दुई वर्षमा खुलेको दुई फायर

शनिबार, १६ बैशाख २०७४, १२ : १२ केपी ढुंगाना , Kathmandu
दुई वर्षमा खुलेको दुई फायर

कहलिएका गुन्डा नाइके दावा लामा गौरीघाटको बाग्मती किनारनजिकै खुलेको दिव्या पार्टी प्यालेसमा नियमित व्यायामका लागि जान्थे । जोरपाटी नयाँ बस्तीमा बस्ने लामा नियमितझैँ चैत २९ गते बिहानै गाडीमा जिमका लागि निस्किए ।
प्यालेसभित्र गाडी पार्किङ गर्ने ठाउँ नभएकाले दक्षिणतिरको खाली ठाउँमा गाडी रोके र ब्याग निकालेर पार्टी प्यालेसतिर लम्किए । गेटभित्र छिरेका मात्रै थिए उनको तिघ्रामा च्वास्स केहीले घोच्यो । पछाडि पर्खेर हेर्दा मुखमा मास्क लगाएका एक युवा गेट बाहिर उभिएर उनीतिरै पेस्तोल ताकेर उभिएका थिए ।
गोली छलेर भाग्ने उनको प्रयास सफल भएन । दुई वटा गोलीले उनको कम्मर छेडिहाल्यो । दावा गोली लागेर घाइते भए पनि गोली हान्ने युवा गेटभित्र छिरेनन् । लगत्तै उनी पूर्वतिर पैदलै भागे ।
यसको एक सातापछि ललितपुरमा अर्को घटना घट्यो । काम सकेर घर फर्कने बेला नेपाल क्रिस्चियन संघका सचिव सन्तोष खड्का गत आइतवार ललितपुरमा गोली लागेर घाइते भए । बेलुका घर फर्कने क्रममा उनको कोखा नजिक गोली लागेको थियो ।
गोली लागेको तेस्रो दिन अप्रेसनका लागि पाटन अस्पताल पुगेपछि सार्वजनिक भएको घटनामा उनको ज्यान जोगियो । उनीमाथि कसरी गोली लाग्यो ? त्यो पाटो भने रहस्यमय छ । उनले प्रहरीलाई दिएको बयानअनुसार मोटरसाइकलमै रहँदा उनले केही पड्केको आवाज सुनेका थिए ।
उनको कम्मरमा चस्स केही चिजले घोचेको पनि थियो । तर, उनले आफूलाई कसैले गोली हानेको चाल पाएनन् । घरमा पुग्दा कोखाबाट रगत आएको देखेपछि अस्पताल पुगेर साधारण ड्रेसिङ गरेर उनी फर्किए । पीडा कम नभएपछि एक्सरे गर्दा मात्रै शरीरभित्र गोली रहेको चाल पाएको उनको दाबी छ ।
दुई वर्षमा खुलेको फायर
२०७२ भदौ ३ मा कपुरधारामा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीसँगको जम्काभेटमा कहलिएका गुन्डा नाइके कुमार श्रेष्ठ ‘घैँटे’ मारिएका थिए । घँैटे मारिएको करिब दुई वर्षसम्म उपत्यकामा गोलीको आवाज सुनिएको थिएन । तर, २०७३ को अन्त्य र २०७४ को प्रारम्भमै उपत्यकाका दुई वटा गोलीकान्ड भए त्यो पनि रहस्यमय ।
उपत्यकामा आपराधिक घटनामा संलग्न रहँदै आएका र प्रहरीको गुन्डा सूचीमा ‘बी’ ग्रेडमा रहेका दावाले प्रारम्भमा त प्रहरीले नै आफूलाई गोली हानेको दाबी नगरेका होइनन् । 
लोप्साङ राई नामका व्यक्तिले प्रहरीलाई फोन गरेर घटनाको जिम्मेवारी लिँदै गोली हान्नुको कारण दावाले साह्रै दुःख दिएको बताए । दावाले प्रारम्भमा प्रहरीमाथि दोषारोपण गरे पनि पछि उनले अन्य दुई जनाको नाम पोलेका छन् । तर, दावामाथि कसले गोली हान्यो घटनाको दुई साता टेक्दासमेत गोलीको रहस्यको पर्दा उघ्रिएको छैन ।
‘दुवै घटनाको अनुसन्धान प्रगति उन्मुख छ, अनुसन्धान टोली निकै नजिक पुगिसकेको छ,’ दुवै घटनाको अनुसन्धानमा संलग्न महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यले भने, ‘केही समयमै घटनामा संलग्नहरू प्रहरी नियन्त्रणमा आउँछन् ।’
ग्याङवारतिर संकेत
दावाले घटना हुनुभन्दा एक महिनाअगाडि झगडा परेको रेस्टुरेन्ट व्यवसायी राम गिरीको नाम पोलेका छन् । उपत्यकामा फाट्टफुट्ट अपराधमा संलग्न रहँदै आएका लोप्साङले फोन गरेर घटनाको जिम्मेवारी लिएका छन् । तर, घटनाको प्रकृति, गोली लागेका व्यक्तिको संलग्नता र यस्ता प्रकृतिको घटनामा संलग्न हुन सक्नेहरूको प्रोफाइलिङको क्रममा प्रहरी दावामाथि भएको गोली प्रहारलाई ‘ग्याङवार’को कोणबाट अनुसन्धान गरिरहेको देखियो ।
प्रहरीले अनुसन्धानको प्रारम्भ गोली हान्नमा संलग्न व्यक्तिको हतियार चलाउने पोजिसनबाट सुरु गरेको थियो । दावालाई पच्छ्याउने, हतियार निकालेर होल्ड गर्ने, गोली हान्ने शैली र भाग्न प्रयोग गरिएको शैलीले घटनाका संलग्न सुटर हतियार चलाउन अनुभवी रहेको प्रहरीको निष्कर्ष छ ।
