लोकप्रिय हुँदै स्वदेशी वाइन

आइतबार, १० बैशाख २०७४, ०३ : ११ दिलीप पौडेल , Kathmandu
लोकप्रिय हुँदै स्वदेशी वाइन

वार्षिक १५ हजार बोटल वाइन उत्पादन गर्दै आएको मकालु वाइन इन्डस्ट्रिज प्रालिले क्षमता बढाएर अहिले वार्षिक साढे तीन लाख बोटल उत्पादन पुर्याएको छ । बजारमा स्वदेशी वाइनको माग बढेपछि कम्पनीले उत्पादन बढाएको हो । वनमा पाइने चुत्रो र ऐँसेलुको प्रयोग गरेर संखुवासभामा उद्योग सञ्चालन गरेको मकालुले हिन्वा ब्रान्डमा रेड र ह्वाइट वाइन उत्पादन गर्दै आएको छ ।
करिब ४० लाख रुपैयाँ लगानीमा सुरु गरेको उद्योग अहिले करिब तीन करोडभन्दा बढी पुगेको छ । वार्षिक करिब नौ करोड रुपैयाँको वाइन बिक्री भएको मकालु वाइन इन्डस्ट्रिज प्रालिका निर्देशक आश्रय रञ्जितकारले बताए । ‘बजारमा स्वदेशी वाइनको माग बढेपछि उत्पादन बढाउँदै लगेका हौँ,’ निर्देशक रञ्जितकारले भने, ‘विदेशी वाइनसँग प्रतिस्पर्धा गर्दै गुणस्तरीय उत्पादन गरेका छौँ ।’ मध्यम वर्गीय परिवारलाई लक्षित गरेर वाइन उत्पादन गर्दै आएको रञ्जितकारले बताए । ‘पुरुषहरूले हार्ड डिं«क गर्ने भएकाले महिलाहरूले वाइन बढी मन पराउने गरेका छन्,’ उनले भने, ‘नेपाली उपभोक्ताले गुलियो स्वादमा मन पराउने भएकोले त्यस कुरामा ध्यान दिएका छौँ ।’ जडीबुटीसहित फरक स्वादमा वाइन उत्पादन गर्दै आएका रञ्जितकारको भनाइ छ । ‘उपभोक्ताको मन जित्न सफल भएका छौँ,’ उनले भने ।
स्वदेशी वाइनको बजारमा माग र लोकप्रियता बढेपछि लगानीकर्ता पनि उत्साहित छन् । अहिले तीनजुरे वाइन इन्ड्रस्ट्रिज, मकालु वाइन इन्डस्ट्रिज, स्नो म्यान वाइनरी, महाकाली वाइन, डिभाइन वाइन, डाँडाघरे वाइन, युनिभर्सल वाइन इन्डस्ट्रिज, रोयल काठमाण्डु हिमालय वेभरजलगायत डेढ दर्जन कम्पनीले वाइन उत्पादन गर्दै आएका छन् ।
स्वदेशी उत्पादनले बजारमा राम्रो प्रभाव जमाउँदै गएको छ । उद्योगीका अनुसार स्वदेशी बजारको आधा हिस्सा स्वदेशी उत्पादनले ओगट्न थालेका छन् । समाजमा वाइन कल्चरको विकास हुँदै गएकाले पनि आकर्षण बढेको हो । आधुनिक समाजमा महिलाहरूले पनि वाइन सेवन गर्न थालेका छन् । उच्च र मध्यम वर्गीय परिवारमा वाइन रोजाइ बन्दै गएको छ ।
नेपालमा बहुराष्ट्रिय कम्पनीका ब्रान्ड आउने क्रमसँगै स्वदेशी उद्योगीले समेत लगानी बढाउँदै आएका छन् । चेसुङ र डिसेन्ट ब्रान्डका वाइन तयार गर्दै आएको तीनजुरे वाइन इन्डस्ट्रिजले पनि उत्पादन क्षमतासँगै लगानी पनि बढाएको छ ।
