पूर्व पस्दै फिल्मकर्मी

आइतबार, १० बैशाख २०७४, ०१ : ४५ गोपाल दाहाल , Kathmandu
पूर्व पस्दै फिल्मकर्मी

इटहरी नजिकै रहेको गोकुलम रिसोर्टमा ‘कुटुमा कुटु’ बोलको गीत घन्किरहेको थियो । गीतमा कम्मर मर्काउँदै नाच्दै थिए– निश्चल बस्नेत, स्वस्तिमा खड्का, बुद्धि तामाङसँगै इटहरीको नागी डान्स सेन्टरका कलाकारहरू ।
अरू बेला रमाइलोका लागि घुमघाम गर्नेको भीड लाग्ने गोकुलममा यी चर्चित कलाकारलाई नाच्न सिकाइरहेका थिए, नृत्य निर्देशक कविराज गहतराज । फिल्म ‘दुई रुपैयाँ’को गीतको छायांकन थियो यो । ब्ल्याक हर्स पिक्चर्स र जी ट्वेन्टी वान प्रोडक्सनले निर्माण गरिरहेको फिल्मको पूर्वका झापा, मोरङ, सुनसरीका रमणीय स्थलमा छायांकन भयो । असिम शाहको निर्देशनमा निश्चल, बुद्धिसँगै आशिफ शाह, राजन इसान, प्रमोद अग्रहरि, रवीन्द्र झा लगायतको अभिनय रहेको फिल्म ‘दुई रुपैयाँ’ भदौ २३  रिलिज हुने बताइएको छ ।
धरानमा अहिले फिल्म ‘रोमियो एन्ड मुना’को धमाधम छायांकन भइरहेको छ । सृष्टि श्रेष्ठ र विनय श्रेष्ठ मुख्य भूमिकामा रहेको फिल्मका अधिकांश दृश्य धरानमा छायांकन भइरहेका छन् । नरेश केसीले निर्देशन गरिरहेको फिल्म भदौ ९ मा रिलिज गरिने बताइएको छ ।
यतिबेला फिल्म क्षेत्रमा चलेका कलाकार पूर्वका लोकेसनहरूमा धमाधम अभिनय र नृत्य गरिरहेका देखिन्छन् । पहिला काठमाडौँको चोभार वरिपरि छायांकन गरेर फिल्म सिध्याउने फिल्मकर्मी पनि अहिले फ्रेस लोकेसन खोज्दै पूर्व–पश्चिम लाग्न थालेका छन् । त्यही क्रममा कलाकार पूर्वमा पुगेका छन् ।
यसअघि पनि धेरै फिल्मका गीतमा इलामको चियाबारी, धरानलगायत स्थलमा छायांकन भएका छन् । त्यसो त फिल्म ‘बलिदान’, ‘द कमान्डो’, ‘माझी दाइ’को धेरैजसो छायांकन धरान, बराहक्षेत्र र आसपासमा भएको थियो भने ‘पछ्यौरी’, ‘मनै त हो’, ‘भाउजु’, ‘चण्डाल’ लगायत धेरै फिल्मका छायांकन पनि यतै भएको थियो । यसरी पछिल्लो समय सुटिङका लागि कलाकार पूर्वतिर आकर्षित हुन थालेपछि यहाँको पर्यटन विकासमा पनि टेवा पुग्ने पूर्वेलीको आशा छ ।
केही वर्षअघि विकास आचार्यले ‘म तिम्रो भइ सकेँ’ फिल्मको अधिकांश छायांकन धरानमै गरेका थिए । तर, फिल्मले सोचेजस्तो सफलता पाएन । त्यसपछि फिल्म ‘नोवेम्बर रेन’को पनि धेरै भाग धरानमा छायांकन भएको थियो । पूर्वमा पनि राम्रा लोकेसन छ भन्ने छाप छोड्न फिल्म सफल रह्यो ।
हुन त पूर्वमा स्थानीय फिल्मकर्मीले धेरै फिल्म निर्माण गरेका छन् तर लोकेसनले मात्र हुँदैन, त्यसको प्रस्तुतिसँग मेल खानुपर्छ । त्यही तालमेल मिलाउन नजान्दा धेरै पूर्वेली फिल्म डुबेका छन् । तर, पछिल्लो समय चलेका फिल्मको छायांकन धमाधम पूर्वमा हुन थालेको छ । पूर्वमा बनेका फिल्ममा अभिनय, निर्माण र निर्देशन गरेका पुराना कलाकार प्रेम सुब्बा भन्छन्, ‘नयाँ पुस्ताका फिल्मकर्मीको पूर्व प्रवेशले हामीलाई पनि जोश, जाँगर बढाएको छ । फिल्ममा पूर्वका दृश्य कैद हुनु फिल्म र पूर्व दुवैका लागि फाइदाजनक हुन्छ ।’

 

Leave A Comment