‘कहिलेकाहीँ हतियार चलाउने या अनुभवी सुटर नभएको भए ऊ गोली हान्दै गेटभित्र प्रवेश गर्न सक्थ्यो,’ अनुसन्धानमा संलग्न एक अधिकारीले गोली हान्दाहान्दैको क्लोज सर्किट टेलिभिजन (सीसी टीभी)को दृश्य हेर्दै विश्लेषण गरे, ‘गेटभित्र छिर्दा गेट लाग्न सक्ने जोखिमबारे सुटर जानकार थिए । उनले पेस्तोल समातेको पोजिसनले समेत उनी अनुभवी सुटर हुन् भन्ने देखियो ।’
उनी भाग्दा पैदलै देखिए पनि घटनालगत्तै पच्छ्याएको समूहले उनलाई फेला नपारेकाले उनले केही पर मोटरसाइकल रोकेर पच्छ्याएको र गोली हानेर पैदलै भागे पनि पछि मोटरसाइकलमा भागेको प्रहरीको निष्कर्ष छ ।
उनी दावालाई पच्छ्याउन मोटरसाइकलमै पार्टी प्यालेस अगाडिसम्म आइपुगेको हो भने गोली हानेको दृश्यसँगै सुटरले प्रयोग गरेको मोटरसाइकल नम्बरसमेत रेकर्ड हुन्थ्यो । जसले प्रहरीलाई अनुसन्धानका लागि एउटा बाटो देखाउँथ्यो नै । मुखमा मास्क लगाएकाले अहिले प्रहरी सुटरको शारीरिक बनोटको आधारमा सम्भावित सुटरको पहिचानमा जुटेको देखियो ।
दावा उपत्यकामा गुन्डागर्दी, रकम असुली र संगठित जुवा खेलाउन सक्रिय छन् । बेलाबखत उनको अन्य समूहसँग टकराव हुँदै आएको थियो । पछिल्लो समय उनी र अर्का गुन्डा नाइके समीरमान बस्नेतबीच दुश्मनी बढेको थियो ।
अनुसन्धान स्रोतका अनुसार दावाको घटनालाई प्रहरीले समीरसँग समेत जोडेर विश्लेषण गरिरहेको छ । कुमार घैँटेको इन्काउन्टरपछि अर्ध भूमिगत भएका समीर अहिले पूर्ण भूमिगत भएकाले प्रहरीले उनलाई फेला पार्न सकेको छैन । जानकार अधिकारीका अनुसार उनी पछिल्लो समय भारतमा छन् ।
‘अहिलेसम्मको अनुसन्धानमा दावालाई गोली हान्नुको कारण ग्याङवार देखिएको छ,’ अनुसन्धानमा संलग्न स्रोतले भन्यो, ‘सुटर र घटनाका योजनाकार पुरानै हुन्, किन गोली हाने भन्ने पूर्ण तथ्य तीमध्ये कोही पक्राउ परेपछि मात्रै निश्चित हुन सक्छ ।’
ललितपुरकाण्ड झनै रहस्यमय
गत आइतवार बेलुका गोली लागेका खड्का मंगलवार मात्रै गोली निकाल्न पाटन अस्पताल पुगेका थिए । त्योभन्दा अगाडि दुई वटा अस्पतालमा पुगेका उनको शरीरको एक्सरे गर्दा शरीरभित्र फलामको वस्तु देखिएपछि उपचारका लागि उनी पाटन अस्पताल पुगेका थिए । अस्पताल प्रशासनले प्रहरीलाई खबर गरेपछि मात्रै घटना ललितपुर प्रहरीसम्म आइपुगेको थियो ।
गोली लागेका व्यक्तिले प्रहरीलाई खबर नगर्नु र तेस्रो दिन मात्रै घटना सार्वजनिक हुनुले ललितपुरको गोलीकाण्डसमेत उस्तै रहस्यमय देखिएको छ । कम्मरमा गोली लाग्दासमेत चाल नपाएको दाबी गर्नु, उपचारका लागि अस्पताल पुगेर पनि सकेसम्म प्रहरीलाई घटनाबारे सुइको नदिन प्रयास गर्ने खड्काको व्यवहारले नै घटनालाई रहस्यतिर धकेलेको हो ।
खड्काको व्यवहारले कतै उनले नै हतियार बोकेको र त्यही हतियार पड्कदा उनलाई गोली लागेको त हैन ? प्रश्न उब्जिएको छ ।
खड्कामाथि गोली प्रहार भएको घटना खुलेकै दिन बिहान ललितपुरको एजप्सन चर्चमा अज्ञात समूहले आगजनी गरेका थिए । चर्चभित्र प्रवेश गरेर गाडीमा आगो लगाइएको थियो । खड्कासमेत क्रिस्चियन धर्मको प्रचारमा संलग्न रहेकाले कतै दुवै आक्रमणको उद्देश्य एकै त हैन ?
प्रहरीले अनुसन्धानको प्रारम्भ यही दुई शंकाबाट सुरु गरे पनि एक साताको अनुसन्धानमा गोली आफैँ चलेको नभई कसैले हानेकै हो भन्ने निष्कर्षमा प्रहरी पुगेको देखियो । निष्कर्षलाई पुष्टि गर्न प्रहरीले घटनास्थलमा फेला परेको खोकालाई व्यालेस्टिक परीक्षणका लागि पठाएको छ ।
एजप्सन चर्चमा भएको आक्रमणको अनुसन्धानमा उल्लेखनीय उपलब्धि नआउँदा दुवै घटना एक आपसमा जोडिन्छ या जोडिन्न त्यो आशंकाको समाधान अझै भएको छैन ।

