समयअगावै महिनावारी भयो ?

सोमबार, ११ बैशाख २०७४, १२ : ३९ शुक्रवार , Kathmandu
समयअगावै महिनावारी भयो ?

कतिपयलाई समय नभईकन महिनावारी हुने गर्छ । महिनावारी हुनुभन्दा केही साताअघि रगत बग्ने समस्या पनि कतिपयमा देखिन सक्छ । यस्ता समस्या देखापर्नुका केही कारण यस्ता छन्ः
डिम्ब उत्सर्जनमा ढिलाइ
डिम्बाशयबाट डिम्ब उत्सर्जन हुने प्रक्रिया निर्धारित समयभन्दा ढिलो भएमा डिम्बाशयमा पीडा हुने गरी डिम्ब उत्सर्जन हुन्छ । यस्तो बेलामा केही रगत बग्ने गर्छ । साथै, डिम्बाशयको माथिल्लो भागमा सिस्ट हुन सक्छ भन्ने संकेत पनि यसले गर्छ । यस्तो भएमा चिकित्सकको निगरानीमा डिम्बाशयलाई मजबुत बनाउन सकिन्छ ।
कपर टीको प्रयोग
कोपर टी र योजस्तै सामग्री गर्भाशयमा राखेर अनिच्छित गर्भधारण रोक्न सकिन्छ । तपाईंले हालसालै कपर टी लगाउनुभएको छ र रक्तस्राव भयो भने यसलाई अन्यथा लिनु हुँदैन । कपर टी राखेपछि सामान्यतया महिनावारी रोकिने गर्छ । तर, पनि राखेको छ महिनासम्म रगत बग्ने समस्या पनि यदाकदा देखिने गर्छ ।
पिल्सको प्रयोगमा परिवर्तन
गर्भनिरोधी पिल्स भर्खरै खान सुरु गर्नुभएको छ अथवा एउटा छोडेर नयाँ खाले पिल्स खान थाल्नुभएको छ भने पनि रक्तस्राव हुन सक्छ । किनकि, पिल्सले शरीरमा एस्ट्रोजेन हार्मोनको मात्रामा थपघट ल्याइदिन्छ । एकदेखि तीन महिनासम्म सामान्य रक्तस्राव कायम रहन सक्छ ।
तनावग्रस्त अवस्था
बढी तनाव लिने महिलाको महिनावारी गडबड हुने गर्छ । तनाव भएको बेला शरीरमा कोर्टिसोल हार्मोन उत्सर्जन हुन्छ, जसले शरीरमा हुने प्रजननसम्बन्धी हार्मोन प्रोजेस्टेरोन र एस्ट्रोजेनको मात्रा घटाइदिन्छ । यसले महिनावारीको तालिकामा फेरबदल ल्याइदिन्छ र यसबाट महिना पुग्नुअगावै रक्तस्राव हुन सक्छ ।
गर्भाशयको ट्युमर
गर्भाशयमा हुने ट्युमरलाई चिकित्सा भाषामा युटेरिन फिब्रोइड्स भनिन्छ । यस्तो ट्युमर पलाएमा तल्लो पेट दुख्ने, महिनावारी र सेक्स पीडादायक हुने आदि हुन्छ । कुनै न कुनै चरणमा ७० प्रतिशत महिलाको गर्भाशयमा यस्तो ट्युमर पलाउने विभिन्न अनुसन्धानले पुष्टि गरेका छन् । यस्तो अवस्थामा महिनावारीअगावै रक्तस्राव हुन सक्छ । उपचारमार्फत यस्तो ट्युमर हटाउन सकिन्छ ।
थाइराइडको सम्भावना
महिलालाई थाइराइड हुने सम्भावना छ भने महिनावारीमा यसले थाइराइड देखिनुअघिदेखि नै असर गर्न थाल्छ । महिनावारीअगावै रक्तस्राव हुने, अकस्मात् मोटाउने, थकान महसुस हुने र घाँटीमा अगाडिपट्टि दुख्ने गरेमा थाइराइड भएको अथवा हुन लागेको हुन सक्छ । यस्ता महिलाले तुरुन्तै डाक्टरको परामर्श लिनुपर्छ ।  
कस्तो अवस्थामा चिन्ता लिने ?
महिनावारीअगावै हुने रक्तस्रावले खराबी गर्छ नै भन्ने छैन । तर, यस्तो अवस्थामा भने तुरुन्तै डाक्टरसँग सम्पर्क गर्नुपर्छः
–    तीन दिनभन्दा बढी समयसम्म लगातार बढी नै रक्तस्राव भयो भने ।
–    तीन महिनासम्म लगातारजसो थोरै रगत निस्कियो भने ।
–    नौलो किसिमले र नौलो प्रकृतिको रक्तस्राव भयो भने ।
–    हरेक तीन हप्तामा रक्तस्राव हुन थाल्यो भने ।
–    यौन सम्पर्कपछि बढी रक्तस्राव हुन थाल्यो भने ।
–    महिनावारी स्थायी रूपमा रोकिएका महिलालाई रक्तस्राव भयो भने ।

 

Leave A Comment