मेसीको सन्न्यास

शनिबार, १८ असार २०७३, ०३ : ०५ ईश्वर दाहाल , Kathmandu
मेसीको सन्न्यास

मेसीको प्रहार मिस भएपछि संसारका फुटबलप्रेमीहरू हैरान भएका छन् । झन् मेसीले अन्तर्राष्ट्रिय फुटबलमा सन्न्यासकै घोषणा गरेपछि त फुटबलमार्गीहरू शोकाकुल भएका छन् । यस्तो लाग्छ– सिंगो विश्व शोकमय छ । मेसीको बल मिस हुनुसँगै संसारको लय भत्किएको छ । संसारले उमंग र उत्साह गुमाएको छ । भयंकर कष्टकर समयमा विश्व प्रवेश गरेको छ ।
सिरियाको आकाश बमको धुवाँले ढाक्नु पीडाको समाचार होइन । इराकका नानीहरूको स्कुल भत्कनु एक स्वाभाविक प्रक्रिया हो । सिंगो अरब रगतमा पौडनु के नै आश्चर्य हो र ? अफ्रिका अभाव र महामारीमा पिल्सनुसँग संसारको के लेनादेना ? मन्दी र बेरोजगारीले युवाहरूको सपना हराउनु कुन चाहिँ महŒवपूर्ण विषय हो र ? साँच्चै केही महŒवपूर्ण हो भने टाइब्रेकरमा मेसीको बल मिस हुनु हो । दुःख मान्नुपर्ने केही छ भने मेसीको सन्न्यास समाचारमा छ ।
मेसीहरू महान् हुन् । यो निर्विवाद छ । संसारको श्रम र पसिना निचोरेर शक्तिशाली भएकाहरूलाई हैरान बनाउने यिनै मेसीहरू हुन् । यसमा कुनै दुई मत छैन । हाफ जाँगे लगाएर मैदानमा कौशल देखाउने मेसीहरूले नै क्षेप्यास्त्र र एटोमिक पावरका मालिकहरूलाई कुरीकुरी बनाएका छन् । त्यसैले त मेसीहरू सबैका प्रिय छन् ।
मेसीको सन्न्यासले नेपाली फुटबलप्रेमीहरू पनि मर्माहत भएका छन् । सन्न्यास घोषणाको अनिष्ट खबर नेपाली फुटबलप्रेमीले सामाजिक सञ्जालमार्फत अभिव्यक्त गरिरहेका छन् । मेसी निर्णय नेपाली फुटबलप्रेमीका लागि सबैभन्दा दुःखको खबर हो । यस्तो लाग्छ, यो हदसम्मको दुःखद खबर फुटबल संसारमा कहिल्यै आउनेछैन ।
मेसीलाई टेलिभिजनमार्फत चिन्ने धेरै नेपाली सन्न्यास खबरले दुःखी भएका छन् । हामी नेपालीको स्वभाव नै भावुक छ । अतिथिलाई देवता समान मान्ने हामीहरूलाई वरत्रकोले भन्दा परत्रकोले छुन्छ । नेपालको कुनै खेलाडी उपचार अभावमा छट्पटाइरहेको समचारले हामीलाई खासै संवेदनशील बनाउँदैन । देशको खेलकुदको वृदि र विकासमा आफ्नो बैँस अर्पित गरेको खेलाडी एकाएक गुमनाम भयो भने हामी खोजीनिती गर्दैनौँ । किनकि, हाम्रो हृदय परोपकारी छ । जसले गर्दा आफ्नो दुःखले भन्दा अर्काको दुःखले दुखाउँछ । हामी आफ्नाहरूको दुःखमा दुःखी हुन पनि आफन्तहरू पराया भूमिमा गएर मारिनुपर्छ । कर्णालीको दीनहीन नागरिक सिटामोल नपाएर मर्दा हामीलाई खासै नौलो लाग्दैन । अभाव, गरिबी र रोगले हजारौँ नेपालीहरू अल्पायुमै स्वर्गे हुँदा हाम्रो मुटु पोल्दैन । हाम्रो दिल दुख्न त नेपालीहरू इराकमा गएर मारिनुपर्छ । अफगानस्तिानमा गएर बमको शिकार हुनुपर्छ । आफ्नै देशमा, आफ्नै आँखाअगाडि, आफ्नै छिमेकी अन्याय वा अभावले पीडित भयो भने हामी कुनै मतलब गर्दैनौँ ।  

