रिपब्लिक मिडियाले मनायो आठौँ वार्षिकोत्सव

बिहिबार, १४ बैशाख २०७४, १२ : ४५ शुक्रवार , Kathmandu
रिपब्लिक मिडियाले मनायो आठौँ वार्षिकोत्सव

नेपाल रिपब्लिक मिडियाले आठौँ वार्षिकोत्सव मनाएको छ । आठ वर्ष पूरा गरी नवौँ वर्ष प्रवेश गरेको अवसरमा सोमवार काठमाडौँको सोल्टी होटलमा विशेष कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव मनाइएको हो । आठ वर्षअघि लोकतन्त्र स्थापनाकै दिन नागरिक दैनिक र रिपब्लिका अंग्रेजी दैनिक प्रकाशन सुरु भएको अवसरमा संस्थाले वैशाख ११ गते वार्षिकोत्सव मनाउँदै आएको छ ।
कार्यक्रममा  कम्पनीका प्रबन्ध निर्देशक विनोदराज ज्ञवालीले शुभकामना सन्देश दिँदै सबल लोकतन्त्रका निम्ति सशक्त सञ्चार माध्यमको आवश्यकता हुने बताए । उनले सञ्चार माध्यमको विकासका लागि पनि लोकतन्त्र अपरिहार्य रहेको बताए ।
मिडियाकी निर्देशक शोभा ज्ञवालीले ‘नागरिक तथा रिपब्लिका दैनिक’ले आम नागरिकका पक्षमा पत्रकारिता गरिरहेकाले पाठकको मन जित्न सफल भएको बताइन् । ‘मिडिया सामूहिक प्रयत्नबाट मात्र सफल हुन सक्ने क्षेत्र हो । यसमा व्यवस्थापन, सम्पादकीय टिम, विज्ञापन, बिक्री तथा वितरण सबै क्षेत्रको तालमेल मिलेपछि मात्र प्रकाशन गृह सफल हुन सक्छ,’ निर्देशक ज्ञवालीले भनिन् । नेपाल रिपब्लिक मिडिया ‘ह्याप्पी अर्गनाइजेसन’का रूपमा अघि बढिरहेको भन्दै उनले त्यो खुशीका लागि चुनौतीसँग खेल्न तयार हुनुपर्ने बताइन् ।
त्यस्तै, मिडियाकी कार्यकारी निर्देशक समृद्धि ज्ञवालीले नेपालको इतिहासमा २०४६ र २०६२/२०६३ को जनआन्दोलन नेपाली राजनीतिका लागि महत्वपूर्ण रहेको बताइन् । उनले २०४६ सालपछि आफ्नो हजुरबुबा (हेमराज ज्ञवाली)ले नेपालको निजी संगठित लगानीको पहिलो मिडिया स्थापना गरेको र त्यसले फड्को मार्नु खुशीको विषय भएको बताइन् ।
नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलले भने, ‘नौ वर्षको अवधि मिडियाका लागि धेरै नभए पनि यो अवधिमा नेपाल रिपब्लिक मिडिया नेपालको प्रभावशाली मिडियाका रूपमा स्थापित हुन सफल भएको छ ।’ रिपब्लिका दैनिकका सम्पादक सुभाष घिमिरेले मिडिया क्षेत्र नयाँ प्रयोग र नयाँ प्रविधिको उपयोगमा जुटिरहेको उल्लेख गरे । डिजिटल युगसँग अघि बढ्न अप्ठ्यारो नभएको भन्दै उनले समयसँगै पत्रकारहरू ‘अपग्रेड’ हुनुपर्ने बताए ।
शुक्रवार तथा नागरिक परिवार मासिकका सम्पादक राजन नेपालले अहिलेको क्रान्ति भनेको काम भएको उल्लेख गरे । ‘काम नै क्रान्ति हो । राम्रो काम गरे हामी सबै राम्रो स्थानमा पुग्छौँ,’ उनले भने ।

नेपालकै ठूलो प्रिन्ट नेटवर्क बनाउने घोषणा
कार्यक्रममा कर्पोरेट सल्लाहकार सोहन श्रेष्ठले छिट्टै पोखरा र बुटवलबाट पनि प्रकाशन थाल्न लागिएको जानकारी दिए । यी दुई स्थानबाट प्रकाशन सुरु भएपछि नेपाल रिपब्लिक मिडिया नेपालको सबैभन्दा ठूलो प्रिन्ट नेटवर्क हुने उनले बताए । मिडियाले अहिले आफ्ना प्रकाशनहरू स्थानीय संस्करणसहित काठमाडौँ, विराटनगर, नेपालगञ्जबाट प्रकाशन गर्दै आइरहेको छ । विराटनगरबाट पूर्वेली र नेपालगञ्जबाट पश्चिमेलीको प्रकाशन गरिरहेको छ ।

