मेलिनाका प्रिय १० सुर

आइतबार, १० बैशाख २०७४, ०१ : ५१ शुक्रवार , Kathmandu
मेलिनाका प्रिय १० सुर

पछिल्लो समयकी लोकप्रिय गायिका हुन्– मेलिना राई । उनी गीत गाउन मात्रै होइन, सुन्न पनि रुचाउँछिन् । आफूलाई मन पर्ने अरूका पाँच र आफ्ना पाँच गीतबारे उनले शुक्रवारलाई बताएकी छिन्ः

अरूका ५

१ सोचेजस्तो हुन्न जीवन
तारादेवीको यो गीत जति सुने पनि अघाउँदिनँ । दिनेश अधिकारीले लेख्नुभएका शब्द यथार्थपरक छन् । नातिकाजीको संगीत उस्तै शक्तिशाली लाग्छ । हामी जिन्दगीमा जे सोच्छौँ, जे सपना देख्छौँ, वास्तविकता ठीक उल्टो भइदिन्छ । यो गीतले यही यथार्थ बोल्छ ।  

२ चौतारीमा बसेर रुन पाऊँ
अरुणा लामा मलाई मन पर्ने गायिका हुन् । उहाँका प्रायः गीत मन पर्छन् । त्योमध्ये मलाई मन पर्ने एउटा गीत ‘चौतारीमा बसेर रुन पाऊँ’ हो । उहाँले जुन फिल दिएर यो गीत गाउनुभएको छ, त्यो साँच्चै प्रंशसनीय छ । गीतका शब्दले मन छुन्छन् ।

३ म मरे पनि मेरो देश बाँचिराखोस्
शिवशंकर मानन्धरले गाउनुभएको यो गीत पनि मलाई असाध्यै मन पर्छ । गीतले देशप्रेम झल्काउँछ । देशको बचाउका लागि चिन्ता प्रकट गरेको छ गीतले । प्रेमप्रकाश मल्लले नै लेख्नुभएको गीतका शब्द साँच्चिकै मीठा छन् । गीतले सुन्ने जो कोहीलाई भावुक बनाउँछ ।

४ थामेर किन छाड्यौ हातहरू
राम थापाको संगीतमा सुनीता सुब्बाले गाउनुभएको यो गीत बाल्यकालमै मेरो मस्तिष्कमा गढेको हो । म त्यतिबेला दार्जिलिङमा थिएँ । एकजना दिदी हुनुहुन्थ्यो जो यो गीत असाध्यै सुन्नुहुन्थ्यो । उहाँ आफ्नो पीडा यो गीतले भनिदिएको जस्तो महसुसु गर्नुहुन्थ्यो । जसकारण मलाई पनि मन पर्न थालेको थियो ।

५ चैत मास खडेरीमा
फिल्म ‘प्रेमपिण्ड’को गीत हो यो । गीतमा यादव खरेलका शब्द, शम्भुजीत बाँस्कोटाको संगीत र अनुराधा पौड्वालको स्वर रहेको छ । गीतले आफ्नो प्रेमीलाई पर्खेर बसेकी गाउँकी युवतीको प्रेमलाई मन छुने तरिकाले व्यक्त गरेको छ । गीतको असाध्यै राम्रो छ ।

आफ्ना ५
१ कम्मरमाथि पटुकी

मेरो करिअरको ‘टर्निङ प्वाइन्ट’ मान्छु म यो गीतलाई । यही गीतबाट म धेरै दर्शक÷स्रोतामाझ चिनिएँ । एकनारायण भण्डारीको शब्द र वसन्त सापकोटाको संगीत रहेको गीतमा महाराज थापाको म्युजिक एरेन्ज उस्तै मीठो छ । छमछमी नाच्न मन लगाउनेखालका बिट छन् । स्टेजमा गाउँदा दर्शकले ‘वान्स मोर’ भनिरहने गीत हो यो । त्यसैले पनि मन पर्छ ।

२ पिरतीको डोरी
विजेता थेबे लिम्बूको शब्द र ताराप्रकाश लिम्बूको संगीतमा मैले गाएको यो गीत पनि मलाई मन पर्छ । यो गीतको संगीत असाध्यै मेलोडियस लाग्छ ।  

३ शिरैमा शिरबन्दी
रेकर्डिङका बेला पनि एकदमै रमाएर गाएको गीत हो यो । गाउँदा असाध्यै आनन्द मिलेको थियो । गीतमा वसन्त सापकोटाको शब्द÷संगीत छ । खासमा गीतको संगीत पाटोले मेरो मन जितेको हो ।

४ खाएको कसम फिर्ता
बद्री पाण्डेको शब्द÷संगीत रहेको यो गीतलाई मैले निकै फिल दिएर गाएकी हुँ । शब्द र संगीत दुवै मन परेको हो । शब्दलाई न्याय दिएर गीत कम्पोज गरिएको छ । रेकर्डिङका बेला पनि निकै मेहनत गरेर फाइनल गरिएको थियो ।  

५ प्रकृतिको सुन्दर सृष्टि
दृष्टिविहीन जोडीको कथामाथि बनेको फिल्म ‘क्लासिक’का लागि मैले यो गीत गाउन पाएँ । गीतमा डा. कृष्णहरि बरालको शब्द र ताराप्रकाश लिम्बूको संगीत छ ।  गीतले दृष्टिविहीनको भावना व्यक्त गर्न खोजेको छ । आँखाले देखेर पनि नदेखेझैँ गर्ने यो समाजलाई गीतले मनबाट हेर्नेहरूमार्फत व्यंग्य पनि गरेको जस्तो लाग्छ ।  

प्रस्तुतिः अनिल

Leave A Comment