‘पलेँटी’ पुनः सुरु हुने

बिहिबार, १४ बैशाख २०७४, १२ : १७ शुक्रवार , Kathmandu
‘पलेँटी’ पुनः सुरु हुने

तीन वर्षयता बन्द रहेको सांगीतिक शृंखला ‘पलेँटी’ पुनः सुरु हुने भएको छ । हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रवार आयोजना हुँदै आएको शृंखला फेरि सोही मितिमा सञ्चालन हुन लागेको हो । पलेँटीको नयाँ शृंखला आगामी अप्रिल २८ तारिख अर्थात् वैशाख १५ गते शुक्रवार  कालिकास्थानस्थित आरशाला प्रेक्षालयमा हुने भएको छ ।  गायक एवं संगीतकार प्रकाश गुरुङ र उनकी गायिका छोरी रिमा गुरुङ होडाको संयुक्त प्रस्तुतिपछि सन् २०१४ को जुलाई महिनाबाट ‘पलेँटी शृंखला’ रोकिएको थियो ।
नयाँ शृंखलामा कवि तथा गीतकार दिनेश अधिकारी प्रस्तुत हुनेछन् । नारायणगोपाल र तारादेवीदेखि नयाँ पुस्तासम्मका गायकगायिकाका लागि गीत रचना गरेका अधिकारी पछिल्लो समय पनि गीत लेखनमा उत्तिकै सक्रिय छन् । शृंखला नेपालयले सञ्चालन गरेको हो ।
कवि, गायक एवं संगीतकार आभासको सक्रियतामा सन् २००५ देखि सुरु भएको पलेँटीमा एक वर्षसम्म आभासले मात्र प्रस्तुति दिएका थिए । सन् २००६ देखि २०१४ सम्ममा यो शृंखलामा नेपाल, भारतको दार्जिलिङ, पूर्वोत्तर भारत र भुटानलगायत मुलुकका ४१ जना कलाकारले आफूलाई प्रस्तुत गरिसकेका छन् ।
यसपटक सांगीतिक समूह नेपथ्यले आफ्नो स्थापनाको २५ औँ वर्ष पुगेको मौका पारी पलेँटी शृंखलाको व्ययभार ब्यान्डले बेहोर्ने घोषणा गरेपछि शृंखला पुन सुचारु हुन लागेको हो ।
पलेँटीका प्रस्तोता आभासले पलेँटी जस्तो शिष्ट आसनमा बसेका स्रोतामाझ कलाकारले आफूलाई प्रस्तुत गर्दा दुवैबीच स्थापित हुने हार्दिक समीपता नै यसको मुख्य विशेषता रहँदै आएको बताए । पलेँटी शृंखलामा गीतकारका सिर्जनालाई गायक आभास, गायिका मीना र योगेन्द्रले सुनाउनेछन् ।

 

Leave A Comment