‘रेडियो नागरिक’को उद्घाटन
नेपाल रिपब्लिक मिडियाले ब्रोडकास्ट मिडियाअन्र्तगत रेडियो पनि सञ्चालनमा ल्याएको छ । मिडियाका संस्थापक अध्यक्ष हेमराज ज्ञवालीले रेडियो नागरिक उद्घाटन गरे । ९६.५ मेगाहर्जमा काठमाडौँमा सुन्न सकिने रेडियो मिडियाको पहिलो इलेक्ट्रोनिक ‘भेन्चर’ हो ।

नागरिक नायकलाई सम्मान
नेपाली समाजका लागि उत्कृष्ट योगदान पुर्याउने व्यक्तित्वलाई ‘नागरिक नायक’बाट सम्मानित गरियो । कार्यक्रममा नागरिक नायकका रूपमा भूकम्पीडितका लागि नमुना बस्ती निर्माण गरेका हास्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’, पाँच दशकदेखि खुम्बुको बाटो बनाउन क्रियाशील पासाङ शेर्पा एवं कठोर संघर्षका बीच १९ सफल सरकारी सञ्चालन गरेर उदाहरणीय बनेकी फूलकुमारी योञ्जनलाई सम्मानित गरिएको थियो । त्यस्तै, मुलुकका विभिन्न क्षेत्रमा रहेर योगदान पु¥याउने अन्य नौ जनालाई नागरिक नायक घोषित गरिएको छ । काठमाडौँका उत्तम सञ्जेल, पर्साका विश्वनाथ साह, कैलालीका कालु हमाल, बाँकेका चन्दननाथ योगी र मौलाना अब्दुल जब्बार मञ्जरी, सुनसरीकी सरला कायस्थ, कास्कीका सानबाबु सुनुवारलाई नागरिक नायक घोषित गरिएको हो ।

उत्कृष्ट पत्रकार तथा कर्मचारीलाई सम्मान
आठौँ वार्षिकोत्सवमा संस्थाले उत्कृष्ट पाँच पत्रकार र कर्मचारीलाई ‘बेस्ट पफर्मेन्स अवार्ड’ले सम्मान गरेको छ । सम्मानित हुनेमा नागरिक दैनिकका झापा संवाददाता राजु अधिकारी, रिपब्लिकाका दीलिप ढकाल, विष्णुराम घिमिरे (मार्केटिङ), श्याम आचार्य (फाइनान्स), अरविन्दमान सिंह (डिजाइन) छन् । बेस्ट पर्फर्मरहरूलाई कम्पनीका प्रबन्ध निर्देशक विनोदराज ज्ञवालीले अवार्ड वितरण गरेका थिए ।

‘नागरिक नायक’का बयान
नेपाल रिपब्लिक मिडियाले सार्वजनिक जीवनमा महत्वपूर्ण योगदान पुर्याएका केही व्यक्तिलाई ‘नागरिक नायक’ सम्मान प्रदान गरेको छ । सम्मानपछि उनीहरूले यसो भनेः   

‘सिंगो नेपाल जोड्ने सपना छ’
कुञ्जना घिमिरे

नागरिक नायक, २०७४
‘नागरिक नायक’को रूपमा सम्मानित हुन पाउँदा अत्यन्तै खुशी लागेको छ । स्वतन्त्र नागरिकले गरेको कामलाई स्वतन्त्र ‘नागरिक’ पत्रिकाले सम्मान दिएपछि त्योभन्दा खुशी अरू के हुन सक्छ ? राम्रै काम गरिए छ भन्ने लागेको छ । सन्तुष्टि मिलेको छ ।
हामीसँग धेरै सल्लाहकार छैनन् । हामी दुई जनाले नै छलफल गरेर काम गर्छौं । धेरै बहस गर्दैनौँ । कुराभन्दा काम बढी गर्नुपर्छ अनि मात्रै देश बन्छ जस्तो लाग्छ । सुरुमा काभ्रेमा बस्ती बनाइरहँदा मैले यस्तो बस्ती बनाउने प्रस्ताव गरे जसले सिंगो नेपाललाई जोडोस् । ७५ वटै जिल्लाबाट एक÷एक गरिब घरपरिवार पहिचान गरौँ र ७५ वटै परिवार राखेर एउटा राष्ट्रिय एकताको बस्ती बनाऔँ ।