एक लाख बोटलबाट तेब्बर वृद्धि गरेर अहिले वार्षिक तीन लाख बोटल उत्पादन गर्न थालेको तीनजुरे वाइन इन्डस्ट्रिज प्रबन्ध सञ्चालक प्रकाश श्रेष्ठले बताए । ‘बजारमा माग बढेपछि उत्पादन बढाएका हौँ,’ श्रेष्ठले भने, ‘लगानी पनि पाँच करोड पुगेको छ ।’ करिब दुई करोडबाट उद्योग सञ्चालनमा ल्याएका थिए । नासपति, अंगुरलगायत फलफूल, हर्बल हनी र यार्सागुम्बा समिश्रण गरेर उत्पादन गरेको वाइन प्रयोगकर्ताले रुचाएका छन् । तीनजुरेको वाइन स्विट, ड्राइसहित चार फ्लेवरमा छ । अंगुरको रेड वाइन, हर्बल हनी वाइन, फ्रुट वाइन, यार्सा वाइन उत्पादन गरेका छन् । नासपति, हिमाली क्षेत्रका जडीबुटी, शुद्ध मह, यार्सागुम्बा प्रयोग गरिएको उनले बताए । ‘मानव स्वास्थ्यलाई मजबुत बनाउने शक्तिवर्धक यार्सागुम्बा मिसाएर वाइन बनाएका छौँ,’ श्रेष्ठले भने, ‘स्वदेशी मात्र नभएर विदेशी बजारमा पनि राम्रो माग छ ।’ यार्सागुम्बाबाट बनाएको वाइन विश्वमै पहिलो भएको उनसक्ने उनको दाबी छ । मधुमेहका बिरामीले प्रयोग गर्न मिल्ने जडीबुटी प्रयोग गरेर सुगर फ्री वाइन उत्पादन गरेको पनि उनले बताए । दुई वर्षदेखि हङकङ निर्यात गर्दै आएका वाइन चीन र मलेसिया पनि पठाउने तयारी भइरहेको श्रेष्ठको भनाइ छ । ‘विदेशमा पनि माग बढ्दो छ,’ उनले भने, ‘वार्षिक दुई लाख बोटल उत्पादन गर्छौं ।’
करमा अझै सहुलियत दिए उद्योग फस्टाउने व्यवसायी बताउँछन् । स्वदेशी उद्योगलाई प्रोत्साहन दिनुपर्ने व्यवसायीको माग छ । खपत बढेपछि यस क्षेत्रमा लगानी बढेको हो ।
स्वदेशी वाइनको खपतसमेत बढिरहेको डिभाइन वाइनका प्रबन्ध निर्देशक सन्तोष खड्का बताउँछन् । ‘नेपालमा वाइनको बजार बढिरहेको छ,’ खड्काले भने, ‘स्वदेशसँगै विदेशमा पनि निर्यात सुरु गरेका छौँ । प्रस्तिस्पर्धा बढेसँगै यस क्षेत्रमा लगानी बढिरहेको छ ।’ अन्य मदिराको तुलनामा वाइन स्वास्थ्यका लागि उपयोगी भएकाले आकर्षण बढेको उनको दाबी छ । वार्षिक ३० प्रतिशतले वाइनको बजार बढेको व्यवसायी बताउँछन् ।
नेपालमा वाइन विभिन्न फलफूलको प्रयोग गरेर बनाइरहेका छन् ।  स्वदेशी वाइनसँगै समस्र्वी एप्पल साइडर, टुबर्ग बियर, लन्डन आइस, टाइगर, गोर्खा फेबबरी, काल्सवर्ग बियरलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका मदिरा बजारमा पाइन्छन् । स्वदेशी उत्पादनका अतिरिक्त नेपालमा वार्षिक १ करोड २५ लाख लिटर मदिराजन्य पदार्थ आयात हुने गरेको भन्सार विभागले जनाएको छ । वाइनसहित बजारमा न्यूनतम सय रुपैयाँ लिटरदेखि चार लाख रुपैयाँ लिटरसम्मको मदिरा बिक्री हुन्छ । यहाँ स्वदेशसहित अन्तर्राष्ट्रिय ब्रान्ड बिक्री हुन्छ । नेपालमा डेढ दर्जन वाइन उद्योग र करिब एक सय मदिरा उद्योग रहेको मदिरा उत्पादन संघले जनाएको छ । न्यूनतम करिब दुई करोडदेखि एक अर्ब रुपैयाँसम्मको लगानीमा उद्योग सञ्चालन गरेका छन् । नेपाली उद्योगीले गुणस्तरीय मदिरा उत्पादन गरेकोले विदेशी मदिराको प्रतिस्थापन हुने क्रम बढेको उद्योगी बताउँछन् । नयाँ एक दर्जन मदिरा उद्योग सञ्चालनमा आउने तयारीमा रहेका छन् । वार्षिक करिब साढे पाँच करोड मदिरा उत्पादन गर्ने लक्ष्यसहित पूर्वाधार तयार गरिरहेको उद्योग विभागले जनाएको छ ।

 

Leave A Comment