‘चुनौतीले मान्छेलाई बलियो बनाउँछ’

शनिबार, १६ बैशाख २०७४, १२ : ०० शुक्रवार , Kathmandu
‘चुनौतीले मान्छेलाई बलियो बनाउँछ’

अनुष्का शर्मा बलिउडकी प्रतिभाशाली अभिनेत्री हुन् । उनी फिल्म निर्माता पनि हुन् । ‘क्लिन स्लेट’ नामक उनको प्रोडक्सन हाउस छ । उनीसँग एक भारतीय मिडियाले गरेको कुराकानीः
 
महिला फिल्म निर्माता हुनु कत्तिको गाह्रो छ ?
निर्माताका रूपमा गत मार्च महिनामा रिलिज ‘फिल्लौरी’ मेरो दोस्रो फिल्म हो । यसअघि मैले ‘एन एच १०’ निर्माण गरेकी थिएँ । दुवै फिल्ममा मैले अभिनय पनि गरेकी छु । एउटा कलाकारको काम र जिम्मेवारी धेरै हुन्छन् । निर्माताको जिम्मेवारी त अझै बढी हुने रहेछ । आफ्नो र टिमको परिकल्पना स्पष्ट र ध्येय सही छ भने काम गर्न गाह्रो हुँदैन । निर्माताका रूपमा काम गर्दा केही समस्या अवश्यै देखिन्छन् तर वरिपरिका मानिस सहयोगी छन् भने काम सजिलै गर्न सकिन्छ ।
तपाईंका भाइ कर्नेश शर्मा पनि निर्माता हुन् । सँगै काम गर्नु सजिलो कि अप्ठ्यारो ?
भनिन्छ, सहोदर भाइबहिनीसँग काम गर्न गाह्रो हुन्छ । काम कम, झगडा बढी हुन्छ । तर, मेरो भाइ त्यस्तो छैन । ऊसँग काम गर्दा मज्जा आउँछ । ऊ एकदमै सजिलो मान्छे हो । म ऊमाथि धेरै विश्वास गर्छु । उसको र मेरो सोच्ने तरिका, दुनियाँलाई हेर्ने दृष्टिकोण, काम गर्ने शैली मिल्दाजुल्दा छन् । त्यसैले, सँगै गर्दा काम सजिलो भइदिन्छ । हाम्रा व्यवसाय फरक छन् । म अभिनय क्षेत्रमा छु, ऊ ‘मर्चेन्ट नेभी’मा छ । उसको सहयोगविना प्रोडक्सन हाउस खोल्ने काम असम्भवजस्तै थियो । हामी दुई एकअर्काका लागि एकदमै महत्वपूर्ण छौँ ।
चुनौतीको सामना कसरी गर्नुहुन्छ ?
मैले आफूमा एउटा कुरा ‘नोटिस’ गरेकी छु । जब–जब मेरा सामु चुनौती आउँछन् र ममाथि जिम्मेवारी आउँछ, म अझै बढी सशक्त र ऊर्जाशील हुन्छु । मेरो काम गर्ने क्षमता बढ्छ । ममा यति धेरै ऊर्जा छ कि एउटै समयमा पनि विभिन्न काम सँगै गर्न सक्छु । म आफूभित्रको आवाज सुन्छु, आफूमा ऊर्जा थपिएको महसुस हुन्छ र कुनै पनि काम गर्न डराउँदिनँ । मैले बलिउडमा आफ्ना लागि ठाउँ बनाएको छु । मान्छेहरूको विश्वास जितेकी छु । काममा जति चुनौती आए पनि सामना गर्न तयार छु । तर, आफ्नो ध्येयसँग सम्झौता गर्ने छैन । त्यही खेल खेल्नेछु, जो मलाई आउँछ ।
स्टारडम सम्हाल्नु कत्तिको गाह्रो छ ?
अभिनय क्षेत्रमा लाग्छु भनेर मैले कहिल्यै सोचेकी थिइनँ । मेरा जीवनमा यी सबै कुरा अचानक भए । करिअरको सुरुवातताका म आफूलाई एकदमै ‘रेस्टलेस’ महसुस गर्थें । बिस्तारै, बुझ्न थालेँ के गर्नुहुन्छ र के गर्नु हुँदैन ? मेहनती छु । काम पनि उत्कृष्ट गर्न खोज्छु । इन्डस्ट्रीमा काम गर्न थालेको लगभग १० वर्ष हुन थाल्यो । तर, मैले कहिल्यै पनि स्टारडमलाई आफूमाथि हाबी हुन दिइनँ । स्टारडम अस्थायी हुन्छ । म एकदमै साधारण मान्छे हो । आफ्नो पृष्ठभूमि र धरातललाई बिर्सने मान्छे होइन म । आफ्नो मूल्य र मान्यतालाई मैले बुझ्नु जरुरी छ । यी कुरा मेरा लागि महत्वपूर्ण छन् ।

 

Leave A Comment