू माझ आफूलाई फरक ढंगले उभ्याउने प्रयास गरेको छ । छ शहरका फ्रेन्चाइजी क्लबले प्रतिस्पर्धा गरेको प्रतियोगितामा टोलीहरूले राष्ट्रिय स्तरमा पहिलो पटक बोलकबोल (अक्सन)बाट खेलाडी किने । सुदूरपश्चिमको शहर धनगढी, त्यही पश्चिमबाट अस्ताउँछ सूर्य पनि तर क्रिकेट भने त्यहीबाट उदाउने प्रयासमा छ ।
सात वर्षअघि सुरु भएको एसपीए कप र धनगढी प्रियिमर लिगलाई मर्ज गरेर आयोजकले यो वर्षदेखि धनगढी प्रिमियर लिग आयोजना गरेको हो । अब यही डीपीएललाई विस्तृत स्वरूपमा लैजाने योजनामा छन्, आयोजक धनगढी प्रियिमर लिगका अध्यक्ष सुवास शाही ।
‘२०१० मा एसपीए कप गर्दा भर्खर सुरुवात गरेका छौँ जस्तो लाग्थ्यो अहिले पनि हामी सुरुवाती चरणमै छौँ जस्तो लाग्छ,’ अध्यक्ष शाहीले भने, ‘यो सुरुवात हो । गर्न बाँकी धेरै काम छन् । ‘ड्रिम फाप्ला’ परियोजना छ । अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने । यही प्रतियोगितालाई बिस्तारै यसलाई होम एन्ड अवे स्वरूपमा लैजाने योजना छ ।’
राष्ट्रिय टोलीका कप्तान पारस खड्काले पनि खेलाडीको प्रतिभा प्रस्फुटनका लागि यो प्रतियोगिता महत्वपूर्ण रहेको बताए । ‘सीमित साधन स्रोतमा यति ठूलो प्रतियोगिता यहाँ भइरहेको छ । खेलाडीहरूका लागि यो राम्रो अवसर हो,’ पारसले भने, ‘नेपाली क्रिकेटमै यसको आफ्नै महत्व छ । खेलाडीहरूले आफूलाई प्रमाणित गर्ने राम्रो मञ्च पाएका छन् । आगामी दिनमा अझ राम्रो हुने अपेक्षा गरौँ ।’

मेहनती चौराहा टिम
समूह चरणमा पहिलो तीनमा खेलमा लगातार हार बेहोरेपछि पारस खड्का कप्तान रहेको धनगढी टिम चौराहा करिब–करिब प्रतियोगिताबाट बाहिरिने संघारमा थियो । तर, समूह चरणका खेल सकिँदै गर्दा बनेका अंक गणितीय समकीरणले पारसको टोलीलाई प्लेअफमा पुर्यायो । त्यति बेलासम्म लय समातिसकेको टिम चौराहा प्लेअफमै सीमित बनेन डीपीएलको पहिलो संकरणमा उपाधि उचाल्ने टिम बन्यो ।
विराटनगर किङ्स, कञ्चनपुर आइकोनिक र सिवाइसी अत्तरियासँग पराजित भएपछि चौराहाका लागि बाँकी सबै खेल फाइलनसरह बनेको थियो ।  चौथो खेलमा काठमाडौँ गोल्डेन्सलाई पराजित गरेपछि बनेका समीकरणले चौराहाको प्लेअफ आशा जीवित बन्यो । चौराहालाई समूह र चरण पार गर्न रूपन्देहीविरुद्धको अन्तिम खेलमा जीत मात्र पर्याप्त थिएन । अत्तरिया र कञ्चनपुरबीचको नतिजा पनि कुर्नुपर्ने थियो । कञ्चनपुरले जितेसँगै अत्तरिया रन रेटका आधारमा प्रतियोगिताबाट बाहिरियो । त्यही खेल यदि अत्तरियाले जितेको भए रूपन्देहीविरुद्ध चौराहाको हारजितले कुनै अर्थ राख्दैनथ्यो ।
कञ्चनपुरको जीतसँगै चौराहालाई प्लेअफमा स्थान बनाउन रूपन्देहीलाई फराकिलो अन्तरमा हराउनुपर्ने दबाब थियो । टस जितेर ब्याटिङ गरेको रूपन्देहीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९१ रन बनायो । त्यसपछि पारसको टोलीलाई प्लेअफमा पुग्न ९२ रनको लक्ष्य १४.३ मा पूरा गर्नुपर्ने थियो । पारसको कप्तानी इनिङसँगै चौराहाले ११ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्दै प्लेअफमा स्थान सुरक्षित गर्यो ।
पहिलो प्लेअफमा काठमाडौँ गोल्डेन्सलाई ६ विकेटले पराजित गरेको चौराहाले दोस्रो प्लेअफमा रूपन्देहीमाथि ९२ रनको विजय हासिल गर्दै फाइनलमा विराटनगरसँगको भेट पक्का ग¥यो । युवा खेलाडी आरिफ शेखको अलराउन्ड प्रदर्शनले चौराहाले विराटनगरलाई ६२ रनले हराउँदै उपाधि उचाल्यो ।
‘खेलाडीहरूले मेहनत गरे । चाहिएको समयमा उनीहरूले राम्रो प्रदर्शन गरे । जुन उत्सुकताका साथ उनीहरूले खेले त्यसको परिणाम हामी उपाधि जित्न सफल भएका छौँ,’ पारसले भने ।
उत्साही दर्शक
फाइनल खेल । ११ बजेको समय । घरेलु मैदान घरेलु टिम ।  विराटनगरविरुद्ध घरेलु टोली धनगढी टिम चौराहा । दर्शकका लागि बनाइएको प्यारापिट पहेँलो जर्सीले भरिभराउ थियो भने मैदानका अन्य भाग पनि खाली थिएनन् । फाइनल खेलमा रंगशाला दर्शकले भरिभराउ थियो ।  
घरेलु प्रतियोगितामा राजधानीमै पनि दर्शक उपस्थिति बाक्लो हुने गर्दैन । सेती अञ्चल प्रहरी कार्यालयको क्रिकेट मैदानमा माहोल बेग्लै थियो । लाग्थ्यो त्रिवि मैदानमा नेपालले कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ । दर्शकको उपस्थतिबारे आयोजक धनगढी एकेडेमीका सौरभ ओझाले भने, ‘अहिले विभिन्न कारणले हाम्रो प्रतियोगिता निर्धारित समय तालिकाभन्दा पर सर्यो । त्यसैले यो गर्मी समयमा समूह चरणका खेलमा सोचेजस्तो दर्शक उपस्थिति रहेन । नभए फाइलन जति उपस्थित भए त्यतिनै संख्यामा दर्शकको उपस्थिति प्रत्येक खेलमा हुनेथियो ।’
टिम चौराहाले उपाधि जितेपछि प्यारापिटमा रहेका मैदानभित्र छिरेर खेलाडीसँग खुशी बाँड्न थाले । मैदानमा उत्रिएको भीडबाट खेलाडीलाई जोगाउन आयोजकलाई पनि केही बेर हम्मेहम्मे परेको थियो । उपाधि ट्रफी उचालेपछि टिम चौराहाका खेलाडीलाई गाडीमा राखेर बाजागाजासहित बजार परिक्रमा गरिएको थियो ।
विराटनगरका कप्तान शरद भेषावकरलाई पनि काठमाडौँपछि सबैभन्दा राम्रो माहोल धनगढीकै लाग्छ । उनले दर्शकबारे भने, ‘काठमाडौँ पछि क्रिकेट खेल्न सबैभन्दा राम्रो अनुभव हुने यही हो । धनगढी क्रिकेटको शहरका रूपमा विकास हुदैछ । त्यसैले पनि यहाँ दर्शकको उपस्थति राम्रो हुने गर्छ ।’

