ओशोका माली थिए विनोद

बिहिबार, २१ बैशाख २०७४, ०२ : ४० शुक्रवार , Kathmandu
ओशोका माली थिए विनोद

गत साता बलिउड अभिनेता विनोद खन्नाको ७० वर्षको उमेरमा निधन भयो । उनी ब्लड क्यान्सरपीडित थिए ।
बलिउडका लोकप्रिय कलाकार थिए, विनोद । उनका लाखौँ प्रशंसक थिए । सफलताको चुलीमा हुँदा अचानक उनले सन्न्यास लिए । त्यतिखेर अमिताभ बच्चन र विनोदको जोडी खूब जमेको थियो । यो जोडीले बलिउडलाई थुप्रै सुपरहिट फिल्म दिएको थियो । भनिन्छ, यदि विनोदले सन्न्यास नलिएका भए उनी पनि अमिताभजस्तै बलिउडका महानायक हुन्थे ।
रजनीश ओशोबाट प्रभावित भएर उनी पुणे आश्रममा गइरहन्थे । उनी आफ्ना कतिपय फिल्मको सुटिङ सेड्युलसमेत पुणेमै राख्ने गर्थे । सन् १९७५ मा उनले घरबार, करिअर सबै छोडेर ओशोको भक्त बन्ने निर्णय गरे । उनको त्यो निर्णयले सबैलाई तीनछक पारेको थियो । सन्न्यास लिएपछि उनी चार/पाँच वर्षजति फिल्मी संसारबाट टाढिए । उनी ओशोका अत्यन्त निकट थिए । ओशोको आश्रममा उनलाई ‘सेक्सी सन्न्यासी’ भनिन्थ्यो ।
ओशोका पुणे आश्रममा विनोद लामो समयसम्म रहे । ओशोसँग जोडिएपछि उनले आफ्ना सयौँ जोर सुट, कपडा, जुत्तालगायत अन्य सामान दान दिए । सुरुमा उनले गेरु रङको पहिरन लगाए भने पछि आश्रमले निर्धारित गरेको कलेजी पहिरन लगाए ।
त्यसपछि उनी ओशोसँग अमेरिका गए । उनी ओशोको व्यक्तिगत बगैँचाका माली थिए । आश्रममा बस्दा उनले जुठा भाँडा माझे र शौचालयसमेत सफा गरे । अमेरिकी सरकारले ओशोको आश्रम बन्द गरेपछि उनी भारत फर्किए ।
एकताका परिवारलाई समय दिनका लागि विनोद आइतवार काम गर्दैनथे । यसो गर्ने उनी शशि कपुरपछि दोस्रो कलाकार थिए । तर, ओशोबाट प्रभावित भएर उनले आफ्नो पारिवारिक जीवन अव्यवस्थित बनाए । सन्न्यासको मोह भंग भएपछि विनोद फेरि सांसारिक जीवनमा फर्किए । तर, त्यतिबेलासम्म उनकी श्रीमतीले सम्बन्ध विच्छेद गर्ने निधो गरिसकेकी थिइन् । सन् १९८७ मा फिल्म ‘इन्साफ’ बाट उनी बलिउडमा फर्किए ।
अध्यात्मप्रति बाल्यकालदेखि नै उनको गहिरो लगाव थियो । सातआठ वर्षको उमेरमै उनी साधुहरूसँग हिँड्ने गर्थे । यही लगावले उनलाई पछि ओशोसम्म पुर्याएको थियो ।

Leave A Comment