‘हामी अनुसन्धान टुंग्याउने चरणमा छौँ’
एसएसपी दिनेश अमात्य

प्रमुख, महानगरीय प्रहरी अपराध महाशाखा

उपत्यकामा भएका दुई वटा गोलीकाण्डको घटनाको अनुसन्धान कहाँ पुग्यो ?
अनुसन्धान उपलब्धि उन्मुख नै छ । दुवै घटनाको अनुसन्धानबाट को–को संलग्न हुन् त्यसबारे एक प्रकारको खाका आइसकेको छ । हामी छिट्टै अुनसन्धानको नतिजा सार्वजनिक गर्छौं ।
ललितपुर र काठमाडौँका घटना एकअर्कासँग जोडिन्छ कि जोडिन्न ?
अहिलेसम्मको अनुसन्धानमा दुवै घटना एकअर्कासँग जोडिएको देखिन्न । अनुसन्धान टुंगोमा पुग्दा के आउँछ अहिले नै भन्न उत्तम नहोला ।
दावामाथि भएको आक्रमणमा संलग्न कहिलेसम्म पक्राउ पर्लान् भन्न सकिएला नि ?
हामी नजिक छौँ । ९९ प्रतिशत पूरा भइसकेको अनुसन्धान पनि कहिलेकाहीँ पुनः एकबाट सुरु गर्नुपर्ने हुन सक्छ । त्यसैले जबसम्म अनुसन्धान शतप्रतिशत पुग्दैन तबसम्म समय तोक्न सकिन्न ।

ललितपुरको घटनामा प्रारम्भमा आफ्नै हतियार पड्केर गोली लागेको हो कि भन्ने आएको थियो । एक साताको अनुसन्धानमा घटनाक्रम के हो त्यो खुलेको छैन ?
उनले गोली लागेको भनेको स्थानबाट प्रहरीले खोका फेला पारेको छ । उनले बोकेको हतियार पड्किएर गोली लागेको हो कि उनलाई कसैले गोली हानेको हो त्यो व्यालेस्टिक परीक्षणबाट खुल्छ नै । अहिले परीक्षणको रिर्पोट आइनसकेकाले यसमा केही नबोलौँ ।
दुवै घटनामा संलग्नहरू पक्राउ त पर्छन् ?
यसमा शंका नगरे हुन्छ । ढिलोचाँडोको कुरा मात्रै हो । दुवै घटनामा संलग्नहरू कारबाहीको दायरामा आउँछन् ।

Leave A Comment