सीताराम कट्टेल
नागरिक नायक, २०७४
कुञ्जनाको योजना अति राम्रो थियो । तर, त्यो ठूलो भोल्युमको काम थियोे । हामीसँग स्रोत, साधन छैनन् । हामी त देशका सामान्य कलाकार । यो देशमा कलाकार भएर बाँच्न नै कति गाह्रो छ । यति ठूलो बस्ती निर्माण गर्नु निकै ठूलो चुनौती हुन सक्छ भनेर त्यो बेला उनको सपनालाई थाती राखिएको थियो । अहिले त्यो सपनालाई फेरि ब्युताउँदै छौँ । अब हाम्रो ‘मिनी नेपाल’ बनाउने सपना छ । मिनी नेपालको अर्थ त्यहाँ प्रत्येक जिल्लाबाट एक÷एक वटा गरिब परिवार पहिचान गरेर राख्छौँ । हरेक जिल्लामा एउटा पीडित परिवारको पहिचान गर्छौं । र, पीडित परिवारका लागि अर्को एउटा बस्ती बनाउँछौँ । जहाँ हिमाली, पहाडी, तराई प्रदेश हुन्छ । सिंगो नेपाल त्यहाँ हुन्छ । हिमाली प्रदेशमा कति वटा जिल्ला छन् ? त्यति नै जिल्लाको हिमाली प्रदेशमा बनाउँछौँ । हिमालबाट हाम्रो प्रवेश हुन्छ । त्यहाँ पुगेपछि चिसो हावा पानी हुन्छ । त्यहाँ हिउँ खेल्ने ठाउँ पनि बनाउँछौँ । हिमाली जिल्लाको संस्कृति निर्माण गर्छौं । सम्पूर्ण नेपालीलाई एकताको सूत्रमा बाँध्ने हाम्रो सपना छ ।
त्योदेखि तल पहाडी प्रदेश हुन्छ । पहाडी प्रदेशमा पहाडी क्षेत्रका गरिब परिवार पहिचान गरेर ल्याउँछौँ । हिमाल प्रदेशबाट पहाड प्रदेशमा सुरुङ मार्गमार्फत गइन्छ । पहाडी प्रदेशबाट हामी तराई प्रदेशमा प्रवेश गर्छौं, जहाँ झापाको राजवंशीदेखि थारुका बस्तीसम्म हुन्छन् । प्रदेश–प्रदेशमा कस्तो खालको घर बनाउनुपर्छ । त्यो हामी सम्बन्धित विज्ञसँग छलफल गर्छौं । त्यहाँ सिंगो हिमाल, पहाड र तराई निर्माण हुन्छ । त्यसको साथसाथै लुम्बिनी पनि त्यहाँ बनेको हुन्छ । सगरमाथा पनि त्यहाँ बनेको हुन्छ । हिमालमा यार्सागुम्बा पाउँछ । अरू क्षेत्रमा पनि बहुमूल्य वस्तु पाइन्छ । हामी सबै चिजको विस्तृत विवरण त्यहाँ प्रतीकात्मक रूपमा राख्छौँ । भोलि जति पनि पर्यटक नेपाल घुम्न आउनुहुन्छ, सबैभन्दा पहिले त्यही मिनी नेपाल हेर्न जानुहुन्छ होला । अहिले हामी सगरमाथा, गौतम बुद्धको प्रचार गरेर लाखौँ पर्यटक भिœयाइरहेका छौँ । बहुजाति, धर्म, संस्कृति भएको नेपाल के हो ? भन्नका लागि भोलि सोलुखुम्बु जानु पर्दैन । लुम्बनी जानु पर्दैन । सिंगो देश नेपाल यही मिनी नेपालभित्र हुन्छ । यो बस्तीभित्र पीडित परिवारका बालबालिकालाई पठाउन नमुना विद्यालय पनि हुन्छ । त्यहाँ अस्पतालको सुविधा हुन्छ । यो सब धुर्मुस–सुन्तली फाउन्डेसनको प्रयासले मात्रै सम्भव छैन । नेपाल सरकारले जग्गा उपलब्ध गराइदिने र अरू धेरै मनकारी र संघसंस्थाको सहयोगको पनि आवश्यकता छ । त्यसका लागि हामीलाई कम्तीमा पनि पाँच सयदेखि हजार रोपनी जग्गा आवश्यक छ । यसका लागि अर्बौं पैसा खर्च हुन सक्छ । किनभने, यो दीर्घकालीन संरचना हो । विश्वभरि नेपालको परिचय दिने परियोजना भएकाले यो आफैँमा चुनौतीको विषय पनि हो । नेपाल सरकार, राजनीतिक दल, समाजसेवी, संघसंस्था र सबै नेपालीको साथको अपेक्षामा हामीले गरेका छौँ ।   
‘बाटो पूरा गरेरै छोड्छु’
पासाङ शेर्पा

