कृतिका सातौँ ‘मिस पूर्वाञ्चल’

शुक्रबार, १७ असार २०७३, ०१ : ५१ गोपाल दाहाल , Kathmandu
कृतिका सातौँ ‘मिस पूर्वाञ्चल’

झापा शनिअर्जुन–७ की कृतिका गिरी एक महिनाअघिसम्म सामान्य युवती थिइन् । एक महिनाको मेहनतपछि १९ वर्षीया उनको परिचय एकाएक फेरिएको छ । उनको नयाँ परिचय हो– ‘मिस पूर्वाञ्चल २०१६’ ।
आवाजविहीनको आवाज उठाउन पत्रकार बन्ने लक्ष्यसाथ पत्रकारिता पढिरहेकी कृतिकाले सातौँ मिस पूर्वाञ्चलको उपाधि जितेकी छिन् । तर, उनको लक्ष्य बदलिएको छैन । भन्छिन्, ‘यहाँ सिकेका कुरा पत्रकारिता क्षेत्रमा पनि प्रयोग गर्न सकिन्छ । दुवै क्षेत्रलाई सँगै अगाडि बढाउँछु ।’
सीजी ब्रुअरीको प्रायोजन र बराह ज्वेलरीको प्रस्तुति रहेको पूर्वकै ठूलो सौन्दर्य प्रतियोगिता ‘नेपाल आइस नेचुरा मिस पूर्वाञ्चल २०१६’को ताजसहित यामाहाको फेसिनो स्कुटी र युरोएसिया ट्रिपको बंैकक टुरको अवसर पाएकी कृतिकाले मिस पर्सनालिटीको सबटाइटल जितेर थप १० हजारसमेत पाइन् । विजेता बनेसँगै उनी पर्यटकीय स्थल भेडेटारको सद्भावनादूतसमेत बनेकी छिन् ।
प्रतियोगिताका उत्कृष्ट पा“चलाई मुख्य निर्णायक सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुन कोइरालाले ‘तपार्इंले नेपालको राष्ट्रपतिलाई केही घण्टाका लागि भेट्ने अवसर पाउनुभयो भने के विषयमा कुरा गर्नु हुन्छ ?’ भन्ने सामुहिक प्रश्न सोधेका थिए । कृतिकाले ‘भूकम्पपीडितले अहिलेसम्म राहत नपाएको र राहतको आशामा वर्ष बितिसकेकाले उनीहरूलाई तत्काल राहत उपलब्ध गराउन पहल गरिदिनु सल्लाह दिने’ लिखित जवाफ दिएकी थिइन् ।
कार्यक्रम सञ्चालिका पूर्व मिस नेपाल सुविन लिम्बूले ढिलो गतिमा विजेताको नाम घोषणा गर्दा कृतिकाका आँखा रसाए । उनलाई मिस पूर्वाञ्चल २०१५ प्रियंका श्रेष्ठले ताज पहि¥याइन् भने मिस नेपाल अश्मी श्रेष्ठलगायत अतिथीहरूले पुरस्कार प्रदान गरे ।
सिल्भर इन्टरटेन्मेन्ट र हाइट इभेन्टले आयोजना गरेको प्रतियोगितामा धरानकी ममता कार्कीले फस्ट रनरअप बनेर नगद ५१ हजार पाइन् । उनलाई अघिल्लो वर्षकी फस्ट रनरअप अनु राईले ताज पहि¥याइन् भने  धरानकै इक्सा मादेन मिस चार्मिङसहित सेकेन्ड रनरअप भइन् । उनले नगद ३१ हजार रुपैयाँ पाइन् । गत वर्षकी सेकेन्ड रनरअप प्रमिशा वज्राचार्यले उनलाई ताज पहि¥याइन् । विजेता, फस्ट रनरअप र सेकेन्ड रनरअपलाई अमना टुर्सले सिक्किम र होटल प्याराडाइज इन पोखराले पोखरा टुरको व्यवस्था गरेको कार्यक्रम निर्देशक छत्र लिम्बूले बताए ।
