कपाल झर्ने समस्या बढ्दो

आइतबार, १७ बैशाख २०७४, ०२ : ०७ शुक्रवार , Kathmandu
कपाल झर्ने समस्या बढ्दो

विज्ञहरूले तनाव, प्रदूषण, खानपान, उचित पोषणको अभाव, रसायनको अत्यधिक प्रयोगका कारण कपाल झर्ने समस्या बढिरहेको औँल्याएका छन् । धुलिखेल अस्पताल, छाला रोग विभागद्वारा विदेशी विशेषज्ञ चिकित्सकको सहभागितामा आयोजित कपाल पुनःस्थापनासम्बन्धी कार्यशालामा विशेषज्ञहरूले कपालको उचित स्याहारसम्भार गर्न नसक्दा तालु खुइलिने समस्या बढिरहेको बताए ।
दिनहुँ ५० देखि सय वटासम्म कपाल झर्नु सामान्य हो । तर, टाउकाको छाला नै देखिने गरी कपाल झर्नु तालुपनाको समस्या भएको चिकित्सक बताउँछन् ।
चोटपटक वा तनावले समेत नेपालीको कपाल झरिरहेको धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्ण बताउँछन् । ‘टेलोजेन एफयुवियम’ भनिने यो प्रक्रियाअन्तर्गत लामो समयदेखि मानसिक तनाव, उच्च ज्वरो, संक्रमण, शल्यक्रिया आदिले गर्दा कपाल झर्ने गरेको डा. कर्ण बताउँछन् । उनका अनुसार डेढ वर्षयता धुलिखेल अस्पतालमा करिब पाँच सयभन्दा बढी व्यक्तिले कपाल प्रत्यारोपण गराएका छन् ।
चिकित्सकका अनुसार थाइराइडका कारणले समेत कपाल झर्ने समस्यामा वृद्धि भइरहेको छ । डा. कर्णका अनुसार मधुमेह रोगका कारणसमेत कपाल झर्ने गरेको छ । यो रोगमा कपालको जरामा रगतको आपूर्ति काम हुन्छ ।
विभिन्न रोगको संकेतका रूपमा पनि कपाल झर्छ । थाइराइड, एनिमियालगायत करिब ३० वटा रोगमा कपाल झर्न थाल्ने स्किन इनोसेन्स, दिल्लीका डा. सिद्धार्थ सोन्थालिया बताउँछन् । उच्च कोलेस्ट्रोल, आयरन मेटाबोलिज्मले पनि कपाल झर्ने समस्या देखापर्ने चिकित्सक बताउँछन् ।
कोलेस्ट्रोल, उच्च रक्तचाप, मधुमेहको उपचारमा प्रयोग गरिने औषधिहरूका कारण पनि कपाल झर्ने पटना मेडिकल कलेज, भारतका डा. अभिजीतकुमार झा बताउँछन् । कपालमा स्प्रे, क्रिम, जेल आदिको प्रयोग सकेसम्म घटाउनुपर्ने चिकित्सक बताउँछन् । कपाल रंग्याउने तथा पर्म गर्नाले पनि कपाल झर्छ । विज्ञहरूका अनुसार कपाल झर्न सुरु गरेपछि बेलैमा उपचार गर्न सकेमा तालु हुने समस्याबाट जोगिन सकिन्छ । कपाल झरेर तालु भएकाहरूले कपाल प्रत्यारोपण गरेर तालुपनाको स्थायी समाधान पाउन सकिने कपाल प्रयारोपण गर्ने चिकित्सकहरू बताउँछन् ।

 

Leave A Comment