‘गोजीमा पाँच सय भए पुग्छ’

शनिबार, १६ बैशाख २०७४, १२ : ४८ शुक्रवार , Kathmandu
‘गोजीमा पाँच सय भए पुग्छ’

बा.१ ज ६०४३
रमेश तामाङ

गुरुजी, आरामै हुनुहुन्छ ?
एकदमै ठीक छु ।
निकै खुशी देखिनुहुन्छ नि ?
म त जहिले नि यस्तै हो । दुःखी भएर के काम ? दुई दिनको जिन्दगी मरिलानु के छ र ?
घर कता पर्यो ?
हेटौँडा, मकवानपुर ।
कुन रुटमा चलाउनुहुन्छ ?
बौद्ध–जोरपाटी–रत्नपार्क ।
सानो माइक्रो चलाएको कति वर्ष भयो ?
भयो आठ–नौ वर्षजति ।
गाडी आफ्नो कि साहूको ?
साथीको हो । साहू नै मानौँ न ।
आम्दानी कस्तो छ ?
यो भनेको बौलाहा कमाइ हो  । कहिले हुन पनि सक्छ । कहिले नहुन पनि सक्छ । कोही बेला चार–पाँच हजार पनि कमाइन्छ । कोही बेला पाँच सय कमाउन पनि गाह्रो छ ।
सन्तुष्ट त हुनुहुन्छ नि ?
सन्तुष्ट त छु । कमाइको ठेगान नहुने मात्र भन्न खोजेको । तर, ड्राइभर भन्नुबित्तिकै अरूले हेप्छन् ।
हेप्छन् भन्नाले ?
गल्तीले दुर्घटना हुँदा मान्छेहरू लर्को लागेर कुट्न आउँछन् ।
हर्न बजाउन नपाउने नियम कत्तिको पालना गरिरहनुभएको छ ?
नियम त पालना गर्नुपरिहाल्यो नि । तर, कस्तो–कस्तो लागिरा’छ । मान्छे अन्धाधुन्ध बाटो काट्छन् ।  ठाउँ–ठाउँमा बाइकले डिस्टप गर्छन् । अब झ्यालबाट निस्केर कराउन मिलेन । हल्का त बजाउनैपर्यो । नियम पालना गरूँ भन्दा पनि बाध्यताले चुकिन्छ ।   
धेरैको विदेश जाने सोच हुन्छ । तपाईंको चाहिँ छ कि छैन ?
नेपालमै कमाइएको छ । यहाँ आफ्नो परिवारसँग आनन्दले बस्न पाइएको छ  । त्योभन्दा के चाहियो र ? यहीँ नै हाइसुख छ मलाई ।
यो पेशामा कसरी लागियो ?
सानो माइक्रोमा तीन वर्षजति सहचालक भएर काम गरेँ । त्यसपछि डाइभर भइयो ।
ड्राइभर भएको कति वर्ष भयो ?
भयो १२–१३ वर्षजति ।
गीत–संगीत कत्तिको सुन्नुहुन्छ ?
मलाई म्युजिक त चाहिन्छ । यसो निद्रा लागेको बेला म्युजिकले निद्रा भगाउँछ । प्यासेन्जरलाई पनि रमाइलो हुन्छ ।
फिल्ममा रुचि छ कि छैन ?
खासै हेरिँदैन ।
फुर्सदमा मनोरञ्जनका लागि के गर्नुहुन्छ ?
फुर्सदै कम हुन्छ । गाडी चलाउँदा मोबाइलमा बोल्दिनँ । कहिलेकाहीं मन छुने गीत, देशप्रेमका गीत सुन्छु । बरु, बेलुका टीभीमा देशका खबर हेर्छु र बिहान सबै पत्रपत्रिका पढ्छु ।
यो पेशामा कस्ता समस्या छन् ?
पाइलापाइलामा चुनौती र समस्या छन् ।
दुःख कत्तिको छ यो क्षेत्रमा ?
दुःखसुख दुवै छ । भनेको समयमा खान पाँइदैन ।
ट्राफिक नियम उल्लंघन गर्नेलाई जरिवाना बढेको छ ? के भन्नुहुन्छ ?
आफू सही हुनुपर्यो । आफू ठीक भए जतिसुकै बढाए पनि केही हुँदैन ।

जीवन के रहेछ ?
के भन्नु ? यही त हो जीवन । धेरै कमाउने आश पनि छैन । गोजीमा पाँच सय भए जीवन सुखी भइहाल्छ ।
 प्रस्तुतिः रचना

 

Leave A Comment