प्रियारानी लामाले कोरियोग्राफी गरेकोे प्रतिस्पर्धामा धरानकी सिर्जना रानामगर मिस पब्लिक च्वाइस, सृष्टि आचार्य मिस ट्यालेन्ट, लहानकी अपेक्षा ढुंगाना मिस फ्रेन्डसिप, पाँचथरकी मीरा दुमी राई मिस हेल्दी र धरानकी अस्मिता खड्गी मिस फोटोजेनिक घोषित भए । सब टाइटल विजेतालाई नगद १० हजार रुपैयाँसहित उपहार प्रदान गरिएको थियो ।
धरान सभागृहमा भएको कार्यक्रममा गायिका प्राश्ना शाक्य र १२ वर्षीय गायक आदर्श अग्रवालले गीत प्रस्तुत सुनाएर मनोरञ्जन दिएका थिए भने मिस नेपाल २०१४ सुविन लिम्बू र मिस नेपाल २०१६ अश्मी श्रेष्ठलाई सम्मान गरिएको थियो । आयोजकले धरानमा लागुपदार्थ प्रयोगकर्ताको उपचारका लागि निर्माणाधीन पूर्वाञ्चल आसरा सुधार केन्द्रसँगको सहकार्यमा बिक्री भएको टिकटबाट ५० प्रतिशत रकम सहयोग गर्ने इभेन्ट म्यानेजर सौरभ श्रेष्ठले बताए । उनले भने, ‘मिस पूर्वाञ्चललाई हामीले सेवामूलक ढंगबाट अघि बढाएका हौँ ।’
‘रनिङ क्राउन’ सुरु
मिस पूर्वाञ्चलका विजेताले यसपालिदेखि रनिङ क्राउन पाएका छन् ।
विभिन्न पत्थर जडित चाँदीको क्राउनमा बुढासुब्बालगायत विभिन्न पर्यटकीय स्थलदेखि सगरमाथासम्मका आकृति समावेश गरिएको छ । पशुपति गोल्ड एन्ड सिल्भर ज्वेलर्स इटहरीका रोशन श्रेष्ठले डिजाइन गरेको यो क्राउन अब विजेताले आफ्नो अवधिसम्म आफूसँग राख्न सक्नेछन् भने अर्को प्रतियोगितामा आयोजकलाई फिर्ता गर्नुपर्नेछ ।
न्यायाधीश निर्णायक
अरू बेला अदालतमा मुद्दामामिला हेरेर झगडियाहरूको छिनोफानो गर्ने न्यायाधीश अर्जुन कोइराला यस पटकको मिस पूर्वाञ्चलका मुख्य जज थिए । सुनसरी जिल्ला अदालतको दुई नम्बर बेञ्चका न्यायाधीश कोइरालाले मिस पूर्वाञ्चलमा विजेताको छिनोफानो गरे । उनीसहित नेपाल पर्यटन बोर्डका सिनियर अफिसर सुमन घिमिरे, सीजी ब्रुअरीका ब्रान्ड म्यानेजर मनीष सिंह, धरान उपमहानगरपालिकाका इन्जिनियर राजु पोख्रेल, नेपाल रिपब्लिक मिडियाका सुरेश ढकाल, हिडन ट्रेजरका प्रोमोटर गृहेन्द्र राजवंशी, बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानका एडिसनल प्रोफेसर डा.मोहनचन्द्र रेग्मी, युरेका स्कुल धरानका प्रिन्सिपल राजेन्द्र गुरुङ, मिस पूर्वाञ्चल २००२की फस्ट रनरअप जरिना श्रेष्ठ, मिस पूर्वाञ्चल २०१४ नेमिता आङ्बुहाङ र धरान हेल्दिहोमकी निर्देशक सुप्रिया माझी बनेपालीको ११ सदस्यीय निर्णायक टोलीले विजेताहरू छनोट गरेको थियो ।

 

Leave A Comment