नाकको काम कानले कसरी गर्न पाउँछ ?

शनिबार, १८ असार २०७३, ०३ : ११ डा. बलदेव शर्मा अधिकारी , Kathmandu
नाकको काम कानले कसरी गर्न पाउँछ ?

नाकको काम कानले र कानको काम चाहिँ नाकले गर्नु अनि नामलाई विशेषण र विशेषणलाई नाम मान्नु उत्तिकै मूर्खता होला । देशबाट गरीबी हटाउने एक जना नेताजीको प्रतिबद्धता सुनेर एक जना श्रोताले निधार मुज्याउँदै, “लौ हेर, यो त धनीको नेता पो रहेछ । गरीबी जतिलाई देशबाट निकाल्ने कुरो पो गर्छ । यस्तालाई पनि भोट दिने ? म त दिन्नँ बा !” भनेको सुनियो । भाषिक अज्ञानताले यस्तोसम्म गर्छ ।
नेपाली भाषामा अति प्रचलित शब्दहरूको प्रयोग गर्दा लटरपटर गर्नेहरूमा अचेल शिक्षितहरू पनि पर्दछन् । ‘उसले रोजगारी पायो । ऊ रोजगार भयो । नेपालीहरू रोजगारीको खोजी गर्दै विदेश गएर रोजगार भएका छन् । बलभद्रले बहादुरी देखाए । बलभद्र बहादुर थिए । म गरीब छु । मलाई गरीबीले सतायो । म इमानदार हुन चाहन्छु । इमानदारी मेरो धर्म हो । नेपाल प्रहरीका प्रायः सबै सदस्यहरू बफादार रहेछन् भन्ने कुरा भूकम्पपीडितहरूको उद्धारका क्रममा प्रहरीहरूले देखाएको बफादारीबाटै स्पष्ट भएको छ । अरबी देशका अमीरहरू आफ्नो अमीरी लुकाउन चाहँदैनन् । तिनीहरू आफ्ना रिश्तेदारहरूसँग रिश्तेदारी निर्वाह गर्न पनि पछि पर्दैनन् । दोस्तहरूसँग दोस्ती गाँसिरहन्छन् । नेपालका सबै उच्च पदस्थहरूले राम्रोसित जिम्मेवारी निर्वाह गरिदिएको भए देशको अनुहार अर्कै भइसक्थ्यो । उच्चपदस्थहरू अपेक्षा गरिएझैँ जिम्मेवार हुन सकेनन् । म नेपाली भाषाका निम्ति प्राण दिन तयार छु । मैले नेपाली भाषाका निम्ति प्राण दिने तयारी गरेको छु ।’ यसरी खाडी देशतिरबाट भारत हुँदै नेपाली भाषामा ससम्मान प्रवेश गरेका आगन्तुक विशेषण वा जातिवाचक नामशब्दहरूमा ‘दीर्घ ई’ प्रत्यय थपिदिँदा ती शब्दहरू भाववाचक नाममा परिणत हुँदा रहेछन् ।
माथि प्रयोग गरिएका ‘गरीबी, रोजगारी, बहादुरी, इमानदारी, बफादारी, अमीरी, रिश्तेदारी, दोस्ती, जिम्मेवारी, तयारी’ भाववाचक नाम शब्द हुन् ।   
 ‘भक्ति गर्न सकिनँ त्यसैले म भक्त भइनँ । मसँग बुद्धि छैन अतः म बुद्ध होइन । मेरो लेखाइमा शुद्धि छैन । मेरो लेखाइ शुद्ध छैन । सिद्धि नपाएकै कारण तिमी सिद्ध होइनौ । पहिले सिद्धि प्राप्त गर त्यसपछि सिद्ध भइहाल्छौ । समृद्धि नभएकै कारण हामी नेपालीहरू समृद्ध छैनौँ । शारीरिक वृद्धि हुन छोड्दैमा वृद्ध भइन्छ र ! कुनै पनि सफलताको प्राप्तिका लागि हृदयदेखि नै प्रयत्न गरिनुपर्छ । सफलता अवश्यमेव प्राप्त हुनेछ ।’   
माथि प्रयोग गरिएका ‘भक्ति, बुद्धि, शुद्धि, सिद्धि, समृद्धि, वृद्धि र प्राप्ति’ भाववाचक नाम शब्द हुन् । ती सबै शब्दहरू जननी भाषा संस्कृतबाट जस्ताको तस्तै नेपाली भाषामा प्रयोग गरिएका हुन् । मूल धातुमा ह्रस्व इकारान्त ‘ति, टि, धि’ प्रत्यय लागी बनेका संस्कृत शब्दहरू भाववाचक नाममा पर्दछन् । उपर्युक्त भाववाचक नाम–शब्दबाहेकका अन्य शब्दहरू विशेषण वा नामस्थानिक प्रयोग गरिन्छन् ।    
 उपर्युक्त उदाहरणलाई राम्ररी प्रयोग गर्न सक्नुभयो भने तपाईंलाई भ्रमले छुन सक्ने छैन । कृपया, तपाईंले गर्नुभएको शब्दको प्रयोग उचित ठाउँमा हुन सक्यो भने मात्रै तपाईंको विजय हुन सक्नेछ । बिसुरमा शब्दब्रह्मको प्रयोग नगरिदिनुहोला ।

 

Leave A Comment