एकातिर एकथरीसँग मेसी निर्णयले निम्त्याएको भावकुता र प्रेम छ । अर्काेतिर असहमति र आक्रोश पनि छ । आक्रोशित हुनेहरूलाई मेसीको सन्न्यास निर्णय हजम भएको छैन । उनीहरूका दृष्टिमा मेसीले सन्न्यास लिन मिल्दैनथ्यो । दुइटा फाइनलमा चुक्दैमा सन्न्यास लिने निर्णय गर्नु कुनै पनि अर्थमा तर्कसंग होइन । भावुकता मात्र हो । खेलकुदमा भावुकताको कुनै अर्थ छैन । नेता पौडेललाई मेसीको सन्न्यास निर्णय पटक्कै मन परेको छैन । सत्रसत्र पटक राष्ट्रिय फाइनलमा पराजित भएर पनि पौडेलले मैदान छाडेका छैनन् । सन्न्यास लिएका छैनन् । अझ भनौँ, सन्न्यास लिने सोच नै बनाएका छैनन् । मेसी त क्लब फुटबलमा सधँै सफल छन् । तर, पौडेलले त क्लबको फाइनलमा समेत पराजय बेहोरे । राष्ट्रिय फाइनल र क्लबमा समेत पराजित हुँदा त पौडेल मैदानमै छन् भने मेसी त राष्ट्रिय टिममा मात्र असफल भएका हुन् । यस्तो अवस्थामा पौडेललाई मेसीको निर्णय मन नपर्नु स्वाभाविकै हो ।
कमरेड अध्यक्षलाई पनि मेसीको निर्णय ठीक लागेको छैन । दुई दशकभन्दा बढी क्याप्टेन भइसकेका अध्यक्ष कमरेडले अझै पनि कप्तानी छाड्ने सोच बनाएका छैनन् । सत्तरीको संविधानसभामा पार्टीले क्वार्टर–फाइनलसमेत पार गर्न सकेन । तैपनि, अध्यक्ष कमरेडले कप्तानी छाड्ने वा सन्न्यास लिने निर्णय गरेनन् । आफ्नै कप्तानीमा फाइनल जित्ने सोचका साथ अझ भव्य टिम निर्माण गरिरहेका छन् । अध्यक्ष कमरेडलाई लाग्दो हो, पार्टीले फाइनल जित्नका लागि उनकै कप्तानी आवश्यक छ । आफूभन्दा बाहेकको नेतृत्वले पार्टीलाई फाइनलसम्म नै पु¥याउन सक्दैन । जे होस्, हाम्रा अध्यक्ष कमरेड दुइटा फाइनल हार्दैमा मैदान छाड्ने निर्णय गर्ने मेसीजस्ता कमजोर छैनन् । हार जति होस्, उनी मैदान छाडेर भाग्ने छैनन् ।
वरिष्ठ कमरेड नेपाल चाहिँ मेसी निर्णयसँग अर्धसहमत छन् । किनकि, चौसट्ठीको चुनावमा पार्टीले लिग चरणमै पराजय बेहोरेपछि वरिष्ठ कमरेडले कप्तानी छाड्ने निर्णय गरेका थिए । तर, अहिले उनी फेरि कप्तानी सम्हाल्ने सोचका साथ मेहनत गरिरहेका छन् । विश्वभरिका मेसीका फ्यान मेसीले आफ्नो सन्न्यास निर्णय फिर्ता लिनुपर्छ भनिरहेका छन् । वरिष्ठ कमरेड पनि मेसीको सन्न्यास फिर्ताकै पक्षमा छन् । शाहिद अफ्रिदीले पनि सन्न्यास फिर्ता लिएकै हुन् । मेसीले पनि अफ्रिदीको नजिरमा टेकर सन्न्यास फिर्ता लिनुपर्छ भन्ने वरिष्ठ कमरेडको ठहर हो ।
संयोजक अर्थात् पूर्वकमरेड भट्टराई पनि मेसी सन्यासप्रति सकारात्मक छैेनन् । दुइटा असफलतामै कप्तानी छाड्ने र सन्न्यास लिने निर्णय भट्टराईलाई मन परेको छैन । मेसीले सन्न्यास नै लिइहाल्नु हुँदैनथ्यो, बरु टिम चेन्ज गरेर भए पनि मैदानमा ओर्लनुपर्दथ्यो भन्ने भट्टराईको राय छ ।
जे होस्, अर्जेन्टिनी राष्ट्रपति माउरिसियो र म्याडोनादेखि स्वारेज र नवयुग श्रेष्ठहरूले समेत मेसीले सन्न्यास फिर्ता लिऊ्न भन्ने चाहिरहेका छन् । हाम्रा नेतागणलाई मेसीको सन्न्यासले भन्दा पनि उनले स्थापित गर्न खोजेको ‘नैतिक ट्रेन्डले’ पिरोलेको छ । सास छउञ्जेल पार्टीको नेतृत्वमै बस्न लालायितहरूलाई मेसीको नैतिक बन्धनले असजिलो पार्नु स्वाभाविक नै हो । टेलिभिजन, कम्प्युटर र मोबाइलको स्क्रिनमा मेसीलाई देखेका र पत्रपत्रिकामा पढेका नेपालीहरू मेसीको सन्न्यास फिर्ताको पक्षमा छन् । उनीहरू मेसीको निर्णयले दुःखी भएका छन् । मेसी अर्जेन्टिनी टिममा फर्किऊन् र अर्जेन्टिनी टिसर्ट लगाएर मैदानमा उत्रिऊन् भन्ने मेसीका फ्यानहरूको आग्रह छ । तर, एउटा कुरा के हो भने हाम्रा नेताहरूले सन्न्यासको घोषणा गरे भने कुनै पनि नेपाली दुःखी हुनेछैन । बरु हर्षाेल्लासका साथ स्वागत गर्नेछ । यस विषयमा नेतागणले कति सोचेको होला ?

gamghar9@gmail.com

Leave A Comment