स्पिनर चलेको पिच
सेती अञ्चल प्रहरी कार्यालयको क्रिकेट मैदानमा भएको धनगढी प्रिमियर लिगमा स्पिन बलर हाबी भए । सबैभन्दा धेरै विकेट लिने शीर्ष पाँच खेलाडीको सूचीमा पाँचजना स्पिनर सामेल छन् ।
सात इनिङमा १७ विकेट लिएर शीर्ष स्थानमा रहेका विराटनगर किङ्सका सुशील कँडेल प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए । अपेक्षा गरिएभन्दा फरक सानो स्कोर बनेको उक्त पिचमा स्पिनरका लागि उपयुक्त साबित भयो । स्पिनरमा पनि युवा स्पिनर धेरै सफल भए । ‘यो विकेट पनि स्पिनरका लागि सहयोगी छ,’ विराटनगरका सुशीलले भने, ‘त्यसैले यसमा स्पिन बलर सफल भए ।’
रूपन्देहीका लागि सात इनिङबाटै १६ विकेट लिएका अर्का शाहब आलम दोस्रो स्थानमा रहे भने रूपन्देहीकै कृष्ण कार्की तेस्रो स्थानमा छन् । कृष्ण भने मध्यम गतिका बलर हुन् । चौथो स्थानमा रहेका विराटनगरका स्पिनर सन्दिप लामिछानेले १२ विकेट लिए भने समान १२ विकेट लिएका टिम चौराहाका स्पिनर ललित राजवंशी पाँचौ स्थानमा छन् ।

ब्याटिङमा पारस नै अघि
खराब सुरुवात गरेको धनगढी टिम चौराहाका कप्तान पारस खड्का सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन् । दुई खेलमा शून्यमा आउट भए पनि पारसले प्रतियोतिगितका आठ इनिङमा १ सय ७५ रन जोडे । एक अर्धशतक पूरा गरेका पारसले १७ चौका र ९ छक्का प्रहार गरेका थिए । धनगढीकै आरिफ शेख धेरै रन बनाउने खेलाडीको दोस्रो स्थानमा छन् । दुई अर्धशतक पूरा गरेका आरिफले १५ चौका र ९ छक्का प्रहार गरे । धनगढीकै अनिल मन्डल १ सय ५१ रन बनाएर तेस्रो स्थानमा रहँदा छ इनिङमा १ सय ४७ रन जोडेका विराटनगरका कप्तान शरद भेषावकर चौथो स्थानमा छन् । १ सय ४० रन जोडेका रूपन्देहीका प्रकाश केसी पाँचौ स्थानमा छन् ।

 

Leave A Comment