नागरिक नायक, २०७४
‘नागरिक नायक’ बन्न पाउँदा खुशी लागेको छ । लामो समयदेखि मैले गरेको कामको सम्मान अहिले आएर पाइयो जस्तो लागेको छ । हाम्रो सोलुखुम्बुमा बाटोको धेरै समस्या छ । मान्छेसमेत हिँड्न मिल्ने बाटो थिएन । लामो समयदेखि म एक्लै बाटो खन्न लागिपरेको छु । अहिले बाटो फराकिलो बनेको छ । चार पांग्रे हल्का सवारी मज्जाले गुड्छन् । पर्यटक पनि आउन थालेका छन् ।
फेरिचेदेखि नाम्चेबीचको बाटो जोडेपछि करिब ३५ किलोमिटर बाटो पूरा भएको छ । आउने वर्षमा बाटो पूरा गरेरै छोड्छु । यसमा नेपाल सरकार, सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीले सहयोग गर्ने आशा गरेको छु ।

‘सहकारीमार्फत महिलालाई न्याय दिलाउनु छ’
फूलकुमारी योञ्जन

नागरिक नायक, २०७४
‘नागरिक नायक’को सम्मान थाप्न पाउँदा धेरै खुशी लागेको छ । मेलै गरेको भूमिकालाई नागरिक पत्रिकाले रामो रूपमा हेरिदिनुभयो । मैले जिन्दगीमा धेरै दुःख पाएँ । त्यो दुःख अरूले नपाउन् भन्ने मेरो चाहना हो । म निरक्षर थिएँ । २०५२ सालमा प्रौढ कक्षा लिएँ । छ महिना मात्रै प्रौढकक्षा पढेँ । मान्छे पढेर मात्र विद्वान् बन्दो रहेनछ । परेर पनि धेरै कुरा जान्ने भइने रहेछ । मेरो अनुभवले नै मलाई यहाँसम्म ल्याइपु¥यायो । गाउँमा सहकारीमार्फत हिंसापीडित महिलालाई रोजगारी दिने, उनीहरूलाई न्याय दिलाउन पहल गर्छौं । सबैले साथ दिए महिलालाई अझै अघि बढाउन तयार छु ।

‘आवश्यक परे अझै आन्दोलन गर्छु’
डा. गोविन्द केसी

नागरिक नायक, २०६७
मेरो ‘नागरिक’सँग  पहिलेदेखि नै सम्बन्ध छ । हामी पटक–पटक स्वास्थ्यसँग सम्बन्धित कुरा उठाएर आन्दोलनमा गएका छौँ । १०  पटकसम्म आन्दोलन गरियो । केही उपलब्धि भए पनि केही बाँकी नै छन् । आन्दोलन अझै कति पटकसम्म जान्छ त्यो भन्न सकिने अवस्था छैन । हाम्रो आन्दोलनमा मिडियाले निकै सहयोग ग¥यो । मिडियाले सहयोग नगरेको भए आन्दोलन त्यो रूपमा सफल हुँदैनथ्यो होला ।
रिपब्लिक मिडियाले निःस्वार्थ भावनाले काम गर्ने नागरिकलाई सम्मान गर्ने गरेको छ, यो सराहनीय काम हो । यसले अरूलाई पनि राम्रो काम गर्न हौसला दिन्छ । एउटा मान्छेले गरेको कामले पनि ठूलो परिर्वतन हुन्छ ।

‘थोरैले त्याग गरे समाज बन्छ’
रामेश्वर खनाल

नागरिक नायक, २०६८
म पनि ‘नागरिक नायक’ बाट सम्मानित भएको थिएँ । म नायक हो या होइन त्यो दाबी गर्न चाहन्न । तर, निष्पक्ष संघसंस्थाले समाजको हितको निम्ति काम गरेकाहरूलाई सम्मानित गरेका देख्दा खुशी लाग्छ । यसले समाजमा नराम्रा मान्छेहरूको बिगबिगी हुँदैन । समाजमा ८० प्रतिशत मान्छे नालायक नै हुन्छन् । २० प्रतिशतले त्याग गर्न सके समाज बन्छ । हाम्रोमा एक प्रतिशत पनि त्यस्ता देखिएनन् । रिपब्लिक मिडियाले निष्पक्ष भई ‘नागरिक नायक’ बनाउने गरेको छ । यो परम्परालाई निरन्तरता दिइयोस् जस्तो लाग्छ ।  
   
 

 

Leave A Comment