‘संकल्पले सफलता दिलाउँछ’

सोमबार, ११ बैशाख २०७४, १२ : ३१ शुक्रवार , Kathmandu
‘संकल्पले सफलता दिलाउँछ’

बराह ज्वेलरी इन्डस्ट्रिजका अध्यक्ष हुन्, शिवकुमार लामिछाने । ‘नुनदेखि सुनसम्म’ नारासहित धरानमा सुनचाँदी, डिपार्टमेन्ट स्टोर, सहकारीदेखि यातायात सेवासम्म सञ्चालन गरिरहेको बराहको काठमाडौं, पोखरा, चितवनसँगै हङकङ, बेलायत, दुबईमा समेत सुनचाँदी व्यवसाय फैलिएको छ । शुक्रवारका लागि गोपाल दाहालले गरेको कुराकानीः

व्यवसायमा कसरी आउनुभयो ?
बुबाले सानो सुन पसलबाट बराह स्थापना गर्नुभयो । उहाँबाट व्यवसायबारे सिक्ने र बुझ्ने अवसर पाएँ । तर, मलाई व्यवसायभन्दा पनि संगीतमा बढी रुचि थियो । त्यसमै रमाइरहेको थियो । कामका सिलसिलमा हङकङ गएको बेला बुबाको अचानक निधन भयो । त्यसपछि बराहको जिम्मेवारी मेरो काँधमा आयो । अहिले बुबाको पदचाप पछ्याउँदै व्यवसायमा अगाडि बढाइरहेको छु ।

बराहको सफलताका मुख्य कारण के हो जस्तो लाग्छ ?
बुबाले इमानदारी, लगनशीलता, संकल्प र धैर्य यी चार कुरा सिकाउनुभएको थियो । बराहको सफलताका कारण यिनै चार कुरा हुन् जस्तो लाग्छ । यी कुरालाई आत्मसात् गर्दै टिमवर्कले राम्रो काम गरेको छ । ग्राहकले विश्वास गर्नुभएको छ । मुख्य कुरा संकल्प हो । दृढ संकल्पले सफलता दिलाउँछ ।

बराहले कुन–कुन क्षेत्रमा लगानी गरिरहेको छ ?
सुरुमा गरगहनाको काम मात्रै गरे पनि पछि ग्राहकलाई सुविधा होस् भनेर एउटै छानामुनि ‘नुनदेखि सुनसम्म’ नारासहित सम्पूर्ण घरायसी सामान बिक्री गर्यौँ । सहकारी, यातायात सेवासम्मको सेवा दिइरहेका छौँ । शैक्षिक क्षेत्रमा सहयोग पुर्याउन टेलिभिजनमा क्विज कार्यक्रम सञ्चालन गरिहरेका छौँ भने संगीत क्षेत्रलाई व्यावसायिक बनाउने उद्देश्यले कृपा डिजिटल रेकर्डिङ स्टुडियो सञ्चालन गरिरहेका छौँ । त्यससँगै ‘कृपा अनप्लग शो’ चलाएर कलाकारलाई प्रोत्साहन गरिरहेका छौँ ।
सामाजिक क्षेत्रमा पनि बराहले सहयोग गरेको देखिन्छ ?
बराह हाम्रो मात्र होइन यो समाजको हो । समाजले विश्वास गरेकै कारण हामी टिकेका छौँ । त्यसैले हाम्रो कमाइको केही प्रतिशत समाज सेवामा खर्च गर्ने नीति लिएका छौँ । त्यसैअन्तर्गत एम्बुलेन्स सञ्चालन गरेका छौँ । हरेक वर्ष धरानका विभिन्न ठाउँमा रक्तदान कार्यक्रम आयोजना गरेर ब्लड बैँकमा जम्मा गरिदिन्छौँ । अहिले झापाको अरुणोदय निमाविमा पानी टंकी निर्माण गर्दै छौँ । अब यसलाई छुट्टै फाउन्डेसन पनि दर्ता गरेर सेवामूलक काममा लगानी गर्ने योजना छ ।
बराहलाई आगामी दिनमा कसरी अघि बढाउने योजना छ ?
अहिले पसलबाट मात्र नभई प्रविधिको सहाराले हामी अनलाइन मार्केटमा पनि गएका छौँ । अनलाइनबाटै अर्डर लिने र किनबेच गर्ने काम पनि सुरु भइसकेको छ । यसरी प्रविधिसँगै र ग्राहकहरूको माग, सहजतासँगै अघि बढ्ने छौँ ।
एक समय बराह संकटमा छ भन्ने चर्चा पनि चल्यो नि बजारमा ?
जतिबेला बुबा हङकङमा बित्नुभयो, त्यसबेला सबैलाई अब यत्रो कम्पनीको के होला ? कसो होला ? भन्ने आशंका भयो । त्यो हुनु स्वभाविक पनि थियो । तर, यो संस्था सिस्टममा चलेको छ । यसलाई टिकाउन दह्रो टिमवर्क छ । बराह नयाँ कम्पनी भएको भए त्यस्तो शंका गर्नु जायज पनि हुन्थ्यो । तर, यो २२ वर्ष पुगेको परिपक्व संस्था हो । बराह संकटमा छैन ।

 

Leave A Comment